धेरैले किताब हैन रहर छपाउँछन् । दुई दर्जन कविता-गजल कोरे संग्रह निकाल्ने सपना । कथा र निबन्ध लेखिहाले त्यसलाई पुस्तकाकार हेर्ने अभिलाषा । साहित्यिक कृति प्रकाशनमा अग्रणी विराटनगरस्थित वाणी प्रकाशनमा कवि कृष्णभूषण बल हैरान छन् । 'पाठकको रहर र रुचि फेरिएका छन्, त्यसलाई चिनेर निकाले पो किताब बिक्छ,' बलको अनुभव बोल्छ, 'धेरैले रहरमात्र छाप्छन्, आफन्तलाई बाँडछन् । अनि किताबको चाङ त्यसै त्यसै थुपि्रन्छ ।' उनको बुझाइमा रंगीन आवरणमा काठमाडौं जे पनि बेच्न सक्छ । समीक्षा छपाउन र पाठक रिझाउन, जिज्ञासु बनाउन र किताबको लागत उठाउने बनाउँछ । भन्छन् 'तर, बाहिर त्यस्तो छैन । चल्तीका किताब निकाल्नेहरू काठमाण्डु पुग्छन्, रहरका लागि निकाल्नेहरू पेनड्राइभमा बोकेर हामीकहाँ आइपुग्छन् ।'
***
विराटनगरमा स्रष्टा र साहित्यिक गतिविधिमा सामेल भइरहन उत्साहीहरूले ०५२ सालदेखि वाणी प्रकाशन सञ्चालनमा ल्याए । साहित्य खोज्ने र रम्नेका लागि वाणीले धेरै कृति पनि प्रकाशित गर्दै आयो । स्थापनायताका ६ वर्ष किताब छाप्ने रहर गर्दै समय बिताएको वाणीमा अहिले सहकारी छ । सम्बद्ध सबैजसो सदस्य साहित्यका विभिन्न विधामा कलम चलाउनेहरू नै छन् । स्थापनादेखि उपाध्यक्ष र हाल ६ वर्षयता अध्यक्षको जिम्मेवारीमा रहेका बल भन्छन्, 'अहिले सहकारीले पालेको छ । किताब त रहर मात्रै हो ।' वाणी अहिले आफैं किताब छाप्दैन । बिके पो छाप्नु । बिक्ने सामग्री समाविष्ट लेखोट आए पो छाप्नु । बरु रहर गर्ने घटेका छैनन् । आफंै आफ्ना कविता, गजल र कथा भेला पारेर संग्रह निकाल्नेहरू लगानी गर्छन् । वाणीको लोगो उपयोग गरिन्छ । त्यसबापत वाणीले ५ प्रतिशत पुस्तक पाउँछ । र्याकमा थन्क्याउँछ ।
***उमेरका उकालीओरालीमा ६४ वर्ष अनुभवको ठूलो भकारी टन्न हुनुपर्ने समय हो । तर, यी कविका कृतिको सूची लामो छैन । 'धेरै निकालेर के गर्ने ? धेरैले खोज्ने र धेरै बाँच्नेचाहि निकाल्नुपर्छ', बल भन्छन्, 'अहिलेसम्म मेरा तीनवटा मात्र प्रकाशित छन् । फुटकरको एउटा संग्रह निकाल्न सकिन्छ । सोच्दै छु ।' राष्ट्र बैंकमा जागिरे जीवनबाट अवकाश पाएको ११ वर्ष बितेको छ । भन्छन्, 'संग्रहमै छाप्न पाएको छैन तर कुनै बेला मेरो रुटिन कवितामा लेखें यसरी बाँच्छन् भूषणजी ।'
कार्यालय आउँछन् थचक्क बस्छन्
उ भित्रको कविलाई निकालेर टेबलमा राख्छन्
पेपरवेटले थिच्छन् र जतन गर्छन्
स्वाभिमानलाई झोलामा राख्छन्, जति जानेका हुन्
बिर्सन्छन्
अप्ठेरो हाकिमलाई सबैभन्दा विद्वान् मान्छन्
कार्यालयको परिचयपत्र घाँटीमा डोरीले बाँधेर
झुन्ड्याउँछन् मानौं त्यही डोरीले भैंसी बाँधेझैं उनी बाँधिएका छन्
र कार्यालय अवधिभर भूषणजी यसरी नै बाँच्छन्
बेलुकी पाँच बज्नासाथ भूषणजी घरतिर लाग्छन्
टेबलमा थिचेर राखेको कविलाई आफूभित्र हाल्छन् दिनभरि थला परेको कविलाई सुरा पान गराउँछन्
कहिले त्यतिबेलै लेख्छन् र च्यात्छन्
नभए बिहान लेख्छन् र हेर्छन् ।।
***
जागिरे जीवन अवकाशपछि बिहान १० बजे वाणी प्रकाशन आएर साँझ फिर्ने कविको दैनिकी बनेको छ । बेलाबखतका निम्तोमा साहित्यिक जमघटले दैनिकीलाई फरक पार्छ । अनिवार्य उपस्थिति चाहिने निम्तो उनले मानिआएका छन् । किताबी साहित्यपछि पर्नुका कारण उनलाई लाग्छ 'खोजीखोजी पढ्न हुने खालका लेख्दैनन् । लेखे पनि प्रचार गर्न जान्दैनन् । काठमाण्डुले पनि हेपेको छ ।' राजधानी बेलाबखत मात्र जान रुचाउने यी स्रष्टाको अघिल्लो शुक्रबार एकल कविता कार्यक्रम भयो । आरोहण गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरले एउटा प्रयोग गरी हेर्यो । सशुल्क कविता कार्यक्रम चल्छ कि चल्दैन भनेर । संयोजक खेम नेपाली भन्छन्, 'वषर्ामा नाटक भइरहेको छैन, अरू के गतिविधि गर्ने भन्दा यो उपाय फुर्यो ।' विशिष्ट कविले पहिलोपटक आयोजना गरिएको सशुल्क कविता कार्यक्रमका लागि स्वीकृति दिनु नै भाग्य भएको उनलाई लागेको छ । 'मान्नु हुन्न भन्ने कत्रो डर थियो । मान्नुभयो,' नेपाली बताउँछन्, 'उपस्थिति राम्रो भयो । दर्शकबाट फेरि यस्ता कार्यक्रम राख्न फिडब्याक आएको छ ।'
***
कृष्णभूषण सशुल्क कविता कार्यक्रमका लागि नौला थिएनन् । उनका लागि राजधानीमा निकैअघि हिमाल मिडिया र केहीअघि पुरानोबानेश्वरस्थित गुरुकुलले यस्ता कार्यक्रम राखेका थिए । अनुभवी कवि यसपटक अघिल्ला कार्यक्रमभन्दा केही पृथक् र सम्झनायोग्य कविता पस्कने प्रस्तुतिमा देखिए ।नाटकघरमा उनका कविता युवा कविहरू विवश पोखरेल, मुन मञ्जिल, ज्योति जंगल, मुनाराज सेर्मा, सविता गौतम दाहाल र खेम नेपालीले वाचन सघाए । सघाउनेमध्येमै सेता दाह्री भएका रामबाबु दाहाललाई कवि बलले मञ्चमा बोलाए । दाहालले परिचय खोले, 'म कवि होइन । तर, भूषणजीले लेख्नुभएको एउटा कविता मेरो सम्पादनमा निस्कने पत्रिकामा २०३२ सालतिर छापेको थिएँ,' उनले त्यही कविता वाचन गरे । आफ्नो प्रस्तुतिका क्रममा कवि बल अतीतमा पुगे । कार्यालय समय सकेर निस्कँदा तीनजना साथी हुन्थे । राससका खिलध्वज थापा, कृषि बैंकमा काम गर्ने शैलेन्द्र साकार र उनी । पुरानो राष्ट्रबैंक गल्लीको एउटा सानो घुम्ती पसलमा यी कलमकर्मी जम्थे । भन्छन्, 'जहिल्यै साँझ रक्सी खाने हामीले एक दिन त्यहाँ पुगेर पनि खाएनौ । खै के भयो त्यो दिन । खानै मन लागेन । बरु घर आएर आज त बिसाउँ होला थापाजी कविता लेखें ।'
पहिलो चुस्की रसाउँदै गलाहरू छातीमा क्षय
रोपिसक्यौं कि
निरन्तर खन्याउँदै बोतलहरू गिलासमा मृत्यु
भरिसक्यौ कि
छहारीमुनि केही बिरुवा हुर्कन बाँकी नै छ
चौतारीमाथि केही भारीहरू बिसाउन थाती नै छ
बलुकीको घामसँगै राता नीला बोतलहरू गुलुपझैं
आँखामा बले पनि
बेलुकीको कलिलो अँधेरीमा घाँटीले तिर्खा मेटाउन
तम्तमाए पनि
एकछिन बाटाहरू
थाकेर भुइँचालोमा कामे पनि जेसुकै होस्,
आज त बिसाउँ होला थापाजी ।।
***
दिनभर पाहुना आउजाउ गर्छन् । वाणीको सटरबाहिर प्लास्टिकका कुर्सी निकालिन्छन् । साहित्यको चर्चा चलिरहन्छ । आगन्तुकलाई बल धेरै सुन्छन् बिस्तारै र ठिक्क बोल्छन् । विराटनगरमा साहित्यिक जमात बढेजति नै कृतिको गुणस्तरको चिन्ता उनलाई लाग्छ । भन्छन्, 'हामीले समय चिनेर कृति निकाल्न ध्यान दिनुपर्छ । युवाका सिर्जनाले साहित्यका लागि काम गर्नुपर्छ ।' अहिले यी कविको दिनचर्या 'आज त बिसाउँ होला थापाजी' जस्तो छैन ।
(कवि बल कृतिका संख्या होइन सिर्जनामा काव्यिक चेतको स्तरले माथि उठेका हुन् । उनी भाषामा नरम शैलीमा विद्रोहका भाषा बोल्छन् । विराटनगरमा भएको उनका एकल कविता कार्यक्रमबारे लेख्ने समय अनुकूल परेन । त्यसैले उनका बारे ०६८ साउन २१ को कान्तिपुर कोसेलीमा प्रकाशित यो समाग्री ब्लगमा पनि साभार गरिएको हो ।)
1 comment:
Dada aaja balla 1 jana biratnagar bata Blogger bhete khusi lagyo. Nice blog keep it up.
aashish @ Nepali FM
Post a Comment