Tuesday, September 9, 2008

सवारी सुरक्षा


एक जना मित्रको मोटरसाइकल अफिस मुन्तिरबाट हरायो । प्रहरीमा खबर गरे । खोजे । भेटेनन् । त्यसको दुइ महिना नबित्दै एक जना भाइको मोटरसाइकल हरायो । उनले पनि सकेजति हल्लीखल्ली गरे । पतो लागेन । पछिल्लोपटक हराएको बाइकको नम्बर प्लेट केही दिन अघि यथास्थानमा भेटियो । तर, अर्को बाइकमा । बाइकवाला भेटिएन ।
हिजो मोरङ प्रहरीले १३ वटा मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ । अस्ति आइतवार बेलुकी पक्राउ गरिएका कर्सियाका तीन युवाको बयानका आधारमा ती बाइकहरु फेला परेको डीएस्पीले बताए । भेटिएकामध्ये बढिमा २ लाख ५० हजारसम्म पर्ने पनि छन् । १० वटा चल्न सक्ने र नयाँ छन् । बाकीका इन्जिन र पाटपुर्जा खोलिएका छन् ।
साइकल जसरी हराउन थालेका मोटरसाइकलका कारण सवारी धनीमा चिन्ता थपिनु अस्वभाविक होइन । हिजो प्रहरीमा चोर र बाइक हेर्न आएका मेरा एक रेष्टुरा सञ्चालक मित्रले बताए । उनलाइ पनि २/३ हजार किलोमिटर मात्र कुदेको सवा लाख पर्ने बाइक किन्न प्रस्ताव आएको थियो । मात्र २० हजारमा । उनले बताए । विराटनगरभित्रै यस्ता कारोवारी छन् जसले सातामा कम्तीमा ५ वटा नयाँ नयाँ बाइक यसरी बेच्छन् । कहाँबाट ल्याइएका हुन् त्यो थाहा हुन्न । ब्लु बुक पनि बन्छ । सबै सक्कली छाप लागेको । यातायात कार्यालय पनि पुग्नुपर्दैन । कारोवार दिनदिनै बढेको छ ।
जे होस प्रहरीले थालेको खोजी यतिकै सीमित नहोस । खाइनखाइ फाइनान्समा पैसा बुझाएर किनेका सवारी कुदाउन एक त महँगो इन्धन , त्यहीमाथि हेण्डिल लक लगाएपनि पार्किङमा छ भनेर ढुक्क हुन नहुने अवस्था । बाइक कुदाउनेका पीडा आफ्नै छन् । सरकारी सेवामा भएकाहरुले तलबभन्दा बढिको खर्च गर्नुपर्ने बाध्यता भनिने प्रवृतिले अनियमितता मौलाएको छ । त्यसको खोजी गर्ने , दण्ड दिने अधिकार भएका निकायमा हुनेको बुद्धि आओस ।

No comments: