Sunday, March 10, 2019

जो बाटो देखाउँछन्

पोखरा आएर महिला ट्रेकिङ गाइड खोज्नुपरे समस्या छैन । चाहनाअनुसारका डाँडाकाँडामा सँगै पुगेर पर्यटकीय क्षेत्रको जानकारीसँगै खान-बस्न उपयुक्त बन्दोबस्तका लागि सहजीकरण गरिदिने महिला गाइडले विदेशी पर्यटकमाझ 'पौरखी नेपाली महिला' बारे राम्रो प्रभाव पारिरहेका छन् ।

गाउँबाट पोखरा पढ्न आएका थुप्रै छात्रामध्ये तीन जनाको रहर अलि बेग्लै थियो । घरको आर्थिक अवस्था सम्झेर उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्थे । श्रृंगारका सामाग्री पसलमा सहयोगी र बजार प्रतिनिधिको काम मिलेपनि सन्तुष्टि मिलेको थिएन ।
पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तह सिध्याउन लागेका बेला एउटीले अखबारमा 'थ्री सिस्टर्स' को कहानी देखिन् । त्यसमा संस्थाका सञ्चालिका लक्की, डिक्की र निक्की कार्कीको कथामात्रै थिएन, उनीहरू महिलालाई गाइड बन्न जागिरको ग्यारेन्टीसहित तालिम दिन्छन् भन्ने पनि उल्लेख थियो । तीन सहपाठी अब कुरा बुझ्न थ्री सिस्टर्सको कार्यालयमा जाने भए ।

अमेरिकी टेलिभजन च्यानल सीएनएनले कार्की दिदीबहिनीले पदमार्गका लागि महिला गाइड तयार गरिरहेको विषयमा वृत्तचित्र प्रसारण गरेको थियो । त्यसयता नेपाली महिलाको सशक्तिकरणका विषयमा लेख्न चाहने धेरैका नजरमा उनीहरू परे । वर्षौदेखि कार्की दिदीबहिनी 'अन द जब ट्रेनिङ' दिएर महिला गाइड तयार पारिरहेका छन् । पोखरामा महिला पर्यटनकर्मीका कथा लेख्नुपरे अहिले पनि जोकसैले बताइदिने पहिलो नाम 'थ्री सिस्टर्स' नै हो । आर्थिक लगानीबिनै आफ्नो पौरखले इमानदार पेशामा गरिखान चाहने महिलाका लागि उनीहरूको योगदान अतुलनीय रहिआएको छ ।

***  
आजभन्दा करीब सात/आठ दसकअघि रामेछापको ठोसेका लालबहादुर कार्की कामको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । त्यसबेला नेपालबाट कामको खोजीमा निस्कनेमध्ये फौजीमा भर्ती जानेबाहेका धेरैको गन्तव्य सिक्किम, दार्जिलिङ र असम हुन्थ्यो । पहाडी क्षेत्रका बासिन्दा औलो लाग्छ भनेर तराइ बस्न डराउँथे । पहाडी क्षेत्रमै काम गर्न पाउँदा हावापानी मिल्ने ठान्थे । यसरी निस्कनेहरू अधिकांश पढेलेखेका हुदैनथे । दार्जिलिङ पुगेकाहरूले झट्ट पाउने काम हुन्थ्यो- चियापत्ती टिप्ने, जंगल फडानी गर्ने, काठ बोक्ने र बाटो बनाउने ।  लालबहादुरका एकमात्र सन्तान थिए कर्णबहादुर । उनी दार्जिलिङमै जन्मिए, बाल्यकाल त्यहाँको सुकियापोखरीमा बित्यो । विवाह गरेपछि लगालग आठ सन्तान भए । कर्णबहादुरको परिवार पुर्ख्यौली थलो खोज्दै ठोसेमै फर्कियो । केही वर्ष रामेछापमा बितेपछि खर्च धान्न कर्णबहादुरले पिताको पथ चिहाए । उसैगरि सपरिवार दार्जिलिङ पुगे ।
२०४९ बैशाख तेस्रो साता कर्णबहादुर दिवंगत भएपछि कार्की परिवारले फेरि नेपाल फिर्ने निर्णय गर्‍यो । काँकडभिट्टाबाट चढेको बसले जनकपुर पुर्‍यायो । तराइ सहज लागेन । उनीहरूले त्यहाँबाट पोखरालाई गरिखाने गन्तव्य बनाए । धेरै संघर्षपछि आफ्नो संस्था र नामलाई उभ्याउन सफल भएका 'थ्री सिस्टर्स' तिनै कर्णबहादुरका छोरीहरू हुन् । 'हामीले ब्याचलरसम्म दार्जिलिङमा पढेकाले पोखरामा अंग्रेजीको कदर हुने अवस्था थियो,' लक्की भन्छिन्, 'तैपनि सुरुवातका दिन धेरै संघर्षका रहे । आज हामी ट्रेकिङ एजेन्सी चलाएरमात्रै बसेका छैनौं, गाइड बन्न चाहने नेपाली चेलीहरूलाई बाटो देखाइरहेका छौं ।' पुरुषको मात्रै वर्चस्व रहेको ट्रेकिङ गाइड र पर्यटक सहयोगीको पेशामा कार्की दिदी बहिनीको संस्था झण्डै दुइ दसकदेखि महिलालाई निरन्तर अघि बढाइरहेको छ । उक्त संस्थामा हाल चार दर्जनभन्दा बढि महिला गाइड छन् । केही वर्ष निरन्तर काम गरेर सक्षम भएकाहरू आफ्नै संस्था खोल्दै र अरुमा गएपनि गुरुआमा रहेका कार्की दिदीबहिनीलाई सम्मान गर्छन् । आउने र जाने क्रम वर्षौदेखि चलिरहँदा कार्की दिदीबहिनीको महिलालाई पौरखी बनाउने अभियानमा अडचन आएको छैन । आफ्नो संघर्षको कथा 'हामी थ्री सिस्टर्स' को नाममा हालै पुस्तकाकार रूपमा प्रकाशित पनि गरेका कार्की दिदीबहिनीका बारेमा जानकारी लिन त्यति गाह्रो छैन । गुगलको सर्च इञ्जिनले पनि जानकारीमुलक साइट र भिडियोका थुप्रै लिंक देखाउँछ । 
यतिबेला हामीले जान्नुपर्ने अर्को कथा 'मल्ल सिस्टर्स' को हो । कार्की दिदीबहिनीको खबर पढेपछि 'थ्री सिस्टर्स' को कार्यालयमा प्रष्ट कुरा बुझ्न जाने कलेजका ती तीन छात्रा मध्येकी एक थिइन विष्णु मल्ल ।
०००
'उहाँहरू गाइड हुन तालिम दिनुहुने रहेछ । कुरा बुझ्दा ठीकै लाग्यो । मलाइ घुम्ने रहर । काम पनि मान्छे घुमाउने, ठाउँका बारेमा बताउने,' विष्णु मल्ल भन्छिन्, 'एक महिने तालिम लिएँ, त्यसमा फिल्ड वर्क पनि थियो । पछि थ्री सिस्टर्सकै लागि काम गर्न थालियो ।' त्यसबेला गाइडको काममा महिला नगन्य संख्यामा थिए । जति थिए, सबै थ्री सिस्टर्सको बलमा काममा लागेकाहरू थिए ।
'मेहनतका हिसाबले त्यो बेला पैसा धेरै होइन तर, थ्री सिस्टर्सले गाइड बनेर बाँच्न सकिन्छ भनेर सिकायो,' उनी भन्छिन्, 'टुरिस्ट थरिथरिका आउँछन् । महिलाले महिला गाइड नै खोज्दा हामीले बराबर काम पाउन थाल्यौं ।' पाहुना टोलीको मनोविज्ञान बुझ्दै जाँदा पेशालाई निरन्तरता दिन सजिलो भएको उनले बताइन । 'हेर्दा-सुन्दा गाइडको काम सजिलै हो तर, अंग्रेजी जान्नुपर्छ । पुगेका ठाउँबारे बताउन सक्नुपर्छ,' उनी भन्छिन्, 'इमर्जेन्सीका अवस्थामा के गर्ने भनेर छिटो निर्णय लिन सक्नुपर्छ । समय ख्याल गरेर पंचुअल हुनैपर्छ ।' गाइडले अनुशासित, सभ्य र नम्र भएमात्रै काम पाइरहने उनले बताइन । 
'थरि थरिका टुरिस्टका टोली लिएर हिड्दाका घटना र अनुभव पनि रमाइला/नरमाइला थुप्रै छन्,' उनी भन्छिन्, 'एकपटक विरामी परेपछि मैले बिस्तारै हिड्ने काम कम गरेँ । अहिले दिदीलाई सघाउँछु । म आर्ट अफ लिभिङकी ट्रेनर भएकी छु ।' आफू हिडेको बाटोमा दिदीलाई बोलाएर ल्याएपछि पथप्रदर्शकको काम अझ दिगोरूपमा अघि बढेको उनले बताइन । उनकी दिदी अर्थात हीरा मल्ल ।
०००
पोखरामा अन्नपूर्ण चक्रीय पदमार्ग, मनास्लु र अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाने पर्यटक धेरै आइपुग्छन् । काठमाडौं टेकेपछि मुग्लिनबाट डुम्रे भएर लमजुङको बेंसीसहर हुँदै मनाङ पुग्ने पदयात्री पर्यटक थोराङला पास गरेर मुक्तिनाथ झर्छन् । त्यसपछि जोमसोम, बेनी र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । अन्नपूर्ण आधार शिविरको यात्रामा जानेहरू पोखरा भएर नयाँपुल, वीरेठाँटी हुँदै घान्द्रुक हेर्दै उकालो लाग्छन् । फर्किँदा पोखराकै बास हुन्छ ।  
शुक्रवार नारी दिवसका विभिन्न कार्यक्रम भइरहँदा हीरा मल्ल कुनै गाउँमा पर्यटक लिएर होमस्टेमा पुगेकी हुनेछिन् । उनलाई सम्पर्क गरेको टोली सोमबार विहान नै यात्रामा निस्किसकेको थियो । 
स्याङ्जाको पुतलीबजार-८ बाहाकोटका इन्द्रबहादुर मल्लका ५ सन्तान मध्येकी जेठी छोरी हुन् हीरा । एसएलसी दिएर घर बसेलगत्तै उनको विवाह भयो । माइतीबाट डेढ घण्टा दूरीको गाउँ पुगिन् । दुइ सन्तान जन्मिए । कामको खोजीमा भौंतारिएर श्रीमान पोखरा झरेका थिए । छोरी जन्मिएपछि घर आउन छाडे । यदाकदा आएपनि झगडा हुन थाल्यो । ट्याक्सी चलाउने काम गरिरहेका उनले डेरामा कान्छी भित्र्याएपछि घर आउने बाटो बन्द भयो । तर, घर चलाउनै गाह्रो पर्‍यो । दूधमुखे छोरी निकै विरामी परी । उपचार गराउन हीरा पोखरा आइपुगिन् ।  
उनको घरबार बिग्रिएको देखेर बैनी विष्णुले सम्हालिन । दिदीलाई आफू जसरी नै 'थ्री सिर्स्टर्स' मा तालिम दिलाउन पुर्‍याइन । 'दिदीको बानी मजस्तो हक्की पाराले प्रष्ट बोल्ने थिएन । मलाइ यसले कसरी काम गर्ली जस्तो लागेको थियो,' विष्णु भन्छिन्, 'तर, आज दिदीले महिला ट्रेकिङ गाइडमा आफ्नो नाम बनाएकी छे । म दिदीको सहयोगी भएकी छु ।'
हीराका छोरा यतिबेला ११ कक्षा र छोरी ५ कक्षामा पढ्छन् । टुरिस्ट गाइड बनेकी आमाले घर धानेकी छन् । 

०००
पोखराको नदिपुरस्थित 'मल्ल सिस्टर्स' को डेरामा दिदीबैनीको मुस्कुराइरहेको तस्बिरअंकित फ्लेक्स पोस्टर छ । पोस्टरमुनि हीराले कुन कुन मितिमा कुन देशबाट, कहाँ जाने पर्यटकले आफूलाई सम्पर्क गरेकाछन्, त्यो लेखेकी छन् । 
महिनामा मुश्किलले एक साता घर बस्न पाउने रूटीन हुने गरेको छ । 'म चरा पनि चिनाउन सक्ने भएकीले मैले घुमाउने टुरिस्टहरू बर्ड वाचर पनि धेरै हुन्छन्,' हीरा भन्छिन्, 'मलाई आइपरेका केही पर्यटकको रुचिका कारण चरा चिन्न सजिलो भयो । पोखरामा टुर गाइडलाई चरा चिनाउने तालिमले पनि सघायो ।' मल्ल दिदी बहिनीले यतिबेला आफ्नै ट्रेकिङ एजेन्सी चलाएका छन् । 
'एक दिन एउटा टिमलाई मैले बताइरहेको एउटा क्यानडेली जोडीलाई मन परेछ,' उनी भन्छिन्, 'पोखरा फर्किएपछि उनीहरूले मलाई सम्पर्क गरे । पछि उनीहरूले नै छुट्टै एजेन्सी चलाउन मद्दत गरे ।' बाटामा भेटिएका ब्रुस र थेरेसले दोस्रोपटक नेपाल आउँदा हीरालाई नै आफ्नो पथप्रदर्शक बनाएपछि उनीहरूको चिनजान बढेको थियो । क्यानडेली दम्पत्तीले थ्री सिर्स्टर्सको कार्यालय पुगेर हीराको अनुभवको प्रमाणपत्र बनाइदिन आग्रह गरे । क्यानडा घुमाउन लगे । पिता समानका थेरेसले 'मल्ल सिस्टर्स' का लागि वेबसाइट पनि बनाइदिएपछि छुट्टै आफ्नै काम गर्न बाटो खुल्यो । 
'अहिले हामीलाई वेबसाइटमै सम्पर्क गरेर टुरिस्टहरू जान चाहेको ठाउँ र मिति बताउँछन्,' हीरा भन्छिन्, 'हामी आफ्नो समय त्यसैअनुसार म्यानेज गर्छौ‌ । कामले खाली बस्नुपरेको छैन ।' पोखरा आइपुग्ने पर्यटकलाई घुमाउन गण्डकी र धौलागिरिका सबैजसो पर्यटकीय पदमार्ग छिचोलेकी हीराले ५ हजार ४ सय १६ मिटर उचाइको थोराङला पासमात्रै १६ पटक गइसकेको बताइन । उनी लाङटाङ, अन्नपूर्ण र सगरमाथा आधा शिविरसम्म पनि पाहुना लिएर पुगेकी छन् । 'परिवार, केटाकेटीसहित र बृद्धबृद्धाले सकभर महिला गाइड नै खोज्ने भएकाले हामीलाई सजिलो छ,' उनी भन्छिन्, 'एकपटक घुमाउन लगेको टोलीका टुरिस्ट गाइडको व्यवहारले प्रभावित भएभने उनीहरूले चिनेजानेका जो पठाएपनि फलानोलाई गाइड लानु भनेका हुन्छन् , सम्पर्क त्यसरी बढ्ने रहेछ ।' 

०००
'१० वर्षभयो हीरा बैनीलाई मैले यो ट्रेकिङको फिल्डमा देखेको, अहिलेसम्म कुनै कम्प्लेन छैन,' ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान) पश्चिमाञ्चलका सचिव जीवन सापकोटा भन्छन्, 'उनीजस्ता केही अग्रणी बैनीहरू छन् जसको इमानदार काम गराइ हामीले नवप्रवेशीलाई उदाहरणका रूपमा भन्न-देखाउन पाएका छौं । घर छाडेर हप्तौंसम्म हाइ अल्टिट्युडमा पुग्नु र अप्ठ्यारा अवस्थामा पनि पर्यटकलाई असुविधा हुन नदिन ध्यान पुर्‍याउनु जो कसैका लागि सजिलो काम हुँदै होइन ।' आफ्नो अनुभवमा महिला गाइडबारे पर्यटकका नगन्य गुनासा आउने उनले बताए । 'अहिले पोखराबाट एक्टिभ महिला गाइड करीब ७० जना हाराहारी छन्, महिलाले मात्रै चलाएका करीब तीनवटा ट्रेकिङ एजेन्सी छन्,' उनी भन्छन्, 'जहाँ सँगै गएका जेन्स गाइडले अनावश्यक खर्च बढायो, रक्सी खायो, हल्ला गर्‍यो आदि भन्ने टुरिस्टका गुनासा हुन्छन्, त्यहीँ गाइड लेडिज भए त्यस्ता गुनासा सुनिएका छैनन् ।' महिलाहरू काममा बढि ध्यान दिने, अध्ययनशील र व्यवहारमा फरासिला भएको पर्यटकले बताउने गरेको उनले सुनाए । 'अझ हीराका बारेमा भन्नुपर्दा चरा चिन्ने गाइड जेन्समै पनि निकै कम छन्,' उनले भने, 'बर्ड वाचरको ग्रुप आयो भने सुरुमा खोजी उनकै हुन्छ ।'
पाहुनालाई आफूले लगेका ठाउँको यात्रामा सहजीकरण गर्ने, ठाउँबारे सोधेका कुरा नम्रतापूर्वक बताइदिने र खाना तथा बासमा खोजेजस्तो सुविधा उपलब्ध गराउन खटिने गाइडले आफ्नो देशकै छविबारे पनि राम्रो प्रभाव पार्न सक्नुपर्ने उनी बताउँछन् । 'खासमा गाइड महिला हुन् वा पुरुष, मापदण्डका कुरा सबैका बराबरी लागू हुन्छ,' उनी भन्छन्, 'तुलनात्मकरूपमा महिला गाइडका बारेका कम्प्लेन कम आउँछन् । त्यसैले बृद्धबृद्धा वा परिवारमा आएका टुरिस्टले खोजेअनुसार हामी पनि लेडिज गाइड उपलब्ध गराउँछौं ।' टानले पदमार्गमा जाने पर्यटकसँगै गाइडको पनि विवरण राख्ने गरेको छ । गाइड हुने योग्यतामा शारीरिक र मानसिक रूपमा स्वस्थ र एसएलसीसम्म पढेको भन्ने प्रहरीको भर्तीका लागि निर्धारित गरिएभन्दा धेरै फरक छैन, जसलाई महिला वा पुरुष जो भएपनि समानरूपले लागू हुन्छ । पुरुषका तुलनामा आधाभन्दा पनि कम संख्यामा रहेका महिला गाइडले निरन्तर काम पाइरहेको विवरणमा छन् ।
पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाका अनुसार पोखरालाई नै मुख्य थलो बनाएर गण्डकी-धौलागिरीका पदमार्ग घुम्न आउने पर्यटक वार्षिक सरदर १ लाख ७० हजार हाराहारी हुन्छन् । 'त्यसमा महिला संख्या करीब ४० प्रतिशत रहन्छन्,' उनी भन्छन्, 'सहजीकरण र व्यवहारका हिसाबले महिला गाइडबारे प्रभावित भएका पर्यटक भेटिन्छन् ।' अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) का अनुसार सन् २०१८ मा पदमार्गै पदमार्ग रहेको अन्नपूर्ण क्षेत्रमा १ लाख ८० हजार ९३ जना पर्यटक आएको तथ्यांक छ । सन् २०१८ को अक्टुवरबाट नेपाली पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ । उक्त वर्ष अन्तिम तीन महिनामा १ हजार १ सय ३७ नेपाली आएको तथ्यांक छ । 'तुलनात्मकरूपमा महिला गाइडप्रति ढुक्क हुने भएकाले पनि टुरिस्टमा राम्रो प्रभाव परेको हुनुपर्छ,' एक्यापका सञ्चार अधिकृत ऋषि वराल भन्छन्, 'हाम्रो टुरिज्म सेक्टरमा महिला-पुरुष भनेर काममा विभेद छैन । तर, पछिल्लोसमय जति पनि महिलाहरू काममा अगाडि आउनुभएको छ, सबैले उहाँहरूलाई हौसला नै दिएको अवस्था छ ।'

(अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा २०७५ फागुन २४ मा कान्तिपुरको विशेषांक 'नारी नेपाली' मा प्रकाशित सामाग्रीको असम्पादित लेखोट ब्लगमा संग्रहीत)