विहानै एकजना मलाइ चिन्ने , मैले नचिन्ने भाइको फोन आयो । उनले जनविकास स्कुल आउन डाकेका थिए । मन नलाग्दा नलाग्दै पनि जानु पर्यो । उनी लिनै आए । ६ कोठा बनाउन ठेक्का लिएका एक ठेकेदारले विद्यार्थी कुटने गरेका रहेछन् । एउटा फुचेलाई चोट लागेको रहेछ । त्यहा बसियो । जिम्मेवार गुरूहरू भेटिएनन् । अभिभावक, केटाकेटी र मेराज भनिने ठेकेदारका कुरा सुनियो । ठेकेरदारलाई कुनै गम थिएन । उनले भने -यहा टीचर हुदैनन् । म आठवटासम्म क्लास लिन्छु । बदमासी गर्छन् अनि कुटछु पनि ।
अभिभावकले हकारे । ठेकेदार भएर कोठा बनाउने कि पढाउने ? अनि विद्यार्थी कुटने अधिकार कसले दियो ? उ अलि स्वाठ पाराको सुकिलो रहेछ । हच्किएन । भन्यो - गर्छु । जस्ता मेरा केटाकेटी यहाका पनि उस्तै हुन् । उसका जवाफमा मायाको अधिकार जनाउन खोजिएपनि प्रस्तुती हपारेजस्तो थियो । शिक्षकहरू जनगणनामा खटिएछन् । क्लासमा १७ जना आउनुपर्नेमा ९ जना अनुपस्थित भएका रहेछन् । अनि घटना भएको रहेछ । प्रधानाध्यापक भेटिएनन् । उनीसग नभेटी समाचार पुरा हुने भएन । उनको फोन नम्बर टिपेर फिरियो ।
०००
विहान ६ देखि बेलुकी ६ बजेसम्म स्थानीय प्रशासनले जारी गरेको भनेको निषेधाज्ञाको अनुभव सडकमा देखिएन । युवा संघ समर्थकले तीनवटा सवारीमा क्षति पुर्याइएको सुनियो । एउटा देखियो । जनपथ टोलमा बा५प ७५६ठ नम्बरको मारूती ओम्नी भ्यान जलाइएको रहेछ ।
हिजो राती साढे १० बजे घर फिर्दा मेरो मोटरसाइकल पंचर भएको थियो । वडा प्रहरी परिसरमा छाडेर हिडेको थिए । सञ्चारकर्मी साथी कमल रिमालले घर छाडिदिएका थिए । साधान थिएन । त्यसैले आज म रिक्शामा थिए । बाटामा फोन आयो - युवा संघ अध्यक्ष महेश बस्नेतलाई प्रहरीले तालिम केन्द्रबाट एमाले मोरङको पार्टी कार्यालयमा लगेर छाडेको छ । उनको तस्बिर खिच्नु थियो । रिक्शा त्यता मोडन लगाइयो । खिचियो । उनका आक्रामक कुरा सुनियो । अघि बढियो । बाटामा जलेको भ्यान भेटियो ।
तस्बिर लिएर अघि बढेपछि बाटामा ती भ्यानका गुरूजी भेटिए । सुकुमार सेन दाइले ती गुरूजी चिनाए । लक्ष्मण शर्मा,३०, डराएका रहेछन् । उनले बताए । बाटैमा रोकेर पेट्रोल खन्याएका थिए । आगो लाग्दा लाग्दै निस्केर भागेका रहेछन् । उनको पनि जीउमा पेट्रोल परेको रहेछ । सुन्नेले भने - 'उ यदि उ जवान थिएन । लारेलुरे थियो भने गाडीबाट डढेको कंकाल निस्कन्थ्यो ।' उनी हतास देखिए । उनलाई सान्त्वना दिइयो । ठूलो हिम्मतले ज्यान बचाएका उनलाई कम्पनीले कसो गर्ला थाहा भएन ।
०००
साझ महेश बस्नेत राजधानी फिरे । उनले विराटनगर छाडनुअघि जे जे भने, ती आक्रमक थिए । उनी नागरिक पत्रिका, सम्पादक र पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाप्रति धेरै रूष्ट थिए । यी दुइका विरूद्ध नै उनले धेरै बोले । अन्तर्वार्ता लिने पत्रकारले पश्न गरेको थिएन । एकोहोरो उनी बोल्दै रहे । निन्दावाद र जिन्दावादका नारा लगाउने समर्थको हुलसगै उनी पार्टी कार्यालय पसेपछि म बाहिर लागे । एक जना भाइले बोलाए । उनले केही बोल्न पत्रकार खोज्दैछन् । अघि उनले बोलेका कुरा सुनेर दोहोरो संवादमा मन लागेन । अनि त्यहा उनलाइ निरन्तर नजिक फलो गरिरहेको एकजना टेलिभिजनकर्मी भाइबाहेक अरू थिएनन् । म बसिन । 'भैगो पर्दैन' भन्दै बाहिरिए ।
काठमाडौं रहदाका कुनै समय एक जना मित्रले कोसेलीको कभर स्टोरीको विषय बस्नेत र वाइसीएलका अध्यक्ष गणेशमान पुनलाई बनाएका थिए । ती मित्रका लागि मैले तस्बिर लिइदिनुपर्ने थियो । सो उनीसगै हिडियो । पुन भेटन गाह्रो भएन । बस्नेतले निकै कुराए । बागबजारको एउटा होटलमा टप फ्लोरमा लगेर भेट दिए । त्यसबेला मलाइ लागेको थियो- यी मान्छे कुनै नामुद गिरोहका नाइके पो हुन् कि । कारण, उनको दलबल । निगरानीका तरिका । कुरा गर्ने शैली ।
प्रहरी-सेना अघिपछि रहे हामीले त्यस्ता मान्छे मन्त्री वा त्यस्तै कुनै खास सरकारी मान्छे ठान्नु स्वभाविक छ । तर, पल्सर बाइक अघिपछि मसलदारहरू देख्ता गिरोहको भान हुनु अस्वभाविक थिएन । उनले बताएका थिए । एक्लै हिडन सकिजो छैन । कारण, भर्खर युथ फोर्सले गतिविधि थालेको थियो । माओवादीको वाइसीएललाई चूनौति दिएका हुनाले सुरक्षामा सतर्क छु भनेका थिए । त्यसबेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । उनी विपक्षी पार्टीका एउटा बलिया क्याडर ।
अहिले उनकै पार्टीका प्रधानमन्त्री छन् । उनी अहिले झनै बलिया छन् । पत्रकार ढकाल कुटेको आरोप लागेका युथ फोर्स मोरङ संयोजक पर्शुराम बस्नेतलाई उनले संरक्षण दिएका छन् । छापा र टेलिभिजनमा उनका भनाइ आए । निर्दोषलाइ फसाइएको हो । दोष प्रमाणित भएमात्र पर्शुलाई बुझाउने रे । उनै पर्शुका लागि विराटनगर आइपुगेका बस्नेतले यहा सभा गर्न पाएनन् ।
उनले सभा गर्ने भनेका दिन विराटनगरमा सभा, जुलुस, धर्ना गरन् र ५ जनाभन्दा बढि भेला हुन नपाइने निषेधाज्ञाको आदेश जारी गर्यो । १९ किलोमिटर उत्तर इटहरीमा पनि उनले भेला बोलाउन पाएनन् । समातेर विराटनगर ल्याइयो । जे होस्, उनी छुटे, छुटाइए । सरकारले अनुनय विनय गरेर काठमाडौं बोलायो । गए । उनी विमानस्थल जादा पुर्याउन हिडेका झण्डाधारी नाराबाजहरूलाई अफिसको झयालबाटै देखे । समाचार अप्डेट गरियो ।
०००
दुइ साता भएको छ, विराटनगरमा नागरिक दैनिकका संवाददाता खिलानाथ ढकालमाथि आक्रमणको । साथीहरू उनी एमालेसम्बद्ध सञ्चारकर्मीको संगठन प्रेस चौतारीमा आस्थावान हुन् भन्छन् । उनलाइ आक्रमण गरेका आरोपितहरू एमाले कार्यकर्ता नै हुन् ।
त्यस दिन विहान जब रातमा ढकालमाथि आक्रमण भएको सुनियो, एक मनमा लागेको थियो - उनी किन रातमा जसबाट खतरा छ, उही समूहका मान्छेले बोलाउदा गएका होलान् । फेरि लाग्यो, सञ्चारकर्ममा धेरैले स्रोतका माध्यमबाट सूचना लिन्छन् । रात विरात सञ्चारकर्मी हिडछ भने उ कामकै सिलसिलामा धेरैपटक हिडेको हुन्छ । निकै थोरै यस्ता होलान् , जो मजाका लागि रात्री विचरण गर्छन् ।
घटना भइसकेपछि विहान हामी पत्रकार महासंघमा भेला भएका थियौ । आकस्मिक छलफल डाकिएको थियो । दोस्रो दिन, तेस्रो दिन र निरन्तर कुनै न कुनै प्रकारका दोषी पक्राउ अनि कारवाहीमा सरकारको ध्यान खिच्ने कार्यक्रम चलिरहेको छ ।
दिन बित्दै जादा पनि मुख्य दोषी भनेर आरोप लगाइएका पर्शुराम समातिएका छैनन् । कुनै पनि पार्टीमा बलियो पकड नभएको जनता हुदो हो भने अहिले पक्राउ मात्र होइन, उसलाई बकाउन प्रहरीका अनेक यातनाका सिकार भइसक्थे होलान् । तर, पर्शु बलिया रहेछन् । उनी राजधानी बसेर टेलिभजनलाई अन्तर्वार्ता दिइरहेका छन् । सरकारलाई चूनौति दिइरहेका छन् । दोष प्रमाणित गर्नसक्ने भए देखाउ भनेर । पत्रकार साच्चै निरीह रहेछन् भनने पनि लाग्छ । अनि दलहरूले मात्र चलाए देशमा प्रजातन्त्र रहन्छ भन्ने कुरामा शंका पनि लाग्छ ।
सक्नेले जे गरेपनि हुने भनेको यही घटनाले देखाएको छ । उनी निर्दोष हुन् भने प्रहरीलाई अनुसन्धानमा सघाएर आफुलाई साबित गर्न सक्नुपर्ने हो कि भन्ने लाग्छ । तर, जसको सरकार छ । जसले सरकारको नेतृत्व गर्ने दलका लागि काम गर्छ, उसलाई कसरी त्यही सरकारले समात्न सक्छ ? प्रश्न धेरै छन् । केही नेताका भनाइ पढन मिलेको छ । घटनामा पार्टीलाई मुछेर अतिरञ्जित बनाइयो भनेर । के यो अतिरञ्जित होला त ? आन्दोलनमा गोली लागेर इहलीला सकिएका मान्छेको शवमा पार्टीका झण्डा ओढाइन्छ । अनि सहीद करार दिइन्छ । पार्टी र केही पछि बल पुगे देशैले उसको तस्बिर राख्छ । पार्टीका नेता हुंकार गर्छन् - हाम्रा वीर सहीद फलाना । अनि कुनै कारयकर्ताले बिझयाइ गरे उसको दोष व्यक्तिलाई मात्र जाने हो कि । हाम्रो सामाजिकीकरणको फेरिएका नियम मगजमा पस्दैन । कारण, समाजशास्त्र रूचीकर नलागेर पनि हुनसक्छ ।
०००
आज महेश बस्नेतका कुरा सुनेपछि मलाइ पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष साथी विक्रम निरौलाको व्यक्तिगत सुरक्षासम्बन्धी चिन्ता लागेको छ । कारण, पत्रकार हतियार बोक्दैन । सुरक्षा गर्ने जमात साथ लिएर पनि हिडदैन । उसका कुरा राज्यले सुन्नुपर्छ । उन नियमका कुरा गर्छ । कानूनी शासनका कुरा गर्छ । चिन्ता र चासो सबैलाई हुनुपर्ने हो । तर, खिलानाथ आक्रमण प्रकरणमा अहिलेसम्म खिला स्वयंको जाहेरी प्रहरीमा पुगेको छैन । पत्रकारका आवरणमा नेता साथीहरूले हिम्मत बढाएर एमालेका जुझारू कार्यकर्ताविरूद्धको आरोपको उजुरी महासंघका तर्फबाट निरौलाजीका नामबाट गएको छ । महासंघको नेतृत्वका नाताले उहाले गर्दिन भन्न मिल्ने ठाउ पनि रहेन । तर, परिस्थिति आज केपी ओलीले श्रीलंकाबाट एउटा टेलिभिजनसँग गरेको कुरा जुझारूलाई अझ बल मिल्ने संकेत गर्छ । जे होस् न्यायका पक्षधर कसैको कुभलो नहोस ।
No comments:
Post a Comment