Saturday, April 16, 2011

मनोकांक्षा पूर्ण होस्


नाङ्लाकानेको टाउकामा बसेका माहुते जोड-जोडले कराएर ध्यान तान्दैछन् । भुइँमा उभिएका उनका दुइ सहयोगी सुर मिलाउँछन् - 'लौ टाङ मुनिबाट छिर्नोस् । धर्म कमाउँनोस् ।' कसरा हान्निएको लश्करका तन्नेरी माहुतेका कुरा मान्छन् । तन्नेरीको सिको बुढाबुढी र केटाकेटीले पनि गर्छन् । महिलालाई अझ बढि चासो देखिन्छ । एकातिरबाट छिर्छन् । निस्केर गोजीमा हात हाल्छन् । ५-१० का नोट छेवैको पैसाको थुप्रोमा हुर्‍याउँछन् । भनेको सुनिन्छ 'लौ है गणेश मनोकांक्षा पूर्ण होस् ।'
पैसा थुप्रिदै गरेको देख्दा माहुतेहरूको उत्साह बढिरहेको छ । तर, हात्तीलाई यसले केही फरक पर्दैन । पहिले जसरी नै धर्म बाँडने पोजमा उभिइरहेको छ । माहुतेहरूको आहवान क्यासेट प्लेयरमा गीतका कुनै पंक्ति 'रीपीट अप्सन' मा राखेजसरी  दोहोरिरहन्छ । टाङमुनि छिर्दा धर्म हुन्छ/हुन्न जान्ने चासो भीडलाई छैन । 
नारायणघाटदेखि थोरै पश्चिमहुँदै २० किलोमिटर दक्षिण हान्निएर राप्ती उपत्यकाको यो कसरा क्षेत्र जाने बाटो हो । त्यही कसरा जहा चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्र छ । हात्तिसार पनि छ । अहिले यो लश्करको पहिलो गन्तव्य भने घडियाल वा हात्ती होइन । मैदानमा फैलिएर बगेको राप्तीको चिसो पानी छिचोल्न हिडेको भीड कसराको  धार्मिक यात्रामा छ, विक्रम बाबाको पूजा गर्न ।
कसराबाहिर राप्ती किनारका झाडीबुटयानभरि खानेकुराका पसल छन् । लुगा, खानेकुरा, भाडाकुडा, सवारी पार्किङबाहेक यहा नौलो लाग्ने सेवा व्यवसाय बेस्सरी चलेको देखिन्छ । व्यवसाय हो - प्रति गोटा ३ सयमा बोका खुइल्याउने । टीनका ड्रमलाई आधा/आधा काटेर बसाइएको पानी उम्लदै छ । बलि दिएपछिको निष्प्राण बोका लिएर खुइल्याउन पालो कुर्ने निकै छन् । व्यवसायी धमाधम खुइल्याउने, फोर्ने र काटकुट पार्ने काममा मेशिन झै छरितो सेवा दिइरहेका छन् । यसरी काटकुट पारेपछि तयारी मासू घर लैजाने धेरैको हतारो देखिन्छ ।
हातीको टाङ मुनि छिरेकाहरू किनार पुग्नअघि टिकट लिन्छन् । करीव ५० मिटर पानी छिचोल्न यहा अलि असजिलो छ । कारण, राप्ती अलिकति गहिरो भएको छ । मसिना दुइ डुंगा जाडेर एउटाको आकारमा दिइएका छन् । १०/१० रूपैयामा मान्छे तारिदैछ । हुत्तिदै डुंगा चढने र उत्रनेको लर्को चर्को देखिन्छ । साना नानीहरू अभिभावकका काधमा बसेर पालो कुर्दैछन् । डुंगा किनार लागेपछि त्यसमा पसेको पानी मिल्काइन्छ । अनि अर्को टि्रपका लागि तयारी गरिन्छ । डुंगाको भीडमा पालो पाउन असहज देख्नेहरू निकै परबाट नदिका पातला धार समात्दै वार-पार हिडेरै तर्छन् । बडो तछाड मछाड ब्योहोर्दै डुंगा यात्राको चाख राख्नेहरूले राप्तीको एउटा भंगालो तरेपछि जंगल सुरू हुन्छ ।
संरक्षित क्षेत्र भएकाले जंगलका ठाउँ-ठाउँ सेना उभिएका छन् । तिनीसँग सवालजवाफको कठिनाइ छैन । बरू सेना अहिले सहजकर्ताजस्ता भुमिकामा छन् । भन्छन् 'यताबाट जानुस् । यो भीडसँगै जानुस् ।' धेरै हातमा पुजा सामाग्री छन् । कसैले जोडी परेवाको टोकरी बोकेका छन्, कोही बोका डोर्‍याउँदै अघि बढ्छन् ।
जंगल पस्दा सुरू-सुरूमा हुने पातका सर्‍याङसुरूङलाई शंखघण्ट र मान्छेका आवाजले जित्छन् । परिवारका सदस्य समूह-समूहमा भेला भएर बडेमानका रूख छान्दै त्यसको फेदमा पूजा गर्छन् । यो प्रकृतिको पुजा रहेछ । मान्छे प्रकृतिमा आश्रति छ । प्रकृतिलाई मान्छेले बिगारेको छ । प्रकृति रिसाइन् भने विपदा आउने जनविश्वास छ ।  चितवन र आसपासका थारू समुदाय बाहुल्य पुजामा सबैथरि जातजातिको सहभागिता उतिकै देखियो । मुल पुजास्थलमा समीको रूख छ । पुजारी ठूलो स्वरमा पुजाका आरती फलाक्छन् । श्रद्धालुलाई टीका लगाइदिन्छन् । परेवा उडाएर मनोकांक्षा पूर्ण होस् भन्नेहरू उल्लेख्य छन् । उडेका परेवा घरि घरि पुजारीका टाउको र काधमा बस्छन् । उडेर पर जान नसक्नेहरूलाई एक हुल भुरा मौका हेर्दै समात्छन् । अनि अलि पर बाटामा बसेर कराउछन् 'जोडीको सय रूप्या । जोडीको सय रूप्या ।'
बोका बलि दिनेका लागि बेग्लै ठाउ बनाइएको छ । बलि दिन लगाउनेहरू पशु चढाएपछि बोकेर लैजान्छन् । राप्ती पारीको त्यही खुइल्याउने ठाउमा पुग्छन् । एक साता चल्ने प्रकृति पूजाको रौनक पनि बिछट्टको छ । यसले प्रजनन् केन्द्रमा गोही हेर्न आउनेको संख्या पनि बढाएको छ । पुजा गर्ने, घडियाल प्रजनन केन्द्र जाने, २० रूपैया टिकट काटेर साना-ठूला गोही हेर्ने ।
(०६८ बैशाख ३ शनिवार कान्तिपुर कोसेलीमा प्रकाशित)