Sunday, December 14, 2008

पोहर यो बेला


कहिल्यै आर्टिकल लेख्न जानिनँ। कारण, सम्पादकको एसएमएस सम्झन्छु - बी एनालिष्ट , नट इमोसनल। दुईपटक यस्तो एसएमएस पाएपछि मैले कोरेर आर्टिकल भन्न रुचाउने शब्द जाललाई सम्पादककहाँ मेल गर्न ठीक ठानिनँ। म सुध्रन सकिनँ। 

लाग्दैन मान्छे भावुक भएन भने यात्रा संस्मरण र पठनीय फिचर तयार पार्न सक्छ। मैले आफूमा सुधार ल्याउन नसकेको होला। तर, लेख्न छाडिनँ।

लेखेँ। अनि आफैंसँग राखेँ। फोटो पत्रकारिताका लागि सम्पादकले दिने हौसला नै मेरा लागि उत्तम होला भन्ने लागिरह्यो। अनि फोटो, फोटो अनि फोटो भन्दै सिक्ने क्रम जारी छ। यद्यपि मलाइ लेख्न मन लाग्छ। अनि फेरि सम्झन्छु त्यो एसएमएस।

मनोविज्ञान सामान्यीकरणको एउटा सिद्धान्त बारे व्याख्या गर्छ। त्यसमा भनिएको छ - हरेक मान्छेले आफूलाई समान्यीकरण गरेन भने त्यो रोगी हुन्छ, मनोरोगी। जस्तै -चिकित्सकले अंगभंग भएर उपचारमा ल्याइएकालाई देखेर आतिनु हुँदैन। चोट कहाँ छ। उपचार कसरी थाल्ने। अनि के-के चाहिन्छ भन्ने सोच्न थाल्नु उसको समान्यीकरण हो। असहज अवस्थाका घाइते वा बिरामी देखेर आत्तिए भने स्वास्थ्यकर्मीले कसरी उपचार गर्छन्? 

पत्रकारितामा पनि यो लागू हुन्छ। धेरै प्रकारका परिस्थितमा आफूलाई सामान्य राखेर सन्तुलित रिपोर्टिङ गर्न सक्नुपर्छ। विषयका विविधताअनुसार आफूमा रिपोर्टिङको सीप बनाउदै लैजानु पर्छ। मनोविज्ञानको यो सिद्धान्त मैले पढेको हो। सामान्यीकरणको अभ्यास नगरेको पनि होइन। फीचर लेखिन्छ, हार्ड-सफ्ट न्युज लेखिन्छ, आर्टिकल ! लेख्नै नसकिने विधा होइन। समाचार र फीचर लेखिरहनेको लेखाइको प्याटर्न लेखका लागि उपयुक्त नभएको हुन सक्छ। तर दुईपटक एउटै सन्देश भएको एसएमएसले मेरो लेख लेख्ने रहरमाथि ब्रेक लगाएको ठान्छु।

समय कति सजिलो छ। लेखेको, खिचेको खेर जाँदैन। लेखेका कुरा सबै अखबारमै छापिनुपर्छ भन्ने पनि होइन। कतिपय लेखनीबाट पारिश्रमिकको आस गरिन्न। आनन्दका लागि लेखिन्छ। स्मरणका लागि लेखिन्छ। अनि कतै जतन गर्दा तिनलाई पछि हेर्दा-पढ्दा बितेको समयको स्मरण पक्कै गराउँछन् भनेर लेखिन्छ। म पनि धेरै गन्थन त्यस्तै लेख्छु।  

अहिले म काठमाडौंमा छु। पोहर यतिबेला म पूर्वको कर्णाली भनिने खोटाङ जिल्लाको यात्रामा थिएँ। अहिले फुर्सदमा बसेका बेला त्यो संस्मरणलाई ब्लगमा अपलोड गरेको छु।

लामिडाँडा, सुन्तला र हवाईजहाज

प्रतीक्षा। नामले नै दिक्क लाग्दो शब्द। गत वर्ष यही बेला दुई साताको खोटाङ यात्रापछि विराटनगर फर्कने दिन नजिकिँदा दिक्कलाग्दो शब्दको सामना मजाले नै गरियो। 

सम्झन्छु अहिले, त्यो साताको शनिबार दिउँसो दिक्तेलबाट लामिडाँडा विमानस्थल पुग्दा साँझ परेको थियो। समूहका ६ जनाले त्यहाँबाट आइतबार बिहान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको गुन्द्रुके जहाजको यात्रा घर फिर्ने तय थियो।

लामिडाँडामा नेपाल एयरलाइन्सले साताको दुईपटक विराटनगर-काठमाडौं र निजी क्षेत्रको यती एयरले दुईपटक राजधानीका लागि उडान गर्ने रहेछन्। स्थानीयबासी र यात्रुका अनुसार यो एयरलाइन्सका उडान धेरैपटक रद्द हुने गरेको रहेछ। 

यसको कारण, कहिले मौसमको खराबी र धेरैपटक सीमित संख्याको जहाज र त्यसले धेरै उडान भर्नुपर्ने भएकाले समस्या आउने रहेछ। जहाज आउने नआउने जान्न बेलुकी ९ बजे रेडियो नेपाल सुन्ने परम्परा यहाँ रहेछ।

हामीलाई पनि पहिलो गाँसमै ढुंगा लाग्यो। कारण, आइतबार सो जहाज नआएर होइन। अघिल्ला उडानमा जाने भनेर नपाएका यात्रुको भीड लामिडाँडाका घरेलु होटलहरुमा देखियो। दुईवटा टिकट दिक्तेलबाटै 'कन्फर्म' अनि दुईका लागि खोटाङ जिल्ला प्रशासनको पत्र भए पनि फर्कने तिथि अनिश्चित भयो। आइतबारको उडानले अघिल्लोपटक उड्न तयार भएर पनि नपाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेको थियो। 

अनि उत्तिकै संख्यामा बिरामी र तिनका आफन्त जहाजको प्रतीक्षामा देखिए। असक्त र उनीहरुको उपचारका लागि हिडेकाहरु देख्तादेख्दै 'हामीलाई उडाउनोस्' भन्न सक्ने स्थिति भएन।

पहिलो रात बितेपछि हाम्रो समूह विमानस्थल नजिकको चाम्लिङ होटलमा सर्‍यो। कारण, टिकटका लागि हुने चहलपहलमा चाँडो भेला हुन सकियोस् र तत्काल उड्ने मौका मिले कुदेर जान सकिने स्थिति बनोस्। 

यात्रामा हाम्रो मोबाइल निदाएको थियो। अनि समूहमा रहेका एक जनाको स्काइ फोनले कतै-कतै नेटवर्क टिप्दै थियो। घरमा छोरो बिसञ्चो भएको खबर। अनि अफिसमा पनि आफु बाहिर हिडेका बेला हुने खोजीले के भयो होला भन्ने भएपछि फर्कन मन हतारिएको थियो। हामी उदयपुरको घुर्मीबाट सुनकोसी तरेर जयरामघाट, हलेसी हुँदै पैदल खोटाङ (दिक्तेल) पुगेका थियौं। फर्कनका लागि फेरि उस्तै यात्रा गर्ने जाँगर थिएन।

लामिडाँडाको भू-बनोट पूर्वमा पाँचथरको सदरमुकाम फिदिमसँग झण्डै मिल्न खोज्ने प्रकारको रहेछ। तर, यहाँ पश्चिम-उत्तर हिमाल र दूधकोशी नदिका मनोरम दृश्य हेर्न सकिने थियो। २०२७ सालदेखि सञ्चालनमा आएको लामिडाँडा विमानस्थलको रनवे कालोपत्रे वा पीच हुने योजनामा परिसकेको रहेनछ। यो अन्तबाट खोटाङ आउजाउ गर्नेका लागि भरपर्दो ठाउँ रहेछ। यो जिल्लालाई अरु जिल्लाको मोटरबाटोले छोएको छैन। यसर्थ उडानको महत्त्व आगन्तुकका तुलनामा जिल्लावासीले राम्ररी नै बुझेका रहेछन्।

हेलिकप्टरबाट ओसारिएका गाडीको संख्या यहाँ दर्जन पुग्न लागेपनि तिनको यात्रा ढुंगा फुटाउने 'ग्रयाण्डर' मेसिनमा बसेको अनुभव दिने प्रकारको रहेछ। सदरमुकामबाट गाडीको यात्रामा तीन घण्टा लागेपनि दिक्तेलबाट लामिडाँडा, अर्खौले वा हलेसी पुग्नु कुनै युद्ध जिते बराबरको अनुभव दिने खालको रहेछ। कारण उकालो-ओरालो र ढुंगे बाटोले हल्लिएर यात्रुका सबै अंगप्रत्यंगको राम्रै व्यायाम हुने रहेछ।

चिसो हावापानी भएको लामिडाँडा सुन्तला उत्पादन र बिक्री हुने राम्रो थलो। जहाज आउने निश्चित भएको खबर पाएलगतै डोकोमा सुन्तला लिएर विमानस्थल वरपर बस्ने स्थानीयबासी भेटिए। अनि आफूले लैजान पाउने वजन अनुसारको सुन्तला यात्रुहरु किन्दै पोको जहाजमा हाल्ने बानी परेका रहेछन्।

हाम्रो समूहका साथीलाई चरण-चरण गरि राजधानी र विराटनगरको टिकट मिलाउने क्रममा सोमबार मसहित तीन जना बाँकी रह्यौँ। लामिडाँडाको साँझ, दूधकोशी नदि र हिमालको स्याँठ, चिसो पानी, रसिला सुन्तला, होटलको बास अनि घर फिर्न कसरी सम्भव होला भन्ने भोगाइ आफैंमा नौलो अनुभव थियो। 

टिकट नभएपछि दिन काट्न हामी लामिडाँडाको खरिदारटोल पुग्यौं। कुनै बेला खरिदारको घर भएकाले सो टोलको नामै त्यसैबाट बसेको रहेछ। त्यहाँ साना नानीहरुको शिशु कक्षा हेर्न पुगेका हामीलाई शान्ति बालबिकास केन्द्रका सञ्चालक एकराज र टीकाराम श्रेष्ठले स्वागत गरे। केन्द्रमा एक दर्जन नानीहरु थिए। पुराना शिक्षकले छाडेपछि गाउँ भित्रिएकी एक बुहारीले त्यहाँ नानीहरुलाई कखरा चिनाउँदै थिइन। 

टीकारामको आँगनमा हाम्रो समूहका सुरेश थापा, मिनराज पन्थी र मैले कुराकानी थाल्यौं। कुराकानी चल्दै गर्दा टीकारामले सुन्तला ल्याएर फिजाए। अनि भने- 'लौ सर , अतिथिका लागि हाम्रो सत्कार यही हो।' रसिला र स्वादिला सुन्तला। पेट अघाउने मनलाई आसक्ति बढाउने। कुरा चल्दै गयो। बोटका सुन्तला उनीहरुले टिपेर ल्याउने र अतिथिलाई साथ दिँदै भेला भएका सबैले कपाकप निल्ने कार्यक्रम चलिरह्यो।

लामिडाँडाका रमुवा र माझीगाउँबाहेक सबै क्षेत्रमा सुन्तला प्रशस्त फल्ने रहेछ। यहाँ कात्तिक अन्तिमदेखि वैशाखसम्म सुन्तला बेच्ने र खाने काम चलिरहने गाउँलेले बताए। बिक्री हुने प्रमुख थलो विमानस्थल रहेछ। ५० पैसाबाट सुरु हुने प्रति दानाको बिक्री मौसम फेरिदै जाँदा १० रुपैयाँसम्म पुग्ने रहेछ।

हामी पुगेका बेला लामिडाँडामा सय रुपियाँमा १२० दानासम्म सुन्तला किन्न पाइने भेटियो। तराईका बजारको तुलनामा सस्तो अवश्य हो। तर, मोटरबाटोले नछोएको जिल्ला। अनि जहाजमा प्रति यात्रु १५ किलोभन्दा बढी वजन  बोक्न नपाइने। बोके प्रतिकिलो ४५ रुपैयाँ अतिरिक्त शुल्क। तोकिएकोभन्दा बढी कसले बोकोस्? 

लामिडाँडाका गाउँघर हेर्दा सुन्तलाका बोटहरु तिहारे फूलले ढकमक्क जस्तो भान हुन्थ्यो। विमानस्थल देख्ता भने अत्यास लाग्ने। माओवादी जनयुद्धमा क्षतिग्रस्त लामिडाँडा विमानस्थल अझै मर्मत गरिएको रहेनछ। यसको आफ्नै कथा रहेछ। करिब डेढ वर्ष यहाँ उडान बन्द हुँदा अधिकांश घरका युवा राजधानी र अन्यत्र हिडेका रहेछन्। होटल चलाउने पाकाहरुको भनाइमा त्यसबेला माओवादीले 'एक घर, एक जवान' भन्दै आएपछि बढेका छोराछोरी रातारात अन्यत्र पठाएर वृद्धहरु छानो कुर्न बसेछन्। 

त्यसरी गएकाहरु अधिकांश अझै फिरिसकेका थिएनन्। त्यसैले धेरैजसो घरमा वृद्धवृद्धा र महिला देखिन्थे। जवान निकै नै कम। उनीहरुको मर्म कोट्याउँदा सुन्तला अमिलो भान हुने रहेछ। 

मंगलबार बिहान हामीले विराटनगर फिर्न जहाजको बोर्डिङ पास पायौं। ठूलो युद्ध जिते बराबरको अनुभूति भयो। किनकी हामी जसरी प्रतीक्षामा बसेका थियौं , त्यसरी नै बस्ने जमात त्यहाँ बढेको बढ्यै थियो।

1 comment:

सिकारुकेटो said...

bhim dai namaskaar ,

ajakal kahaharaunubhako ? photo pani ktm tira ko cha , saruwa bho ki kya ho rajdhani tira ?

pawan neupane
9841028212