Wednesday, May 18, 2011

बाटो खोलिन् अनुराधाले


महिला नाचिरहन्छन् । नाच्नुको सोझो अर्थ गीत-संगीतको तालमा भन्ने लाग्न सक्छ, त्यो पटक्कै होइन । अनुराधा थापा भन्छिन् 'उमेरअनुसार महिलालाई माइती, घर-व्यवहारले नचाउँछ । भान्सा, केटाकेटी र तिनका लागि आइपर्ने दैनिकीले नचाउँछ । जीवन नाचेर बित्छ ।' उनका कुरा गहिरा छन् । कारण, उनले आफ्नो चित्रलाई अर्थ्याएकी हुन् । 
क्यानभासमा कोरिएका आकृतिभित्र रंगको संयोजनमा विभिन्न भावका प्रतिबिम्ब छन् । भन्छिन् 'चित्रका लागि खोजिने भाव जीवनकै अंग हो । बुझनेले एकथोक बुझला, कोर्नेले सोचेको एकथोक हुनसक्छ ।' विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा थापाको एकल चित्र प्रदर्शनी आइतवारदेखि सुरू भएको छ । काशी हिन्दु विश्वविद्यालय (बीएचयू) बाट मूर्तिकलामा स्नातक थापाको यो पहिलो एकल प्रदर्शनी हो । 
'शोख, पढाइ हुदाहुदै यो लाइन अंगालेको तीन दसक पुग्यो, उनले भनिन् 'यसरी एकल प्रदर्शनीको जोरजाम पहिले मिलेको थिएन ।' उपमहानगरभित्र लामो समयदेखि ललितकला संगममा कलाकारहरू आबद्ध छन् । सोख र पेशाले कलाकारलाई संगममा गोलबन्द गरेपनि विराटनगरमा प्रदर्शनीका लागि ग्यालरी छैनन् । सबैजसो राजधानीमा विभिन्न समय आयोजना भइरहने प्रदर्शनीमा आफ्ना चित्र लिएर भाग लिन पुग्छन् । फिरेर आएपछि नगरभित्रै पहिचानको संकट आफ्नै पाराको छ ।
संगमका अध्यक्ष अग्रज चित्रकार गोपाल कलाप्रेमी भन्छन् 'यो नाटकघरले हाम्रा लागि एउटा बाटो खोलिदियो । अनुराधाका चित्रबाट प्रदर्शनीको बाटो खुल्यो ।' उनका चित्रमा महिला संवेदनशीलता नै प्रमुख विषय रहीआएको उनले बताए । उनले थपे 'उनको चित्रमा उपयोग भएका नीलो, हरियो, पहेलो र रातो मुख्य रंगले यही पुष्टि गर्छ ।' शनिवार यहा आयोजित कलाकार्यशालामा ११ कलाकारले एकै थलोमा बसेर चित्र कोरे । धेरैपछि विराटनगरमा भएको यस्तो जमघटलाई अनुराधाको प्रदर्शनीले थप बल दिएको उनलाई लागेको छ । उनले भने 'अब कला प्रदर्शनी गर्न गराउन सजिलो हुन्छ भन्ने लागेको छ ।' 
प्रदर्शनीकै समय पारेर राजधानीबाट आइपुगेका प्राध्यापक अभि सुवेदी भन्छन् 'अनुराधाका चित्रको विशेषता नियन्त्रण र परिपक्वता हो । उनका तेल र एक्रेलिक प्रयोग गरेका सबै नै चित्र भावपरक छन् ।' कला कार्यशालापछिको एकल प्रदर्शनीको अनुभव पृथक रहेको उनले सुनाए । 'हाम्रा धेरै कलाकारको कला स्तरीय र बेजोड छ, यो सबैले अब विराटनगरमै देख्न, अनुभव गर्न पाउने भए । यो खुसीको कुरा हो ।' 
युवा कलाकार पारस थापाको बुझाइमा प्रदर्शनमा रहेका १५ चित्रमा प्रत्येकले पृथक संदेश बोकेका छन् । भन्छन् 'एउटा हेरेर हिडिहाल्ने भन्दा पनि हेरेर भाव केलाउनुपर्ने खालको लाग्यो ।' चित्र प्रदर्शनीका लागि सार्वजनिक थलोको अभाव नाटकघरले पुरा गर्न भएको अभ्यास पूर्व क्षेत्रकै लागि खुसीको कुरा भएको उनले बताए । 
हाटखोलाको नाटकघर राजधानीको पुरानो बानेश्वरस्थित आरोहण गुरूकुलको शाखा हो । निर्देशक सुनील पोखरेल भन्छन् 'अनुराधाजीको प्रदर्शनीबाट राम्रा प्रतिक्रिया आएका छन् । हामी यहाँ ग्यालरी पनि बनाउने सोचमा छौ । अहिले त्यो सोचलाई बल मिलेको छ ।' नाटक र चित्रकारिता फरक विधा भएपनि भाव केलाउने सन्दर्भमा आफुले चित्रलाई एउटा शैलीका रूमा लिने उनले बताए । एक साता चल्ने प्रदर्शनीमा आगन्तुकले थापाका विविध भावलाई रंगको संयोजनमा सजिएका क्यानभास हेर्न पाउनेछन् । 
(०६८ जेठ ४ बुधवार कान्तिपुरको कला र शैली पृष्ठमा प्रकाशित)

No comments: