पहाडी बाटोको एउटा मोडमा बस दुर्घटना भयो। धेरैजना चिच्याए, कसैका हात बाँचियो, कसैका खुट्टा। रगतै रगत भयो। चोट लागेकाहरु रुन कराउन थाले, चोट नलागेका यात्रुहरू पनि होस हराएको जस्तो भए। रमिते बनेर आत्तिए, कोही रुँदै थिए। त्यही भीडबाट एउटा तन्नेरी युवक ढाडको ब्याग फालेर अगाडि सर्यो। उसले रगताम्मे घाइतेको छट्पटी देख्दा पनि आफ्नो अनुहारको रङ बदल्न दिएन। उसका हात कामेका थिएनन्, वीभत्स दृश्य देखेर पनि उ शान्त र संयमित देखियो।
उसले गोजीबाट रुमाल निकाल्यो, एक जनाको गहिरो घाउलाई बेरेर रक्त बग्न रोक्यो र अरूलाई अह्राउन थाल्यो - 'तपाईँ यता समात्नुस्, तपाइँ एम्बुलेन्सलाई फोन गर्नुस्।' केही बेरअघिसम्म युद्धमैदान जस्तो देखिएको ठाउँमा उसले एउटा लय स्थापित गरिदियो। एम्बुलेन्स आयो, घाइतेहरुलाई उठायो। पछिल्ला उद्धारकर्मीमध्येका कसैले ती युवकलाई सोध्यो - 'भाइ, तिमीलाई यो सब देख्दा डर लागेन ?'
उसले शान्त स्वरमा भन्यो - 'म सेनाको प्यारामेडिक हुँ। मेरो तालिमले मलाई रगत देखेर आत्तिन होइन, सम्हालिएर घाइतेलाई बचाउन सिकाएको छ।'
त्यो युवकको संयमता कुनै संयोग थिएन, बरु मनोविज्ञानको एउटा ठोस सिद्धान्त - 'सामान्यीकरण'को उपज थियो। सेनाको प्यारामेडिकले मात्रै यस्ता परिस्थितिमा शान्त र संयमित हुन सक्छन् भन्ने होइन। परिस्थिति हरेक खालका हुन सक्छन् र त्यसरी घाइतेको उद्धार गर्ने जोकोही पनि हुन सक्छ। यो अवस्था सामान्यीकरणको सिद्धान्त (Principle of Generalization) हो। जुनसुकै पेसा वा संकटमा यसले काम गर्छ। सामान्यीकरण हाम्रो दिमागको एक स्वाभाविक र उपयोगी प्रक्रिया हो, जसले सिकाइलाई विस्तार गर्छ। तर नियन्त्रणबाहिर हुँदा यसले गलत धारणा र अनावश्यक डर पनि पैदा गर्न सक्छ, त्यसैले सन्तुलन महत्त्वपूर्ण हुन्छ।
ती सैनिकले ब्यारेकको नियन्त्रित वातावरणमा जुन अभ्यास गरेका थिए, त्यसलाई उनले सडकको अनियन्त्रित दुर्घटनामा 'ट्रान्स्फर' गरे। जब मस्तिष्कले 'यो त मैले पहिले नै अभ्यास गरेको स्थिति हो' भन्ने संकेत पाउँछ, तब डर हराउँछ।
सामान्य मानिसले घटनालाई 'विपत्ति' को रूपमा हेर्छ, तर विशेषज्ञले त्यसलाई एउटा 'प्रोसेस' (प्रक्रिया) को रूपमा हेर्छ। उसको लागि त्यो विभत्सता एउटा समाधान गर्नुपर्ने 'अंकगणित' जस्तै बन्न पुग्छ। संकटको समयमा हाम्रो विवेकले भन्दा बढी हाम्रा अंगहरूले (Reflexes) काम गर्छन्। जसले बारम्बार एउटै कुराको अभ्यास गरेको छ, उसको शरीरले मस्तिष्कलाई 'प्यानिक' हुन समय नै दिँदैन, ऊ सिधै आफूले के गर्न सकिन्छ त्यही काममा होमिन्छ।
हाम्रा वरपर त्यस्ता घटना हुँदा वा कसैलाई केही हुँदा धेरै जना रुन कराउन थाल्छन्, जसले गर्दा घाइते झन् अत्तालिन्छन्। यदि हामीले यो 'जनरलाइजेसन' को सामान्य ज्ञान मात्र राख्न सक्यौँ भने, दुर्घटनास्थलमा रुने भीड होइन, उद्धार गर्ने हातहरू बढ्ने थिए।
संयमताको अचुक सूत्र:
एक्सपोजर (Exposure) + सीप (Skill) + उद्देश्य (Purpose) = उच्च संयमता
जुनसुकै क्षेत्रमा होस्, जब हामी भावनाभन्दा माथि उठेर आफ्नो 'उद्देश्य' (Mission) मा केन्द्रित हुन्छौँ, तब हाम्रो मस्तिष्कले डरलाई 'प्रोफेसनल ड्युटी' मा सामान्यीकरण गरिदिन्छ। सरल भाषामा भन्दा एउटा कुराबाट सिकेको प्रतिक्रिया अर्को मिल्दोजुल्दो कुरामा पनि देखिनु नै सामान्यीकरण हो।
***
मनोविज्ञानमा संकटको समयमा देखिने यस्तो संयमतालाई 'सिस्टम्याटिक डिसेन्सिटाइजेसन' (Systematic Desensitization) र 'स्टिमुलस जनरलाइजेसन' को सिद्धान्तले व्याख्या गर्छ।
यसको जग सन् १९५८ मा दक्षिण अफ्रिकी मनोचिकित्सक जोसेफ वोलपे (Joseph Wolpe) ले बसालेका हुन्। उनले प्रतिपादन गरेको यो सिद्धान्त अनुसार जब मानिसलाई डरलाग्दो उत्तेजना (जस्तै: रगत वा विभत्स दृश्य) सँग बारम्बार र क्रमिक रूपमा साक्षात्कार गराइन्छ, तब मस्तिष्कको 'डर केन्द्र' (Amygdala) ले त्यसलाई सामान्य घटनाको रूपमा लिन थाल्छ।
यस प्रक्रियामा 'काउन्टर कन्डिसनिङ' ले काम गर्छ, जहाँ मस्तिष्कले डरको प्रतिक्रियालाई व्यावसायिक दक्षता र शान्तिको प्रतिक्रियासँग साटफेर गर्छ। डाक्टर वा सुरक्षाकर्मीले तालिमका क्रममा यो मानसिक तह पार गरिसकेका हुन्छन्। फलतः कार्यक्षेत्रमा हुने भयानक घटना उनीहरूका लागि 'भावनात्मक संकट' नभई केवल एउटा 'प्राविधिक चुनौती' मा सामान्यीकरण हुन पुग्छ। यही नै उनीहरूको संयमताको वास्तविक आधार हो।
***
मनोविज्ञानमा सामान्यीकरणको सिद्धान्त (Principle of Generalization) एउटा यस्तो प्रक्रिया हो, जसले हामीलाई एउटा विशिष्ट परिस्थितिमा सिकेको ज्ञान वा व्यवहारलाई अर्कै समान परिस्थितिमा लागू गर्न मद्दत गर्छ।
तपाईं हामीलाई लाग्न सक्छ, किन एउटा डाक्टर रगत र विभत्स चोट देख्दा सामान्य मानिस सरह आत्तिँदैन? हामी त उस्तै परे रोइकराइ गर्छौं, आँखाबाट आफ से आफ आँसू आउँछ ! हामीलाई हेर्नै गाह्रो लाग्छ। उनीहरु पनि त मान्छै नै हुन्, कसरी आफूलाई कठोर बनाएका होलान? प्रश्न जायज छन्। यो त्यसै हुने होइन। यसको पछाडि मनोवैज्ञानिक अनुकूलन र प्रशिक्षणको ठूलो हात हुन्छ। यसलाई बुझ्न केही मुख्य बुँदाहरू तल छन् :
१. संवेगात्मक असंवेदीकरण (Emotional Desensitization)
जब कुनै सामान्य मानिसले पहिलो पटक विभत्स दुर्घटना देख्छ, उसको मस्तिष्कको एमिग्डाला सक्रिय हुन्छ, जसले 'डर' पैदा गर्छ। तर डाक्टरहरूले आफ्नो अध्ययन (MBBS) को सुरुवाती दिनदेखि नै शव चिरफार र अस्पतालका 'ट्रमा सेन्टर' हरूमा यस्ता दृश्यहरू पटक-पटक देख्छन्।
प्रक्रिया: बारम्बारको अनुभवले मस्तिष्कलाई ती दृश्यहरू 'खतरा' होइनन् भन्ने कुरामा अभ्यस्त बनाउँछ।
परिणाम: विस्तारै उनीहरूको भावनात्मक प्रतिक्रिया कम हुँदै जान्छ र उनीहरू दृश्यभन्दा बढी समाधानमा केन्द्रित हुन्छन्।
२. संज्ञानात्मक पुनर्संरचना (Cognitive Restructuring)
एक डाक्टरले घाइतेलाई 'विभत्स दृश्य' को रूपमा हेर्दैन, बरु उसलाई एउटा 'प्रणाली' (System) को रूपमा हेर्छ। जहाँ सामान्य मानिसले रगत र काटिएको अंग देख्छ, डाक्टरले त्यहाँ फुटेको धमनी (Artery), भत्किएको तन्तु (Tissue) र रगत बग्ने दर (Flow rate) देख्छ।
उसको मस्तिष्कले भावनालाई पन्छाएर तार्किक विश्लेषण (Logical Analysis) गर्न थाल्छ। यो 'सामान्यीकरण' को यस्तो रूप हो जहाँ उसले किताबमा पढेको एनाटोमीलाई वास्तविक घाइतेको शरीरसँग तुलना गर्छ।
३. कार्य-केन्द्रित मानसिकता (Task-Oriented Mindset)
जब तनावपूर्ण स्थिति आउँछ, डाक्टरको मस्तिष्कले एउटा निश्चित 'प्रोटोकल' पछ्याउँछ। उदाहरणका लागि ABC (Airway, Breathing, Circulation) सूत्र।
संयमताको सूत्र: डाक्टरले 'यो मान्छेलाई के भयो होला?' भनेर सोच्नुको साटो 'अहिले यसको सास कसरी फर्काउने?' भन्ने प्राविधिक प्रश्नमा ध्यान दिन्छ।
जब ध्यान काममा केन्द्रित हुन्छ, भावना स्वतः ओझेलमा पर्छ। यसलाई मनोविज्ञानमा 'Selective Attention' भनिन्छ।
४. सामान्यीकरणको सिद्धान्त कसरी लागू हुन्छ?
डाक्टरले कलेजको ल्याबमा एउटा सानो घाउ सिलाउन सिकेको हुन्छ। पछि अस्पतालमा ठूलो चोट आउँदा, उसले त्यही सानो अनुभवलाई 'सामान्यीकरण' गरेर ठूलो घाउमा लागू गर्छ। उसलाई थाहा हुन्छ कि आधारभूत सिद्धान्त (Suturing वा Pressure) एउटै हो।
निष्कर्षको सूत्र : > तालिम + बारम्बारको एक्सपोजर + कार्य-केन्द्रित सोच = संयमता
डाक्टर आत्तिनु भनेको बिरामीको मृत्यु हुनु हो भन्ने कुरा उसको अवचेतन मनमा गढेको हुन्छ। त्यसैले, उसको व्यावसायिक उत्तरदायित्वले उसको मानवीय डरलाई नियन्त्रणमा राख्छ। उसले भावनालाई दबाएको हुँदैन, बरु त्यसलाई कार्यक्षमता (Efficiency) मा रूपान्तरण गरेको हुन्छ।
***
पूर्वीय दर्शन र इन्द्रिय नियन्त्रणको कडी
हामीले चर्चा गरिरहेको मनोविज्ञानको 'सामान्यीकरण' को अभ्यासलाई हाम्रो पूर्वीय दर्शन र साधुसन्तको जीवनपद्धतिसँग जोडेर हेर्न सकिन्छ। उनीहरुले ज्ञानेन्द्रीयलाई वशमा राख्नु भनेको वास्तवमा मनोविज्ञानकै यो सिद्धान्तको उच्च रूप हो।
उनीहरूले साधनाको 'नियन्त्रित वातावरण' (एक्लोपन, भोक, वा ध्यान) मा जुन मानसिक स्थिरता प्राप्त गर्छन्, त्यसलाई उनीहरूले संसारको कोलाहल र द्वन्द्वमा पनि लागू (Generalize) गर्छन्। जसरी एउटा सैनिकका लागि रगत 'सामान्य' बन्छ, त्यसरी नै साधकका लागि बाह्य विलासिता वा कष्ट केवल एउटा 'उत्तेजना' मा सीमित हुन्छ। साधुले इन्द्रियहरूलाई 'असंवेदीकरण' (Desensitization) गराउँदै लग्छन्, ताकि बाहिरी संसारले उनको भित्री शान्तिलाई भंग गर्न नसकोस्। यो केवल आध्यात्मिक उपलब्धि मात्र नभई मस्तिष्कको प्रशिक्षणद्वारा प्राप्त गरिने एक व्यावसायिक संयमता पनि हो।
पूर्वीय दर्शन र मनोविज्ञानको यो मिलनविन्दुलाई अझ प्रस्ट पार्न हाम्रा पञ्चेन्द्रिय र तिनका स्वाभाविक प्रतिक्रियाहरूलाई बुझ्नु आवश्यक छ। हाम्रा इन्द्रियहरू (आँखा, कान, नाक, जिब्रो र छाला) बाह्य संसारका सूचना संकलन गर्ने माध्यम हुन्। सामान्य अवस्थामा यी इन्द्रियले सुखद उत्तेजनामा 'आकर्षण' र दुखद वा कष्टकर उत्तेजनामा 'विकर्षण' वा 'भय' पैदा गर्छन्। जस्तै: कानले कडा आलोचना सुन्दा रिस उठ्नु, जिब्रोले स्वादिलो वस्तु खोज्नु वा आँखाले विभत्स दृश्य देख्दा अत्तालिनु हाम्रा स्नायु प्रणालीका स्वचालित प्रतिक्रिया हुन्।
दैनिक जीवनलाई सहज बनाउन यी स्वाभाविक प्रतिक्रियाहरूलाई 'सचेत सामान्यीकरण' गर्नुपर्छ। जब हामीले कानलाई 'आलोचना' सुन्दा त्यसलाई व्यक्तिको स्वभाव वा एउटा शब्दको तरंगका रूपमा मात्र बुझ्ने तालिम दिन्छौँ, तब हाम्रो चित्त विचलित हुन छोड्छ। त्यस्तै, जिब्रोको स्वादलाई केवल शरीर सञ्चालनको इन्धनका रूपमा सामान्यीकरण गर्दा हामी 'लोभ' बाट मुक्त हुन्छौँ।
दैनिक जीवनमा यसको प्रयोग गर्दा:
श्रवण इन्द्रिय: भीडको हल्ला वा कसैको गालीलाई 'ध्वनि' को रूपमा सामान्यीकरण गर्ने।
दृष्टि इन्द्रिय: सफलता र असफलताका दृश्यहरूलाई 'समयको चक्र' का रूपमा हेर्ने।
स्पर्श र स्वाद: प्रतिकूल मौसम वा साधारण भोजनलाई 'अनुकूलन' को हिस्सा मान्ने।
जब यी इन्द्रियहरूले हरेक उत्तेजनालाई आफ्नो व्यक्तिगत अस्तित्वमाथिको खतरा वा लाभ मान्न छोडेर एउटा 'सामान्य सूचना' का रूपमा लिन थाल्छन्, तब मानिसमा डाक्टर वा साधुमा हुने जस्तै उच्च स्तरको समभाव (Equanimity) पैदा हुन्छ। यसले गर्दा बाह्य परिस्थिति जस्तोसुकै भए पनि आन्तरिक शान्ति कायम रहन्छ र हाम्रो कार्यक्षमतामा ह्रास आउँदैन। यही नै इन्द्रिय नियन्त्रण मार्फत जीवनलाई सहज बनाउने मनोवैज्ञानिक सूत्र हो।
***
नाटक वा फिल्ममा कामुक दृश्य (Intimacy) हेर्दा धेरै दर्शकलाई जिज्ञासा हुन सक्छ - यो सुटिङ गर्दा, खिच्दा कलाकार/टेक्निसियनहरुले कसरी सके होलान्? उनीहरूले आफ्नो निजी भावना र व्यावसायिक भूमिकालाई अलग राख्न 'सामान्यीकरणको सिद्धान्त' लाई नै प्रयोग गर्छन्। सामान्य मानिसका लागि जुन कुरा 'निजी र उत्तेजक' हुन्छ, कलाकारका लागि त्यो 'प्राविधिक र प्रक्रियागत' हुन पुग्छ।
यसलाई कलाकारहरूले कसरी सामान्यीकरण गर्छन् भन्ने केही मुख्य बुँदा यस्ता छन् :
१. दृश्यलाई 'कोरियोग्राफी' मा रूपान्तरण गर्ने
फिल्मको सेटमा कुनै पनि कामुक दृश्य 'सहज' वा 'अचानक' हुँदैन। यसलाई नृत्यको स्टेप जस्तै 'कोरियोग्राफ' गरिएको हुन्छ। दृश्यका बारेमा पहिल्यै छलफल हुन्छ, कलाकार प्राविधिकले अभिनयका विभिन्न पाटो र लाइट, क्यामरा मुभमेन्टका विषयमा परामर्श गरेका हुन्छन्।
प्रक्रिया: कुन हात कहाँ राख्ने, अनुहार कता फर्काउने, र कति सेकेन्डसम्म स्थिर रहने भन्ने कुरा पहिले नै तय हुन्छ।
सामान्यीकरण: जब भावनालाई 'स्टेप' वा 'काउन्ट' मा विभाजन गरिन्छ, तब मस्तिष्कले त्यसलाई प्रेमको रूपमा होइन, एउटा शारीरिक कसरत वा 'एक्सन' को रूपमा लिन्छ।
२. प्राविधिक वातावरण (Technical Deconstruction)
पर्दामा दुईजना मात्र देखिए पनि छायांकन सेटमा क्यामेरामेन, लाइटमेन, निर्देशक र अन्य धेरै प्राविधिकहरू हुन्छन्।
असंवेदीकरण: चर्को लाइट, क्यामेराको लेन्स, र निर्देशकको 'कट' वा 'एक्सन' को बीचमा कुनै पनि व्यक्तिलाई साँचो अर्थमा कामुक महसुस हुनु कठिन हुन्छ। कलाकारहरूले ती लाइट र क्यामेरालाई आफ्नो कार्यक्षेत्रको 'औजार' का रूपमा सामान्यीकरण गर्छन्।
३. इन्टिमेशी कोर्डिनेटर (Intimacy Coordinator) को भूमिका
अहिलेका फिल्महरूमा 'स्टन्ट कोर्डिनेटर' जस्तै 'इन्टिमेशी कोर्डिनेटर' हुन्छन्। उनीहरूको काम नै कलाकारहरूबीचको शारीरिक निकटतालाई एउटा सुरक्षित र व्यावसायिक सीमाभित्र राख्नु हो। उनीहरूले कलाकारको 'कन्सेन्ट' (सहमति) लाई एउटा 'प्रोटोकल' को रूपमा स्थापित गर्छन्, जसले गर्दा कलाकारको मस्तिष्कले यो एउटा 'सुरक्षित व्यावसायिक सम्झौता' हो भन्ने बुझ्छ।
४. पात्र र स्वत्वको पृथकीकरण (Character Detachment)
कलाकारहरूले 'मेथड एक्टिङ' वा अन्य प्रविधिमार्फत आफूलाई पात्रबाट अलग राख्न सिक्छन्।
संज्ञानात्मक पुनर्संरचना: कलाकारले सोच्छ - 'यो म (स्वयम्) होइन, यो मेरो पात्र हो।' जब 'स्व' र 'पात्र' अलग हुन्छन्, तब ती दृश्यहरूले कलाकारको व्यक्तिगत भावनालाई छुँदैनन्। उनीहरूका लागि त्यो दृश्य केवल एउटा 'संवाद' जस्तै बन्छ।
५. कार्य-केन्द्रित मानसिकता (Task-Oriented Focus)
कामुक दृश्य खिच्दा कलाकारको ध्यान 'मलाई कस्तो महसुस भइरहेको छ?' भन्नेमा हुँदैन, बरु 'क्यामेराको फ्रेममा यो दृश्य कस्तो देखिएको छ?' भन्नेमा हुन्छ। जसरी डाक्टरले रगत बगेको देखेर 'मर्मत गर्नुपर्ने धमनी' देख्छ, कलाकारले ती दृश्यलाई 'प्राविधिक सन्तुलन' (Technical Balance) को रूपमा हेर्छन्।
कलाकारहरूले आफ्नो इन्द्रियलाई यसरी 'कन्डिसनिङ' गरेका हुन्छन् कि उनीहरूका लागि स्पर्श एउटा 'निर्देशन' बन्छ र निकटता एउटा 'फ्रेम'। यो 'प्रोफेसनल डिसेन्सिटाइजेसन' कै एउटा रूप हो। उनीहरूले आफ्नो निजी संवेदनालाई 'स्विच अफ' गरेर प्राविधिक आवश्यकतालाई 'स्विच अन' गर्न सिकेका हुन्छन्। जसले त्यसो गर्न सक्दैन, उ त्यो पेसाका लागि 'अनफिट' हुन्छ।
यो प्रक्रिया पनि ठ्याक्कै त्यही हो, जहाँ मस्तिष्कले 'उत्तेजना' लाई 'ड्युटी' मा सामान्यीकरण गरिदिन्छ।
***
सब ठिक छ, अब म पनि यो सिद्धान्त व्यवहारमा अपनाउँछु भनेर नहतारिनुस्। यहाँनिर तपाइँले 'सामान्यीकरण' (Generalization) र 'संवेगात्मक शून्यता' (Emotional Numbing) बीचको एउटा मसिनो रेखालाई पनि बुझ्नुपर्ने हुन्छ।
कागती देख्दा जिब्रो रसाउनु वा आफन्तको दुःखमा आँसु आउनु 'जैविक' र 'प्राकृतिक' प्रतिक्रिया हुन्। यो हुनुपर्छ। एउटा रसिलो कागती काटेर चानामा नुन-खुर्सानीको धुलो दल्दा तपाइँको जिब्रो रसाउनै पर्छ। यदि यो पूर्ण रूपमा भएन/हरायो भने, त्यसलाई मनोविज्ञानको भाषामा 'Maladaptive' वा समस्या मानिन्छ। तर, हामीले चर्चा गरिरहेको 'सामान्यीकरण' को उद्देश्य भावना मार्नु होइन, बरु भावनालाई 'कार्यक्षमता' (Performance) को बाधक बन्न नदिनु मात्र हो।
यसलाई यी तीन दृष्टिकोणबाट बुझ्न सकिन्छ:
१. नियन्त्रित प्रतिक्रिया (Controlled Response)
कागती देख्दा जिब्रो रसाउनु एउटा 'रिफ्लेक्स' (Reflex) हो। तर, एउटा सेफ (Chef) ले दिनभरि सयौँ कागती काट्दा उसको जिब्रो सामान्य मानिसको जस्तो हरेक पटक उत्तिक्कै रसाउँदैन। उसले त्यो उत्तेजनालाई 'काम' मा सामान्यीकरण गरिसकेको हुन्छ। यहाँ संवेदना हराएको होइन, संवेदनाले उसको कामलाई बाधा नपुर्याउने गरी 'अनुकूलन' (Adaptation) भएको हो।
२. समानुभूति (Empathy) विरुद्ध अति-भावुकता
आफन्तको दुःखमा आँसु नआउनुलाई दुई तरिकाले हेर्न सकिन्छ:
समस्या: यदि तपाईँलाई कसैको पीडाले छुनै छोड्यो भने त्यो 'अपैथी' (Apathy) वा मानसिक समस्या हुन सक्छ।
सामान्यीकरण: तर, एउटा सामाजिक अभियन्ता वा चिकित्सकले अरूको दुःख देख्दा रुनुको साटो "यस्तो अवस्थामा कसरी सहयोग गर्ने?" भन्नेतिर आफ्नो ऊर्जा लगाउँछ। उसले आफ्नो आँसुलाई 'सहयोगको कार्य' मा रूपान्तरण (Generalize) गरेको हुन्छ। आँसु नखस्नुको अर्थ मन ढुङ्गा हुनु होइन, बरु हातहरू उद्धारका लागि स्थिर हुनु हो।
३. जैविक सीमा र 'कन्डिसनिङ'
कागतीको चानोमा नुन-खुर्सानी लगाएको देख्दा जिब्रो रसाउनु एउटा Unconditioned Response हो। यसलाई सामान्यीकरणले पूरै मेटाउन सक्दैन (किनकि यो शरीरको मेकानिजम हो), तर यसको तीव्रतालाई घटाउन सक्छ। साधुसन्त वा डाक्टरले पनि आफ्नो जैविक प्रकृतिलाई पूरै मेट्दैनन्, मात्र त्यसलाई 'बाइपास' गरेर आफ्नो लक्ष्यमा केन्द्रित हुन सिक्छन्।
४. सन्तुलनको महत्त्व
सामान्यीकरण यति धेरै भयो कि मानिसले 'कागतीको स्वाद' नै बिर्सियो वा 'आफन्तको मृत्यु' मा पनि केही महसुस गरेन भने, त्यो 'Pathological' (अस्वस्थ) अवस्था हो।
स्वस्थ सामान्यीकरणले मानिसलाई 'कठोर' बनाउँदैन, बरु 'सक्षम' बनाउँछ। डाक्टरलाई बिरामीको पीडा महसुस हुन्छ (Empathy), तर उ बिरामीसँगै रुन थाल्दैन किनकि उसको 'सामान्यीकरण' ले उसलाई उपचारमा केन्द्रित हुन सिकाउँछ। यदि उ पनि रुन थाल्यो भने त बिरामीको उपचार नै सम्भव हुँदैन।
त्यसैले, कागती काटेको देख्दा जिब्रो रसाउनु 'प्रकृति' हो, तर खुर्सानी काट्दा आँखा नमिच्नु 'प्रशिक्षण' (सामान्यीकरण) हो।
***
सैनिक, डाक्टर, कलाकार प्रतिनिधि पात्र मात्र हुन्। यो सिद्धान्त जीवनका हरेक क्षेत्रमा, जहाँ उच्च तनाव (High Stress) र निर्णायक भूमिका (Critical Role) हुन्छ, त्यहाँ समान रूपले लागू हुन्छ। स्थितिअनुसार शान्त त संयमित हुनेले दिने प्रतिक्रिया र गर्ने व्यवहारमा सुझबुझ हुन्छ।
मनोविज्ञानको यो प्रक्रियालाई अझ गहिराइबाट बुझ्न यी केही थप पक्षहरू महत्त्वपूर्ण छन्:
१. उत्तेजना र प्रतिक्रियाको सम्बन्ध (Stimulus-Response Generalization)
सामान्य मानिसको लागि कुनै पनि संकट (जस्तै: आगलागी, दुर्घटना, वा आर्थिक पतन) एउटा यस्तो 'उत्तेजना' (Stimulus) हो जसले 'डर' वा 'पलायन' को प्रतिक्रिया पैदा गर्छ। तर, जो व्यक्ति त्यो क्षेत्रमा अभ्यस्त छ, उसले त्यो उत्तेजनालाई 'समस्या' होइन, 'कार्य' को रूपमा सामान्यीकरण गर्छ।
पाइलटको उदाहरण : जब जहाजको इन्जिनमा समस्या आउँछ, पाइलट हजारौं फिट माथि भएर पनि आत्तिँदैन। उसले सिम्युलेटर (प्रशिक्षण) मा सयौँ पटक त्यस्ता संकटहरू सांकेतिक रुपमा भए पनि झेलेको हुन्छ। वास्तविक संकट आउँदा उसको मस्तिष्कले त्यसलाई पुरानै अभ्यासको एउटा पाटोको रूपमा 'सामान्यीकरण' गरिदिन्छ।
२. भावनात्मक पृथकीकरण (Emotional Detachment)
यसको मुख्य सूत्र 'वस्तुगत दृष्टि' (Objectivity) हो। कुनै पनि घटनालाई 'मेरो वा मेरो प्रियजनको' भनेर हेर्नुको साटो 'एउटा घटना वा प्रक्रिया' को रूपमा हेर्नु नै संयमताको आधार हो। तपाइँले याद गर्नुभएको छ? कुनै सर्जनले आफन्त वा परिवारका सदस्यको शल्यक्रिया आफैं विरलै मात्र गर्छन्। जसलाई आफ्नो भावनात्मक उत्तेजनामा नियन्त्रण गर्न सक्छु वा भावुक हुन्न भन्ने लाग्छ, उसले मात्रै शल्यक्रिया गर्छ। धेरैले अरु डाक्टरबाट काम गराउँछन्।
पत्रकारितामा: एउटा युद्ध पत्रकारले बमबारी र मानवीय संकटको बीचमा रहेर पनि क्यामेरा स्थिर राख्छ र रिपोर्टिङ गर्छ। उसले त्यो पीडालाई 'समाचारको मूल्य' र 'तथ्य' मा सामान्यीकरण गरेको हुन्छ।
३. 'फ्लो स्टेट' (Flow State) र दक्षता
जब मानिस आफ्नो काममा निकै दक्ष हुन्छ, ऊ 'Flow State' मा प्रवेश गर्छ। यस्तो अवस्थामा बाहिरी संसारको कोलाहल वा विभत्सताले उसको आन्तरिक शान्तिलाई भंग गर्न सक्दैन। ऊ यति केन्द्रित हुन्छ कि उसको सम्पूर्ण ऊर्जा 'के गर्ने?' भन्नेमा मात्र खर्च हुन्छ, 'किन यस्तो भयो?' वा 'अब के होला?' भन्ने डरमा होइन।
संयमित हुने मनोवैज्ञानिक सूत्र (The Formula)
यदि हामीले यो संयमतालाई एउटा गणितीय सूत्रमा राख्ने हो भने यस्तो देखिन्छ:
अर्थात्, जब तपाइँको ज्ञान र अनुभव बढ्छ र भावनात्मक संलग्नता (Emotional Attachment) लाई सन्तुलनमा राख्न सक्नुहुन्छ, तब तपाइँको सजगता र संयमता उत्कर्षमा पुग्छ।
यो हामीले कसरी प्रयोग गर्ने?
कुनै पनि क्षेत्रमा 'विज्ञ' हुनु भनेको केवल सूचना थाहा पाउनु मात्र होइन, बरु विषम परिस्थितिमा आफ्नो स्नायु प्रणाली (Nervous System) लाई नियन्त्रणमा राखेर सिकेको ज्ञानलाई लागू गर्न सक्नु हो। सामान्यीकरणले मानिसलाई छिटो सिक्न र नयाँ परिस्थितिमा अनुकूल हुन मद्दत गर्छ। तर यसका नकारात्मक पक्ष पनि छन्। पूर्वाग्रही बन्न सक्छ, गलत निष्कर्षमा पुग्न सक्छ र डर वा चिन्ता अनावश्यक रूपमा फैलिन सक्छ। सामान्यीकरणले सिकाइलाई सहज बनाए पनि यसको अनियन्त्रित प्रयोगले 'पूर्वाग्रह' (Prejudice) को जोखिम निम्त्याउँछ।
जब हामी एउटा व्यक्ति वा घटनाको नकारात्मक अनुभवलाई पूरै समूह वा समुदायमा बिनातर्क लागू गर्छौं, तब मस्तिष्कले गलत धारणा बनाउन थाल्छ। उदाहरणका लागि, एकजना व्यक्तिको व्यवहारका आधारमा पूरै पेसा वा भूगोललाई दोषी देख्नु 'अति-सामान्यीकरण' हो। यसले हाम्रो सोचलाई संकुचित बनाउँछ र वास्तविक तथ्यभन्दा टाढा पुर्याउँछ। तसर्थ, संयमताका लागि सामान्यीकरण आवश्यक भए पनि विवेकपूर्ण विश्लेषण बिनाको सामान्यीकरण मानसिक भ्रम मात्र हुन सक्छ। यो जोखिमबाट बच्न केही विषय ध्यान दिनुपर्ने हुन्छन् -
प्रशिक्षण: कठिन परिस्थितिहरूको कल्पना गरेर अभ्यास गर्ने।
एक्सपोजर: डर लाग्ने कुराहरूसँग बिस्तारै साक्षात्कार गर्ने।
प्रोटोकल: संकटको बेला 'के गर्ने' भन्ने निश्चित नियम (Steps) पहिले नै तयार राख्ने।
***
मनोविज्ञानमा सामान्यीकरणको सिद्धान्त (Stimulus Generalization) र विशेष गरी संकटमा मानिस कसरी संयमित हुन्छ भन्ने विषयमा धेरै प्रयोगहरू भएका छन्। यहाँ यस क्षेत्रका दुई प्रसिद्ध प्रयोग र सिद्धान्तहरू प्रस्तुत छन् :
१. जोन बी. वाट्सन र 'लिटिल अल्बर्ट' को प्रयोग (१९२०)
यद्यपि यो प्रयोग डर पैदा गर्ने विषयमा थियो, तर यसले नै 'स्टिमुलस जनरलाइजेसन' को जग बसाल्यो।
कहाँ र कसले: अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा व्यवहारवादी मनोवैज्ञानिक जोन बी. वाट्सन (John B. Watson) र रोजाली रेनरले।
प्रयोग: उनीहरूले ९ महिनाको बालक (अल्बर्ट) लाई सेतो मुसा देखाउँदा पछाडिबाट ठूलो डरलाग्दो आवाज निकाले। केही समयपछि, अल्बर्ट मुसा देख्नेबित्तिकै डराउन थाल्यो। तर अचम्मको कुरा, ऊ मुसासँग मात्र होइन, मुसाजस्तै देखिने सेतो खरायो, सेतो दाह्री र कपाससँग पनि डराउन थाल्यो।
सिद्धान्त: यसलाई Conditioning भनिन्छ।
व्याख्या: डाक्टर वा विशेषज्ञको हकमा यो प्रयोग 'उल्टो' लागू हुन्छ। तालिमको क्रममा उनीहरूलाई "रगत वा चोट = मृत्यु" होइन कि 'रगत वा चोट = मेरो काम (ड्युटी)' भन्ने कुरामा कन्डिसनिङ गरिन्छ। जसरी अल्बर्टले एउटा डरलाई सबै सेतो वस्तुमा फैलायो (Generalize गर्यो), त्यसरी नै एक विशेषज्ञले आफ्नो तालिमको संयमतालाई सबै प्रकारका विभत्स घटनामा सामान्यीकरण गर्छ।
२. हर्कस-डड्सन नियम (Yerkes-Dodson Law, १९०८)
यो सिद्धान्तले तनाव र कार्यक्षमताको सम्बन्धलाई व्याख्या गर्छ, जसले डाक्टर वा सेना किन संकटमा बढी प्रभावकारी हुन्छन् भन्ने बुझाउँछ।
कहाँ र कसले: मनोवैज्ञानिक रोबर्ट हर्कस (Robert Yerkes) र जे.डी. डड्सन (John Dillingham Dodson)।
सिद्धान्त: यसले भन्छ कि कुनै पनि काम राम्रोसँग गर्नको लागि एउटा निश्चित स्तरको उत्तेजना (Arousal/Stress) आवश्यक हुन्छ। तर, यदि तनाव धेरै भयो भने कार्यक्षमता घट्छ।
व्याख्या: सामान्य मानिस: दुर्घटना देख्दा उसको तनावको स्तर 'अति' (Extreme) हुन्छ, जसले गर्दा उसको दिमाग 'ब्ल्याक आउट' हुन्छ र ऊ आत्तिन्छ।
विज्ञ (डाक्टर/पाइलट): उनीहरूको तालिमले उनीहरूको 'तनाव सहने सीमा' (Threshold) बढाइदिएको हुन्छ। जहाँ सामान्य मानिसको कार्यक्षमता शून्य हुन्छ, त्यस्तो तनावपूर्ण स्थिति विज्ञको लागि 'इष्टतम' (Optimal) हुन्छ।
उनीहरूले त्यो तनावलाई 'डर' मा होइन, 'एड्रिनालिन रस' (Adrenaline rush) मा बदल्छन्, जसले उनीहरूलाई झन् छिटो निर्णय लिन मद्दत गर्छ।
सारांशमा व्याख्या
यी प्रयोग र सिद्धान्तहरूको आधारमा संयमताको रहस्य दुई कुरामा लुकेको छ:
- Systematic Desensitization (क्रमिक असंवेदीकरण): बारम्बारको एक्सपोजरले मस्तिष्कलाई डरप्रति तटस्थ बनाउँछ। व्यक्तिको दिमागले त्यस्ता दृश्यलाई नौलो मान्न छाड्छ।
- Cognitive Appraisal (संज्ञानात्मक मूल्यांकन): कसैले रगतलाई खतरा देख्छ भने कसैले त्यसलाई मर्मत गर्नुपर्ने पाइपलाइन देख्छ। अर्थात् सामान्य मान्छे रगत देखेर आत्तिँदा स्वास्थ्यकर्मीले भने कता काटेको रहेछ, सिलाउनुपर्ने वा रगत रोक्ने केही उपाय गर्दा हुने हो की भन्ने विचार गर्छ। यो हेर्ने दृष्टिकोणको सामान्यीकरण नै संयमताको वास्तविक सूत्र हो।
***
पत्रकारका तिखा प्रश्न हुन् वा भीडको आलोचना। धेरैजना अवस्थाबाट प्रभावित हुन्छन्, उत्तर वा प्रतिक्रिया दिँदा भावनात्मक उत्तेजनामा आउँछन्। तर, यस्तो अवस्थामा पनि कोही शान्त, संयमित रहन्छ भने उसमा कुनै दैवी शक्तिले काम गरेको वा केवल जन्मजात गुण मात्र होइन। यो मुख्य रूपमा एउटा 'अर्जित गुण' (Acquired Skill) हो, जसलाई अभ्यास र केही खास मानसिक सूत्रहरूद्वारा जो कोहीले विकास गर्न सक्छ।
यसलाई मनोविज्ञानका यी तीन प्रमुख सूत्रहरूबाट बुझ्न सकिन्छ:
१. एमिग्डाला हाइज्याक नियन्त्रण (The 6-Second Rule)
जब कसैले अपमानजनक प्रश्न सोध्छ, हाम्रो मस्तिष्कको 'एमिग्डाला' (डर र रीसको केन्द्र) तुरुन्तै सक्रिय हुन्छ। यसलाई 'Amygdala Hijack' भनिन्छ।
सूत्र: एमिग्डालाले प्रतिक्रिया दिनु र विवेकशील मस्तिष्क (Prefrontal Cortex) सक्रिय हुनुको बीचमा करिब ६ सेकेन्डको समय लाग्छ।
अभ्यास: चतुर वक्ताहरू प्रश्न सुन्नेबित्तिकै जवाफ दिँदैनन्। उनीहरू एक घुट्को पानी पिउँछन् वा गहिरो सास फेर्छन्। यो ६ सेकेन्डको अन्तरालले उनीहरूलाई 'प्रतिक्रिया' (Reaction) दिनुको साटो 'जवाफ' (Response) दिन सक्षम बनाउँछ।
२. संज्ञानात्मक पुनर्मूल्यांकन (Cognitive Reappraisal)
संयमित व्यक्तिले प्रश्नलाई 'आक्रमण' को रूपमा होइन, 'सूचना प्रवाहको अवसर' को रूपमा हेर्छ।
व्याख्या: सन् १९८० को दशकमा मनोवैज्ञानिक रिचर्ड लाजरसले दिएको 'स्ट्रेस कोपिङ' सिद्धान्त अनुसार, यदि तपाईंले परिस्थितिलाई 'धम्की' (Threat) देख्नुभयो भने तपाईं आत्तिनुहुन्छ। तर यदि त्यसलाई 'चुनौती' (Challenge) को रूपमा सामान्यीकरण गर्नुभयो भने तपाईंको आत्मविश्वास बढ्छ।
सूत्र: 'उसले मलाई अपमान गर्दैछ' भन्नुको साटो मनमनै भन्नुहोस् - 'यो पत्रकार आफ्नो काम गर्दैछ, अब मैले मेरो तथ्य राख्ने पालो हो।'
३. भावनात्मक बुद्धिमत्ता र पृथकीकरण (Emotional Detachment)
यो ड्यानियल गोलम्यानले चर्चित बनाएको 'Emotional Intelligence' को एउटा पाटो हो। कुशल व्यक्तिले आफ्नो 'स्व' (Self) र 'भूमिका' (Role) लाई अलग राख्छन्।
सूत्र: आलोचना तपाईंको 'अस्तित्व' को होइन, तपाइँको 'काम' वा 'विचार' को भइरहेको छ भन्ने बुझ्नु नै संयमताको कडी हो।
यसलाई 'The Stoic Buffer' पनि भनिन्छ, जहाँ बाहिरी शब्दहरूलाई आफ्नो मानसिक शान्तिभित्र छिर्न नदिने एउटा काल्पनिक पर्खाल खडा गरिन्छ।
कसरी बन्ने संयमित ?
१. असंवेदीकरण (Desensitization): घरमा ऐना अगाडि बसेर आफैंलाई सोध्न सकिने सबैभन्दा 'अप्रिय' प्रश्नहरूको सामना गर्ने अभ्यास गर्नुहोस्। यसो गर्दा वास्तविक प्रश्न सोधिँदा मस्तिष्क 'सक' (Shock) मा पर्दैन।
२. तथ्यमा आधारित सामान्यीकरण: भावनामा बगेर जवाफ दिनुको साटो तथ्यांक र तर्कमा ध्यान केन्द्रित गर्नुहोस्। जब दिमाग 'डाटा' मा केन्द्रित हुन्छ, 'इमोसन' स्वतः कम हुन्छ।
३. नियन्त्रित शारीरिक भाषा (Body Language): अनुसन्धानले भन्छ कि यदि तपाईंले जानाजानी आफ्नो स्वरलाई सानो र शरीरलाई स्थिर (Relaxed) राख्नुभयो भने, मस्तिष्कले पनि 'म सुरक्षित छु' भन्ने संकेत पाउँछ र रीस कम हुन्छ।
निचोड: शान्त रहनु भनेको केही नहुनु होइन, बरु भइरहेको 'विस्फोट' लाई आफ्नो नियन्त्रणमा राख्नु हो। यो डाक्टरले रगत देख्दा वा सैनिकले गोली चल्दा देखाउने संयमता जस्तै एउटा मनोवैज्ञानिक कन्डिसनिङ हो।
संकट वा तनावको समयमा संयमित रहनु कुनै चामत्कारिक क्षमता होइन, बरु यो त मस्तिष्कलाई दिइने एक निरन्तर 'कन्डिसनिङ' हो। जब हामी कुनै पनि विषम परिस्थितिलाई डरको नजरले भन्दा पनि एउटा 'प्रक्रिया' वा 'जिम्मेवारी' को रूपमा हेर्न थाल्छौँ, तब हाम्रो मस्तिष्कले त्यसलाई कार्यक्षमतामा सामान्यीकरण गरिदिन्छ। चाहे त्यो युद्धमैदानमा घाइतेको उद्धार गर्ने प्यारामेडिक होस् वा तिखा प्रश्नहरूको सामना गर्ने वक्ता - सबैको संयमताको कडी एउटै हो, तालिम, उद्देश्य र भावनाभन्दा माथिको वस्तुगत दृष्टि। तसर्थ, आफ्नो कार्यक्षेत्रमा जति धेरै एक्सपोजर र अभ्यास गरिन्छ, हाम्रो स्नायु प्रणाली त्यति नै अभ्यस्त बन्दै जान्छ। यही मनोवैज्ञानिक तयारी नै विपत्तिलाई विवेकमा बदल्ने अचुक सूत्र हो।
मनोविज्ञानमा सामान्यीकरण लाभदायक भए पनि यसको एउटा जोखिमको पाटो पनि हुन्छ। एउटा खराब अनुभवलाई सबैमा लागू गर्दा 'पूर्वाग्रह' (Prejudice) जन्मिन सक्छ (जस्तै: एउटा पत्रकार खराब हुँदा सबै पत्रकार खराब हुन्छन् भन्नु)। ख्याल गरौँ, सामान्यीकरणले कहिलेकाहीँ पूर्वाग्रहको खाडलमा पनि पुर्याउन सक्छ।

No comments:
Post a Comment