आफ्नो गाउँघरको छठ सम्झँदै मलाई भने पोखरामा योपल्ट शून्य-शून्य लाग्यो। हुन त लामो बन्दले थिलथिलो भएको जनजीवनमा मोरङमा पनि कति नै उत्साह हुँदो होला जस्तो पनि लाग्छ। मलाई छठका अन्तरकुन्तर ज्ञान छैन। बालखैदेखि देख्तै आइयो। छरछिमेकले मानेको पर्वमा हाम्रो घरबाट पनि चढाउने दिइन्थ्यो। चढाउने दिएपछि व्रतालुलाई सघाउन घाट पनि गइन्थ्यो। मन्ठापोखरी छठघाटमा ठेला ठेलेर जाँदा-आउँदाको स्कुलेबेला बेग्लै रमाइला थिए। पछि जब हातमा क्यामेरा आइपुग्यो, ठेला ठेलिएन। घाटघाट पुगेर त्यहाँका फोटो खिच्न छुटाइएन।
समाजशास्त्रले भन्छ -'फरक फरक संस्कृति भएका जातजाति बसेको समाजमा एकअर्काले जानीनजानी एकअर्काका सजिला-अप्ठ्यारा संस्कारहरू अपनाउँछन्। एकअर्कामा सर्छ।' संस्कृति सर्ने यो पाटो बडो गजबको छ। बुढापाकाले ज्ञानीको संगत गर्नु भने पनि संगतले राम्रो सिक्ने की नराम्रो सिक्ने त्यो तपाइँ-हाम्रै जिम्मेवारी र रुचिमा निर्भर छ। तर, सामाजिक संस्कार भनेको सार्छु भनेर कसैले सार्दैन। मन पर्छ, अभ्यस्त भइन्छ, आफैं सरिसक्छ। कालान्तरमा यो सरेर आएको हो वा मौलिक भने खुट्याउनै गाह्रो पर्छ।
हामीलाई सुकिला लुगा लगाउनुपर्ने, मिठो खानुपर्ने, पढ्नुपर्ने, चाडबाडमा रमाउनुपर्ने आदि बानीबेहोरा सबै शिक्षाले मात्रै दिएका पनि होइनन्। जातिसमुदायको आस्था, धर्मसंस्कारबाट पनि धेरैथोक सिक्दै र सिको गर्दै समाज अघि बढेको छ।
मानव सभ्यताको इतिहास हेर्दा मान्छेका बस्ती खोला-जलाशय किनारबाट सुरू भएर कालान्तरमा फैलिएको भन्ने पढ्न मिल्छ। पानी जीवन हो। जतन गर्न जान्नै पर्छ। यही जतनको उपक्रमहरू धर्मसंस्कारका नियममा पनि समावेश भएर हामीलाई सिकाउन र डोर्याउन बनाइएका छन्। छठका घाटहरू पूजाका बेला सफा गरिनुका गुहृ कारण केलाउनुस्।
हाम्रा आस्थाका ईश्वरलाई सफा चाहिन्छ, त्यसैले हामी सफा हुनपर्छ, बस्नुपर्छ। वरपरको वातावरण सफा राख्नुपर्छ। यो धर्मलाईमात्रै चाहिएको हो ? पटक्कै होइन। हामीलाई नै आवश्यक भएकाले यस्ता नियम बनेका हुन्। प्रसादमा चढाइने खानेकुरा भगवानले खाने होइनन् भनेर अखाद्य पदार्थ प्रयोग गर्न मिल्दैन। किन ? किनभने ती खानेकुरा मान्छेले नै खाने हो। र, मान्छे स्वस्थ रहन आहारविहार उचित हुनुपर्छ।
त्यसैले हामी बाँच्ने वातावरण स्वच्छ र स्वस्थ हुनै पर्छ। गरिखान गाह्रो पर्ने यो दौडधूपको दिनचर्या भएको समय मान्छे जसरी हुन्छ दिन बिताउने कसरतमा छ। तर, यही कसरतमा पनि हामीलाई स्वस्थ राख्ने विषयमा सोच्नु र काम गर्नु पनि जरुरी छ।
सिंघिया योपल्ट कस्तो रह्यो मैले हेर्न पाइँन। यता फेवाताल भने हेरेँ, यतिखेर सफा छ। तर, खोला जसरी यसमा भित्र पसेर घुम्न मिल्दैन। सिंघियामा पाइन्ट घुँडा-घुँडा दोबारेर व्रतालुका फोटा खिच्दै हिडेका दिन आज मैले सम्झेँ। यहाँ म तालको बीचमा पसेर व्रतालुले सूर्यलाई अर्घ दिएको खिच्न सम्भव भएन। त्यसैले पनि मलाई सिंघिया र परोपकारघाटको सम्झना आइरह्यो। तर, मैले आफ्नो गृहनगरबाट टाढा हुनुको एकुन्द्रो केदारेश्वर मन्दिर परिसरको पार्वती छठघाटमा मेटेँ। यहाँ नेपाल-भारत व्यवसायी समितिको पहलमा २०६८ मा घाट सिमेन्टेड बनाइएको रहेछ।
धेरैजनाले एकैपटक पूजा गर्न मिल्ने ठाउँ छैन। तैपनि घाट र पानी दुवै सफा छ। हाम्रा मैला गोडाले यी ठाउँमा फोहर लाग्ला की जस्तो। मैले यहाँ व्रतालुलाई सघाउन आएका उनीहरूको परिवारका पुरुष सदस्यसँग कुरा गरेँ। धेरैले तराई आन्दोलनका कारण घर गएकाहरू आउन नपाएर योपटकको सहभागिता घटेको सुनाए। उनीहरूमध्ये धेरै आफ्नो व्यापारमा परेको असरले चिन्तामा भेटिए। केही पटनाबाट यहाँ आएका रहेछन्। उनीहरूले त्यहाँ गंगा किनारको छठको भव्यताबारे आफ्ना संस्मरण सुनाए।
राजनीतिले मुलुक जता डोर्याए पनि हामीले मिलिबसेको समाजमा एकअर्कालाई अपनाएका छौं। त्यसैले सद्भाव अझै कसिलो छ। यसपटकको देउसीमा मैले रमाइला दृश्य देख्न पाएँ। हुर्रा र घाटु नाच नाचेर मुस्लिमका पसलमा देउसेभैलेले खेलेको देख्न मिल्यो। गुरूङ समुदायका बालबालिकाले मिथिला पहिरनमा मैथिली गीतमा नाच्दै भैली खेलेको पनि हेर्न पाइयो। सबैतिर समाज लगभग उस्तै हो।
हाम्रो पत्रकारितामा मैले जानेदेखि छठबारे काठमाडौंले रूचाउने यौटा शीर्षक छ - 'पहाडेले पनि छठ मनाए।' विराटनगर रहँदाका बखत मेरो भागमा पनि पर्यो त्यो विषय। लेखियो। तर, अब लाग्छ, समाज मिलिबसेपछि एकअर्काको संस्कार सर्नु नौलो कहाँ हो ! हामीले त्यसरी लेख्दा समाज अझै विभाजित रछ, अर्काले मान्ने कुरो अर्कोले मनाएछन् भन्ने सन्देश पनि त त्यसमा लुकेको छ। एउटा उदार समाजबारे हामीले लेख्दा सबैलाई समान हिसाबले हेर्नै पर्छ। त्यो पुरानो शीर्षकबाट अलि अघि बढ्न र माथि उठ्न जरूरी पनि छ।

No comments:
Post a Comment