Sunday, January 22, 2012

चितुवाको खोजी यात्रा

घना जंगल र कुहिरोभित्र हराउँदा उनलाई के गर्दै छु होलाजस्तो पनि लाग्छ । तर त्यसले उनको कामलाई भने बिथोल्न सक्दैन । गोरखाका कमल थापा हिउँ चितुवा खोज्दै मनाङदेखि ताप्लेजुङसम्म पुगेका छन्, बितेका १४ वर्षदेखि । कहिले घना जंगल त कहिले सहरका विद्यार्थी पढाउन कलेजमा पुग्ने उनी प्रमाणपत्रधारी प्राध्यापक भने होइनन् ।  
वातावरणका विद्यार्थी उनले पहिलोपटक पिएचडी गर्न आएका महेश गुरुङलाई जंगलमा हिउँ चितुवाको अध्ययन गर्न सघाए । अहिले त अनुभवले पनि खारिएका थापाका विद्यार्थी जंगल छेउको बस्तीदेखि सहरसम्मका छन् । उनीहरूलाई हिउँ चितुवा चिनाउनु र खोज्न सिकाउनु उनको दायित्व हो । राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्दागर्दै सन् १९९७ मा मनाङमा त्यो मांसाहारी हिमाली जन्तुको गन्ध सुँघ्दै हिँडेका कमल मुस्ताङ, डोल्पा हुँदै सन् २००६ मा ताप्लेजुङको घुन्सा पुगेका थिए । वन्यजन्तुको संरक्षणमा खासै वकालत हुन नसकेको अवस्थामा दुर्लभ हिउँ चितुवा देख्नु र खोज्नु उनका लागि त्यति सजिलो थिएन । 
वैज्ञानिक प्रविधिका सामानहरूको अभावमा गाउँलेको साथ लिएर जंगलका टाकुरा चिहाउनुपथ्र्यो । 
                        कमल भन्छन्, 'कञ्चनजंघा संरक्षण क्षेत्रमा यसको अध्ययन नाउरबाट सुरु गरे ।' । हिउँ चितुवाको मुख्य आहारा भएकाले नाउरको वासस्थान खोज्न सुरु गरिएको हो । जंगली भेडाका रूपमा चिनिने नाउर कहाँ बस्छन्,  बसेका छन्, चितुवाले कसरी यिनलाई सिकार गर्छ भन्ने विषय उनका लागि अध्ययनको शिशु कक्षा बन्यो । तर, पश्चिम नेपालका हिमाली क्षेत्र चाहारिसकेकाले अध्ययनमा पृथकता र कठिनाइ भने थिएन । 'मैले विश्व वन्यजन्तु कोषको कन्सल्ट्यान्ट भएर याम्फुदिन, ओलाङचुङगोला र लेलेप गाविसका राम्जेल, खम्बाछेन, याङमा र गोलामा नाउर गणना सुरु गरे,' उनले बताए ।  चारवटा ब्लक बनाएर गणना गर्दा १ हजार ६७ वटा नाउर देखियो । यसले हिउँ चितुवाको ट्रान्जेट बनाउन सहयोग गर्‍यो । '२६ वटा बनाइयो,' उनले भने । सामान्यतया हिउँ चितुवा बढी नाउरको बगाल भएको क्षेत्र वरपर बस्छ । 
पाँच किलोमिटरको क्षेत्रफललाई आउजाउ गर्ने ठाउँ मानेर बस्ने चितुवा भेट्नु चानचुने कुरा होइन । हरेक भालेले आफ्नो प्रभाव क्षेत्र निर्धारण गर्छ । अर्काको एरियामा नजाने र आफ्नोमा कब्जा जमाएर बस्ने जनावरलाई पासपोर्ट नचाहिने भएकैले कहिले तिब्बत पुगेका हुन्छन्, त कहिले सिक्किमका जंगलमा घुम्दै हुन्छन् । 
                                उनका अनुसार दुई प्रकारका यिनीहरूमध्ये रैथानेले आफ्नो एरिया बनाउँछ भने 'सिङ्गल हण्टर' ले अरूको क्षेत्रमा आक्रमण गर्दै हिँडेको हुन्छ । यस्ता जनावरलाई खोजेर हिँड्दा दुःख पाए पनि अर्थ त्यतिबेला मात्रै खुल्छ जब प्रमाण फेला पर्छ । त्यही प्रमाण समेट्दै हिँडेका थापाले पहिलोपटक मनाङमा नाउर आक्रमण गर्ने क्रममा हिउँ चितुवा देखे । 'नाउरहरू मजाले चरिरहेका थिए म हेर्दै थिएँ, एकाएक गुजुमुजु एकत्रित भए र सुइय पार्न थाले,' उनले भने, 'हिउँ चितुवा नजिकै आइसकेको रहेछ । तर, दुर्भाग्य मान्छेको गन्ध चाँडै पाउने, क्यामेरा निकालुञ्जेलमा भागिहाल्यो ।' उनको अनुभवमा शत्रुको आक्रमण हुन लागेपछि नाउरहरूले सुइय गर्दै विपत जनाउने ठूलो आवाज निकाल्छन् । 
                            लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि उनले धेरै टाढाबाट यस्तै अवस्था देखेका थिए । 'मैले अहिलेसम्म कुदेको देखेको छैन लमकलमक गरेको देखेको छु,' उनले भने । हिउँ चितुवाले आक्रमण गर्न लागेको जनावर भाग्यो भने मात्रै उसले आक्रमण गर्छ भन्ने नयाँ अनुभव थापाले सम्हालेका छन् । भागिदिए खेद्दै गएर आक्रमण गर्न सजिलो हुने तर, सबै एक ठाउँ एकत्रित भए त्यसले आक्रमण गरेको देख्न नपाएको उनले सुनाए । यो वर्ष भने उनले ताप्लेजुङकै खम्बाछेनको नाक्पिmन्दामा राखेका क्यामरा ट्रयापमा हिउँ चितुवा पारे । 
                         'पहिलोपल्ट ६ जना स्थानीयलाइ क्यामरा ट्रयाप सिकाएर सँगै जंगल गएको थिएँ,' उनले भने, 'राखेको भोलिपल्टै परेछ खुसी लाग्यो ।' विश्व वन्यजन्तु कोषले तराईको गैंडा गणनामा प्रयोग गरेको क्यामरा हिउँ चितुवा गणनामा ल्याइएको थियो । '१२ मध्ये दुईवटाले काम दिएन, नौवटाले फेला पारेनन्, एउटाले तीनपटक खिचेछ,' उनले सुनाए । चितवनको गैंडा गणनामा सहभागी थापाको अनुभवमा तराईको तुलनामा हिमालमा काम गर्न धेरै गाह्रो छ । गह्रौ सामानहरू बोकेर लैजानुपर्छ एउटा 'नट' मात्रै मिलेन भने त्यसले कामै गर्दैन । चिसोमा धेरै लामो काम गर्न पनि गाह्रो हुन्छ । तराईमा ब्याट्रीले ९९ प्रतिशत थाम्ने भए पनि हिमालमा राख्नासाथ ७० प्रतिशतमा झरिहाल्ने र धेरै दिनसम्म काम गर्न नसक्ने भएकाले थप समस्या पर्छ ।

यसरी बस्छ हिउँ चितुवा

जनवरी महिनामा संसर्ग गर्ने पोथीले गर्भवती भएको तीन महिनामा बच्चा जन्माउँछ । पोथीसँग संसर्ग गर्ने बेलामा भालेहरूबीच लडाइँ पर्छ । यो बेला एउटा भालेले तीनवटासम्म पोथी राख्ने गरेका छन् । पोथीले हेन्डसम भालेको खोजी गर्ने भएकोले लायकदारले तीनवटीसम्मलाई रिझाउन सक्छन् । नसक्ने भाले रित्तै पर्छ । 
लायकदारको खोजीमा निस्केका पोथीहरूलाई छेक्न भालेहरू आफ्नो एरियाभन्दा बाहिर पनि निस्किएका हुन्छन् । यही बेला एक-आपसमा भेट भए भालेको जुधाइ हुन्छ । बच्चा जन्माएर दुई वर्षको भएपछि हिउँ चितुवा एक-आपसमा छुटि्टन्छन्  । छुटि्टनुअघि आफ्नो एरिया कोरेर सीमा निर्धारण गर्ने यसले असक्षम भए सक्षमसँग भागेर हिँड्नुपर्छ ।

(०६८ माघ ७ गतेको कान्तिपुर कोसेलीमा प्रकाशित आनन्द गौतम भाइले लेखेका यो रिपोर्ट पढ्न काम लाग्छ भनेर साभार गरेको हुँ -भीम)

No comments: