Monday, September 1, 2008

कोशीको बाढीले विहारमा बिजोक


धन्न ज्यान जोगियो
-भीम घिमिरे

सुरसर,अररिया (भारत), १५ भदौ-
एकोहोरो आवाज आएको दिशा पहिल्याउन कठिन छ । जलमग्न गाउँछेउको बाँसघारीमा मोटरबोट घुमाउँदै भारतीय सशस्त्र सीमा बल (बीएसएफ)का जवान आवाज लगाउँछन् - 'कहाँ हो -' कतैबाट आवाज आउँछ 'हो................' करीव १० मिनेट बाँसघारी बाँसघारी घुमेपछि इन्सपेक्टर अमरकुमार पाण्डे बोल्छन् 'त्यो आँपको रुखबाट आवाज आएको होला , त्यहाँ जाउँ ।'
उतरवर्ती विहारको सुरसरमा खटिएको सुरक्षाकर्मीको आपदा सहयोग टोलीले आँपको रुखमा झुण्डिएर बसेका तीन जनालाई भेट्टाउछ । मोटरबोटमा बसाएपछि आफुहरु दुइ घण्टादेखि रुखको आडमा बसेको उनीहरु सुनाउछन् । केराको थामको डुङ्गा बनाएर घरका सामान लिन हिडेका चारमध्ये खियाउने एक चिप्लिएर पानीमा लडेपछि उनीहरु विचल्ली परेको बताउँछन् । खियाउने दुइमध्येका एक नहुँदा थामसँगै बग्न थालेपछि रुखको आडमा आइपुगेको गाउँले युवक प्रदीप विश्वासले बताए । उनले भने 'एक मान्छे डुब्ने पानी छ, हामी त नसकेर थाकेर बसेका थियौं , भगवान आएजस्तो भयो ।'
सुरसरमा खटिएका बीएसएफको टोलीले डेढ सातादेखि उद्दार जारी राखेको बताएका इन्सपेक्टर अमरकुमारलाई विहार राज्यको यात्रा पहिलो अनुभव हो । उनले भने 'हामी कोलकाताबाट आएका हौं । धेरै घर डुबानमा परेको छ ' ६/७ वटा मोटरबोट लिएर विहान निस्कने जवानहरु दिउँसो ४ बजे आइपुग्दा धेरै महिला र बालबालिकालाई डुबानबाट झिकेर ल्याउछन् । विराटनगरको सीमावर्ती जोगबनीदेखि छ किलोमिटर दक्षिणपछि बथनाहाबाट करीव २० किलोमिटर पश्चिममा पर्ने सुरसरमा उद्धार अभियान जारी रहेपनि किनार आउनेको संख्या घटेको छैन । सुपोलको टुटीपट्टाका महमद जलिल भन्छन् 'सबै लग्यो धन्न ज्यान जोगियो ।' परिवारका सदस्यहरु जोगिएपनि शनिवार साँझ उनी चौपायाको मायाले उनको आँखा रसिलो भयो । 'भुस भिज्यो, खानेकुरा थिएन, उनले भने 'दाम्लामा बा"धेका गाइवस्तु त्यसै छाडेर आयौं अहिलेसम्म मरिसके होलान् ।' सुरक्षाकर्मी र नाविकहरुको सहयोगले किनार आइपुगेका गाउँलेहरुका अनुसार मान्छेको ज्यान जोगिएपनि बाढीको पानीले धेरै मवेशी मरेको बताए ।
कोशीले पूर्वी तटबन्ध भत्काई बहावको दिशा परिवर्तन गरेपछि नेपालमा भएको क्षतिभन्दा भारतमा धेरै गुणा बढि नोक्सानी भएको सुरसरका ब्लक विकास अधिकृत संजय कुमार बताउछन् । उनी भन्छन् 'हामीलाई अहिले कोशीको बाँध कसरी भत्कियो भन्ने सोच्ने, कुरा गर्ने फुसद छैन, जति सकिन्छ उद्धार जारी राख्नेमा ध्यान छ ।' सरकारले बाढीलाई राष्ट्रिय संकट मानेर उद्दारलाई त्रि्रता दिएको उनले सुनाए ।
सुरसरको राहत वितरण केन्द्रका संयोजक कार्तिक विराजीका अनुसार सुनसरीको श्रीपुर र हरिपुरहुदै भारत पसेको कोशीको बाढीले चार जिल्लाका १२ गाविसमा बढि क्षति पुर्‍याएको छ । अररियाका नरपतगञ्ज, भरगामा, रानीगञ्ज, सुपोलका बसन्तपुर,छातापुर , त्रिवेणीगञ्ज, राघोपुर,पिपराहा र मधेपुराका मधेपुरा, सिंहेश्वर,कुमारखण्ड र सोनवषामा बाढीको क्षति अधिक छ । 'होचो ठाउँ , नदि यतैबाट बगेर गंगामा पुग्छ, विराजीले भने 'भागेर कहाँ जाने -' उनका अनुसार डेढ सातामा पानी थोरै घट्ने , थोरै बढ्ने क्रममा छ । उनी भन्छन् 'तटबन्ध नबनेसम्म विहार जलमग्न रहन्छ । विकल्प छैन ।'
बथनाहाका सबइन्सपेक्टर पवन कुमारका अनुसार कोशीको फेरिएको बहावको दिशाका कारण जलमग्न गाउमा सरकारले सुरक्षा संयन्त्रका सबै बललाई परिचालन गरेको छ । डुबानमा परेका गाउहरुमा पुगेका सुरक्षाकर्मीले ल्याउने गाउलेका लागि शुक्रवारदेखि अस्थायी शिविर र बिहान बेलुकी खिचडी खुवाउने व्यवस्था पनि गरेको छ । उनी भन्छन् 'यतिखेर ध्यान दिनुपर्ने कुरा उद्दार नै हो, वषा थामिएपछि उता नेपालमा तटबन्ध बनाउलान अनिमात्र सञ्चो हुन्छ ।' बथनाहाका तीन शिविरबाहेर पनि पानी घटेपछि घर फिर्ने आसमा गाउलेको ठूलो जत्था सुरसर-लक्ष्मीपुरको सडकमा अस्थायी रुपमा बस्न थालेको छ । बाढीको पानीले लक्ष्मीपुरमा सडक डुबाउन थालेको छ । विस्थापितहरुमा सरकारको घोषणा अनुरुपको राहत नपाएको गुनासो पनि छ ।
बथनाहा राहत शिविरका इन्चार्ज प्रध्योतकुमार विश्वासका अनुसार सुपोल र अररियाका डुवान क्षेत्रबाट सुरसरको बाटो हुँदै बथानाहामा शनिवार बेलुकीसम्म करीव १० हजार गाउँले भेला भइसकेका छन् । यहाँ आइपेगकाहरुमा उल्लेख्य संख्या नेपालसँग सीमावर्ती गाउँलेहरु छन् । शिविरमा गैरसरकारी संस्था र व्यक्तिगत रुपमा सहयोग संकलन गर्नेहरुले पनि विस्थापितहरुलाई खाजा र लुगा वितरण थालेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोशीको बाढीले हालसम्म विहारका पाँच जिल्लामा २७ लाख जनता प्रभावित भएका छन् । यीमध्ये १० लाख विस्थापित भएका छन् भने ६२ जनाको मृत्यु भएको छ ।
(२०६५ भदौ १६ गतेको कान्तिपुर दैनिकमा १३ पृष्ठमा प्रकाशित)







No comments: