Saturday, July 3, 2010

घोडाघोडीमा पौडी

सानो सिर्कनो लिएर ज्योतिले भाइलाई लखेट्दै थिइन । डिलमा यताउती छेलिदै प्रकाश भाग्दै थिए । केहीबेर पछि कुरो मिल्यो । ज्योतिले भाइलाई पौडी खेल्न दिने भइन । उनले भनिन् 'यो भागेर आएछ । अनि खेदेकी ।' उनीहरु कैलाली जिल्लामा पर्ने दरख गाविसको सुखड भन्ने ठाउँमा बस्छन् । ज्योति पौडेल ६ कक्षामा पढ्छिन् । प्रकाश १ कक्षामा पढ्छन् । स्कुलदेखि चार/पाँच मिनेटकै दूरिमा ठूलो ताल छ । यहाँको पानी सफा र चिसो छ ।
                    यसलाई घोडाघोडी ताल भनिन्छ । अहिले चर्को गर्मी छ । घाम चर्केका बेला पौडी खेल्दा आनन्द आउने प्रकाश बताउँछन् । उनी भन्छन् 'म त टाढा पर-पर जान्न, तालको डील छेउछाउमै पौडी खेल्छु ।' उनीसँगै पौडी खेल्दै रमाएका संजय मल्ल पनि सधैंजसो यहाँ आउन मन पराउछन् । 
३ कक्षामा पढ्दै रहेका उनलाई आफ्नो विद्यालयको नाम कसैले सोध्यो भने झट्ट भन्न गाह्रो पर्छ । मल्ल भन्छन् 'लामो नाम छ , विराट संस्कृति अनि, माध्यमिक... । खै पुरा झट्ट भन्न आएन ।' यसरी सानो कक्षाबाट पौडी खेल्न आउनेहरुलाई गुरुहरुले हपार्ने गरेको उनी सुनाउँछन् । 'पौडी खेल्दा खेल्दै डुब्लान भनेर हो, कराउनु भएको , उनले भने 'कहिलेकाही त सरहरु पनि पौडी खेल्न आउनुहुन्छ ।' त्यो बेलामा भने गुरुहरुले साना नानीहरुलाई हेरविचार गर्ने गरेका छन् । 
                          ज्योति र संजय पढ्ने स्कुलको नाम विराट सनातन धर्मसंस्कृति माध्यमिक विद्यालय हो । हाफ छुट्टी हुने शुक्रवारका दिन धेरै केटाकेटी पौडी खेल्न तालमा आउँछन् । ज्योति भन्छिन् 'हामी पनि पौडी खेल्छौ । मज्जा आउछ ।' तालमा गोही छ । त्यो गोही बाटोनजिकको डिलदेखि टाढा अर्कोको छेउ बस्ने गरेको उनले बताइन । 'कतिजना त गोही छ भनेर डराउँछन्, उनले सुनाइन् 'तर, पर नगइ छेउ-छेउ पौडी खेल्दा केही हुन्न ।' यसरी खेल्न आएपछि समूहमा आउने र एकअर्कालाई हेरविचार गर्ने बानी आफुहरुको भएको उनले बताइन । तालको डिलमा मन्दिर छ । मन्दिरमा पुजा ,विवाह र व्रतबन्धका लागि मानिसहरु आइरहन्छन् । मन्दिर व्यवस्थापन समितिले यहा घुम्न आउनेका लागि काठको एउटा डुङ्गा राखिदिएको छ । भाडा तिरेर मानिसहरु यहा डुङ्गा सयर गरिरहेको देख्न सकिन्छ ।
                            यो ताल र आसपासको क्षेत्रमा ४ सय ५० प्रजातिका बोटविरुवा, २९ थरि स्थानीय जातका माछा,  १ सय ४० प्रकारका चराचुरुङ्गी र ३२ थरिका पुतली पाइएको विभिन्न समय भएका अध्ययनले देखाएको छ । दुर्लभ प्राकृतिक ठाउँ भएकाले यो ताल सात वर्ष अघि नै विश्व सम्पदा सूचीमा दर्ता भइसकेको छ । यो एकनासले चारकुना मिलेको पोखरी जस्तो आकारको छैन ।
 एक ठाउँबाट सुरु भएर घोडाजस्तो देखिन्छ । आसपासको चुरे जंगलमा पसेको तालको सतहले यसलाई धेरै ठाउँ हाँगा फाटेको जस्तो लाग्छ । यहाँ छुट्याएर गन्ने हो भने १४ वटा तालको एउटा समूह जस्तो देखिन्छ । तालको पूर्व,उत्तर र दक्षिण सतीसाल, साज र खयरको जंगल छ । पूर्व-पश्चिम राजमार्गनजिकै रहेको यो ताल हेर्न टाढाबाट पनि मानिसहरु आउने गरेका छन् ।  

महजस्तै मन भइदिए

चौरस्ताको सहरभित्र उड्ने कीरो चराउन हिड्ने मान्छे । तर, सहरमा यस्ता ठाउ जोगिएनन् जहा उनका ती कीराले स्वतन्त्र विचरण गर्दै गुड फिरुन । उत्तर धरान-धनकुटा, दक्षिण विराटनगर, पूर्व दमक-काकडभिट्टा, अनि पश्चिम जनकपुर, बीरगञ्ज वा राजधानी काठमाडौ । जाने वा फिर्नेका लागि इटहरीको सुगम चौरस्ता कंक्रीटको जंगलमा फेरिने हतारमा देखिन्छ । राजधानीपछिको एउटा बिछट्टको डिपार्टमेन्टल स्टोर प्रचलनलाई समाएर चौरस्ताले गाउले र सहरीयालाई जोडेको छ । धमाधम थपिएका पक्की घरले यो ठाउ व्यस्त बजार बन्दो छ । यहा जहाका जग्गा खाली छन् , ती पनि अधिकांश ठाउ प्लटिङ गरेर ग्राहक पर्खिरहेका छन् । राजमार्ग र भित्री सडकमा धेरै ठाउ जग्गा बिक्रीमा छ सम्पर्क नम्बर लेखिएका बोर्ड झुण्डिरहेका देखिन्छन् । यही सहरको मुख्य चोकबाट केही पश्चिम दक्षिण आदर्श टोलमा बस्ने बासु ढकालले चराउने कीरो मौरी हो । यिनको घर पुग्नेलाई लाग्छ 'कसरी पालेका होलान् यस्तो ठाउमा मौरी । कहा लगेर चराउदा हुन् ' 
०००
'यसले अझै मलाइ चिनिनसकेको हो कि क्या हो, कहिलेकाही चिल्छ' आगनमा राखेको घारका सेता बाकस खोलेर विस्तारै चक्कुले मह निकालेर देखाउदा केही सावधान देखिए । चरन सुरु भएको १० देखि २० दिनमा एउटा घार मह काढ्न लायक हुन्छ । तर, चरनका लागि समस्या छन् । फुल देखेर कतै छिटै घार लिएर पुगे कहिलेकाही घातक पनि हुन्छ । 'एउटा घारमा सुरुमा राम्रो भए ७ किलोसम्म मह निस्कन्छ, उनी सगर्व सुनाउछन् 'तेस्रो लटसम्ममा १० किलोसम्म हुन्छ ।' अहिले ४५ वटा घारका बाकस छन् । बजार राम्रो भएपनि घरेलु उत्पादनलाइ सुरुमा पहिचान गराउन हम्मे परेको बताउछन् उनी । 'अहिले इटहरीमा चाहि डिपार्टमेन्टल स्टोरबाटै राम्ररी बिक्छ, उनले बताए 'सरकारको मुख ताकेर यो गरेन, उ गरेन भन्ने कुरा धेरै छन् । तर, आफ्नो काम गर्नै पर्‍यो ।'
०००
पछिल्लोपटक मोरङको केरौन पुगेका उनी रमाए । कारण, यहा भेटिएको तोरी बारीमा उपयोग गरिएको कीटनाशक मौरीका लागि प्रतिकुल थिएन । 'किसानले बल्ल जानेछन् , बालीका कीरा मर्ने तर, मौरी नमर्ने खालका विषादि चलाउने चेतना बढेछ, हौसिदै उनी बताउछन् 'कडा खालको विषादिभन्दा त्यो विषादि चार रुपिया सस्तो पनि पर्ने रहेछ ।' जाडो यामभन्दा उनका लागि न्यानो र बढि गर्मी नभएको मौसम मौरी चरनका लागि उपयुक्त छ । सहरमा ठाउ छैनन् । फुल र अन्य बालीमा कडा खालका विषादिको उपयोग गरिएको भएनभएको यकिन गर्नुपर्छ । त्यसैले भित्री तराइ  र पहाडी गाउ छान्छन् । पहिले हेरेर आउने । अनि उपयुक्त ठाउ मिले मौरीको घारयुक्त बाकस गाडीमा राखेर त्यहासम्म पुर्‍याउने । धनकुटाको कार्कीछाप उनलाई चराउन जाने ठाउमध्ये राम्रो लाग्छ । मोरङ, सुनसरी र धनकुटाका खेत-पाखा उनी चरनको खोजी गरिहन्छन् । कहिलेकाही घार भएको बाकसै पनि बिक्री हुन्छ । यसको दाम ५ हजार ५ सयमा लेनदेन हुन्छ । महको बजार पनि प्रतिष्पर्धात्मक छैन । घरेलु प्रविधिको मह उपयोग गरेकाहरुले फेरि यस्तै खोज्छन् । यसैले ढकालजस्ताको उत्साह थपेको छ ।
०००
मौरीसगको काममा छ वर्ष विताएका उनले घरेलु उत्पादनका लागि बजार खोजेका छन् । जेनतेन बिक्री भएको छ । पाल्नेको संख्या बढ्दै जादा सुनसरीमा किसान सगंठीत पनि भएका छन् । मौरी पालकको ठूलो जमात पहाडी गाविस विष्णुपादुकामा बढि छ । यहा मौरीपालकको सहकारी पनि छ । उसको २५ गोला छन् । डम्बर तामाङका १० गोला छन् । मौरीपालकहरुका अनुसार पूर्वी तराइको मौसमका लागि युरोपियन एपिस मेलिफेरा प्रजातिको मौरी उपयुक्त छ । किसानले यही जात पालेका पनि छन् ।
घार राख्ने बाकस बनाउन टुनाको काठ उपयोगी हुन्छ । तामाङका अनुसार तौलमा हलुको हुने यो काठले घामपानी खप्छ । टिक्ने भएपनि यसका लागि किसान मर्कामा छन् । काठ सितैं त पाइदैन नै । कतिपटक चाहिएका बेला सामुदायिक बनले राखेकै दाम दिन खोज्दा पनि सहजै उपलब्ध हुन्न । उनी भन्छन् 'कम्तीमा सरकारले राम्रो रानो र काठको प्रबन्धमा सघाएपनि नेपाली घरेलु उत्पादनको धेरै सम्भावना छन् ।'
०००
महको महिमा बखानमा नथाक्नेहरु कथा गर्छन् । एउटा किसानले विदेशी पाहुनालाई उपहारमा मह दिइ पठाए । नर्वेली ती पाहुनाले आफ्नो देश फिरेर त्यहाको प्रयोगशालामा गरेको गुणस्तर परीक्षणको परिणाम उदेक लाग्दो आयो । त्यसको गुणस्तर युरोपियन बजारमा किनबेच भइरहेका सर्वोत्तम गुणकारी भनिनेभन्दा पोषक र प्राकृतिक भेटियो । त्यहाका व्यापारीले नेपालबाट मह आयात गर्ने भए । मौकैमा नेपाली अधिकारीलाई भेटे । ती नेपाली अधिकारीले हामीकहा निर्यात हुनसक्ने गरि उत्पादन हुने-नहुने कुरा आफैले बुझन समय मागे । कारण उनलाई त्यसबेलासम्म नेपालबाट बेच्न सकिनेगरि मह उत्पादन हुने नहुने जानकारी रहेनछ । उनले कृषि मन्त्रालयलाई फोन गरे । कृषिले आफुमातहतको निकायलाई । चरण र तह-तहमा भएको फोन मौरीपालकको सहकारीसम्म आयो । किसानले जवाफ दिए 'हामीसग निर्यात गर्ने क्षमता छ । लौ न व्यवस्था मिलाइदिनुस् ।' युरोपियन मापदण्डको प्रयोगशाला व्यवस्था नभइ निर्यात गर्न नसकिनेमा पुगेर हलो अड्कियो । आयात गर्न चाहनेको जमातले प्रयोगशाला बनाउन सहयोग दिनमा पनि रुची देखायो । तर, सरकारका तर्फबाट कुनै पहल भएन । ढकाल भन्छन् 'हाम्रो सरकारलाई चासो भए पो यस्तो व्यवस्था गरिदिन्थ्यो । चाहिने कुराका लागि हाम्रो सरकार सुतेर बसेको छ ।' रेशम खेती र जुटखेतीजस्ता पार नलाग्ने कुरामा सरकारी प्राथमिकता दुखलाग्दो भएको उनलाई लाग्छ । भन्छन् 'ल मौरीका लागि सरकारले गरोस् त † डलर यसले जति अरु कृषि उत्पादनले भित्र्याउदैन ।'  
०००
इटहरीका ढकाल अहिले फेरि केही घारहरु गाडीमा राखेर घर फिरेका छन् । चरनका लागि नया ठाउको खोजी फेरि सुरु भएको छ । 'गर्मिमा शीतल अनि जाडेमा घाम लाग्ने ठाउ चाहिन्छ, उनी सुनाउछन् 'यसलाई पनि रोग लाग्छ, परजीवि लाग्छन् । उपचार गर्नुपर्छ ।' परजीविले लार्भा र प्युपामा पसेर रगत चुस्न थालेको थाहा हुनेबितिकै उपचार नचलाए घार नै सखाप हुने उनी बताउछन् । त्यस्ता परजीविको संक्रमणबाट बाचेका मौरीको सुड-ज्रि्रो अपांग हुन्छ । कहिलेकाही युरोपियन फाउलबोट भनिने बच्चा मर्ने रोगले पनि भेट्छ । 'ओखती पाइन्छ, उनी बताउछन् 'सहकारी र मौरी विकास शाखाबाट परामर्श पनि लिन सकिन्छ ।' कसैलाई बाधा नगरी गर्न सकिने यो व्यवसाय आफैमा मौरीको महजस्तै रहेको उनलाई लाग्छ । 'कारखानाले महबाहेक पनि अरु धेरै कुरा प्रशोधन गरेर निकाल्छन् , बाध्यता यसरी पोख्छन् 'हामी त मह मात्र बेच्छौ ।'
गाउहरु सहरमा परिवर्तन हुदैगर्दा मौरी चराउने ठाउ घट्दो क्रममा छ । तर, विषादि उपयोगमा किसानले मित्र किरो बाच्ने र शत्रु किरा नियन्त्रण हुने विधि जान्न थाल्नुलाई सकारात्मक रुपमा लिन्छन् ।  मह दिने कीरोको दैनिकीलाई सघाउदा उनको जीवन फेरिएको छ । भन्छन् 'मान्छेको मन पनि महजस्तै भइदिए कति जाती हुन्थ्यो । कहिल्यै मित्र जीव नमर्ने विषादी छान्न सबै किसानले जाने भइहाल्थ्यो नि ।' ढकालजस्तो दैनिकीमा तल्लिन हुनेहरु नजानिदो पाराले बढ्ने क्रममा छन् । सहरमा गुलियोको खपत बढेको पनि छ । तर, मान्छेका लागि गुलियो जुटाउने कीराका लागि चरनहरु अब टाढा-टाढा खोज्दै हिड्नुपर्ने भएको छ ।
(०६७ असार १९ को कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करणमा प्रकाशित )