Friday, February 11, 2011

सीप आखिर आयो काम


विराटनगर/ड्राइभिङ सीटमा बसेका हँसिला मोटा मान्छेलाई यात्रुले 'गुरूजी' भनिदिए मुस्काउँछन् । जवाफ तुरून्तै फिराउँदैनन् । हँकाइ अभ्यस्त चालकजस्तो छैन । विस्तारै, आरामले चनाखो भएर कुदाउँछन् । अघिपछि साइड हेर्छन् । अनि यात्रुको उत्रने संकेत बुझेपछि गाडी सडक किनारा लगाउँछन् । जर्मनीमा निर्मित बेञ्ज मिनी बसमा भेटिएका यी हुन् ३८ वर्षीय प्रभाकर थापा । 
विराटनगर-मिल्सएरियाको मलाया रोड भनिने ६ किलोमिटर राजमार्गमा उनको मिनी बस एक/एक दिन विराएर कुदेको भेटिन्छ । गाडी लिएको तीन वर्ष पुग्यो । भन्छन् 'गरिखान सकिने उपाय खोज्दाखोज्दै यै गाडी भेटियो । गर्दैछु ।' उनी चालक होइनन् । चालक वा खलासी विदा बसे वा कुनै दिन आएनन् भने उनी आफै कुदाउँछन् । 'कोरियामा गाडी सिकेको यहाँ काम लागेको छ, विराटनगर २० घर भएका थापा भन्छन् 'अब आएर बल्ल थाहा भयो, विदेश बस्दा आफ्नो घर फर्किएपछि गर्न सकिने सीप चाहि सिक्नैपर्ने रहेछ ।' 
एसएलसीपछि प्रभाकरले पढेनन् । कामको खोजी गरे । भेटिएका सानोतिनो जागिरले चित्त बुझेन । वैदेशिक रोजगारीमा जाने प्रयास गर्दागर्दै एउटा मौका हात लाग्यो । सन् १९९६ मा साउदी अरब पुगे । विराटनगर जुट मिल्सको सुरक्षा विभागमा काम गर्ने पिताका एक्ला छोरा उनलाई घरले 'कमाउन विदेश जा' भनेको थिएन । 'म लेवर कोटामा दम्मामको अलखोवर पुगेको थिए, उनी सुनाउँछन् 'त्यहा होटलमा काम पाइयो ।' 
अलखोवरको होटलमा काम गर्दै ६ वर्ष बिताएका उनी कामका दौरान २ पटक घर आए । 'हाम्रो घर थिएन, जग्गा पनि थिएन, उनले भने 'धेरै कमाउन मन भएपनि इलेगली बस्न मन थिएन । अरबको कमाइले घडेरीसम्म जोड्न सकियो ।' साउदीमा रहँदा उनले होटलमा वेटरको काम सिके । सरसफाइ, खानाको अर्डर लिने अनि हुक्का बनाउन । 'टिप्स मजाले पाइथ्यो । तर, उमेर नै रमाइलो गर्ने खालको थियो, उनी भन्छन् 'सेलरीमात्र जोगिन्थ्यो । टिप्सको पैसा रमाइलो गरेर सिध्यान्थ्यो ।' 
६ वर्षपछि फिरेर घर तेस्रोपटक आउदा उनले साउदी छाडेका थिए । विवाह गरे । करीव १ वर्षको बसाइपछि फेरि विदेश हान्निने प्रयास सुरू गरे । सीपमुलक काम नसिकेकाहरूका लागि देशमै पनि केही कामको मेलो नसर्ने उनलाई लागेको थियो । धेरै प्रयासपछि उनी कोरिया जाने इन्टर्न कोटामा परे । त्यसपछि उता हान्निए ।
कोरिया भएपछि तीन वर्षसम्म घर आउन पाएनन् । छोरा जन्मेको खबर उनले फोनबाटै पाए । दक्षिण कोरियाको राजधानी सिओलभन्दा केही टाढा इन्सनमा उनी प्लाष्टिक कारखाना पुगेका थिए । त्यहाँ जाने टोलीमा उनीसँग ५ जना नेपाली थिए । प्रभाकर भन्छन् 'अहिलेजस्तो कोरियाको इपीएस कोटा थिएन, अनि मैले भाषा पनि जानेको थिइन । सुरूमा अलि गाह्रो भयो ।' कारखानाको १२ घण्टे काम निकै परिश्रमको थियो । छाडेर हिडु भन्ने लाग्थ्यो । तर, काम गर्न आएको मान्छे । भिसा र पासपोर्टका लागि खर्चिएको पैसा र घरको अवस्थाले उनलाई रोकेको भान हुन्थ्यो । 
कारखानाले प्लाष्टिकका सामान उत्पादकका लागि कच्चा पदार्थका रूपमा उपयोग हुने दाना बनाउथ्यो । धेरै काम मेशिनबाटै हुन्थ्यो । मेशिन चलाउन चाहि कामदार खटिएका थिए । तालिमे भएर गएपनि रामै्र पारिश्रमिक पाएकाले काममा अभ्यस्त हुने क्रम बढ्यो । 'दानाका बोरा र सामान उठाउने फोर क्लीप भन्ने सानो गाडी थियो, मलाइ चलाउन आउँदैनथ्यो, पन्छिन्थे, उनले सुनाए 'एउटा कोरियनले एक दिन साह्रै गाह्रो पार्‍यो । त्यो गाडी नचलाइ नहुने भयो ।' गाडीमा बसाएर तरिका बताएपछि उनलाई छाडेर कोरियन निस्कियो । र, बाहिरबाट 'चला । चलाउनैपर्छ । तैले नचलाए कसले चलाउछ ?' भन्यो । आत्तिएको मन लिएर उनले स्टेरिङ सम्हाले । पहिलो दिन सन्तोषजनक भएन । दोस्रो दिन पनि कोरियनले उनलाई त्यस्तै गरेपछि उनले कुदाए । एक सातामै उनले फोर क्लीप मजाले हाँक्न थाले । उनी सम्झन्छन् 'त्यसको सबै फङसन सिकेपछि गाडी कुदाउन सकिने रहेछ । म सुरूमा रिसाएपनि अहिले सम्झदा त्यो कोरियनले गुन लगाएको रहेछ भन्ने ठान्छु ।' 
कोरियाको कामको अवधि सकेपछि घर फिरेका उनले पहिलो वर्ष त्यसै बिताए । कामको खोजी गरे । घर बनाए । कस्तो व्यवसाय गर्दा घरपरिवारसग बसेर गुजारा गर्न सकिन्छ भन्ने ध्याउन्ती रहयो । विस्तारै गाडीका कुरा बुझियो । त्यसपछि उनले विराटनगर-रानी भंसार नाका कुदने गाडीमा हात हाले । रूटसहित ७ लाख ५० हजार लगानी गर्दा जर्मन बेञ्जको पुरानो मोडल हात पर्‍यो । 
अहिले उनी पालोअनुसार गाडीमा भेटिन्छन् । पालो नपरेका दिन गाडी रिजर्वमा जान्छ । 'विदेशमा काम गर्दा सधैंका लागि होइन, एक दिन घर फिर्नैपछ, भन्छन् 'त्यसैले यहाँ गर्न सकिने काम चाहि सिक्नैपर्ने रहेछ ।' सयको हाराहारी गाडी रहेको रानी भंसार-विराटनगर रूटको ६ किलोमिटरका उनको पालो महिनाका १५ दिन पर्छ । एक दिनमा गाडीले ५ पटक ओहरदोहरको पालो पाउँछ । गाडी चलाउन सिकेकाले उनलाइ मर्मतका धेरै कुरा थाहा छन् । अनि रूटमा आफ्ना कर्मचारीले इमान्दारीपूर्वक काम गर्छन्, गर्दैनन् भन्ने पनि हेक्का छ । भन्छन् 'अहिले मेरो ठूलो सपना छैन । यो कामले परिवारका साथ बसेर खान पुगेको छ । यही नै काफी छ ।' 
धेरैपटक फेरि बाहिर जानुपर्छ भन्ने सोचाइ नआएको होइन । तर, उनले छोरा, श्रीमति र आमाको मुख हेरेर जति यहा सुख अनुभव गर्छन् , त्यो विदेशमा नहुने जस्तो लाग्छ । 'खोजी गरे देशमै केही न केही गर्न सकिन्छ । तर, हामी बढि महत्वाकांक्षी छौ, उनी भन्छन् 'मान्छेलाई कतिले पनि पुग्दैन । म चाहि अहिले विदेशको सपना छाडेर देशमै बाँच्नु ठीक ठान्दै बसेको छु ।' उनको फेरि वैदेशिक रोजगारीमा नजाने निर्णयले पत्नी दुर्गा हर्षित छिन् । भन्छिन् 'परिश्रम गरे परिवारसँग बसेर यही काम गर्न सकिन्छ भने किन जानु ? यहाँ खोजे पो बाटो भेटिन्छ ।'  
(१३ माघ २०६७ को कान्तिपुर कतार संस्करणमा प्रकाशित) 

Tuesday, February 8, 2011

Bats - चमेरो बिचरो


यकरको नयाँ नियमसँग असन्तुष्ट विराटनगरका व्यापारी २०३६ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटन पुगे । आफ्नो परिचय दिने बेला टोलीमा गएका सुभास सेठियाले भने 'तपाइँ मलाई चिन्नुहुन्न होला, बजारमा ठूलो बरको रूख छ नि । धेरै चमेरा बस्ने, हो त्यहीँ छ मेरो घर ।' उनको कुरा सुनेर सबै हाँसे । तर, थापाले भने, 'ए  त्यो धेरै चमेरा भएको रूख मलाइ थाहा छ ।'  
विराटनगरमा ग्यालेक्सी फेन्सी पसलका सञ्चालक सेठियाको ठेगाना अब चमेरासँग जोडिएर आउदैन । किनकी बर काटियो । त्यहाँ व्यापारीक भवन बनाएको दुइ दसक पुगेको छ । पुराना पुस्ताको सम्झनामा मात्र रूखको झझल्को छ । 'अहिले पनि कतै चमेरा उडेको देखें भने म त्यो बरको रूख सम्झन्छु,' सेठिया भन्छन्, 'मान्छेले बाँच्न जसरी सजिलो हुन्छ, त्यही गर्नुपर्ने प्रकृतिकै नियम हो नि ।'  पुरानो थलो मासिएपनि चमेरा विराटनगरबाट हराएका छैनन् । मोरङ जिल्ला प्रशासन  हाता र गोल्छा हाउस आसपासका रूखमा दिउँसो हल्ला गर्दै झुण्डिएका देख्न सकिन्छ । 
०००
नारायणहिटीस्थित परराष्ट्र मंत्रालयका पश्चिमी क्षेत्र । धेरै रूख । तिनमा धेरै चमेरा, बकुल्ला र अरू चरा । लाजिम्पाटस्थित डेरा आउँदा-जाँदा काभ्रेको महेन्द्रज्योति गाविस-२ का मंजित विष्ट (२४) मख्ख पर्थे । झुण्डिएकाहरू हेरिरहन्थे । पोखराको बन विज्ञानमा बीएस्सीका यी छात्रले भने 'त्यहाँ बाटोका रूख काटिएछन् ।' पखेटाधारी झुण्ड लैनचौरस्थित समाज कल्याण परिषद हाताका रूखहरूमा सर्‍यो । जिज्ञासा हुनुका पछि चमेरा नै उनको पढाइको विषय थियो । केही दिनमै चमेरा बस्ने ती हाँगा पनि काटिए । 'मैले खप्न सकिन, गएर किन काटेको ? भनेर सोधें,'  उनी भन्छन्, 'तर, मैले जिम्मेवार मान्छे भेटिनँ । नराम्रो लाग्यो ।'   
०००
चिसो र घुप्प अँध्यारो छ । रिचार्जेबल लाइटको प्रकाश मद्धिम लाग्छ । ओडारमा मास्तिर हजारौं चमेरा चुपचाप झुण्डिएका देखिन्छन् । आनन्द महसुस गर्छन् फिनल्याण्डका लार्ल होल्म (३५) । काठमाडौं विश्वविद्यालयका लागि स्रोत व्यक्तिका रूपमा आएका उनी पोखरास्थित चमेरे गुफामा भेटिए । 'फर्कने दिन आयो । घुम्न आइयो,' उनले भने 'यहाँभित्र छुट्टै आनन्द लाग्यो ।' 
पोखरा, पृथ्वीनारायण क्याम्पसमा बीएस्सीकी छात्रा ज्योति तिमिल्सिना भन्छिन्, 'गुफामा केही चेन्ज छैन । धेरै चमेरा मिलेर बसेका छन् ।' बरू नजिकैको महेन्द्र गुफामा भित्र बत्ती लगिएपछि चमेरा देख्न नपाइएको उनी सुनाउँछिन् । भन्छिन्, 'अँध्यारोमा बस्नेलाई असजिलो पारेकाले यस्तो भएको हो । जीवको वासलाई बाधा पार्नु ठीक होइन ।' नेपालगञ्ज-१२ का घनश्याम श्रेष्ठ (५१) लाई चलचित्रको रात्री दृश्यभित्र पसेजस्तो लाग्यो । भन्छन्, 'यति धेरै चमेरा बाहिर एकसाथ देखेको छैन ।'
२०५४ देखि चर्चामा आएको गुफामा घुमन्तेहरू दिनमा ५ सय हाराहारीमा आइपुग्छन् । स्थानीय गाइड कृष्णबहादुर परियार   (४३) का अनुसार पहिले १ लाख रूपैया वार्षिक ठेक्कामा जाने ओडारले हाल ११ लाख कमाउने गरेको छ । 'डिस्टर्ब भएन भने चमेरा बस्छ,' उनी भन्छन्, 'यो झुण्ड जाडोमा बढछ, गर्मिमा घट्छ । अहिले २०/२५ हजार होलान् ।' 
००० 
पाल्पा, मदनपोखरास्थित मामाघर जाँदा बुटबल ११ का हरि अधिकारी देख्थे- एक समूहद्वारा चमेरो समातिन्थ्यो । भारत, उत्तरप्रदेशबाट आउने फिरन्तेले सके आफै समात्थे । अरूले ल्याएका भेटिए किन्थे । उनीहरू खान्थे । मावली आउजाउमा ती दृश्यले जिज्ञासू उनले पोखराको बन विज्ञान भर्ना भएपछि 'ब्याट फ्रेण्ड्स' समूह बनाए । हाल जर्मनीको टेक्निक युनिभर्सिटीमा दिगो व्यवस्थापनमा स्नातकोत्तर गर्दैरहेका अधिकारीले इस्काइप च्याटमा भने, 'पछि म साथीहरूसँग त्यहाँका स्कुलमा चमेरा जोगाउ कार्यक्रम लिएर गएँ । अब समात्ने, किनबेच र मार्ने-खाने कुरा सुनेको छैन ।' बिद्यार्थी चेतनाले सकारात्मक काम भएको उनलाई लाग्छ । साथीहरूसँग मिलेर उनले संरक्षणका लागि पुस्तिका नै तयार पारेका छन् । 'प्रकृतिको सन्तुलनमा चमेराको विशेष भुमिका छ,' उनी भन्छन् , 'तर, यो प्राणी अब संकटमा छ ।' 
०००
चार दसकअघि जंगलभित्रको बस्तीमा बसाइँ आएका रेशम श्रेष्ठ (५७) लाई आतिथ्यमा परेको असजिलो हिजै हो जस्तो लाग्छ । उनी चितवनको शक्तिखोरमा होटल चलाउँछन् । 'चेपाङ गाउँको मेजमानीमा परियो, खानेकुरामा के दिए भनेर यसो हेरेको त सिंगो चमेरो र नुन-खुर्सानी,' उनले भने, 'सकिँन मैले त । अर्थोक भए देओ यो सक्दिन भनेँ ।' अरूले खाए । उनी हेरिरहे । 'हेर्छु, थालमा सिंगो ङिच्च गरिहेजस्तो,' उनले सुनाए,  'मैले लौ न म यो खान्न । फर्सीसर्सी भए नि हुन्छ मलाइ त भनेर पन्छिएँ ।' 
अहिले उनैलाई स्वादिलो लाग्छ । 'अब त यताका सबैले मजाले खान्छन् । पहिले चेपाङको मात्रै स्वादिलो खान्की थियो,' उनी थप्छन्, 'अब पहिले जसरी छ्यास्सछ्यास्ती पाइदैन पनि ।' राती आहाराको खोजीमा हिड्ने चमेरोलाई चेपाङहरू भुवा (जाल) मा पारेर समात्छन् । भन्छन्, 'तर, मान्छेले खाने चमेरो फल र फूलको रस खाने जातका मात्र हुन्छन् ।'     
श्रेष्ठको होटलभन्दा करीव डेढ किलोमिटर उत्तर बहुदल बजार छ । माओवादीका लडाकुको शिविरबाट करीव सात किलोमिटर पूर्व-उत्तर शक्ति खोला किनारमा चेपाङ संग्रहालयसमेत रहेको शक्तिखोर-५ को यो बजारमा देउरालीका चेपाङ तन्नेरी दिलबहादुर प्रजा (२३) को पनि पसल छ । बाँसको सिकोमा माछा उने जसरी झुण्ड्याइएको छ -  'के हो यो ?' दिलबहादुर हतपत भन्छन्, 'चमेरो । पकाएर बेचेको ३० रूपैयाँ पीस ।' भुवा थाप्न सिपालुले ल्याउँछन् । 'मुटुमा थिचिन्छ । उसिनेर बेच्न ल्याइन्छ,' भन्छन्, 'च्युरीको घ्युमा भुटेर पकाएको मीठो हुन्छ ।' 
शक्तिखोर-३ सुपार बाङसुराङका दलबहादुर प्रजा (५६) लाई भुटुनमा च्युरीको घ्यु नभएपनि चल्छ । भन्छन्, 'विकासे मौरीले च्युरी फुल्नै घटायो । कम्ता फुलेर चमेरा थोरै आउँछन् , गेडा लाग्दैन ।' जानकारहरूका भनाइमा रस चुस्न चमेरा भुम्मिन्छन् । बाहिर छाडेका रस मौरीको भोजन हुन्छ । च्युरीलाई मौरीले हानि गर्दैन, न त चमेराले गर्छ । दलबहादुर भन्छन्, 'पहिले यता मौरी चराउने आउँदैनथे, चमेरो धेरै आउँथ्यो । च्युरी धेरै फुल्थ्यो, गेडा लाग्थ्यो, घ्यु पनि धेर हुन्थ्यो । अहिले घट्यो ।'
०००
काठमाडौं, बुद्धनगर पश्चिम गल्लीको सानो कोठामा तन्नेरी जमात भेटिन्छ । प्राणीशास्त्रका स्नातक र स्नातकोत्तरका बिद्यार्थी साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउण्डेशन गठन गरेर चमेराको खोजी र संरक्षण जुटेका छन् । 
चार वर्षअघि जु-आउटरीचले दक्षिण एशियाली मुलुकका जीवविज्ञानमा स्नातकोत्तरका विद्यार्थीलाई चमेराबारे बताउन एउटा कार्यक्रम गरेको थियो । त्यसमा विश्व संरक्षण संघका स्तनधारीबिज्ञ स्कटल्याण्डको एभरडीन विश्वविद्यालयका प्राध्यापक पल रेसी आएका थिए । बीएस्सीका छात्र संजन थापा (२६) ले पनि मौका पाए । 'मलाइ चमेरोबारे बढि रूची भएकाले सामेल हुन पाइयो, उनी भन्छन्, 'त्यो क्लासपछि रूचि थपियो । पछि थेसिस नै चमेरामा गरें ।' 
फाउण्डेशनका अनुसार नेपालमा हालसम्म चमेराका ५३ प्रजाति पत्ता लागेको छ । थापा भन्छन्, 'वासस्थान विनास, आहाराको कमी र सिकारले चमेरा घटेका छन् ।' फाउण्डेशनमा उनीसँगै सुजीता, अनिता श्रेष्ठ,सागर दाहाल, रामेश्वर घिमिरे,दिव्य र नारायण लामिछाने छन् । राजधानीमा पढ्न बसेका यी तन्नेरी विदा वा घर जान लागेका बेला खोजीको योजना बुन्छन् । 'जो घर जान्छ, उसको साथ लागेर २/३ जना जान्छौं,' थापा बताउँछन्, 'त्यो जिल्लामा चमेराको अवस्था खोजी गर्छौं ।' चार वर्षको अध्ययनले उनीहरूलाई 'ब्याट्स अफ नेपाल' पुस्तक निकाल्ने सफलता मिलेको छ । 
उनी भन्छन्, 'काठमाडौं भ्यालीमा १९९७ मा २५ प्रजाति रेकर्ड थियो । अहिले २०१० मा १२ मात्र भेटिए ।' नेपालमा मान्छेलाई हानि गर्ने प्रजाति भेटिएका छैनन् । झापाको रतुवामाइ आयोजना हाता मुलुकमै धेरै संख्यामा चमेरा बस्ने ठाउँ हो ।  
०००
'कुकुर, बिरालो, गाई, स्याल वा मान्छेजस्तै बच्चा जन्माउने, दूध चुसाउने भएकाले चमेरो स्तनधारी वर्गको जन्तु हो, धरान हात्तिसारको केन्द्रीय प्रविधि क्याम्पसमा प्राणीशास्त्रका सहायक प्रध्यापक रामचन्द्र अधिकारी भन्छन् ।  चमेरा दुइ किसिमका हुन्छन् । फलफूलमात्र खाने ठूला मेगाचिरोप्टेरा र भुसुना खाने साना खालका माइक्रोचिरोप्टेरा । भन्छन्, 'संसारभर ११ सय १६ प्रजातिमध्ये ७० प्रतिशत साना खालका छन् । जसले भुसुनालगायतका कीरा खान्छन् ।' पाकेका फल र फूलका रस खाने शाकाहारी आँखा देख्छन् । कीरा-फटयाङग्रालाई आहारा बनाउनेहरू देख्तैनन् । तिनमा श्रवण क्षमता अत्यधिक हुन्छ ।
      पोखरा, बनबिज्ञान अध्ययन संस्थानमा पढाउने जीवनाथ पाण्डे (५२) लाई बिद्यार्थीका शोधका ठेली कलेजमै थन्किनु राम्रो लाग्दैन । 'रिसर्चले जीवजन्तुको अवस्था मात्र बताउदैन, संरक्षणका सुझाव पनि हुन्छ, उनले भने, 'जोगाउने उपाय समुदायले थाहा पाए पो जोगिन्छ ।' संसर्गपछि पोथीले अनुकुल अवस्था हेरेर मात्र गर्भ बोक्छे, असुरक्षित छु भन्ने लागे बीउ बाहिर फालिदिन्छे । उनले भने, 'स्तनधारीमा यो तथ्य अचम्मको छ ।' 
गाँस-वासको अनुकुलता हेरी गर्भधारण तथा प्रजननको समय निर्क्यौल क्षमता चमेराका केही प्रजातिमा मात्र पाइएको छ । वर्षमा एकपटक बढिमा तीनवटासम्म बच्चा जन्माउने यसले ६ देखि ८ हप्ताको भइन्जेल पखेटामा अल्झाएर राख्छ । त्यसपछि उड्न थाल्छ । बढिमा ३० वर्षसम्म बाँच्न सक्ने यी जीव २० किलोहर्जभन्दा धेरै आवृत्तिको आवाज निकाल्न र सुन्न सक्छन् । देख्ने क्षमता कम तर, सुन्ने अधिक भएकाले आफ्नै प्रतिध्वनि सुनेर उडान गन्तव्य र सिकार  पत्ता लगाउँछन् । परावैजनी किरण देख्न सक्छन् 
             चमेरा नआउने ठाउँमा भुसुनालगायतका साना कीराको बिगबिगी हुन्छ । एउटा चमेराले एक घण्टामा लामखुट्टे र यो जत्रा कीरा छ सयदेखि आठ सयवटासम्मलाई आहारा बनाउन सक्छ । वनस्पतिलाई परागसेचन प्रक्रियामा मद्दत गर्छ । वर्षौं खाली पाखा र जमिनहरूमा झाडी-बुटयान उमार्न चमेराको बिष्टाहुँदै पुगेको बीउको भूमिका हुन्छ । लामो दूरिसम्म उडने र पुर्खा बसेकै हाँगा पहिल्याएर बस्ने विशेषता पनि छन् । सहप्राध्यापक अधिकारी भन्छन्, 'अमेरिकामा रेडनेल भन्ने वैज्ञानिकको अध्ययनले १ सय ५० वटा चमेराले  काँक्रामा लाग्ने कीरा १ वर्षमा ३८ हजारवटा खाइदिएर १ अर्ब डलर बराबरको क्षति रोके भन्ने रिपोर्ट पढ्न मिलेको थियो ।' पर्यावरणीय चक्रमा यसले गर्ने हानीभन्दा फाइदा धेरै छन् । 
दक्षिण एशियाली मुलुकहरूमा शुभसूचक नमानिने यो जीव चीन र हल्याण्डमा दीर्घायु तथा खुसीयालीको संकेत मानिन्छ । साइटिस महासन्धिअनुसार दक्षिण एशियामा पाइने १ सय २३ प्रजातिमध्ये ६० लाई अन्तर्देशीय ओसारपसार गर्न पाइदैन । बेलायतमा चमेरा समाउनु गैरकानुनी मानिन्छ । हामीकहाँ अझै यो संरक्षितको सूचीमा परेको छैन । 
(कान्तिपुर कोसेलीमा ०६७ माघ १५ मा प्रकाशित)