Thursday, November 13, 2008

घुँघीफोर गरुड ( Asian openbill stork)

पखेटाले राम्ररी काम नगर्दै उड्न चाहनेको जीवन जोखिममा पर्छ। दर्शनका हिसाबले भनाइ ठीक होला। तर, मान्छे र अरु प्राणीका सन्दर्भ फरक छन्। गरुड प्रजातिको घुँघीफोर भनिने ओपन विल स्टोर्कका गुड हेर्न जाँदा उपरोक्त भनाइ मगजमा घुमिरह्यो।

विराटनगरको खार्जीस्थित दुग्ध वितरण आयोजना परिसरमा सिमलका ७/८ वटा रुख छन्। यहाँ ती चरा बर्सेनि प्रजननको समयमा आउँछन्। चल्ला हुर्काइ उड्छन्। अहिले यहाँका सिमलमा करिब दुई सय गुँड छन्। तिनमा चार सयको हाराहारीमा चल्ला छन्। धेरै चल्लाहरु उड्ने अभ्यास गरिरहेका छन्।

म चराको अनुसन्धानकर्ता होइन। तर, रुचि लाग्छ। सात वर्षदेखि चराको फोटो खिच्न तल्लीन मेरा मित्र यात्रा थुलुङलाइ साथ दिन म हिँडछु। यात्राजी र मेरो भेट हुँदा हामी कतै बसेर खाने, रमाइलो गर्ने कुरा हुँदैन। हाम्रो धुन हुन्छ - चरा, अनि तिनको फोटो।

हिजो बुधबार म एक सातापछि काठमाडौंबाट घर फिरेको हँ। यात्राजी विराटनगर आउनुभो। घर पुगेर चारो च्यापेपछि हामी दुग्ध वितरण आयोजना आयौं। अघिल्ला वर्षहरुमा पनि हामीले यहाँ आएर फोटो गरेको हो। तर, यसपटक अघिल्लोभन्दा बढी संख्या रहेछ।

परिवार नियोजनको महत्त्व बुझाउन राखिने होर्डिङहरुमा प्राय लेखिने 'थोरै भए ठिक्क, धेरै भए दिक्क' यहाँ पनि लागू भएको रहेछ। यहा चराहरुको झुण्ड सुरक्षित स्थान भएकाले बसेका हुन भन्नेमा शंका छैन। तर, धेरै बचेराहरु तल खसेका रहेछन्। केही मरेका पनि रहेछन्। पखेटाले उडान भर्न नजान्दै रुखबाट मच्चिन चाहनेहरु तल खस्दा रहेछन्। अनि खसेकालाई माउले चारो खुवाउन छाड्दो रहेछ। अग्लो रुखको हाँगामा गुँड। बचरा बिचरा। माथि उक्लन नसक्दा तलै इहलीला समापन हुने रहेछ।

हामीले नजिकै एउटा बचरो देख्यौँ। जो तल खसेर माथि उक्लन नसक्ने भएको थियो। खुट्टा गलेर उभिन नसक्ने भएपछि घुँडा टेकिरहेको थियो। उसलाई समात्न समस्या। अनि मान्छेले पाल्न समस्या। हामीले फोटो खिच्यौँ। उसलाई उसकै अवस्थामा देखेर फिर्‍यौ। डार्बिनको बाच्नका लागि संघर्ष भन्ने सिद्धान्त सम्झँदै। उ कसैको आहारा हो। उसलाई केहीले नखाने हो भने संख्या धेरै पक्कै हुन्छ। र, जति जोगिन्छन् तिनीहरुबाट जीवन चलिरहन्छ।

नेपालमा गरुड प्रजातिमध्ये बढी संख्या हाल यो घुँघीफोरको मात्रै छ। यसले घुँघी, माछा, पानीकीरा खान्छ। लामो उडान भरेर सिमसार र चिस्यान क्षेत्रबाट आहारा खोज्ने यी चरा गुँडमा आएर ओकल्छन्। अनि बचरा पोस्छन्। अण्डा पार्ने समय सेतो, कालो आकर्षक देखिने यो चरा अरुबेला कालो र धुस्रे खरानी रंगको हुने रहेछ।

No comments: