Tuesday, June 2, 2015

कहाँ छ खुसी

कतै भाग्य निर्भरता, कतै पौरखमा 
पोखरा- 'एउटा थोकमा मात्रै खुसी भेटिने होइन, परिवारमा सुख, काम राम्रो चलोस्, अनि आम्दानी राम्रो होस्', यहाँको महेन्द्रपुल नजिकै २६ वर्षदेखि मोचीको काम गर्दै आएका मिनबहादुर रोकाले भने, 'मान्छेका जिन्दगीमा दुःख धेर छन् । त्यसैले साना साना कुरामा पनि खुसी भेटिने भएको होला । 

५४ वर्षे भारी भरकम शरिर भएका यी मान्छे शहरको बदलिँदो जुत्ताको फेसनले दुःखी छन् । 'अहिलेका जुत्ताको फर्मा अर्कै अर्कै छ । हामीजस्ताले मर्मत गर्नै गाह्रो', उनले भने, 'पुरानो फेसन चाहि मज्जाले मर्मत गर्न सकिन्छ ।' काभ्रेको उग्रतारा गाविसबाट उनले पोखराको सडकसम्म आइपुग्दा धेरैपल्ट खुसी खोजी गरेको बताए । 'खासमा यो गरेर हुन्छ कि उ गरेर हुन्छ की भनेर सुखी जीवनको खोजी गर्नु नै शायद खुसी खोज्नु होला', उनले भने, 'मैले पुलिसमा, सेनामा पनि जागिर खाइ हेरेँ । व्यापार पनि गरि हेरेँ । मेरो खुसी यो सडकमा रहेछ ।'
विहानदेखि साँझ उनको कुराइ को जुत्ता चप्पल मर्मतका लागि आइपुग्ला भन्ने रहन्छ । दिनभरि राम्रो काम भए हजार/बाह्र सय आम्दानी हुन्छ । बुवाको जुत्ता चप्पल मर्मतको पेशालाई नजिकबाट हेरे पनि धेरै सीप काम गर्न थालेपछिमात्रै आफ्नो हातमा बसेको उनले बताए । तीन श्रीमति, सात सन्तानका अभिभावक मिनबहादुर केही वर्षता उच्च रक्तचापको रोगी भए । 'यहाँ अब एक वर्षन्दा बढि बस्दिन होला । घर जान्छु । उतै केही गरौंला भन्ने लाग्छ', उनले सुनाए, 'अब छोराहरू आफैं केही गर्न सक्ने भएका छन् ।' १ सय ४० रूपैयाँमा तीन कोठा भाडामा बसेका उनले अहिले मासिक ७ हजार ५ सय तिर्छन् ।

Monday, June 1, 2015

एउटा गुमनाम कवि - इन्द्र राना 'प्रतीक'

नाम नाम हुन सक्छ
नाम सुनाम हुन सक्छ
नाम नभएको नाम अनाम हुन सक्छ 
तर, कसरी नाम अनाम हुन सक्छ ?

पुरेतले राखिदिएको नाम चित्त बुझेन । २१ औं शताब्दी सुहाउने नामको चाहना । बाबुले सम्झिए -'घर बनाएपछि रंग लगाउन खटिएमध्येको एउटा मजदुर पनि कविता लेख्थ्यो । राम्रो नाम उसले पो जुराउँथ्यो कि ।' खोज्न निस्किए । भेटे । घर लगे । अनि भने 'मेरो छोरोको नाम तपाई राखिदिनुस् । साथमा उसको नाममा एउटा राम्रो कविता पनि लेखिदिनुस् ।' पहिले अलमलमा परेका कवि विस्तारै संयमित भए । यो पनि अनौठो संयोग हो, कविलाई कसैले पुत्रको नाम राखिदिन र त्यसमाथि कविता कोर्न भनिरहेछ । आम कविमध्ये अलि पृथक रूटीन बाँच्ने इन्द्र राना 'प्रतीक' ले नाम राखिदिए- अनाम । त्योबेला कोरेको कविताभित्रका केही हरफ माथिका हुन् । 

पोखरालाई प्रकृतिले जसरी सिंगारेको छ, त्यसरी नै यहाँ साहित्यिक मन भएकाहरूलाई पनि उर्जा दिएको छ । ताल, खोला, गुफा, पहाड र माछापुच्छ्रे हेरेर कुचीकारहरू क्यानभासमा जे उतार्छन् तीभन्दा कम छैनन् कलमकर्मी पनि । तर, हामी आज जसको जिन्दगीका आरोह-अवरोह केलाउन लागेका छौं, ती कुनै नाम चलेका स्रष्टामध्ये त पर्दैनन् नै, उनका कुनै कृति प्रकाशित पनि भएका छैनन् । कवि हुन कति पढेको हुनुपर्छ - आर्थिक हैसियत उच्च र बसोबास संगतिलो हुनै पर्छ ? शब्दलाई सिर्जनाका चित्र दिन तल्लिन हुनेका हकमा यी मापदण्ड लागू हुनु नहुनु बेग्लै बहसका विषय हुन सक्छन् । तर, उनका कविता सशक्त छन् । यति भए उनी कवि नै हुन् तर, गुमनाम कवि । धेरैले लेख्न नछुटाउने संविधानबारे उनले पनि लेखेका छन् ।

संविधान कान नसुन्ने बहिरो हुनुहुँदैन
र आँखा नदेख्ने अन्धो हुनुहुँदैन
संविधान छद्मभेषी हुनुहुँदैन ।