Monday, September 1, 2008

बाढीमा खबर





सप्तकोशीले सुनसरीको पश्चिम कुशाहा-४ मा पूर्वी तटबन्ध कटान गरि बहावको दिशा फेरेको आज १५ औं दिन हो । यस बीचमा समाचारजन्य तस्बिरका लागि म निकै ब्यस्त भएँ ।
कोशीले कटान गरेको ठाउँमा करीव एक साता प्रत्येक दिन पुगियो । सुनसरीका पश्चिम कुशाहा, श्रीपुर र हरिपुर जलमग्न भए । लौकही र मधुवनका पनि केही भाग जलामय भयो । करीव २० हजारले घर छाडे । इनरुवाको सुनसरी क्याम्पससँगै सबैजसो सरकारी विद्यालयमा अहिले विस्थापितहरुको भरणपोषण जारी छ । राहतको ओइरो रोकिएको छैन । हरिपुर त्यो गाविस हो , जहाँबाट गत वर्षअन्तिममा पहाडे मुलका परिवारहरुलाई धपाइयो । मधेसी टाइगर्सका नाउँमा आएका धम्कीले उनीहरु थलो छाड्न बाध्य भए । अहिले ती परिवार चतरा र बांगेमा शरणार्थी जीवन बाँचिरहेका छन् । जे होस , मधेसी मुलका परिवारमात्र बाढी प्रभावित भएपनि राहत दिदा सहयोगीले मानवीय नाता विर्सेनन् । संकटमा राहत उठाउने काम पश्चिम हिमाली जिल्ला जुम्लासम्म पनि चल्यो , चलेकै छ ।
सञ्चारकर्मीका नाताले मैले तस्बिरहरु लिन दिन दिनै सुनसरी जाने क्रम जारी रह्यो । अस्ति भदौ १४ गते सीमावर्ती भारतको अररिया र सुपोलका केही गाउँ पनि घुम्न पाएँ । त्यहाँ नेपाली भुभागमा भन्दा बढि बिजोक रहेछ ।
सप्तकोशी भारतको कुरसैलाबाट गंगामा मिसिन्छ । कुरसैलासम्मको यात्रामा अहिले कोशीले धेरै क्षेत्र डुबाएको छ । भारतको विहार राज्यका ५ जिल्लामा करीव ५० लाखको जनसंख्या बाढी प्रभाति भएको छ । २७ लाखले घर छाडेका छन् । दुवै देशमा गच्छे अनुसारको उद्दार र राहत जारी छ ।
तीन वर्षदेखि कोशीको तटबन्ध मर्मतमा खटिएकाहरुको उदासिनताको सिकार ठूलो जनसंख्या भएको छ । प्रकृतिसँग मान्छेको केही लाग्दैन भन्दै उद्दारमा खटिएकाहरु ती ठेकेदारलाई सराप्न पछि परेका छैनन् । तर सरापेर मात्र केही हुने होइन ।
वर्षा नथामिएसम्म तटबन्ध पुनः यथास्थानमा उभ्याउन सकिने स्थिति छैन । भारतीय इन्जिनियरहरुको टोली अध्ययनमा लागेका छन । तर, अहिलेको प्राथमिकता नदिको धारसँग जोरी खोज्नेभन्दा पनि क्षति कम गराउनेमा केन्द्रित छ ।

No comments: