Thursday, January 26, 2012

हाटखोलामा फेरि कर्फ्यु

इन्स्पेक्टर कुँइकेल हतपत्त गल्दैनन् । तर, चर्किएको आन्दोलनले उनलाई फोर्स सम्हालिसक्नु छैन । आन्दोलनकारी समातेर ल्याएपछि सधैं राख्ने ठाउँ छैन । कसैको न कसैको फोन आउँछ । समातेकालाई छाड्नै पर्छ । व्यवस्था परिवर्तनको माग गर्दै आन्दोलित हुनेको जमात घट्दैन । खटाइएका जवानहरूका सुझले धेरैपल्ट धोका खानुपर्छ । धेरैपल्ट निर्दोष समातिन्छन् । यातना पाउँछन् । उनीहरूलाई निर्दोष भन्ने थाहा पाएपछि प्रहरी आत्मग्लानी महसुस गर्छ । 
२०४६ को आन्दोलनलाई केलाउने मिहीन प्रयास स्रष्टा विवश पोखरेलको नाटक 'कर्फ्यु ' ले गरेको छ । दुई दशक पुरानो नाटक फेरि एकपटक मञ्चमा नयाँ कलाकर्मीका साथ जोडिएर आएको छ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा बुधबारदेखि मञ्चन थालिएको यो नाटकले आन्दोलनकारी र सुरक्षाकर्मीका संवेदनाको धेरैले याद नगर्ने पाटोलाई केलाएको छ । 

आन्दोलनकारी र उनीहरूमाथि दमन गर्ने 'माथिको आदेश' पालना गर्ने प्रहरी हुन् त आखिर मान्छे । मानवीय संवेदनाबाट दुवै अछुतो छैनन् । व्यवस्था परिवर्तन जनताका लागि र यथास्थितिको बचाउ सुरक्षाकर्मीको दायित्व । एउटा पेसाले बाध्य, अर्को जमात बुझाइ र भावनाले आन्दोलनमा छ । दुवै पक्षका फरकहरू केलाउन मिल्नेछन् । तैपनि दुवैलाई भोक लाग्छ, निद्रा पनि लाग्छ । घरपरिवार छन् । आश्रतिको भरणपोषणका दायित्व छन् । यति भईकन आफ्ना फरक प्रकारका आनीबानी पनि छन् । खटाइएका प्रहरीले खाना खान र आराम गर्न पाएनन् भने उनीहरूको काम गराइमा पर्ने असर त छँदै छ । आन्दोलनकारी भन्दै समातेर यातना दिएपछि निर्दोष पुष्टि हुनेका भोगाइ-सोचाइका जटिलता फरक छन् । सबै आन्दोलनमा व्यवस्था फर्ने र यथास्थितिको बचाउ गर्नेका जमात छन् । २०४६ मा पञ्चायतको बचाउ गर्ने नेताका साथ अन्त्यमा माइकवाला र टेन्टवाला मात्रै बाँकी भए । कारण, उनीहरूलाई भाषण सुन्नु होइन, काम सकिएपछि आफ्नो सामान चाहिएको थियो । 
प्रहरी सुरक्षाको काम गर्नका लागि भएकाले संवेदनशील र जनताका कुरा बुझ्ने हुनुपर्छ । आपत्कालीन अवस्थामा सबैले आफ्नो परिचय खुल्ने कागजात बोकेर हिँड्नु उत्तम हुन्छ भन्ने सन्देश नाटकमा छ । 
पुरानो यो नाटकलाई लक्ष्मणपुण्य लामिछानेले स्थानीय कलाकर्मीकै सहयोग लिएर निर्देशन गरेका छन् । जीवन कुइँकेलले प्रभावशाली प्रहरी निरीक्षक र कवि गण्डकीपुत्रले लाटो बन्दीको भूमिका गरेका छन् । एउटा थानाको दृश्य बारम्बार मञ्चमा आउँछ । बन्दी ल्याइन्छ । बन्दी खोज्दै आउने र थुनुवालाई खाना पुर्‍याउन आफन्त आउँछन् । आन्दोलनकारीमा विद्यार्थी छन् भन्ने सुनेको प्रहरी दिनभर दूरसञ्चारमा काम गरेर रात्रि विद्यालय पढ्ने एक कर्मचारी समाउँछ । मानसिक यातना दिन्छ । पछि उन निर्दोष भन्ने थाहा पाएपछि लज्जित हुँदै मुक्त गर्छ । 
एउटा थुनुवा ल्याएदेखि केही बोल्दैन । प्रहरी त्यसलाई यातना दिएर बकाउने प्रयास गर्छ । वृद्ध पिता छोरा खोज्दै आउँछन् । थुनामा छोरा भेटिन्छ । प्रहरी उसलाई सोध्छ 'किन यो बोल्दैन ? यसलाई हामी बकाउँछौं,' उनी भन्छन्, 'जन्मेर यत्रो होउन्जेल यसले कहिल्यै मलाई बुबा भनेको छैन । कसरी बोल्छ ? यो लाटो हो ।' कुइँकेल अवाक् हुन्छन् । केही बोल्न सक्दैनन् ।  
२०४८ मा राजधानीमा राष्ट्रिय नाटक महोत्सवमा मञ्चित यो नाटक लामो समय फेरि मञ्चमा दोहोरिएन । महोत्सवपछि विराटनगर र धनकुटामा स्थानीय कलाकारले एकाधपटक दोहोर्‍याए पनि पुनः यसले पालो पाएको थिएन । यसपटक मञ्चमा गण्डकीपुत्र, रामकुमार प्याकुरेल, जीवन कुइँकेल, प्रयाग न्यौपाने, दुर्गा कोसियाली, रामभजन कामत, मिलन नेपाली, सीता न्यौपाने, उमा दाहाल, भैरव क्षेत्री, प्रेम दाहाल, महेश तुलाधर, सुनीता घिमिरे, खेम नेपाली, प्रदीप गुप्ता र निर्देशक लामिछाने देखिएका छन् । 
राजधानीमा अहिले पुरानो बानेश्वरबाट बहालमा लिएको थलो छाड्ने अवस्थामा पुगेको आरोहण गुरुकुलभित्र एक प्रकारको छटपटी छ । 'हामी काठमाडौंमा गुरुकुलले ठाउँ पाउनुपर्छ, त्यो अयिभानमा बल गरौं भन्दै यो नाटक मञ्चनका लागि तयार भयौं,' नाटकघरका अध्यक्ष भैरव क्षेत्री भन्छन् ।

प्रकाशित मिति: २०६८ माघ १२ 

No comments: