चार वर्षीय छोरा लिएर आमा न्युरोडहुँदै कतै गइरहेकी छन्। छोराको आँखा पसलको शो-केसमा अडिन्छ। उ भन्छ, 'मामु मामु , कस्तो राम्रो हेलिकप्टर। मलाई चाहियो।' आमा सुरुमा नसुनेझैँ गर्छिन्। छोरो टक्क रोकिन्छ। पहिले आग्रह गरेको उसले अब कर गर्न थाल्छ। आमा भन्छिन्, 'तँलाइ जे देख्यो त्यही चाहिने ? हुँदैन।' ब्यागमा करिब ३५० रुपैयाँ छ। आफन्तकहाँ पूजामा हिडेकी उनलाई हिसाब थाहा छ, आउँदा-जाँदा ट्याक्सी भाडा तीन सय लागिहाल्छ। ५० ले त्यो खेलौना पक्कै आउने होइन।
धेरै कर गरेको देखेर उनलाई झर्को लाग्छ। रिस पनि उठ्छ। भन्छिन्, 'हेलिकप्टर सेलिकप्टर किन्ने होइन। जाने भए खुरुक हिँड। नभए यहीँ छाडेर जान्छु। जोगीले आएर लैजान्छन्। अनि थाहा पाउछस्।' उनी हात छुटाउँछिन्। बिस्तारै केहीअघि बढेजस्तो गर्छिन्। छोरो रुन्छ। अलिपर पुगेकी मामुलाई हेर्छ। अनि खुरर्र दगुरेर मामुको हात समात्छ। उसको मुहार नियाउरो छ। धेरैबेर उ हँसिलो हुन सक्दैन। बालमष्तिस्कमा त्यही रंगीन हेलिकप्टरले फन्को जो मारिरहेको हुन्छ।
आइ-लेबल : आँखाको बराबरी गरिएन भने खिचेका तस्बिर लो वा
हाइ एंगल आउँछन्। लो एंगलबाट खिचे होचो मान्छे अग्लो कदको देखिन्छ। अग्लो मान्छेको तस्बिर हाइ एंगलबाट खिचे होचो आउँछ। बच्चा र आमाको कदबारेमा सोचौँ। सानो बालकले उभिएकी आमा लो एंगलबाट देख्छ। उनका अनुहारको भावभंगिमा कुनै कार्टुन हेरेजस्तो वा कुनै चलचित्रमा खलपात्रजस्तो। गाली गरेको वा रिसाएका बेला त्यो उसको आइ-लेन्सले आमालाई कस्तो देख्ला ? के सोच्ला ? कुरा ठूलो होइन तर, पक्कै असर सकारात्मक हुन्न। रिसाएकी आमाले उसलाई गाली गरिरहँदा मष्तिस्कलाई एकातिर हेलिकप्टरले तानेको छ। अर्कोतिर छाडेर जान्छिन् की भन्ने डर।
सकारात्मक दृश्य : कर गर्न थालेको छोरा त्यसै मान्ने भएन। उनी घुँडा मारेर टुक्रुक्क बस्छिन्। छोराको अनुहार ममतामयी पाराले हेर्छिन्। अब छोरा र आमाको कद उत्रै देखिन्छ। छोराले आमाको अनुहार हेर्न कुनै असजिलो छैन। भन्छिन्- 'बाबु, हामी अहिले पूजामा हिडेको। बजार गर्न फेरि आउँला। अहिले मामुले पनि त आफूलाई केही किनेकी छैन नि। किनेकी छ त ?' छोरो नियाउरो मुहारले सुक्क गर्दै भन्छ, 'छैन । तर, मलाई त्यो हेलिकप्टर...।'
मामु भन्छिन्- 'भरे फेरि सपिङ गर्न आउँला अनि किनौँला। अहिले पूजामा पुगेर आउने। अनि पछि बाबुलाई हेलिकप्टर, मामुलाई पनि केही किनौँला। मेरो बाबु ज्ञानी छ। कुरा बुझ्छ है। हो कि होइन ?' उ हो भन्ने संकेत टाउको हल्लाएर गर्छ। दुवै अघि बढ्छन्। बालकले केही पर पुगेपछि त्यो हेलिकप्टर बिर्सन्छ। उसको ध्यान अर्थोकमा जान्छ। उसको मुड बिग्रँदैन।
०००
रञ्जीत आचार्यले दिएका सहभागीलाई नै काल्पनिक पात्र परिस्थितिमा कल्पना गर्न लगाएर वा अन्य विश्व प्रसिद्ध रोल मोडलका जीवनीका प्रसंगलाई उदाहरण बनाएमध्ये मलाई आमा र तिनको सानो छोराको प्रसंग सम्झनामा रहिरह्यो। गएको शनिबार विराटनगरमा आचार्यसँगको 'सक्सेस मन्त्र'को कक्षामा सहभागी हुन पाएपछि केही सकारात्मक सोच राख्नै उचित भन्ने लागेर आयो। मान्छेको जातै यस्तो। मन छुने प्रसंगमा केही त्यस्तै अनुसरणका लागि आफू तयार हुनु उचित हुनु ठीक जस्तो लागिहाल्ने।
करिब ३५ वर्षका आचार्य राजधानी बसेर आफूले हात हालेका क्षेत्रमा सफल हुँदै आएका युवा हुन्। एक दसकयता उनले आफूलाई सफल बनाएका छन्। आफूले लेखेको गीतबाट कक्षा थालेका उनले एउटा उदाहरण दिए।
मोटरसाइकलले बटुवालाई ठक्कर दियो। घटना सामान्य थियो। बटुवालाई केही भएन। तर, यहाँ दुईवटा परिस्थिति हुन्छन्। या बटुवाले त्यो मोटरसाइकलवालाको कठालो समातेर बजायो। झगडा बढयो। दुवैलाई ट्राफिक प्रहरीले लगे। दोष इञ्जिनवालाकै देखाइए पनि दुवैको समयमात्र नाश भएन, मुड पनि बिग्रियो।
या बटुवाले भने, 'भाइ कसरी चलाउनु भएको ? अहिले केही भएको भए ! तपाइँ र मेरो दिन बलियो रहेछ। अलि ठीकसँग चलाउनुस्।' मोटरसाइकलवाला उत्रियो। अनि भन्यो, 'सरी दाइ सरी। कता लाग्यो ? तपाइँलाई ठीक छ ? हिँडनुस कहाँ पुग्नु हुन्छ म छाडिदिन्छु।' झगडा भएन। छुट्टिएका केहीबेरमा दुवैले घटना बिर्सिए। सबैबेला परिस्थिति यस्तै होला भन्ने छैन। तर, तत्कालीन अवस्थाका यी दुई व्यवहारले फरक परिस्थिति बनाउने पक्कै हो।
०००
आचार्य प्रिज्म एडभर्टाइजिङका कार्यकारी प्रमुख, नीलवाराही फिल्मसका प्रबन्ध निर्देशक र ब्रीजवाटर एजुकेशन फाउण्डेशनका अध्यक्ष हुन्। उनी जोडिएका वा सम्बद्ध संस्थाको सूची लामो छ।
उनले दसकअघि सञ्चार मन्त्रालयको एउटा प्रसंग सुनाए। कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारणअघि मन्त्रालयलाई देखाएर इजाजत लिनुपर्थ्यो। सो उनी गइरहन्थे। त्यहाँका त्यसबेलाका मुख्य टाइपिष्ट हरि दाई सरल थिए। भनेको गरिदिन्थे। एक कप चिया खुवाए पनि खुसी हुन्थे। कागज टाइप गरिदिएर काम छिटो सिध्याउन उनले मद्दत गर्थे। मन्त्रालयले एक दिन सबै काम अब कम्प्युटरबाट गरिने भन्दै कर्मचारीलाई त्यो नयाँ भाडो सिक्न आह्वान गर्यो। टाइपिष्ट अरु अरु सिक्न थाले।
अवकाशका केही वर्षमात्रै बाँकी रहेका हरि दाइले सिक्न मानेनन्। भन्थे, '५५ लागिसकियो, अब म बुढाले के सिकिरहनु ? म टाइप नै गरेर बस्छु।' निकै दिनपछि फेरि पुग्दा टाइपराइटर रहेको कुनाको हरिदाईको टेबल ठाउँमा थिएन। अरु कर्मचारी कम्प्युटरमा काम गरिरहेका थिए। हरि दाई टेबल-टेबलमा चिया सर्ब गरिरहेका भेटिए। आचार्यले भने, 'समयसँगै चलिएन भने यस्तो हुने रहेछ भन्ने गतिलो उदाहरण मलाई हरि दाइ लाग्छ।'
०००
मेरो जब डटकमले जब सीकर र अनुभवी कारिन्दा खोज्ने कम्पनीका लागि बीचमा बसेर काम गरिदिने रहेछ। यो साइटका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीसँग कुरा भयो। उनले बताए 'समय फेरिएको छ। सकारात्मक सोच राख्ने, अरुलाई पनि आफूजस्तै हो भनेर समान व्यवहार गर्नेहरु सफल हुन्छन्। हामीले भन्ने कुरा यही छ।' बिहान बिहान टेलिभिजन च्यानलहरुमा फलाक्ने नाङ्गे वा गेरुवा, पहेला वस्त्रधारी विद्धानले भन्ने कुरा पनि सकारात्मक सोचमै आधारित रहेको अनुभव हुन्छ। लिनु नलिनु आफ्ना कुरा।
मैले आचार्यको करिब ६ घण्टे कक्षामा पुरा बिताउन सकिँन। कामले बाहिर निस्कनुपर्ने थियो। तर, जति सुनियो, रमाइलो लाग्यो। गएको होलीमा मित्र यज्ञशले कोसेलीमा लेखेको स्तम्भको एउटा प्रसंग सम्झिएँ - राजनीतिलाई गाली नगरौँ, नेतालाई गाली नगरौँ, कारण-धेरै पढेका र क्षमतावानहरु विदेश जान्छन्। जान नसक्ने नसक्ने तर, पढेकाहरु प्राइवेट जागिर रुचाउँछन्। तीभन्दा कम क्षमताहरु पनि निजी क्षेत्रमै रमाउँछन्। राजनीति रहलपहलले थामेको छ। फोहर उठाउन तपाइँ हामीलाई मन छैन भने दोष मात्रै किन दिने ?

No comments:
Post a Comment