Monday, November 23, 2009

अब नभेट्ने है

उनले नम्बर छाडेकी रहिछन् । प्राध्यापन पेशामा रहेका मेरा एक मित्रले बाटामा भेटेर मलाइ खबर दिए । 'उ त उस्तैछिन् , उनले मलाइ भने 'तपाइ पो अलि उमेर खाएको जस्तो हुनुभएछ । फोन गर्नुस रे ।' म छक्क परे । 'को उ ?, मैले सोधेपछि उनले फेरि भने 'उ के उ , तपाइको बेस्ट । कलेजको साथी ।' अनि बल्ल कुरा खुल्यो ।
भेट नभएको १५ वर्ष बितेछ । नम्बर लिएपछि मैले फोन गरें । उनको मोबाइल नम्बर यस्तो अञ्चलको थियो जुन लाइनमा मैले कहिल्यै फोन गर्नुपरेको थिएन । सुरुमा उनले चिनिनन् । पछि कुरा भयो । भेट्ने भइयो । म एक साताका लागि राजधानीबाट विराटनगर आएको थिए ।
त्यो साँझ म अलि उदास पनि थिए । कारण, अफिसबाट आएको फोनले मन एक तमासको भएको थियो । त्यो दिन विहानदेखि साथीहरुको एसएमएस र फोनले मलाइ फिचरयुक्त समाचार लेखनमा हौस्याएका थिए । वैदेशिक सहयोगमा आएर माल पाएर चाल नपाएको सरकारका कारण थन्किएका ट्रली बसलाइ माओवादी कार्यकर्ताले घर बनाएर उपयोग गरेको समाचार छापिएको दिन थियो त्यो । राजधानी रहदाका नौ महिनामा मेरो ध्यान फोटोका लागि मात्र खर्च भएपनि त्यो अवधिको अन्तमा लेखेको एउटामात्र समाचार पढेर आएका प्रतिक्रिया मेरा लागि उत्साहको सञ्चार गर्ने खालको थियो । मलाइ लागेको थियो -'लेखाइलाइ निरन्तरता दिनु पर्ने रहेछ ।'
एक साताका लागि विराटनगर आउन दिउसो ४ बजे त्रिभुवन विमानस्थलको चेकइनमा पसेका बेला अफिसबाट फोन आयो । भनियो 'भाइ तपाइको विराटनगर सरुवा भयो । पत्र लिन कहिले आउनु हुन्छ ।' मेरा सबै उत्साह सेलाए । सरुवा हुने भन्ने मैले सुनेको थिए । तर, म मानसिक रुपले तयार थिइन । कारण, छोरालाइ त्यहाको स्कुलमा भर्ना गराउदा धेरै परिश्रमपछि उ थपिएका किताबप्रति अभ्यस्त हुन सकेको थियो । श्रीमति र मैले उसको फेरिएको स्कुल र थपिएका किताबमा ध्यान लगाउन निकै परिश्रम गर्नुपरेको थियो । राजधानीमा रहदा मैले गरेका कामको राम्रो मूल्यांकन भएको रहेछ भन्ने ब्यङ्ग्य मलाइ लाग्यो । मैले भने 'म एक हप्तापछि आएर भेट्छु ।'
विराटनगरमा घर भएपनि यहाबाट गएपछि मन राजधानीमा रमाएको थियो । त्यहा कामका सन्दर्भमा धेरै सिक्न र संगत गर्न पाएको भान थियो । फेरि पुरानो ठाउमा आउनु मेरा लागि असहज थिएन । तर , परिवार र पोको लिएर हिड्नुपर्छ भन्ने सोच्दा म तयार हुन सकेको थिइन । ती पुरानो मित्रसगको फोन वार्ताले अलिकति भएपनि मगजमा फरक कुरा सोच्न बाध्य गरायो । यदाकदा सम्झना हुदा 'उनी कहा पुगेकी होलिन' भन्ने मलाइ लाग्थ्यो । कतै देखिन्छ कि भेटिन्छ कि भन्ने आस लाग्थ्यो । अनि उनलाइ श्रीमानसग भेटियो भने मैले के साइनो लगाएर कुरा गर्छु होला भन्ने मलाइ लाग्थ्यो ।
मनोविज्ञान पढ्नेहरु धेरै हुदैनन् । किनभने त्यसले पछि के बनाउछ भन्ने हामीलाइ थाहा थिएन । जम्माजम्मी नौ जना विद्यार्थीमा सबैले एकअकार्कालाइ नचिन्ने कुरा भएन । अनि त्यो ब्याचका साथीहरु सबैसग राम्रो सम्बन्ध थियो । उनीसग अलि बढि नजिक । कलेजका ती दिनहरुमा फर्कदा याद आउछ । मेरो अस्थायी जागिर थियो । वर्षमा चार महिना काम हुने । अनि कलेज लागेकै हिउदका दिनमा काम हुन्थ्यो । राती १० देखि बिहान ६ बजेको ड्युटी । ड्युटी सकेर म कलेज पुग्थें । अनि कहिलेकाही क्लासमै निन्द्रा आउथ्यो ।
कमर्स पढ्ने मेरा एक मित्रका दाजु मनोविज्ञानमा मेरा सहपाठी थिए । घाम लागेन । धेरै चिसो भएको दिन आयो भने उनी भन्थे 'भाइ, आज एक-एक पेग लिनुपर्छ ।' अनि कलेज सकेर हामी कलेजरोडका कुनै रेस्टुरामा पस्थ्यौं । चिरिप्प पारेपछि विस्तारै साइकल कुदाउदै घर पुग्थ्यौं । अनि त्यसरी बाहिरिएको दिन उनी रिसाउथिन । भन्दै नभनी किन कता गएको भन्ने उनको गुनासो हुन्थ्यो । उनको साइकल थिएन । कुदाउन नआउने भएकाले उनी साइकलमा बस्न पनि मान्दिनथिन् । मलाइ पनि डबल लोड कुदाउन मन हुदैनथ्यो ।
हाम्रो मित्रतामा खोट थिएन । कुरा गरे पुग्थ्यो । एकअर्कालाइ गर्ने माया कुरामै सीमित थियो । हामी त्यसबाट कहिल्यै अघि बढेनौ । उनलाइ धेरै कुरा गर्नुपर्थ्यो । सानामसिना कुरामा पनि गुनासा धेरै हुन्थे । कलेज सकियो । उनलाइ विवाहको प्रस्ताव आएछ । मलाइ उपाय निकाल्न भनिन् । स्नातक सिध्याएर स्थायी जागिर नखाएसम्म विवाहका विषय मेरो आँट भन्दा बाहिरको कुरा थियो । 'त्यसो भए भाग्ने त -, मैले सोध्दा उनी त्यसो गर्न पनि राजी थिइनन । एक्ली छोरी । बुद्ध बाबुआमा । मन दुखाउने चाहना नभएको बताएर गरिरहेका गुनासा मलाइ ठीक लागेन । जे इच्छा छ अब त्यही गर्ने भन्दै हाम्रो बाटो अलग भयो । म निकै तनावमा थिए । 'किन केटीहरुलाइ बिहेको हतार हुन्छ - पढाइ सकेर योग्यता बनाए भने पछि कुनै पनि जागिर खादा लोग्नेको खटनमा भर गर्नु पर्दैन भन्ने बुझदैनन्' भन्ने लागिरहन्थ्यो । भन्न त भनिहालियो बाटो अलग । त्यसपछि भेट भएन । मैले केही महिनाका लागि विराटनगर छाडें । कामका लागि बीरगञ्ज गएर बसें । फिरेपछि सोधखोज गर्दा थाहा भयो - उनले लबम्यारिज नै गरिछन् । अनि विराटनगर पनि छाडिछन । बाबुआमाको राजीखुसी थियो\ थिएन थाहा भएन ।
क्रमश :

सीमानामा सुरक्षा सक्रियता

'हामीलाइ भाषामा अलि समस्या भयो, उनले उभिएर अलि धक मान्दै भने 'दोभाषेको व्यवस्था हुनुपर्‍यो ।' सशस्त्र प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत सीमा क्षेत्रका गाविसहरूमा खटाएका टोली फर्किएपछि गत साता उनीहरूलाई परेका समस्या जानकारी लिने क्रममा एक जवानले यस्तो बताएको सुन्न पाइयो । स्थानीयवासीको भाषा बुझन र बोल्न सकेको भए जति जानकारी संकलन हुन सक्थ्यो त्यति हुन नसकेको असन्तोष उनको भनाइमा थियो ।
मोरङका पाच स्थानमा छुट्टाछुट्टै क्षेत्रसहित पाच दिनको समय दिएर खटाइएको टोलीले गुह्य कुरा के ल्यायो भन्ने त्यहाको प्रस्तुतीमा आएन । कारण सुरक्षाका कुरा हुन सक्लान । फौजीले राष्ट्रिय सुरक्षाका सवालमा सबै भेद पत्रकारका अघि खोल्नैपर्छ भनेर दवाव दिने स्थिति पनि थिएन । उनीहरूले देखेका कुरा थिए-सबै समस्याको चुरो सिमाना खुला हुनु रहेछ । सम्भवतः चुरो कुरो यही नै हो । बन्दोबस्तीका सामानसहित हिडेको टोलीले जहा पुग्यो त्यहा स्थानीयवासीले यही चौकी राखेर बस्नोस् चोर-डाकाको आतंकबाट छुटकारा मिल्छ भनेर अनुरोध आएको पनि सुनाए ।
खुला सिमाना जति फाइदाजनक छ त्यति नै सुरक्षा संवेदनशीलताका लागि चुनौतीपूर्ण । छिमेकी राष्ट्र भारतले आफ्नो क्षेत्रमा सीमा सुरक्षा बलको उपिस्थति बाक्लो पार्दै लगेका बेला बल्ल अब थोरै भएपनि सरकारले सशस्त्र प्रहरी बललाइ तैनाथीका लागि तयार पार्न थालेको छ । जति स्थानमा हाल सशस्त्र तैनाथ छन , उनीहरूसग साधनस्रोतको अवस्था भने दया लाग्दो छ । सशस्त्रको टोलीसग आफ्नो सवारी साधन छैन । भारतीय क्षेत्रका सवारी साधन भाडामा झिकाएर त्यसमा नेपालको नम्बर प्लेट दिइ चलाइएको छ । सबै गाडीसगै आएका चालक पनि सशस्त्रकै उठबसमा छन । सिमानाका धेरै ठाउमा स्तम्भ भेटिदैनन । वारी र पारीका वासिन्दा खुट्याउन सजिलो छैन ।
हाम्रा सिमाना मिचिएका समाचारमा सरकारको फितलो प्रतिक्रिया सुरक्षाको जिम्मेवारी बोकेर गस्ती गर्नेहरूका लागि मनोबल उच्च पार्ने खालका छैनन । केही महिनाअघि सुनसरीको राजगञ्ज सिनवारी गाविसमा स्थानीयवासीले सुरक्षाकर्मीको एउटा गाडी जलाए । अर्कोमा तोडफोड गरे । गाइवस्तु लुट्न आएको समूहबाट सुरक्षा दिन नसकेको भन्दै आक्रोश देखाएका त्यहाका जनतालाइ केही नेताहरूले गएर साम्य पारे । त्यहा आउने भारतीय क्षेत्रका लुटेराले कसको घरमा कस्तो मालजाल छ भनेर दिउसो चियो गर्ने र राती आएर लुट्ने गरेको स्थानीयको भनाइ थियो । सुरक्षाकर्मीको सवारी साधनमाथि आगजनी र तोडफोड भएको रात पनि लुटेराले मालवस्तु लानुका साथै गोली चलाएका थिए । त्यसमा दुइ गाउलेको इहलीला सकिएको थियो । राजधानीको हेराइले सुनसरी-मोरङलाइ विकास पुगेको र सुगम जिल्लाका रूपमा बुझेको छ ।
यथार्थमा दुवै जिल्लाका तराइ र पहाडी गाविसको सुरक्षा सजिलो छैन । धेरै ठाउमा अझै यातायात आवागमन सहज हुनेगरि बाटा बनिसकेका छैनन । सञ्चार पनि असजिलो छ । राजनीतिक उथलपुथबीच पनि सडक र बाटा बनाउन काम क्रमकि रुपले नभएका होइनन । तर, यिनलाइ मर्मत तथा आवागमन सहज बनाइरहन सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ । सुगम भनिएका जिल्लाका सीमा क्षेत्र त असहज छन भने अन्य कस्ता होलान भन्ने सोच्न असजिलो पक्कै हुदैन ।
हामीकहा जनपथ,सशस्त्र प्रहरी र सेना गरि सुरक्षाका तीन अंग छन भन्ने सुनेका जनताले ती अंगका कारण निश्चिन्त भएर ब“च्न पाउनुपर्छ । यसका लागि समयानुकूल उनीहरूको पूर्वाधार र वृत्तिविकासमा नया योजना जरूरी छ । बल गठन गरेर मात्र हुदैन । उनीहरूबाट लिइने कामको प्रभावकारीतामाथि पनि निगरानी हुनुपर्छ । सुरक्षा अंगले पनि सीमापारका सुरक्षा अंगसगको सहयोग आदानप्रदान बढाउनुपर्छ । खुला सिमाना हाम्रा लागि मात्र टाउको दुखाइ अवश्य होइन, छिमेकीका लागि पनि हो । नया संविधान बनाएर मुलुकलाई सबै जाती र क्षेत्रको सहभागिता सुनिश्चित गर्लान भनी दिएको जिम्मेवारी सम्झदा हामी अहिले सत्ता सञ्चालनमा लुछाचुडी गरिरहेका दलहरूमाथि शंका गर्ने अवस्थामा पुगेका छौं । किनभने संविधानसभा निर्वाचनले माओवादीलाई ठूलो दलका रूपमा मात्र उभ्याएन । मधेसी जनअधिकार फोरमलाइ पनि निर्णायक शक्तिका रूपमा अघि ल्यायो । कांग्रेस, एमाले र सद्भावनाका दुइ चिरा भएका नियति बिर्सने हो भने फोरम अहिले पनि सत्तारूढ गठबन्धनमा निर्णायक छ । माओवादीले सरकार चलायो, आफुलाइ सघाउने बाहेकका दललाई भीत्तामै पुर्‍याउन प्रयासरत भयो । उसको पालो फेरियो । अहिलेको २२ दलको सरकार पनि माओवादीमाथि त्यही रीस फेरिरहेको छ ।
संविधानसभा निर्वाचनलाइ दलहरूले सत्ता सञ्चालनका लागि जनताले अनुमति दिएको मात्र सम्झेका छन । अन्यथा दलहरूले मुलुकका लागि सुरक्षा रणनीति अझ मजबुत बनाउनेमा ध्यान दिदा हुन ।