आज विराटनगरमा सिंघिया, केशलिया, सुनसरी-मोरङ सिंचाइ आयोजनाका नहर, आसपासका पोखरी र जलाशय सबैमा व्रतालु र दर्शनार्थी थिए होलान् । म पोखराबाट सम्झँदैछु । यहाँ नदिपुरबाट सेती नदि र लेकसाइडको केदारेश्वर मन्दिरको फेवातालघाटमा छठ मानिँदो रैछ । देशका अरू भूभागमा पनि यस्तै यस्तै होला । छठमा आस्था राख्ने जहाँ जहाँ छन्, उनीहरू नजिकका जलाशय पुगे नै होलान् ।
आफ्नो गाउँघरको छठ सम्झँदै मलाई भने पोखरामा योपल्ट शुन्य-शुन्य लाग्यो । हुन त लामो बन्दले थिलथिलो भएको जनजीवनमा मोरङमा पनि कति नै उत्साह हुँदो होला जस्तो पनि लाग्छ । मलाइ छठका अन्तरकुन्तर ज्ञान छैन । बालखैदेखि देख्तै आइयो । छरछिमेकले मानेको पर्वमा हाम्रो घरबाट पनि चढाउने दिइन्थ्यो । चढाउने दिएपछि व्रतालुलाई सघाउन पनि गइन्थ्यो । मन्ठापोखरी छठघाटमा ठेला ठेलेर जाँदा-आउँदाको स्कुलेबेला बेग्लै रमाइला थिए । पछि जब हातमा क्यामेरा आइपुग्यो, ठेला ठेलिएन । घाटघाट पुगेर त्यहाँका फोटो खिच्न छुटाइएन ।
समाजशास्त्रले भन्छ -'फरक फरक संस्कृति भएका जातजाति बसेको समाजमा एकअर्काले जानीनजानी एकअर्काका सजिला-अप्ठ्यारा संस्कारहरू अपनाउँछन् । एकअर्कामा सर्छ ।' संस्कृति सर्ने यो पाटो बडो गजबको छ । बुढापाकाले ज्ञानीको संगत गर्नु भनेपनि संगतले राम्रो सिक्ने की नराम्रो सिक्ने त्यो तपाइँ-हाम्रै जिम्मेवारी र रुचिमा निर्भर छ । तर, सामाजिक संस्कार भनेको सार्छु भनेर कसैले सार्दैन । मन पर्छ, अभ्यस्त भइन्छ, आफैं सरिसक्छ । कालान्तरमा यो सरेर आएको हो वा मौलिक भने खुट्याउनै गाह्रो पर्छ ।
हामीलाई सुकिला लुगा लगाउनुपर्ने, मिठो खानुपर्ने, पढ्नुपर्ने, चाडबाडमा रमाउनुपर्ने आदि बानीबेहोरा सबै शिक्षाले मात्रै दिएका पनि होइनन् । जातिसमुदायको आस्था, धर्मसंस्कारबाट पनि धेरैथोक सिक्दै र सिको गर्दै समाज अघि बढेको छ ।
मानव सभ्यताको इतिहास हेर्दा मान्छेका बस्ती खोला-जलाशय किनारबाट सुरू भएर कालान्तरमा फैलिएको भन्ने पढ्न मिल्छ । पानी जीवन हो । जतन गर्न जान्नै पर्छ । यही जतनको उपक्रमहरू धर्मसंस्कारका नियममा पनि समावेश भएर हामीलाई सिकाउन र डोर्याउन बनाइएका छन् । छठका घाटहरू पूजाका बेला सफा गरिनुका गुहृ कारण केलाउनुस् । हाम्रा आस्थाका इश्वरलाई सफा चाहिन्छ, त्यसैले हामी सफा हुनपर्छ, बस्नुपर्छ । वरपरको वातावरण सफा राख्नुपर्छ । यो धर्मलाईमात्रै चाहिएको हो ? पटक्कै होइन । हामीलाई नै आवश्यक भएकाले यस्ता नियम बनेका हुन् । प्रसादमा चढाइने खानेकुरा भगवानले खाने होइनन् भनेर अखाद्य पदार्थ प्रयोग गर्न मिल्दैन । किन ? किनभने ती खानेकुरा मान्छेले नै खाने हो । र, मान्छे स्वस्थ रहन आहारविहार उचित हुनुपर्छ ।
त्यसैले हामी बाँच्ने वातावरण स्वच्छ र स्वस्थ हुनै पर्छ । गरिखान गाह्रो पर्ने यो दौडधूपको दिनचर्या भएको समय मान्छे जसरी हुन्छ दिन बिताउने कसरतमा छ । तर, यही कसरतमा पनि हामीलाई स्वस्थ राख्ने विषयमा सोच्नु र काम गर्नु पनि जरुरी छ ।
सिंघिया योपल्ट कस्तो रह्यो मैले हेर्न पाइँन । यता फेवाताल भने हेरेँ, यतिखेर सफा छ । तर, खोला जसरी यसमा भित्र पसेर घुम्न मिल्दैन । सिंघियामा पाइन्ट घुँडा-घुँडा दोबारेर व्रतालुका फोटा खिच्दै हिडेका दिन आज मैले सम्झेँ । यहाँ म तालको बीचमा पसेर व्रतालुले सूर्यलाई अर्घ दिएको खिच्न सम्भव भएन । त्यसैले पनि मलाई सिंघिया र परोपकारघाटको सम्झना आइरह्यो । तर, मैले आफ्नो गृहनगरबाट टाढा हुनुको एकुन्द्रो केदारेश्वर मन्दिर परिसरको पार्वती छठघाटमा मेटेँ । यहाँ नेपाल-भारत व्यवसायी समितिको पहलमा २०६८ मा घाट सिमेन्टेड बनाइएको रहेछ । धेरैजनाले एकैपटक पूजा गर्न मिल्ने ठाउँ छैन । तैपनि घाट र पानी दुवै सफा छ । हाम्रा मैला गोडाले यी ठाउँमा फोहर लाग्ला की जस्तो । मैले यहाँ व्रतालुलाई सघाउन आएका उनीहरूको परिवारका पुरुष सदस्यसँग कुरा गरेँ । धेरैले तराइ आन्दोलनका कारण घर गएकाहरू आउन नपाएर योपटकको सहभागिता घटेको सुनाए । उनीहरूमध्ये धेरै आफ्नो व्यापारमा परेको असरले चिन्तामा भेटिए । केही पटनाबाट यहाँ आएका रहेछन् । उनीहरूले त्यहाँ गंगा किनारको छठको भव्यताबारे आफ्ना संस्मरण सुनाए ।
राजनीतिले मुलुक जता डोर्याए पनि हामीले मिलिबसेको समाजमा एकअर्कालाई अपनाएका छौं । त्यसैले सद्भाव अझै कसिलो छ । यसपटकको देउसीमा मैले रमाइला दृश्य देख्न पाएँ । हुर्रा र घाटु नाच नाचेर मुस्लिमका पसलमा देउसेभैलेले खेलेको देख्न मिल्यो । गुरूङ समुदायका बालबालिकाले मिथिला पहिरनमा मैथिली गीतमा नाच्दै भैली खेलेको पनि हेर्न पाइयो । सबैतिर समाज लगभग उस्तै हो ।
हाम्रो पत्रकारितामा मैले जानेदेखि छठबारे काठमाडौंले रूचाउने यौटा शिर्षक छ - 'पहाडेले पनि छठ मनाए ।' विराटनगर रहँदाका बखत मेरो भागमा पनि पर्यो त्यो विषय । लेखियो । तर, अब लाग्छ, समाज मिलिबसेपछि एकअर्काको संस्कार सर्नु नौलो कहाँ हो । हामीले त्यसरी लेख्दा समाज अझै बिभाजित रछ, अर्काले मान्ने कुरो अर्कोले मनाएछन् भन्ने सन्देश पनि त त्यसमा लुकेको छ । एउटा उदार समाजबारे हामीले लेख्दा सबैलाई समान हिसाबले हेर्नै पर्छ । त्यो पुरानो शिर्षकबाट अलि अघि बढ्न र माथि उठ्न जरूरी पनि छ ।
No comments:
Post a Comment