Saturday, August 13, 2011

छाडेको घर


विषयहरू खोज्न कुनै कुनै बेला टाढा पुगिरहनु नपर्ने रहेछ । यस्ता धेरै विषयमाथि कलम चलेको देख्छु, जो हाम्रा वरपर छन् तर, हामीले तिनलाई विषय भनेर चिनेनौ । मित्र सुविद गुरागाइँले ' घर शिर्षकको राम्रो प्रस्तुती ' भन्नुभयो । गएको २७ जुन अर्थात् असार १३ गते फेसबुकमा मैले कुथुर्के चरा सुपारीको बुटामा गुडबाट चिहाइरहेको तस्बिर अपलोड गरेको थिए । १५ वटा प्रतिक्रिया पाइयो, ३२ ले 'लाइक' गरे । तिनै प्रतिक्रियामध्ये सुविदजीको कमेन्टले मलाइ यस्तो लेख्न मन लाग्यो । जो कान्तिपुर कोसेलीमा छापियो पनि । 
न्याउली चरा देख्नेले देखेका होलान् । नदेख्नेले गीत र कवितामा त्यो चरो रोएजस्तो आवाज निकाल्छ भनेर सुनेकै हुनुपर्छ । न्याउली बार्बेट परिवारअन्तर्गत पर्छ । र, त्यही परिवारमा पर्ने अर्को चरोको गतिविधिलाई मैले विषय बनाए । 
            म विराटनगर बस्छु । मेरो अफिस कञ्चनवारीनजिक पीपलचोक एरियामा छ । मेरो विषय अफिसको झयालबाट देखिने सुपारीको बुटा वरिपरि घुम्छ । मैले भ्याए र याद भएसम्म सुपारीका बुटा हेरिरहे । अनि दुइ फरक प्रजातिका चराका गतिविधि लेखेर इमेल पठाएपछि पृष्ठ संयोजक साथी यज्ञशजीले चराका सीरीज निरन्तर भएकाले उपयुक्त समयमा प्रकाशित गर्ने भन्नुभएको थियो । तीन सातापछि छापियो । जो यस्तो छ ।

अनि उनीहरू विस्थापित...

दिनभरको थकान मेट्ने थलो । रातभर निद्रा मार्ने र जीवनका गति पच्छ्याउन आश्रय लिने ठाउँ घर हो । परिश्रमले तयार पारेको घर कसैले कब्जा गर्‍यो । बसेकै बेला उसको बलमिच्याइँको प्रतिवाद गर्ने क्षमता भएन । अतिक्रमणकारीका कारण पहिलो छाडियो । दोस्रो आश्रय तयार पारियो । नयाँ आश्रयमा दुई साताभन्दा बढी बितेन । फेरि उही आयो । पस्यो र त्यहाँबाट पनि धपायो । उनीहरू मान्छे थिए भने आफ्नै आकार बराबरको शत्रुको प्रतिवादका उपाय धेरै हुन सक्थे । सके आफैं लड्थे, नसके कानुनको सहारा लिन्थे । न्यायिक निकायमा उजुरी दिन्थे । समाजले पनि पीडितको पक्षमा बोल्थ्यो होला । उनीहरूको समाज बोलेन । प्रकृतिको नियम पच्छ्यायो । एक जोडी ब्लु थ्रोटेट बार्बेट भनिने कुथुर्के चराले डांग्रे रुप्पीको अन्यायको जवाफ दिएनन् । निकै दिन लगाएर चुचाले ठुँगेर बनाएको गुँड उनीहरूले छाडे । बसाइँ गए । 
                                                           ***
 'दाइ, चरा खोज्न कताकता पुग्नुहुन्छ । यहाँ एउटा नयाँ चरा आएर गुँड लगाएको छ । त्यो पनि हेर्नुस्' गत असारको पहिलो साता एक साँझ कान्तिपुर पब्लिकेसन्सको वितरण विभागका गंगाराम भण्डारीले भनेका थिए । उनको कुरामा अरू सहकर्मीले पनि 'पक्का हो' भन्दै सही थापे । अन्य कामको व्यस्तताले केही दिन उनको कुरामा ध्यान दिएर त्यो नौलो चरो हेर्ने मौका जुरेन । फुर्सदको एक दिन हेरियो । अफिसपछाडिको सुकेको सुपारीको बोटमा ठुँगेर बनाइएका दुईवटा प्वाल थिए । टुप्पानजिक मास्तिर डांग्रे रुप्पी देखियो । त्यसको करिब दुई मिटरमुन्तिर कुथुर्के । कडा घाम थियो । गर्मी बढेकाले हुनुपर्छ, दुवै प्वालबाट अलिकति मुन्टो निकालेर बाहिर चिहाउँदै थिए । भित्र निकै गर्मी हुँदो हो । गुँडको ढोका भने पनि झ्याल भने पनि एउटै प्वाल । दुवै छिमेकी सायद हावा खाँदै थिए ।
                                                           ***
 डांग्रे रुप्पी हाम्रा लागि नौला छैनन् । कारण, पहेंला खुट्टा, चुच्चो र गाढा खैरो र थोरै सेतो रंगको प्वाँख हुने यो रैथाने चरो वरिपरि सजिलै देख्न सकिन्छ । नेपाली चराविद्हरूले हालसम्म हामीकहाँ पाइएका १० वटा यसका प्रजातिमध्ये डांग्रेलाई पर्यावरण परिवर्तनमा जीवनशैली त्यसअनुकूल बनाउन सक्ने क्षमता भएको मान्छन् । बस्ती, खेतबारी र यत्रतत्र यसलाई देख्न गाह्रो छैन । कुनै फेसन डिजाइनरले धेरै रंगको संयोजन गरी तयार पारेको कृतिजस्तो कुथुर्के चरो रुप्पीजसरी सजिलै सबैतिर देख्न सकिन्न । बार्बेट परिवारअन्तर्गत पर्ने कुथुर्के नीलो अनुहार, घाँटी, निधार र पृष्ठतालु रातो, तालु वरपर कालोपेटी भएको हुन्छ । चर्को स्वरमा कुथुरकुथुर गर्ने यो चरो समुद्र सतहदेखि १ हजार ५ सय मिटरसम्म धेरै देखिने र बसाइँका लागि २ हजार १ सय मिटरसम्म पुग्ने मानिन्छ । बार्बेट परिवारअन्तर्गत मुलुकमा हालसम्म ७ प्रजाति पाइएको पुस्तकहरूमा उल्लेख छन् । न्याउली चरो पनि यही परिवारअन्तर्गतको मानिन्छ ।
                                                      *** 
असारको दोस्रो सातादेखि अन्तिम हप्तासम्म मेरो दिनचर्या अफिस पुगेर आफ्नो झोला बिसाएपछि दैनिक एकपटक कुथुर्केका गतिविधि हेर्नेमा केन्दि्रत भयो । २४ असार दिउँसो पौने १२ बजे गुँडमा नयाँ दृश्य देखियो । माथिल्लो गुँड कब्जा गर्ने डांग्रे तल्लो गुँडमा पस्यो । कुथुर्केका जोडा थिएन । त्यसले केही खायो । खाँदै चोरले जस्तै बाहिर हेर्दै निकैबेरपछि बाहिरियो । उसले बाहिरिँदा चुच्चोमा कमलो प्वाँख च्यापेको थियो । अनुमान गरियो, उसले कुथुर्केका बचरालाई हमला गरेको थियो । मार्‍यो-मारेन थाहा पाउने अवस्था भएन । कारण, मेरो ३.५ ओपनिङको १३५ एमएम लेन्सले करिब ६० मिटर दूरीको दृश्यलाई चाहेजस्तो राम्ररी नियाल्न सकेन । त्यस दिन कुथुर्के गुँड पसेको देखिएन ।
 त्यसको दुई दिनपछि फेरि कुथुर्के जोडामध्येको एकलाई गुँडमा देखियो । त्यस दिन चुचो बाहिर निकाल्दै आँ गर्दै बाहिर हेर्दै थियो । २९ असारमा सुनसरीको तरहराबाट फोटोपत्रकार साथी यात्रा थुलुङ विराटनगर आए । उनलाई कुथुर्केका बारेमा भनियो । उनले पनि त्यो चरोको तस्बिर लिने चाहना गरे । दुई घन्टा पर्खेर बसियो । कुथुर्केका जोडा देखिएनन् । बरु गुँडबाट मसिना कमिलाका लस्कर ओहोरदोहोर गरेको देखियो । ती पन्छी बसाइ हिँडेछन् । अहिले पनि अफिस आएपिच्छे एकपटक सुपारीको त्यो बोटमा नजर पुग्छ । कुथुर्के देखिँदैनन् । अर्काको गुँड कब्जा गरी मास्तिर डांग्रे रुप्पी भने उस्तैगरी बसेकै छ । बेलाबेला हावा चल्छ । सुकेको सुपारी बुटा ढल्लाढल्लाजस्तो भएको छ । 

शब्द/तस्बिर : भीम घिमिरे
(कान्तिपुर कोसेली /प्रकाशित मिति२०६८ श्रावण २८ )
  

No comments: