Monday, June 1, 2015

एउटा गुमनाम कवि - इन्द्र राना 'प्रतीक'


नाम नाम हुन सक्छ
नाम सुनाम हुन सक्छ
नाम नभएको नाम अनाम हुन सक्छ 
तर, कसरी नाम अनाम हुन सक्छ ?

पुरेतले राखिदिएको नाम चित्त बुझेन। २१ औं शताब्दी सुहाउने नामको चाहना। बाबुले सम्झिए - 'घर बनाएपछि रंग लगाउन खटिएमध्येको एउटा मजदुर पनि कविता लेख्थ्यो। राम्रो नाम उसले पो जुराउँथ्यो कि ?' खोज्न निस्किए। भेटे। घर लगे। 

अनि भने, - 'मेरो छोरोको नाम तपाई राखिदिनुस्। साथमा उसको नाममा एउटा राम्रो कविता पनि लेखिदिनुस्।' पहिले अलमलमा परेका कवि विस्तारै संयमित भए। यो पनि अनौठो संयोग हो, कविलाई कसैले पुत्रको नाम राखिदिन र त्यसमाथि कविता कोर्न भनिरहेछ। आम कविमध्ये अलि पृथक रूटिन बाँच्ने ईन्द्र राना 'प्रतीक' ले नाम राखिदिए- अनाम। त्योबेला कोरेको कविताभित्रका केही हरफ माथिका हुन्। 

पोखरालाई प्रकृतिले जसरी सिंगारेको छ, त्यसरी नै यहाँ साहित्यिक मन भएकाहरूलाई पनि ऊर्जा दिएको छ। ताल, खोला, गुफा, पहाड र माछापुच्छ्रे हेरेर कुचीकारहरू क्यानभासमा जे उतार्छन् तीभन्दा कम छैनन् कलमकर्मी पनि। तर, हामी आज जसको जिन्दगीका आरोह-अवरोह केलाउन लागेका छौं, ती कुनै नाम चलेका स्रष्टामध्ये त पर्दैनन् नै, उनका कुनै कृति प्रकाशित पनि भएका छैनन्। 

कवि हुन कति पढेको हुनुपर्छ ? आर्थिक हैसियत उच्च र बसोबास संगतिलो हुनै पर्छ ? शब्दलाई सिर्जनाका चित्र दिन तल्लीन हुनेका हकमा यी मापदण्ड लागू हुनु नहुनु बेग्लै बहसका विषय हुन सक्छन्। तर, उनका कविता सशक्त छन्। यति भए उनी कवि नै हुन् तर, गुमनाम कवि। धेरैले लेख्न नछुटाउने संविधानबारे उनले पनि लेखेका छन्।

संविधान कान नसुन्ने बहिरो हुनुहुँदैन
र आँखा नदेख्ने अन्धो हुनुहुँदैन
संविधान छद्मभेषी हुनुहुँदैन ।

कथा, लघुकथा, कविता र मुक्तकका संग्रह निकाल्ने जमर्को गर्दा उनका रचना करीव पाँचवटा पुस्तकको आकार लिन सक्नेगरि यथेष्ठ छन्। तर, उनले किन निकाल्नु ? अरूले उनीमाथि निकालिदिन पर्ने हेराइ पुगेकै छैन।  

पोखरामा नारायणथान मन्दिर घुम्तीबाट पुल तरेपछि मणिपाल अस्पताल नगइ सेती किनारको ओह्रालो झर्दा डिलैमा बंगुर फार्म छ। त्यसकै छेउमा स्थानीय आमा समूहले निर्माण गरेको दुईकोठे पाटी पनि छ। एउटा कोठा, अर्को छानो त छ तर, खुल्लै चौघेराविहीन। यही पाटीमा रानाको परिवार ६ वर्षदेखि ओत लागेको छ। 

उनी कोठैमा भेटिए। केही निन्याउरा, नौला मान्छे भेट्दा बलजफ्ती अनुहारमा मुस्कान ल्याउन खोजेजस्ता। 'मेरो यो टाउकोको पट्टी नआओस् है,' थोरै कुरापछि फोटो खिच्न खोज्दा उनले क्यापटोपी मिलाउँदै भने, '३२ टाँका लागेको हो। घाइते भएर बसिएको छ।' 
 
कोठामा भित्र पलंग छैन। एकातिर खाना पकाउने-खाने सर्दाम छन्। अर्कातिर खातका खात किताब छन्। भुइँमा दुईजना बेग्लाबेग्लै सुत्न केही लुगा ओच्छ्याइएका छन्। भुइँमै बसेर लेख्न मिल्ने सानो टेबल छ। त्यसमा किताब-कापी छरपस्ट छन्। 

भारतको मेघालयमा जन्मेर २३ वर्षको उमेरमा उनी बुवा, आमा, पत्नी वेदमाया र एउटी छोरी लिएर पुर्ख्यौली थलो स्याङ्जाको क्याक्मी ठाडाथोक फिरेका हुन्। पोखराको घामपानीमा नङ्ग्रा खियाउन थालेको अढाइ दसक पुग्न लागेको सुनाए।

मेघालयका केही भागमा स्थानीय जातिले आप्रवासी नेपाली मुलका बासिन्दालाई दुःख दिन थालेको समय थियो। इन्द्रका बुवा-आमा किराना पसल गर्थे। आठ कक्षापछि उनले पढेनन्। उपन्यास पढ्न रूचि लाग्ने बानीले कक्षाका किताबबाट वितृष्णा गरायो। 

'हामी बसेको सिलोङको क्षेत्रमा तनाव थिएन तर, दुःख दिएको खबर सुन्दा बस्न असुरक्षित भन्ने लाग्यो,' उनले करिब अढाइ दसकअघिको घटना सम्झिए, 'हामी सिलिगुडी, काँकडभिट्टा, पोखराहुँदै आफ्नो गाउँ ठाडाथोक फर्कियौं।' पिताजीले पुर्ख्यौली माटो बेचेर हिडेका थिएनन्। तर, लामो समय छाडेपछि फेरि आफ्नै बनाउन असजिलो थियो। कारण पुरानो जेथामा आफन्तको नियन्त्रण भइसकेको थियो। रोजगारविहीन जीवन सानो बासमा धेरै दिन बस्न सक्नु गाउँमा जटिल भयो। 

पढ्नुपर्ने रहेछ भन्ने बुझेपछि कक्षा ९ मा भर्ना भए। तर, आफूभन्दा आधै उमेर मसिनाहरूसँग संगत गर्न मन भएन। आमा-बुवाले वालिङमा पसल थाले। उनकी जीवनसंगिनीलाई बाथरोगले सतायो। उपचारका लागि पोखरा आउँदा आफन्तमार्फ उनले त्यसबेला चाइना कम्पनी भनेर चिनिएको चिनियाँ परियोजनामा कामदारको जागिर पाए। 

उमेरभरि ज्यालादारी जीवनको दास बाँच्ने मान्छे
भित्रभित्रै दुःख, पीर-व्यथाहरु लुकाएर बाहिर हाँस्ने मान्छे
म पनि त्यस्तै मान्छे, तिमी जस्तै मान्छे
श्रमजीवी मान्छे
रंगरोगन गर्ने, झिलिमिलि पार्ने
एक मजदूर मान्छे ।

सिलोङको सेन्ट एन्थनी कलेजको पुस्तकालयमा उनी शुक्रबार दिउँसो पसे। भीड थिएन। आधाबेलामात्रै लागेको कलेज शनिबार र आइतबार बिदा थियो। उपन्यास पढ्ने धुनमा कुना पसेका उनलाई पालेले देखेनन्। बाहिरबाट ताला लगाइदिएछन्। ठूलो कम्पाउण्ड, जहाँ भित्रबाट जति चिच्याए पनि बाहिरकाले नसुन्ने। बेलुकी अबेर निस्कन खोज्दा सकेनन्। तीन दिन भोकैप्यासै थुनिएका उनी जिन्दगीमा पुनः त्यसरी फेरि कुनै पुस्तकालय पसेनन्।
 
अहिले बगरका बालुवा बोक्छन्, मिस्त्री ज्यामी काम गर्छन्। कोठाभरि किताब छन्। तिनै पल्टाउँछन्। हेर्छन्। मन लागेका बेला कविता, कथा कोर्छन् र, यदाकदा उपमहानगरमा हुने साहित्यिक कार्यक्रममा गएर वाचन गर्छन्। 'ओहो ! कविज्यु, कस्तो गजबको सिर्जना ! साह्रै गहिराइमा पुगेर लेख्नुहुन्छ,' पाउनुखानु केही छैन, सुन्नेले यति भनिदिए उनको मन हलुको हुन्छ। ऊर्जा पाएको महसुस गर्छन्। 

साँझ फिरेर एक गिलास रक्सी सुरुप्प पार्छन् र, दिउँसो आफूलाई प्राप्त प्रतिक्रिया सम्झन्छन्। मन लागे उतिखेरै लेख्छन्। बिहान हेर्छन्, अनि त्यसलाई साफी मार्छन्। 

'हो म रक्सी खान्छु तर, खान्न भन्दिन। म लेख्छु तर, महान लेख्छु भनेर पनि भन्दिन,' ५१ वर्षका यी मनुवाले प्रष्टीकरण दिएझै भने, 'जिन्दगी भोगाइमा जस्तो छ कवितामा उस्तै उत्रन्छ। जिन्दगी नभएको कविता के कविता।'

उफ् ! जिम्मेदार मानिसहरु खुशामद गर्छन्
अक्सर आवश्यकताहरु देखाउँछन्
को मुलाहिजा भर्न सक्छ ? को आवश्यकताहरु टार्न सक्छ ?
स्वार्थ खातिर मनुवा आत्मियता देखाउँछ, शिष्टता पालन गर्छ
अन्यथाको आत्मियता देखाउँछ, को शिष्टता पालन गर्छ ।

वेल्डिङको काम गर्दागर्दै तीन वर्षपछि कम्पनीले मजदुर छाँट्ने भयो । मरिचमानसिंह प्रधानमन्त्री भएको बेला थियो। 'भारतले अचानक गरेको नाकाबन्दीको असर भन्थे, आफूले धेरै बुझिएन,' उनले सुनाए, 'त्यो काम छुट्यो।' त्यसपछि निर्माण मजदुर भएर सडकमा आएर ठेकेदारका मुन्तिर काम गर्न थाले। कहिले इँटा, बालुवा बोक्ने, कहिले मिस्त्रीका काम गर्ने। श्रमको काम भए पनि दिमागले साहित्यको रूचिलाई एउटा कुनामा जतन गरेको थियो। उनका कविता पत्रपत्रिकामा २०४१ देखि प्रकाशनहुँदै आएका थिए। 

'मेरो पाँचौं सन्तानको जन्मका बेला वेदमाया बितिन,' उनले भने, 'त्यसपछि बच्चाहरूसँगै म एक्लो भएँ।' उनका ३ छोरा, २ छोरी हुन्। अन्तिमको सन्तानलाई पालनपोषण गर्ने क्षमता नभएको बुझेर एकजनाले सर्तसाथ धर्मपुत्र बनाउन चाहे। उनले माने। सर्त थियो - आफ्नो सन्तान भनेर चिनाउन, बोलाउन नपाइने।

बास सर्दासर्दै सेती किनारको पाटीमा आइपुग्यो। यहीँ उनले लोग्नेले दुःख दिएर छाडेकी मनकुमारी राईलाई भेटे। मन मिल्यो। एउटा लामो अवधि एक्लै परेका उनले साथी पाए। मनकुमारीले सन्तान नपाउने इच्छा गर्नु उनका लागि रहेको परिवारको भरणपोषणमा सघाउ पुग्ने नै कुरा भयो। 

एक्लै बस्न नसक्ने ? आर्थिक अवस्था त्यस्तो हुँदा पनि स्वास्नी चाहिने ? कविताका मञ्चमा उनले केही चित्त दुख्ने कुरा पनि सुन्न नपाएका होइनन्। तर, मन मिलेपछि घर चल्नु नै जिन्दगी भन्ने दुवैको ठम्याइ छ। राम्रो रहुञ्जेल लामो समय राजमार्गमा कुदाएर भर्खर ट्रयाक खुलेका ग्रामीण पहाडी सडकमा हालेका, बिग्रिरहने, अभर पारिरहने बसजस्तो छ अहिले मनकुमारी र इन्द्रको जिन्दगी।
 
'कैले मैले कुट्छु, कहिले उनले बजाउँछिन्,' रानाले भने, 'तैपनि जिन्दगी चलेकै छ।' स्तरअनुसारका साथी छन्। कहिले सँगै रक्सी खान बोलाउँछन्। तास खेल्न बोलाउँछन्। 'कहिले कहिले त्यस्तोमा पनि बसिन्छ। बोलाइन्छ पनि। तर, मलाइ एक्लै बस्न। ठिक्क खान मन लाग्छ। धेरै खाए रक्सीले जित्छ। होसलाई त्यसले जित्दा पछि पछुतो हुन्छ,' उनले आफूलाई मनबाट सरिफ रहेको प्रष्टीकरण दिन खोजे, 'कहिलेकाही हामी बुडाबुडी मात्रै पनि बसेर खान्छौं। कुरो मिल्छ।'

अभिघात पथहरु टेकेर यो मानव जंगलमा 
असिना जस्तै पानीको सतहमा तरल बग्नु तिमीले 
घरी आफूलाई डुंगा सम्झनु तिमीले
घरी आफूलाई माझी सम्झनु तिमीले ।


तस्बिर लिन खोज्दा उनले टोपीले लुकाउन खोजेको टाउकाको फन्का मारेको पट्टीबारे जिज्ञासा थियो। 'उनले हिर्काएकी हो। यसैले हिर्काएकी,' उनले सानो धारिलो बञ्चरो निकालेर देखाए, 'जे होस् उपचार भयो। टाउकामा गहिरो चोट छ। मनमा छैन। गल्ती मेरो पनि थियो। म कसैलाई भन्न चाहन्न।' 

एकनासले अर्थोपार्जन गरे मान्छेमा दिन फेरिन बेर लाग्दैनन्। अझ घर, पुल निर्माणका काम, रंगरोगनका काममा राम्रै ज्याला छ। एउटा पलंग किन्न नसक्ने, सानो घर बनाउन नसक्ने कसरी बनियो ? उनले भने, 'खै मेरै पनि गल्ती हो। आवश्यकतामाथि मैले केही बानीका कारण जीत पाउन नसकेको हो।'

अहिले उनीसँग मनकुमारी, दुई छोरा र छोरी छन्। ठुलीछोरी बिहेपछि ज्वाइँको घर गइन्। जेठो छोरा विदेश जाने रहर बोकेर कुदिरहेको छ। मसिना दुई सन्तान स्कुल आउजाउ गर्छन्। दम्पती ज्याला मजदुरीमा खटिन्छन्। बिहानै निस्केर मध्यान्ह एक घण्टा खाना खान आउने। कामबाट साँझ ५ बजे फिर्ने। अनि इन्द्र यदाकदा कविगोष्ठी धाउने। धेरैजसो दिन पाटीमै बसेर टुकी बाल्दै कोर्छन्। पुराना किताब झिक्छन्। पढ्छन्। धूलो झार्छन्। आफ्नो जिन्दगीप्रति उति गुनासो गर्दैनन्।
 
उनले एउटा कविता संग्रह प्रकाशनका लागि पाण्डुलिपी हालै पोखराकै सम्मोहन साहित्यिक पत्रिका निकाल्ने समूहलाई दिएका छन्। सम्पादनसँग रहेको भय उनले सुनाए, 'मलाई लाग्छ कविता सम्पादन गरिनु हुँदैन। लय भत्कन्छ। त्यसैले मैले संग्रह निकाल्नअघि सम्पादन गरिदिन्छु भन्नेलाई देखाउन नसकेको हो।'

पोखराको बसाइले उनको रचनालाई विभिन्न मञ्चमा हौस्याएको छ। कविता सुनेकाहरूले उनलाई जीवनका धेरै अप्ठ्यारो बेलामा सहयोग पनि गर्ने गरेका छन्। तर, उनी आफैं भने कुनै हौसलाको असरहीन देखिन्छन्। यहाँका रेडियोमा उनका कविता र अन्तर्वार्ता बज्छन्। पत्रिकामा छापिन्छन्। उनी भने अहिलेसम्म सम्पर्कभन्दा टाढा गुमनाम बसेका छन्। एउटा मोबाइलसम्म लिएका छैनन्। उनलाई भेट्न परे बास बसेको पाटीमै पुग्नुपर्छ। उनको खबर हम्मेसी छिटै कसैले पाउँदैन। किन यस्तो - उनले आफ्नो गजलको टुक्रो सुनाए र, हाँसे।

हराएर नाम बेनाम कसरी हुन सक्छु 
साँच्चै म गुमनाम कसरी हुन सक्छु ।

सम्मोहनका प्रधानसम्पादक कवि रुपिन्द्र प्रभावी भन्छन्, 'इन्द्र राना राम्रो लेख्छन्। पोखराका राम्रो लेख्नेमध्येको नाम लिन परे म उनको नाम छुटाउँदिन।' इन्द्रको एउटा कविता संग्रह तयार रहे पनि आर्थिक अभावका कारण प्रकाशनको काम अघि नबढेको उनले बताए। 

पोखराका कवि तीर्थ श्रेष्ठको बुझाइमा इन्द्र अव्यवस्थित जीवन बाँच्नेमध्येका हुन्। 'आफ्नो जीवन कसरी सहज बनाउने भन्ने आफ्नै हातमा छ। उनी कविता त लेख्छन्,' उनले भने, 'आफ्नो जिन्दगी सुधार्दैनन्। सुधार्ने प्रयास पनि गरेको मैले देखेको छैन।'

उनले एउटा घटना सुनाए। विन्ध्यवासिनी मन्दिर अघि दुई केटाकेटी माग्न बसेका थिए। 'मैले सोधीखोजी गर्दा ती इन्द्रका छोराछोरी रहेछन्,' उनले भने, 'उनीहरूलाई सितैं १२ सम्म पढाउने, होस्टलमा राखिदिने ठाउँ खोजियो। अहँ उनले नानीहरू पठाएनन्।' आफ्नो अभावको जिन्दगी जसरी बाँच्छन्, त्यसलाई शब्दमा उन्ने क्षमता इन्द्रमा रहेको श्रेष्ठले सुनाए। 'उत्कृष्ट कसरी भनौं बाँचेका जसरी हुन्, कविता लेख्छन्। यति हो उनी कवि हुन्,' उनले भने, 'लेख्नु र सजिलो जिन्दगी बाँच्न सक्नुका बीच उनले तालमेल गर्न आफ्नै कारणले नसकेका हुन् भन्ने मेरो बुझाइ हो।' सेती किनारमा बेग्लै खालको गुमनाम जीवन बाँचेर पनि कवितामा ज्यान गरिरहेका कवि इन्द्र राना उनकै लेखाइका कविता जस्तै देखिए ।

दीर्घजीवी पहाडहरु उचालेर चरैवति-चरैवति हिंडिरहेको
आम मानिसहरु भन्दा धेरै फरक बढिरहेको 
जिन्दगीको खुला किताब पढिरहेको
म मूकदर्शक बनेर हेरिरहें
जीवन दर्शन छरिरहेको ।

आफ्ना कुरा 
२०७२ वैशाख १२ को कान्तिपुर कोसेलीमा 'एउटा गुमनाम कवि' शीर्षकमा यो लेखोट प्रकाशित भएको हो। पठाएपछि छोट्टयाउने सुझाव आयो। केही छोटो पारियो। यहाँ ब्लगमा जतन गरेको लेखोट छोट्याउन अघिकै हो। पोखरामा सिर्जनशीलहरू थुप्रै छन्। समयकालले उनीहरूसँग भेट गराउँदै जानेछ। कसैका कथा पृथक भए अवश्य नै यसरी फेरि टिपिने नै छ।

यही दिन गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प आयो। जनधनको ठूलो क्षति भयो। हाम्रो रटिन बिथोल्यो। देशलाई सम्हालिन धेरै दिन लाग्यो।  

प्रकाशित भएको यतिका दिन भूकम्पका खबरले अलमल भयो। आज ब्लगमा राख्दाराख्दै थाहा पाउँदैछु - मनकुमारीले इन्द्रलाई छाडेर हिँडिछन्। मलाई भेट गराउने काम युवा कवि सुरज उपाध्यायले गरेका थिए। पछिल्लो खबर पनि उनैले सुनाए। दुई सन्तानलाई यहाँको कुनै बोेर्डिङले होस्टलमै राखेर सितैं पढाइदिन्छौं भन्ने खबर पठाएछन्। तर, इन्द्रले के गरे त्यो थाहा छैन। उनी मोबाइल बोक्दैनन्। भेट नभएको धेरै भयो। 

No comments: