रजौटाका सन्तान भूपति बस्नेत आफैं केही व्यवसाय गर्न चाहन्छन्। एक जना अर्दलीसँग जर्जर महलमा बेगारी बसेको वर्षौ भएको छ। भन्नेहरू उनलाई 'राजा साब' भन्छन्। तर, जता हिँड्यो उतै उधारो छ। पुरानो जर्जर महलजस्तै अवस्था छ। दैनिक उपभोग्य सामानमात्र होइन चिया र धुमपानसमेत उधारोमा चलेको छ। साहूहरू ढोका ढक्ढक्याउँछन्। कसैगरी महल बेचेर उधारो तिरेपछि बच्ने केही पैसाले उनी साधारण जीवन बिताउन चाहन्छन्।
मुलुकका राणाकालीन वा शाहवंशीय इतिहासको कुनै कालखण्डजस्तो लाग्ने 'बहादुरपुरको दन्त्यकथा' भारतका प्रसिद्ध नाटककार बादल सरकारको सिर्जना हो। विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आइतबार साँझ हिन्दीबाट अनुवादित यो नाटक प्रदर्शनअघि कुलगुरू सुनील पोखरेलले कलाकार र दर्शकलाई एक मिनेट मौन धारणको आग्रह गरे।
८६ वर्षीय सरकारको गत शुक्रबार निधन भएको थियो। उनको यो सिर्जना नेपाली रजौटाका इतिहासभन्दा पृथक थिएन। भाषा अनुवादमात्र होइन पात्रलाई पनि सामयिकतामा ढालिएको नाटक हेर्न पाउँदा विराटनगरका दर्शक मक्ख परे।
राजपाट सकिए पनि आडम्बरी ठाँट छाड्न नसकेका मुख्य पात्र भूपति महल बेच्ने तरखरमा छन्। किन्न आउने मिस्टर थापा र उनको परिवारलाई उनी राजसी ठाँट देखाउन अन्तिमपटक जुट्छन्। तर, जर्जर महलमा बेला बेला छानोबाट भत्किएर ढुंगा र पत्र खस्छ। भूपतिका पुर्ख्यौली प्रेतात्मा रघु दाजु डुल्छन्। राजाजस्तो पोसाक र श्रीपेच लगाएर। मध्यरात अट्टहास र महाकवि कालीदासको शाकुन्तलम्का संस्कृत श्लोक गुञ्जायमान हुन्छ।
थापाका साथी ठकुरीले सय वर्ष पुरानो घर किनेका छन्। उनलाई पछि पार्न थापा पनि त्यस्तै अर्को घर किन्न आइपुगेका छन्। भवनमा घुम्ने प्रेतात्माका बारे थाहा पाएपछि उनी अझै उत्साहित छन्। थापाको भूमिकामा रहेका जीवनकुमार भन्छन्, 'उसले घर किन्न सक्ला। तर, कसरी ल्याउछ प्रेत?' १ घण्टा २० मिनेटको नाटकमा अनिल पोखरेललाई कृष्णप्रसाद धिताल, लक्ष्मणपुण्य लामिछाने, रामकुमार प्याकुरेल, मिलन नेपाली, रामभजन कामत, सीता न्यौपाने, दीपा पोखरेल र खेम नेपालीले साथ दिएका छन्।
तीन साता लामो नाटक महोत्सव सकिएको एक सातापछि आइतबारदेखि मञ्चन थालिएको 'बहादुरपुरको दन्त्यकथा' मा स्थानीय कलाकारको वर्चस्व छ। नाटकघरका अध्यक्ष भैरव क्षेत्री भन्छन्, 'सधैं काठमाडौंबाट कलाकार आएमात्र नाटक देखाउने गरे हामीले कहिले अघि बढ्ने? त्यही भएर यो नाटकमा यहाँका साथीहरू कस्सिएका हुन्।'

No comments:
Post a Comment