Tuesday, June 2, 2015

कहाँ छ खुसी

कतै भाग्य निर्भरता, कतै पौरखमा 
'एउटा थोकमा मात्रै खुसी भेटिने होइन, परिवारमा सुख, काम राम्रो चलोस्, अनि आम्दानी राम्रो होस्', पोखराको महेन्द्रपुल नजिकै २६ वर्षदेखि मोचीको काम गर्दै आएका मीनबहादुर रोकाले भने, 'मान्छेका जिन्दगीमा दुःख धेर छन् । त्यसैले साना साना कुरामा पनि खुसी भेटिने भएको होला । 

५४ वर्षे भारी भरकम शरीर भएका यी मान्छे शहरको बदलिँदो जुत्ताको फेसनले दुःखी छन् । 'अहिलेका जुत्ताको फर्मा अर्कै अर्कै छ । हामीजस्ताले मर्मत गर्नै गाह्रो,' उनी भन्छन्, 'पुरानो फेसन चाहि मज्जाले मर्मत गर्न सकिन्छ ।' 
काभ्रेको उग्रतारा गाविसबाट उनले पोखराको सडकसम्म आइपुग्दा धेरैपल्ट खुसी खोजी गरेको बताए । 'खासमा यो गरेर हुन्छ कि उ गरेर हुन्छ की भनेर सुखी जीवनको खोजी गर्नु नै शायद खुसी खोज्नु होला', उनले भने, 'मैले पुलिसमा, सेनामा पनि जागिर खाइ हेरेँ । व्यापार पनि गरि हेरेँ । मेरो खुसी यो सडकमा रहेछ ।'

विहानदेखि साँझ उनको कुराइ को जुत्ता चप्पल मर्मतका लागि आइपुग्ला भन्ने रहन्छ । दिनभरि राम्रो काम भए हजार/बाह्र सय आम्दानी हुन्छ । बुवाको जुत्ता चप्पल मर्मतको पेसालाई नजिकबाट हेरे पनि धेरै सीप काम गर्न थालेपछिमात्रै आफ्नो हातमा बसेको उनले बताए । तीन श्रीमती, सात सन्तानका अभिभावक मीनबहादुर केही वर्षता उच्च रक्तचापको रोगी भए । 'यहाँ अब एक वर्षन्दा बढि बस्दिन होला । घर जान्छु । उतै केही गरौंला भन्ने लाग्छ', उनले सुनाए, 'अब छोराहरू आफैं केही गर्न सक्ने भएका छन् ।' १ सय ४० रूपैयाँमा तीन कोठा भाडामा बसेका उनले अहिले मासिक ७ हजार ५ सय तिर्छन् ।

***

प्रहरीको भर्तीमा १८ महिना तालिमपछि उनी पाल्पा सरुवा भएका थिए । '३६ सालको बेला थियो । बहुदल निर्दलको चेपुवामा पुलिस पर्छन्, छोरा जेसुकै गर अकाल मर्न दिन्न भनेर बाले जागिर खानै दिएनन्,' उनले भने, 'त्यसपछिको केही वर्षपछि त्रिशूली पुगेर सेनामा भर्ती भएँ ।' नौ वर्ष त्यहाँको जागिरले मन रमाएन । काम उही जुत्ता सिउने । 

'म बिदामा आएपछि फेरि फौजमा फर्केर गइँन,' उनले भने, 'यहाँ आफन्त थिए । पोखरा आएँ । समयले सडकमा बसायो । चलाउँदै ल्यायो ।' अब मीनबहादुरलाई दिनहुँ ब्लडप्रेसरको औषधि खान दिक्क लाग्छ । लामो अवधि बितेकाले सडकमा मन रम्दैन । 'तर, म हाँसेरै बसेको छु,' उनले भने, 'जसरी हुन्छ शान्ति र सुखको खोजी र त्यो पाउनु नै खुसी होला ।'

एक दर्जन मोचीको भीडमा यी अनौठा जुंघा भएका मीनबहादुरभन्दा केही किलोमिटर पर सिर्जना चोकको एउटा कुनामा चटपटे बेच्दै गरेकी जानुका थपलिया भेटिइन । उनको खुसी केही फरक अनुभवमा रहेछ । 'मलाइ आफैंले पैसा कमाउने काम गर्दा खुसी लाग्छ । यही हो मेरो खुसी,' उनले भनिन् 'त्योभन्दा अरु कुराका खुसी मसिना छन्।'

पोखरा शहरमा पश्चिम क्षेत्रका धेरैजना रोजगारीका लागि आएका छन् । यस्तामा धेरै महिला चटपटे बेचिरहेका भेटिनु नौलो होइन । तर, जानुका सानो ठेलामा चटपटे लिएर आफ्नो खुसी खोज्दै गरेकी भेटिइन । 

धादिङको सलाङ-८ घर भएका अशोक थपलिया कुनै बेला गाडीमा सहचालकको काम गर्थे । काठमाडौंको बसाइँमा अशोककी पत्नी जानुकाले आफ्नै पौरखले केही गर्ने चाहना राख्दा चटपटे बिक्री अलि सजिलो जस्तो लाग्यो । 'मैले कलंकीमा ६ वर्ष बेचेकी हुँ,' उनले भनिन्, 'पोखरामा चार वर्ष भयो ।'

काठमाडौं बसाइँका क्रममा अशोक साउदी अरब गए । चार वर्षपछि फिरेर आउँदा उनले आफ्नो खुसी खोजेर ल्याएका थिए । त्यो थियो-अब आफ्नै गाडी किनेर कुदाउने । नौ लाख आफूले र बाँकी बित्तीय संस्थाको किस्ताबन्दी ऋणमा मिनी बस खरिद भयो । गाडीको रूट पर्‍यो पोखरा काठमाडौं । 'हामी त्यसपछि पोखरा आयौं, मेरो ठेला काठमाडौंमा ८ सयमा कबाडीलाई बेच्नु पर्‍यो,' उनले भनिन्, '२ छोरा, एउटी छोरीको पढाइ, डेराको बसाइँ । मैले फेरि यहाँ आठ हजारमा ठेला किनेर चटपटे बेच्न सुरू गरेँ।' 

उनलाई श्रीमानले अब यस्तो पेसा गर्नु पर्दैन पनि भनेका हुन् । 'तर, आफ्नो पौरखले गर्ने आम्दानीभन्दा ठूलो खुसी मेरा लागि अरू छैन,' उनी भन्छिन्, 'जबसम्म सक्छु, आफ्नो पौरख गरेर बाँच्ने हो ।' महिनाको ३० हजार हाराहारी आम्दानी हुने भएकाले यो पेसाले उनलाई घर चलाउन सजिलो छ । उनकै भर भएकाले श्रीमानले फाइनान्सको बसको किस्ता चुक्ता गरिसकेका छन् ।
 
यसरी लेखियो यो कथा 
२०७२/०१/०४ मा कान्तिपुर दैनिकको भित्री पानामा छापिएको यो समाचार खासमा डेस्कका साथी उपेन्द्र पोखरेलको सल्लाहमा लेखिएको हो। उनले फोनमा मलाइ 'कहाँ छ मान्छेका खुसी खोज्नुस्' भनेका थिए। यो नियमित रिपोर्टिङको विषयभित्र पर्ने सामाग्री परेन। तैपनि कहिलेकाही क्रमभंग गर्दै लेख्नु पर्छ।

अनौठो टपिकमाथि कसरी लेख्ने होला भनेर सोचियो। दिमागमा मीनबहादुर रोकाको चित्र आयो। केही दिन अघि म तिनी बस्ने लाइनमा पुगेर जुत्ता सिलाउन दिएको थिएँ। त्यहाँ आधा घण्टाको बसाइँमा उनीसँग मेरो कुराकानी भएको थिएन। मान्छे हँसिला, जुंघा अनौठो लागेको थियो। मेरो जुत्ता जसले सिलायो, ऊ दरभंगाको थियो। ससुरा देश गएकाले उसको ठाउँमा बसिदिएको, म ज्वाइँ हो भन्थ्यो। कामसँग काम थियो। 

सँगैका अर्का मोचीका कुरा त्यो दिन अनौठो लागेको थियो। कुनै समय सोल्टी होटलका ग्राहक ल्याइ-पुर्‍याइ गर्ने गाडीमा चालकको काम गरेको बताउने उनले पोखरा आइपुग्दासम्म पाँचओटी बिहे गरिसकेको बताएका थिए। ५५/५६ उमेरको जस्तो, तालु खुइलिन सुरू भएको ती मान्छे फेरि कान्छी ल्याउने सुरमा छु भन्थे।

होटल छाडेर निर्माणमा ठेकेदारी थालेका उनले दोलखा, खोटाङ, ओखलढुंगा, काठमाडौं र पोखरामा जहाँ पुग्यो, त्यहीँ बिहे गर्दै-छाडिहिड्दै गरेको सुनाएका थिए। मोचीको काममा पनि मन रम्न छाडेकाले अबका केही महिनामात्रै बस्ने बताएका उनले भनेका थिए, 'खोइ के हुन्छ, आइमाइ मसँग रत्तिई हाल्छन्। फेरि एउटी आउँछु भन्दैछे। यो लास्ट होला।' 

ती पात्र रमाइला थिए। खुसी कहाँ खोज्छन्, कहाँ भेट्छन्, केमा छ यी गरिखाने मान्छेको भन्ने सोधाइ आफैंमा सरल उत्तर आउने थिएन। मैले जुंघे अघि यी धेर बिहे गरिहिँड्ने पात्रसँग कुरा गर्न ठीकै हुने ठानेको पनि हो। तर, पोखरामा चिप्लेढुंगाको त्यो गल्ली जहाँ यिनीहरू लाइनै बस्थे, पुगेँ। तिनी बसेका थिएनन्। कवि भाइ सुरज उपाध्यायलाई साथी लिएर गइयो। काम गरिखानेलाई कुरामा अल्झाएर गफ गर्नु आफैंमा ठीक होइन। त्यसैले थोरै संकोच थियो। तर, कुरा गरियो।

त्यसपछि जानुका थपलियालाई भेट्दा ठीक हुने सुरजले नै सुझाए। गइयो। भेटियो। चटपटे खाएर पैसा तिरेपछि कुरा गरियो। खासमा चारजनासँग कुरा गर्न मन थियो, फरक फरक पेसाका। तर, त्यो दिन समय थिएन। लेखेर छिटो पठाउनुपर्ने पनि थियो। 

दुई पात्रसँग केहीबेर कुरा गरियो। लेखियो। प्रकाशित भएपछि पोखरामा सुन्न मिल्यो - मीनबहादुरका बारे धेरैले लेखिसकेका रहेछन्। तर, यसपल्ट कुरा गराइ र प्रस्तुतिको धार फरक पर्‍यो। 

No comments: