के तपाईंले कहिल्यै सोच्नुभएको छ, दिनको ८ देखि १० घण्टासम्म कडा मेहनत गर्दा पनि जीवनमा किन अपेक्षित प्रगति गर्न सकिरहनुभएको छैन?
बिहान आँखा खुल्नासाथ सबैभन्दा पहिले मोबाइलको स्क्रिन हेर्नुहुन्छ। काम गरिरहेका बेला प्रत्येक पाँच मिनेटमा ह्वाट्सएप, इन्स्टाग्राम वा इमेल जाँच गर्नुहुन्छ। राति ओछ्यानमा पल्टिएपछि भने मनमा एउटै कुरा खेलिरहन्छ - आज पनि दिनभरि काम गरेर थाकियो, तर सबैभन्दा महत्त्वपूर्ण काम नै पूरा भएन।
यदि तपाईंको दैनिकी पनि यस्तै छ भने अब सचेत हुने बेला आएको छ। किनकि तपाईं एउटा यस्तो अदृश्य समस्याको सिकार भइरहनुभएको हुन सक्छ, जसले विस्तारै तपाईंको करिअर, आम्दानी र मानसिक क्षमतालाई कमजोर बनाइरहेको छ।
आज हामी एउटा यस्तो पुस्तकबारे चर्चा गर्दै छौँ, जसले संसारका सफल र प्रभावशाली व्यक्तिहरूलाई अरूभन्दा फरक बनाउने काम गर्ने तरिका सिकाउँछ। त्यसैले यो लेख यतिसम्म पढेर नछाड्नुहोला, अन्त्यसम्म पढ्नुहोला। यसमा समेटिएका विचारले तपाईंले काम गर्ने शैली र जीवनलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्छन्।
हामी अमेरिकाको जर्जटाउन विश्वविद्यालयका कम्प्युटर साइन्सका प्राध्यापक तथा न्युयोर्क टाइम्सका बेस्टसेलर लेखक क्याल न्युपोर्टको चर्चित पुस्तक ‘डीप वर्क : रुल्स फर फोकस्ड सक्सेस इन अ डिस्ट्र्याक्टेड वर्ल्ड’ अर्थात् ‘ध्यान भड्काउने संसारमा एकाग्रतासहित सफल हुने नियमहरु’ बारे कुरा गर्दै छौँ।
एकछिन रोकिएर आफैंलाई एउटा इमानदार प्रश्न सोध्नुहोस्। पछिल्लो पटक मोबाइल नछोई, कुनै सूचना नहेरी र कसैसँग कुराकानी नगरी लगातार एक घण्टासम्म एउटै काममा पूर्ण ध्यान केन्द्रित गर्नुभएको कहिले थियो?
सायद तपाईंलाई सम्झन पनि गाह्रो भइरहेको होला। सम्झिए पनि त्यो निकै पुरानो कुरा हुन सक्छ। आजको डिजिटल संसारमा हाम्रो ध्यान सबैभन्दा मूल्यवान् सम्पत्तिमध्ये एक बनेको छ। ठूला प्रविधि कम्पनीहरूले तपाईंको ध्यान आफूतिर तान्न अर्बौं रुपैयाँ खर्च गरिरहेका छन्। यसका लागि उनीहरूले संसारकै तीक्ष्ण दिमाग भएका मानिसलाई काममा लगाएका छन्। उनीहरूको उद्देश्य एउटै छ - तपाईंले हरेक केही मिनेटमा मोबाइल उठाउनुहोस् र उनीहरूका एप खोलिरहनुहोस्। हामी पनि थाहै नपाई यो जालमा फसिरहेका छौँ।
क्याल न्युपोर्टले आफ्नो पुस्तकमा एउटा महत्त्वपूर्ण कुरा उठाएका छन्। अहिलेको संसारमा मानिसहरू दुई समूहमा विभाजित हुँदै गएका छन्। एउटा समूह त्यस्तो छ, जो दिनभरि व्यस्त देखिन्छ तर खास उपलब्धि हासिल गर्न सक्दैन। बिहानदेखि साँझसम्म उनीहरूलाई फुर्सद हुँदैन। तर वर्षको अन्त्यमा फर्केर हेर्दा देखाउनलायक ठूलो उपलब्धि केही हुँदैन। अर्को समूह त्यस्तो छ, जसले गहिरो एकाग्रतासहित काम गर्ने कला सिकेको छ। उनीहरू दिनमा तीन–चार घण्टा मात्रै काम गरे पनि त्यस अवधिमा यति गहिरो ध्यान केन्द्रित गर्छन् कि अरूले पूरै हप्ता लगाएर गर्ने काम उनीहरूले त्यही समयमा पूरा गर्न सक्छन्।
यो पुस्तकको मूल सन्देश पनि यही हो - धेरै समय काम गर्नु मात्रै सफलता होइन, कति एकाग्रताका साथ काम गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ।
डीप वर्क र श्यालो वर्कबीचको भिन्नता
त्यसो भए आफ्नो छरिएको ध्यानलाई कसरी एउटै लक्ष्यमा केन्द्रित गर्न सकिन्छ? त्यसअघि क्याल न्युपोर्टले प्रयोग गरेका दुईवटा महत्त्वपूर्ण शब्द बुझौँ। ती हुन्– डीप वर्क र श्यालो वर्क।
पहिले श्यालो वर्क अर्थात् सतही कामबारे बुझौँ। श्यालो वर्क भन्नाले त्यस्तो काम बुझिन्छ, जसका लागि धेरै मानसिक शक्ति वा गहिरो एकाग्रताको आवश्यकता पर्दैन। ध्यान अन्यत्र हुँदा पनि यस्ता काम गर्न सकिन्छ। उदाहरणका लागि, इमेलको सामान्य जवाफ दिनु, कुनै स्पष्ट उद्देश्यबिनाको बैठकमा सहभागी हुनु, ह्वाट्सएपमा सन्देश पठाउनु वा अरूको सन्देश अगाडि सार्नु, तथ्यांक प्रविष्ट गर्नु र काम गर्दागर्दै सामाजिक सञ्जाल चलाउनु आदि सतही काम हुन्।
यस्ता कामको सबैभन्दा ठूलो समस्या के हो भने यसले हामीलाई आफूले धेरै काम गरिरहेको छु भन्ने भ्रम पैदा गर्छ। तर वास्तविकता फरक हुन्छ। यस्ता कामले न नयाँ सीप विकास गर्छन्, न त कुनै ठूलो मूल्य सिर्जना गर्न मद्दत गर्छन्। सामान्य तालिम दिएपछि अरू व्यक्तिले पनि सजिलै गर्न सक्ने काम यिनै हुन्।
अब डीप वर्क अर्थात् गहिरो काम बुझौँ। कुनै पनि भट्कावबिना आफ्नो सम्पूर्ण मानसिक क्षमता एउटै कठिन र महत्त्वपूर्ण काममा लगाउनु नै डीप वर्क हो। जस्तै, जटिल सफ्टवेयरको कोड लेख्नु, पुस्तक वा अनुसन्धानपत्र तयार गर्नु, व्यवसायको कठिन समस्या समाधान गर्नु, कुनै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नु वा नयाँ सीप गहिराइमा पुगेर सिक्नु। यस्ता काम गर्न सजिलो हुँदैन। यसका लागि दिमागले निकै मेहनत गर्नुपर्छ। तर यही कामले तपाईंलाई आफ्नो क्षेत्रमा दक्ष र अरूभन्दा फरक बनाउँछ।
यसलाई दुईवटा वास्तविक उदाहरणबाट बुझौँ। पहिलो उदाहरण माइक्रोसफ्टका संस्थापक बिल गेट्सको हो। उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुँदा संसारभरिका अनेक जिम्मेवारी थिए। त्यसका बाबजुद पनि उनी वर्षमा दुई पटक विशेष अभ्यास गर्थे, जसलाई ‘थिंक विक’ अर्थात् सोच्ने सप्ताह भनिन्थ्यो। त्यस अवधिमा उनी एक साताका लागि बाहिरी संसारबाट अलग हुन्थे। एउटा शान्त स्थानमा रहेको कुटीमा बसेर किताब पढ्थे, अनुसन्धानपत्र अध्ययन गर्थे र भविष्यका योजनाबारे गहिरिएर सोच्थे। त्यहाँ परिवारका सदस्य, साथीभाइ, फोन, इमेल र इन्टरनेटको पहुँच हुँदैनथ्यो। उनको त्यो एकान्त अध्ययन र चिन्तनको समयले माइक्रोसफ्टका महत्त्वपूर्ण रणनीति तथा प्रविधिको भविष्यबारे सोच्न सहयोग गरेको थियो।
दोस्रो उदाहरण चर्चित लेखिका जेके रोलिङको हो। सन् २००७ मा उनी आफ्नो चर्चित 'ह्यारी पोटर' शृंखलाको अन्तिम तथा महत्त्वपूर्ण पुस्तक ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज’ लेख्दै थिइन्। त्यतिबेला उनी संसारभरि चर्चित भइसकेकी थिइन्। घरमा बालबालिकाको चहलपहल, सञ्चारमाध्यमका फोन र दैनिक जिम्मेवारीका कारण उनलाई लेख्न कठिन भइरहेको थियो। त्यसपछि उनले एउटा विशेष निर्णय गरिन्। उनले स्कटल्यान्डको एडिनबर्गस्थित बाल्मोरल होटलमा एउटा कोठा बुक गरिन्। हरेक बिहान होटल पुग्थिन्, मोबाइल बन्द गर्थिन् र बाहिरी संसारसँगको सम्पर्क तोडेर लेखनमा केन्द्रित हुन्थिन्। अन्ततः उनले त्यही होटलको कोठामा बसेर आफ्नो पुस्तक पूरा गरिन्। यी उदाहरणले एउटा कुरा स्पष्ट पार्छन् - महत्त्वपूर्ण उपलब्धि हासिल गर्न प्रतिभा मात्रै पर्याप्त हुँदैन, त्यसलाई सही दिशामा लगाउने एकाग्रता पनि आवश्यक हुन्छ।
अब आफ्नो हिजोको दिन सम्झनुहोस्। तपाईंले काम वा पढाइमा बिताउनुभएको कुल समयमध्ये कति समय गहिरो एकाग्रतासहित काम गर्नुभयो र कति समय सामान्य काम तथा भट्कावमा बिताउनुभयो? यहाँ धेरैको मनमा एउटा प्रश्न आउन सक्छ। म त एकैपटक धेरै काम गर्न सक्छु। पढ्दै गर्दा सन्देश पनि हेर्छु, कार्यालयको काम गर्दै गर्दा गीत पनि बदल्छु र फेरि तत्कालै आफ्नो काममा फर्कन्छु। यसले के फरक पार्छ र?
ध्यान भंग हुँदा दिमागमा के हुन्छ?
यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने अब ध्यानसँग सम्बन्धित एउटा वैज्ञानिक अवधारणा बुझ्न आवश्यक छ। सन् २००९ मा व्यवसायसम्बन्धी प्राध्यापक सोफी लेरोयले मानिसको ध्यान र काम गर्ने क्षमताबारे अनुसन्धान गर्दै ‘अटेन्सन रेसिड्यु’ अर्थात् ध्यानको अवशेष भन्ने अवधारणा अघि सारिन्।
यसलाई एउटा उदाहरणबाट बुझौँ। मानौँ, तपाईं एउटा महत्त्वपूर्ण परियोजनामा काम गरिरहनुभएको छ। त्यही बेला मोबाइलको स्क्रिन बल्छ र ह्वाट्सएपमा सन्देश आउँछ। तपाईं काम रोकेर सन्देश पढ्न थाल्नुहुन्छ। तपाईंलाई लाग्छ, जम्मा ३० सेकेन्ड मात्रै त मोबाइल हेरेको हुँ। तर समस्या त्यति सामान्य हुँदैन।
एउटा काम अधुरै छाडेर अर्को काममा जाँदा तपाईंको ध्यानको केही हिस्सा अझै पहिलो काममै अड्किरहेको हुन्छ। अर्थात् शरीर र आँखा नयाँ काममा पुगे पनि दिमागको एउटा हिस्सा पुरानै काममा अल्झिरहेको हुन्छ। त्यसपछि फेरि मोबाइल राखेर पुरानै काममा फर्किँदा पनि दिमाग तत्काल पूर्ण एकाग्रतामा आउन सक्दैन। अधुरो कामको प्रभावले ध्यान भंग गरिरहन्छ। त्यसैले कामबीच बारम्बार आउने अवरोधले एकाग्रता कमजोर बनाउँछ र कामको गुणस्तर घटाउँछ।
अब आफैं विचार गर्नुहोस्, तपाईंले हरेक १०-१५ मिनेटमा मोबाइल वा इमेल जाँच गरिरहनुभयो भने दिनभरि एकपटक पनि पूर्ण क्षमताका साथ काम गर्न सक्नुहुन्न। बिहानदेखि साँझसम्म व्यस्त रहँदा पनि मानसिक रूपमा थकित हुने तर उल्लेखनीय उपलब्धि हासिल नहुने कारणमध्ये यो पनि एउटा हो।
क्याल न्युपोर्टको पुस्तकले एउटा महत्त्वपूर्ण सिद्धान्त अघि सार्छ, काममा बिताएको समय र त्यस अवधिमा कायम गरिएको एकाग्रताको तीव्रताले नै उच्च गुणस्तरको काम उत्पादन गर्छ। अर्थात् तपाईं कति घण्टा काममा बस्नुभयो भन्ने मात्रै महत्त्वपूर्ण होइन, ती घण्टामा कति गहिरो ध्यान केन्द्रित गर्नुभयो भन्ने कुरा निर्णायक हुन्छ। यदि तपाईं १० घण्टा काममा बस्नुभयो तर एकाग्रता कमजोर रह्यो भने त्यसको प्रतिफल अपेक्षाकृत कम हुन सक्छ। अर्कोतर्फ, कसैले तीन घण्टा पूर्ण एकाग्रताका साथ काम गर्यो भने उसले तपाईंको भन्दा धेरै राम्रो नतिजा दिन सक्छ।
गहिरो एकाग्रतासहित काम गर्ने चार नियम
अब मुख्य प्रश्न आउँछ - चारैतिर सूचना, सामाजिक सञ्जाल, फोन र अनेक जिम्मेवारीले घेरिएको आजको जीवनमा डीप वर्कलाई कसरी आफ्नो दैनिकीको हिस्सा बनाउने? यसका लागि क्याल न्युपोर्टले पुस्तकमा चारवटा महत्त्वपूर्ण नियम बताएका छन्। यी नियम केवल सुन्ने होइन, व्यवहारमा उतार्ने प्रयास गर्नुहोस्।
पहिलो नियम हो - गहिरो काम गर्ने निश्चित प्रणाली बनाउनुहोस्। लेखकका अनुसार आज मन लाग्यो भन्दैमा तीन घण्टा एकाग्र भएर काम गर्छु भनेर बस्नु पर्याप्त हुँदैन। किनकि हाम्रो इच्छाशक्ति असीमित हुँदैन। यसलाई मोबाइलको ब्याट्रीसँग तुलना गर्न सकिन्छ। बिहान उठ्दा ब्याट्री पूर्ण चार्ज भएजस्तै हाम्रो इच्छाशक्ति पनि तुलनात्मक रूपमा बलियो हुन्छ। तर दिनभरि सानातिना निर्णय लिँदै जाँदा त्यो क्रमशः कमजोर हुँदै जान्छ। त्यसैले डीप वर्कलाई इच्छाशक्तिको भरमा नछाड्नुहोस्। यसलाई नियमित बानी र दैनिक कार्यतालिकाको हिस्सा बनाउनुहोस्।
लेखकले यसका लागि विभिन्न तरिका बताएका छन्। तीमध्ये धेरै मानिसका लागि उपयोगी हुन सक्ने एउटा तरिका हो - रिदमिक फिलोसोफी अर्थात् लयबद्ध कार्यशैली। यसको अर्थ हो, हरेक दिन निश्चित समय र निश्चित स्थानमा गहिरो काम गर्ने बानी बसाल्नु। उदाहरणका लागि, बिहान ६ बजेदेखि ८ः३० बजेसम्मको समय आफ्नो सबैभन्दा महत्त्वपूर्ण कामका लागि छुट्याउनुहोस्। यो समयलाई आफ्नो क्यालेन्डरमा निश्चित गर्नुहोस्। यस अवधिमा मोबाइल अर्को कोठामा राख्नुहोस्, साइलेंट मोडमा राख्नुहोस्, आवश्यक नपरे इन्टरनेट बन्द गर्नुहोस् र ढोका बन्द गरेर काममा केन्द्रित हुनुहोस्।
हरेक दिन यो नियम पालना गर्नुभएको दिन क्यालेन्डरमा एउटा चिह्न लगाउनुहोस्। केही दिनपछि त्यस्ता चिह्नको लामो शृंखला बन्नेछ। त्यसपछि तपाईंको लक्ष्य एउटै हुनुपर्छ - यो शृंखला नटुटोस्। काम सुरु गर्नुअघि केही नियम पनि बनाउनुहोस्। जस्तै, टेबलमा पानीको बोतल राख्ने, एक कप चिया वा कफी पिउने र आगामी दुई घण्टामा के काम पूरा गर्ने भनेर स्पष्ट योजना बनाउने। यस्ता साना तयारीले दिमागलाई अब एकाग्र भएर काम गर्ने समय सुरु भयो भन्ने संकेत दिन्छन्।
दोस्रो नियम हो - बोरियतलाई स्वीकार गर्नुहोस्। यो कुरा सुन्दा अनौठो लाग्न सक्छ। तर आजका युवाका लागि यो निकै महत्त्वपूर्ण छ। एकछिन सोच्नुहोस्, अहिले हामीलाई १० सेकेन्डको खाली समय पनि बिताउन कठिन हुन्छ। बैंकको लाइनमा बस्नुपर्यो भने मोबाइल निकाल्छौँ। ट्राफिक बत्ती रातो भयो भने मोबाइल हेर्छौँ। लिफ्ट चढ्दा होस् वा कसैलाई पर्खिंदा, हात स्वतः मोबाइलतिर पुग्छ। यहाँसम्म कि शौचालय जाँदासमेत मोबाइल साथमै लैजान्छौँ। यसरी हामीले आफ्नो दिमागलाई एउटा बानी बसालिरहेका छौँ। अलिकति खाली समय भयो कि तुरुन्तै सामाजिक सञ्जाल, भिडियो वा अन्य सामग्रीबाट मनोरञ्जन खोज्ने।
यसको असर के हुन्छ भने जब हामी कुनै कठिन वा केही समयसम्म ध्यान दिनुपर्ने काम गर्न बस्छौँ, दिमागले छिट्टै त्यसबाट उम्कन खोज्छ। मोटा किताब पढ्दा, कोडिङ गर्दा वा हिसाबकिताब गर्दा केही मिनेटमै दिक्क लाग्न थाल्छ। अनि मोबाइल हेर्ने इच्छा जाग्छ। क्याल न्युपोर्टको सुझाव छ – दिमागलाई बलियो बनाउन बोरियत सहने क्षमता पनि विकास गर्नुपर्छ। दिनमा केही समय जानाजानी केही नगरी बिताउनुहोस्। कसैलाई पर्खिरहनुभएको छ भने मोबाइल ननिकाल्नुहोस्। शान्त भएर बस्नुहोस्, वरिपरिको वातावरण नियाल्नुहोस् वा आफ्नै विचारमा डुब्नुहोस्।
लेखकले अर्को एउटा महत्त्वपूर्ण सुझाव पनि दिएका छन्। त्यो हो - इन्टरनेटबाट विश्राम लिनुभन्दा एकाग्रताबाट विश्राम लिनुहोस्। सामान्यतया हामी दिनभरि काम गर्छौं र बीचबीचमा इन्टरनेट चलाउनका लागि कामबाट विश्राम लिन्छौँ। लेखकले यसको ठीक उल्टो गर्न सुझाएका छन्। दिनभरि इन्टरनेट चलाउने समय पहिल्यै निश्चित गर्नुहोस्। जस्तै, बिहान ११ देखि ११ः३० बजेसम्म र साँझ ६ देखि ६ः३० बजेसम्म। त्यसबाहेक अन्य समयमा जतिसुकै इच्छा भए पनि इन्टरनेट नचलाउने अभ्यास गर्नुहोस्।
काम गरिरहेका बेला कुनै कुरा गुगलमा खोज्नुपर्ने भयो भने तत्काल इन्टरनेट नखोली त्यसलाई कागजमा टिपेर राख्नुहोस्। आफ्नो निर्धारित इन्टरनेट समय आएपछि मात्रै खोज्नुहोस्। यसरी बिस्तारै दिमागलाई हरेक क्षण नयाँ सूचना खोज्ने र भट्किने बानीबाट मुक्त गर्न सकिन्छ।
तेस्रो नियम हो - सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुहोस्। यहाँ आत्तिनुपर्ने आवश्यकता छैन। क्याल न्युपोर्टले मोबाइल फुटाल्नुपर्छ वा सबै सामाजिक सञ्जालका खाता बन्द गरेर हिमालय जानुपर्छ भनेका होइनन्। उनको सुझाव व्यावहारिक छ। उनका अनुसार धेरै मानिसले सामाजिक सञ्जाल प्रयोग गर्दा ‘एनिबेनिफिट एप्रोच’ अपनाउँछन्। अर्थात् कुनै एपबाट एक प्रतिशत मात्रै फाइदा हुन्छ भने पनि त्यसलाई मोबाइलमा राखिरहन्छन्। उदाहरणका लागि, पुराना साथीको तस्बिर हेर्न पाइन्छ वा केहीबेर मनोरञ्जन गर्न पाइन्छ भने त्यही कारणले एप हटाउँदैनन्। तर त्यही एपले दिनको तीन घण्टा समय खाइरहेको हुन सक्छ।
लेखक यस्तो सोच बदल्न सुझाव दिन्छन्। उनी ‘क्राफ्ट्सम्यान एप्रोच’ अर्थात् कुशल कारीगरको दृष्टिकोण अपनाउन भन्छन्। एउटा दक्ष सिकर्मीले आफ्नो औजार राख्ने बाकसमा कामका लागि आवश्यक औजार मात्रै राख्छ। काम नलाग्ने वा अनावश्यक औजार बाकसबाट हटाउँछ। हामीले पनि आफ्नो जीवनमा यही सिद्धान्त अपनाउनुपर्छ। सबैभन्दा पहिले आफ्नो जीवनका मुख्य लक्ष्य स्पष्ट पार्नुहोस्। जस्तै, करिअरमा प्रगति गर्ने, राम्रो स्वास्थ्य कायम राख्ने र परिवारलाई पर्याप्त समय दिने।
त्यसपछि मोबाइलमा भएका हरेक एपलाई हेरेर आफैंलाई प्रश्न गर्नुहोस् - के इन्स्टाग्राम वा फेसबुकमा घण्टौँ बिताउँदा मेरो करिअरमा उल्लेखनीय फाइदा भइरहेको छ? के यसले मेरो आम्दानी बढाइरहेको छ? के यसले मेरा सम्बन्धलाई बलियो बनाइरहेको छ? यदि कुनै एपले तपाईंका महत्त्वपूर्ण लक्ष्यमा खास योगदान गरिरहेको छैन भने त्यसको प्रयोगबारे पुनर्विचार गर्नुपर्छ।
लेखकले यसका लागि ३० दिनको एउटा अभ्यास पनि सुझाएका छन्। सामाजिक सञ्जालका एपहरू मोबाइलबाट हटाउनुहोस्। कसैलाई जानकारी दिनु पर्दैन। सामाजिक सञ्जाल छाड्दै छु भनेर पोस्ट गर्नुपर्ने पनि छैन। लगातार ३० दिन ती एपबाट टाढा रहनुहोस्।
त्यसपछि आफैंलाई दुईवटा प्रश्न सोध्नुहोस्। पहिलो, तपाईं सामाजिक सञ्जालबाट टाढा हुँदा के संसारको काम रोकियो? दोस्रो, तपाईंको अनुपस्थितिले अरूलाई खासै फरक पार्यो? धेरैजसो अवस्थामा यसको जवाफ हुँदैन भन्ने नै हुन्छ। यसले सामाजिक सञ्जाल हाम्रो जीवनको अनिवार्य आवश्यकता होइन भन्ने कुरा बुझ्न मद्दत गर्छ। त्यसपछि यसको प्रयोगलाई आफ्नो आवश्यकता र प्राथमिकताअनुसार सीमित गर्न सकिन्छ।
चौथो नियम हो - अनावश्यक सतही काम घटाउनुहोस्। लेखकले आफ्नो दिनबाट अनावश्यक काम हटाउन दुईवटा उपयोगी विधि बताएका छन्। पहिलो हो, टाइम ब्लकिङ अर्थात् समयलाई निश्चित कामका लागि छुट्याउने विधि। हरेक बिहान काम सुरु गर्नुअघि डायरी वा क्यालेन्डर लिनुहोस्। बिहान ८ बजेदेखि राति ८ बजेसम्मको समयलाई साना–साना खण्डमा विभाजन गर्नुहोस्।
प्रत्येक समयखण्डमा कुन काम गर्ने भन्ने पहिल्यै तय गर्नुहोस्। उदाहरणका लागि, बिहान ९ देखि ११ बजेसम्म परियोजना 'ए' मा गहिरो काम गर्ने, ११ देखि ११ः३० बजेसम्म इमेल र फोनको जवाफ दिने तथा ११ः३० देखि दिउँसो १ः३० बजेसम्म परियोजना 'बी' मा काम गर्ने। यसरी दिनको हरेक समयलाई कुनै न कुनै कामका लागि छुट्याउँदा अनावश्यक रूपमा समय बित्ने सम्भावना कम हुन्छ। बीचमा कुनै आकस्मिक काम आइपरेमा आत्तिनु पर्दैन। आफ्नो कार्यतालिकालाई आवश्यकताअनुसार मिलाउन सकिन्छ। मुख्य कुरा, हरेक समय के गर्ने भन्ने स्पष्ट योजना हुनुपर्छ।
दोस्रो विधि हो, निश्चित कार्यतालिका र काम बन्द गर्ने अभ्यास। आफ्नो काम सक्ने निश्चित समय तोक्नुहोस्। उदाहरणका लागि, साँझ ६ बजे। जब तपाईंलाई ६ बजेपछि काम बन्द गर्नुपर्छ भन्ने थाहा हुन्छ, तब दिनभरि उपलब्ध समयलाई बढी प्रभावकारी रूपमा प्रयोग गर्न थाल्नुहुन्छ। किनकि समय सीमित छ भन्ने बोधले कामप्रतिको एकाग्रता र गति दुवै बढाउँछ। साँझ ६ बजे काम बन्द गर्नुअघि एउटा निश्चित प्रक्रिया पूरा गर्नुहोस्। भोलि गर्नुपर्ने कामको सूची बनाउनुहोस्। इमेल बन्द गर्नुहोस्, ल्यापटप बन्द गर्नुहोस् र आजको काम सकिएको घोषणा गर्नुहोस्।
त्यसपछि रातभरि कार्यालयका सन्देश जाँच्ने वा कामकै चिन्ता गरिरहने बानी छाड्नुहोस्। दिमागलाई पूर्ण विश्राम दिनुहोस्। यसले भोलिपल्ट नयाँ ऊर्जा र एकाग्रताका साथ काम गर्न मद्दत गर्छ।
आफ्नो समय र ध्यान आफैं नियन्त्रण गर्नुहोस्
साथीहरू, यो सबै कुराको अन्त्यमा म तपाईंहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। आँखा बन्द गरेर कल्पना गर्नुहोस्, आजभन्दा १० वा २० वर्षपछि तपाईं आफ्नो जीवनको एउटा यस्तो मोडमा उभिनुभएको छ, जहाँबाट पछाडि फर्केर बितेका दिन सम्झिरहनुभएको छ। त्यतिबेला के तपाईंलाई सन् २०२६ मा इन्स्टाग्रामको कुन रिल हेरेर हाँस्नुभएको थियो भन्ने याद आउला? कसको पोस्टमा के कमेन्ट गर्नुभएको थियो वा कुन वेब सिरिज हेर्न रातभरि जाग्नुभएको थियो भन्ने सम्झना रहला?
सायद रहँदैन। त्यतिबेला तपाईंलाई याद रहने कुरा अर्कै हुनेछ। तपाईंले आफ्नो अमूल्य समय र अद्भुत मानसिक क्षमताको प्रयोग गरेर के निर्माण गर्नुभयो? कुन काममा दक्षता हासिल गर्नुभयो? आफ्नो परिवार र समाजका लागि के योगदान दिनुभयो? आजको कोलाहलपूर्ण र भट्कावले भरिएको संसारमा गहिरो एकाग्रतासहित काम गर्ने क्षमता एउटा विशेष शक्ति बनेको छ। यो क्षमता अहिले धेरै मानिसमा कमजोर हुँदै गएको छ। जसले यसलाई विकास गर्न सक्छ, उसले आफ्नो क्षेत्रमा अरूभन्दा उत्कृष्ट काम गर्ने अवसर पाउँछ।
त्यसैले हरेक सूचनाको आवाजसँगै कठपुतलीझैँ चल्ने भीडको हिस्सा नबन्नुहोस्। आफ्नो समय, ध्यान र दिमागलाई आफ्नै नियन्त्रणमा राख्न सिक्नुहोस्। अरूले तपाईंको ध्यान कहाँ लगाउने भनेर निर्धारण नगरून्। तपाईं आफैंले आफ्नो प्राथमिकता तय गर्नुहोस्।
यदि यो लेखले तपाईंलाई आफ्नो काम गर्ने शैलीबारे सोच्न बाध्य बनाएको छ भने प्रतिक्रिया लेख्न नबिर्सनुहोला। सन्देश तपाईंका साथीभाइ र आफन्तसम्म पनि पुर्याउनुहोस्। विशेषगरी, सधैं ‘मेहनत त धेरै गर्छु, तर समय नै पुग्दैन’ भन्ने कुनै साथी वा भाइलाई भन्नुस्। एउटा प्रतिबद्धता गर्नुस् - ‘म गहिरो एकाग्रतासहित काम गर्न तयार छु।’
(‘डीप वर्क : रुल्स फर फोकस्ड सक्सेस इन अ डिस्ट्र्याक्टेड वर्ल्ड’पुस्तकको एउटा अडियो बुकको टेक्स्टलाई सम्पादनसहित नेपाली भावानुवाद)

No comments:
Post a Comment