
मुलुकका राणाकालीन वा शाहवंशीय इतिहासको कुनै कालखण्डजस्तो लाग्ने 'बहादुरपुरको दन्त्यकथा' भारतका प्रसिद्ध नाटककार बादल सरकारको सिर्जना हो । विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आइतवार साँझ हिन्दीबाट अनुवादित यो नाटक प्रदर्शनअघि कुलगुरू सूनील पोखरेलले कलाकार र दर्शकलाई एक मिनेट मौन धारणको आग्रह गरे । ८६ वर्षीय सरकारको गत शुक्रवार निधन भएको थियो । उनको यो सिर्जना नेपाली रजौटाका इतिहासभन्दा पृथक थिएन । भाषा अनुवादमात्र होइन पात्रलाई पनि सामयिकतामा ढालिएको नाटक हेर्न पाउँदा विराटनगरका दर्शक मख्ख परे ।
राजपाट सकिएपनि नसकिने आडम्बरी ठाँट छाड्न नसकेका मुख्य पात्र भूपति महल बेच्ने तरखरमा छन् । किन्न आउने मिस्टर थापा र उनको परिवारलाई उनी राजसी ठाँट देखाउन अन्तिमपटक जुट्छन् । तर, जर्जर महलमा बेला बेला छानोबाट भत्किएर ढुंगा र पत्र खस्छ । भूपतिका पुख्र्यौली प्रेतात्मा रघु दाजु डुल्छन् । राजाजस्तो पोशाक र श्रीपेच लगाएर । मध्यरात अट्टहास र महाकवि कालीदासको शाकुन्तलम्का संस्कृत श्लोक गुञ्जायमान हुन्छ ।

तीन साता लामो नाटक महोत्सव सकिएको एक सातापछि आइतवारदेखि मञ्चन थालिएको 'बहादुरपुरको दन्त्यकथा' मा स्थानीय कलाकारको बर्चस्व छ । नाटकघरका अध्यक्ष भैरव क्षेत्री भन्छन् 'सधै काठमाडौंबाट कलाकार आएमात्र नाटक देखाउने गरे हामीले कहिले अघि बढ्ने - त्यही भएर यो नाटकमा यहाँका साथीहरू कस्सिएका हुन् ।'
No comments:
Post a Comment