Tuesday, September 9, 2008

सुलोचना


आफुलाई दह्रो मुटु भएको भ्रम राख्ने म अझै तंग्रिन सकेको छैन । ब्लगमा लेख्ने कुरा यो हो होइन थाहा छैन । तर, मेरो जीमेलको च्याटमा 'बोल्न मन छैन' लेख्दा आएका धेरै साथीले सोधे , किन ? जवाफ दिने मुड भएन । कतिलाइ मैले भने - जीवनमा सबै कुरा मान्छेकै हातमा हुने रहेनछ ।
अस्ति शुक्रवार बेलुकी उनी विदा भइन । विहीवारको रात जागै बसेर सिलिण्डरमा अक्सिजनको मात्रा  हेरिरहनु । जीउ पनि अड्याउन नसक्ने मेरी बैनीलाई सहारा दिनु । अनिदो हुँदा पनि शुक्रवार विहान उनलाइ केही सहज भएको छाडेर म इटहरीबाट इनरुवा हुँदै समाचारजन्य तस्बिर खोजेर अफिस फिरेको थिए ।
त्यो दिन साँझ मैले मेरा आफन्तहरुको गुगल ग्रुपमा उनको बारेमा लेखेको थिए -' उनीलाई केही आराम छ । आस र प्रार्थना गरौं ।' बेलुकी १० बजे सरोज दाजुलाइ फोन गर्दा उनीलाइ असजिलो भइरहेको बताउनु भएपछि निकै छटपटी लाग्यो । करीव सवा ११ बजे मोवाइलमा म्यासेज आयो - 'सरी' भनेर । अत्यास लाग्यो । अनि फोन गरें । उहाँहरु धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नु भएको रहेछ । अनि दाजुले भन्नुभयो - 'सरी राजु , उनी रहिनन् ।'
रातभरि निन्द्रा परेन । शनिवार विहानै कोपिला (श्रीमति सरोज) भाउजुलाइ लिएर विराटनगरबाट निस्कदा बाटोमा बाइक पंचर भयो । अफिसमा राखेर बसमा इटहरी पुगियो । अनि त्यहाँ आफुलाइ दह्रो मुटु भएको मान्ने म पनि माइजु र कवितालाइ सम्हाल्दा सम्हाल्दै रोएँ ।
सुलोचना (फ्लोरेन्स) , मेरो कान्छा मामाकी तीन बैनी मध्येकी जेठी छोरी । मेरो तिहार । मेरा सहोदर दिदी-बैनी छैनन् । तर, सौभाग्य उनीहरुको कमीको महसुस गर्नु परेको पनि छैन । इनरुवा रहँदाका तीन वर्ष मेरा लागि पत्रकारितामा प्राथमिकस्तरका बेला थिए । डेरामा एक्लै ।  विवाह नहुञ्जेल विहान बेलुकी नै खाना पकाएर खान समस्या नै थियो ।
विहान पकाएर राखेकै खाना बेलुका तताएर खाने क्रम चल्दा मलाइ स्नोफिलिया बढेर सास फेर्न गाह्रो हुन्थ्यो । कहिलेकाही इटहरी जाने, त्यहाँबाट समाचार लेखेर फ्याक्स गरेपछि मामाघरमा पुग्थें । अनि मलाइ बैनीहरु कराउँथे । कति मैलो लुगा लगाएको ?  आफ्नो हालत के पारेको ? झुस्स दाह्री ? अनि गन्हाउने मोजा । स्वास्थ्यको ख्याल । उनीहरुको स्नेहले मलाइ एक्लो महसुस हुदैनथ्यो ।
डेरा फिर्दा मामाघरबाट औषधि पनि लिएर आउने म एक/दुइ महिना स्वस्थ भएर काम गर्थे । अन पिmेरि दिनभरि समाचारको खोजीमा गयो । बेलुकी कोठाको फ्याक्समा कागज हाल्दै गयो । २०५९ साउनपछि कम्प्युटर र जीवनसंगिनी आएपछि डेराको जीवन केही सहज भएको थियो ।विमला केही समय शिक्षक तालिममा गइन । दिनचर्या उस्तै । दिनभर भोकभोकै हिड्दा स्वास्थ्य फेरि उस्तै ।
मेरो स्वार्थले मात्र होइन । मेरा बैनीहरुको आनीबानी र उनीहरुले दिने सल्लाह मेरा लागि अहम हुन्थे । ०६० सालपछि म विराटनगर आएँ । इनरुवा रहँदा जस्तो भएन । जान आउन कम भयो । तर, बाटो परेका बेला र पर्व भेला अनि त्यसैपनि मामाघर जाने क्रम रहिरह्यो । बैनीहरुका सहोदर दाजु थिएनन् । त्यस कारण पनि हुनसक्छ हाम्रो नाता प्रगाढ थियो । अनि वितेका तीन वर्षमा कान्छी इण्डियाको विजयवाडा,माइली अष्ट्रेलिया र जेठी काठमाडौं पढ्न गए । भेट मेल र एसएमएसमा मात्र । अनि सुनें सुलोचना, सुलुलाइ क्यान्सर भयो । भेट भएन । उसले फोन पनि गरिन । मैले पनि सम्पर्क गरिन ।
कारण , अरुलाई अर्ति दिने मेरी बैनीको बानी आफ्ना कुरा नभन्ने थियो । उसलाइ डिस्टर्ब होला भनेर मैले फोन गर्न उचित मानिन । दिन बिते , बर्ष बिते । यसबीचमा हाम्रो एउटा तिहार धरानको विजयपुरमा भयो । अमेरिकाबाट चाडका लागि आएका सन्तोष दाजु भाउजु र सीता ठुलीआमाका परिवारबीच हामीले निकै रमाइलो गरेका थियौ ।
मलाइ यति थाहा थियो सुलु काठमाडौंमा थिइ । पढ्दै थिइ । उपचार पनि चल्दै थियो । अवस्था गम्भिर थिएन ।  लामो समयपछि सुलुसँग मेरो पछिल्लो भेट गत बुधवारमात्र भएको थियो । इटहरीको त्यही मामाघरमा कान्छी कविता, मामा र माइजु उनलाइ स्याहार गरिरहनुभएको अवस्था थियो ।  मैले मेरी श्रीमाति विमला र छोरालाइ त्यही छाडेर साँझ विराटनगर आए । बेलुकी करीव ११ बजे विमलाको फोन आयो । सुलुलाइ निकै गाह्रो भएको रहेछ । उसलाइ सास लिन समस्या थियो । मध्यरात भयो । म एक्लै बाइकमा त्यसबेला जान सकिन । विहानै पुगें । अनि त्यो दिन र रात बसें । फोक्सोमा इन्फेक्सन छ , यसले सास पुरा लिन सकेकी छैन भनेर मामाले बताउनुभएको थियो ।
शुक्रवार विहान बाढीपीडितका शिविरमा समाचारजन्य तस्बिरका लागि म जानुपर्ने थियो । कोसीले तटबन्ध भत्काएर धार फेरेका बेला । समाचार र तस्बिरको भोको पत्रिकालाई समाग्री र आफ्नो काम ड्युटी पनि नगरी नहुने अवस्था । निस्कने बेलामा मैले सुलुलाइ हिम्मत नहार्न भने 'बेलुकी आज सरोज दाजु आउनुहुन्छ । म फेरि भोली आउँछु ।' भनेपछि उसले बोलेको 'हुन्छ' भन्ने शब्द सुन्न पाएँ । अक्सिजन मास्क लगाइरहेकी मेरी बैनीले मेरो टीसर्टको कलर मिलाइदिइ । म निस्कें ।
              शनिवार विहान फेरि मामाघर पुग्दा भुँइतलामा उसको निष्प्राण शरिर थियो । माथिल्लो तला उक्लेपछि माइजु र कवितासँग भेट हुँदा मैले दुवैलाइ ढाढस दिदा दिदादिदै पनि आफ्नो आँसू थाम्न सकिन । बुढी खोला गइयो । विदा गरियो । हाम्रो हिन्दु संस्कारका राम्रा पक्ष छन् । तापनि शव जलाएको बेला साह्रै पीडा हुन्छ । भयो । मैले फोटो पनि खिचें । तर, अघिपछि समाचारजन्य तस्बिरका लागि तयार हुने मानसिकता मेरो हुन सकेन । मैले लाइट, कम्पोजिसन, एपरेचर , स्पिड केही हेक्का राख्न सकिन । तर, फोटो खिचेको छु । बेलुकी चैनपुरे गुगल ग्रुपमा केही फोटा पठाउँदासम्म पनि म आफुलाइ सम्हाल्न सकिरहेको थिइन । आज तेस्रो दिन हो । म अझै समान्य बन्न सकेको छैन ।
       हामीलाई थाहा थियो , उनलाई क्यान्सर थियो, त्यो रोगको दिल्लीस्थित एम्स अस्पतालले 'सरी' को जवाफ दिएको । उनलाई घर ल्याइनुको कारण सहज होस भन्ने थियो । तर, मान्छेको मन । हामी कसरी यस्तो उमेरमा असामयिक मृत्युलाई सहजताले लिन सक्दा रहेछौं र । मलाइ अझै कसैसँग राम्ररी बोल्न मन छैन ।

1 comment:

kabita said...

aja feri daju ko yo lekh padhe...tyo samaya haami sabai ko laagi euta apatyarilo samaya thyo.... aja didi ko testo bhayeko 3barsa laagyo tara feri pani yo lekh padhda tyahi chhyan maa puge jasto laagyo ra ankhaa rasayo!nisabda bhaye..... Daju, tapailai ma dherai danyabad bhanna chahanchu, tyesto awasthaa maa pani afulai samhalera yo lekh lekhnu bhayeko maa.... sulu di jaha hununcha,sadhai haami sangai hununcha....chahe waha adrisya hununcha waa atmiya hununcha..sadhai hamilai herirahanu bhayeko cha.