चौरस्ताको सहरभित्र उड्ने किरो चराउन हिड्ने मान्छे। तर, सहरमा यस्ता ठाउँ जोगिएनन् जहाँ उनका ती कीराले स्वतन्त्र विचरण गर्दै गुड फिरुन्। उत्तर धरान-धनकुटा, दक्षिण विराटनगर, पूर्व दमक-काँकडभिट्टा, अनि पश्चिम जनकपुर, वीरगञ्ज वा राजधानी काठमाडौं। जाने वा फिर्नेका लागि इटहरीको सुगम चौरस्ता कंक्रिटको जंगलमा फेरिने हतारमा देखिन्छ।
राजधानीपछिको एउटा बिछट्टको डिपार्टमेन्टल स्टोर प्रचलनलाई समाएर चौरस्ताले गाउँले र सहरियालाई जोडेको छ। धमाधम थपिएका पक्की घरले यो ठाउँ व्यस्त बजार बन्दो छ। यहाँ जहाँका जग्गा खाली छन्, ती पनि अधिकांश ठाउँ प्लटिङ गरेर ग्राहक पर्खिरहेका छन्। राजमार्ग र भित्री सडकमा धेरै ठाउँ 'जग्गा बिक्रीमा छ, सम्पर्क नम्बर ...' लेखिएका बोर्ड झुण्डिरहेका देखिन्छन्। यही सहरको मुख्य चोकबाट केही पश्चिम दक्षिण आदर्श टोलमा बस्ने बासु ढकालले चराउने किरो मौरी हो। यिनको घर पुग्नेलाई लाग्छ, 'कसरी पालेका होलान् यस्तो ठाउँमा मौरी। कहाँ लगेर चराउदा हुन् ?'
०००
'यसले अझै मलाई चिनिनसकेको हो कि क्या हो ! कहिलेकाही चिल्छ !' आँगनमा राखेको घारका सेता बाकस खोलेर विस्तारै चक्कुले मह निकालेर देखाउदा उनी केही सावधान देखिए। चरन सुरु भएको १० देखि २० दिनमा एउटा घार मह काढ्न लायक हुन्छ। तर, चरनका लागि समस्या छन्। फूल देखेर कतै छिटै घार लिएर पुगे कहिलेकाही घातक पनि हुन्छ।
'एउटा घारमा सुरुमा राम्रो भए ७ किलोसम्म मह निस्कन्छ,' उनी सगर्व सुनाउछन्, 'तेस्रो लटसम्ममा १० किलोसम्म हुन्छ ।' अहिले ४५ वटा घारका बाकस छन्। बजार राम्रो भए पनि घरेलु उत्पादनलाई सुरुमा पहिचान गराउन हम्मे परेको बताउछन् उनी। 'अहिले इटहरीमा चाहिँ डिपार्टमेन्टल स्टोरबाटै राम्ररी बिक्छ,' उनले बताए 'सरकारको मुख ताकेर यो गरेन, उ गरेन भन्ने कुरा धेरै छन्। तर, आफ्नो काम गर्नै पर्यो।'
०००
पछिल्लोपटक मोरङको केरौन पुगेका उनी रमाए। कारण, यहाँ भेटिएको तोरीबारीमा उपयोग गरिएको किटनाशक मौरीका लागि प्रतिकूल थिएन। 'किसानले बल्ल जानेछन्, बालीका कीरा मर्ने तर, मौरी नमर्ने खालका विषादि चलाउने चेतना बढेछ,' हौसिदै उनी बताउँछन्, 'कडा खालको विषादिभन्दा त्यो विषादि चार रुपियाँ सस्तो पनि पर्ने रहेछ।'
जाडो यामभन्दा न्यानो र बढी गर्मी नभएको मौसम मौरी चरनका लागि उपयुक्त छ। सहरमा ठाउँ छैनन्। फूल र अन्य बालीमा कडा खालका विषादिको उपयोग गरिएको भएनभएको यकिन गर्नुपर्छ। त्यसैले भित्री तराई र पहाडी गाउँ छान्छन्। पहिले हेरेर आउने। अनि उपयुक्त ठाउँ मिले मौरीको घारयुक्त बाकस गाडीमा राखेर त्यहाँसम्म पुर्याउने।
धनकुटाको कार्कीछाप उनलाई चराउन जाने ठाउँमध्ये राम्रो लाग्छ। मोरङ, सुनसरी र धनकुटाका खेत-पाखा उनी चरनको खोजी गरिहन्छन्। कहिलेकाही घार भएको बाकसै पनि बिक्री हुन्छ। यसको दाम ५ हजार ५ सयमा लेनदेन हुन्छ। महको बजार पनि प्रतिष्पर्धात्मक छैन। घरेलु प्रविधिको मह उपयोग गरेकाहरुले फेरि यस्तै खोज्छन्। यसैले ढकालजस्ताको उत्साह थपेको छ।
०००
मौरीसँगको काममा ६ वर्ष बिताएका उनले घरेलु उत्पादनका लागि बजार खोजेका छन्। जेनतेन बिक्री भएको छ। पाल्नेको संख्या बढ्दै जाँदा सुनसरीमा किसान सगंठित पनि भएका छन्। मौरीपालकको ठूलो जमात पहाडी गाविस विष्णुपादुकामा छ। यहाँ मौरीपालकको सहकारी पनि छ। उसको २५ गोला छन्। डम्बर तामाङका १० गोला छन्। मौरीपालकहरुका अनुसार पूर्वी तराइको मौसमका लागि युरोपियन एपिस मेलिफेरा प्रजातिको मौरी उपयुक्त छ। किसानले यही जात पालेका पनि छन्।
घार राख्ने बाकस बनाउन टुनाको काठ उपयोगी हुन्छ। तामाङका अनुसार तौलमा हलुको हुने यो काठले घामपानी खप्छ। टिक्ने भए पनि यसका लागि किसान मर्कामा छन्। काठ सितैं त पाइदैन नै, कतिपटक चाहिएका बेला सामुदायिक वनले राखेकै दाम दिन खोज्दा पनि सहजै उपलब्ध हुन्न। उनी भन्छन्, 'कम्तीमा सरकारले राम्रो रानो र काठको प्रबन्धमा सघाए पनि नेपाली घरेलु उत्पादनको धेरै सम्भावना छन्।'
०००
महको महिमा बखानमा नथाक्नेहरु कथा गर्छन्। एउटा किसानले विदेशी पाहुनालाई उपहारमा मह दिइ पठाए। नर्वेली ती पाहुनाले आफ्नो देश फिरेर त्यहाँको प्रयोगशालामा गरेको गुणस्तर परीक्षणको परिणाम उदेकलाग्दो आयो। त्यसको गुणस्तर युरोपियन बजारमा किनबेच भइरहेका सर्वोत्तम गुणकारी भनिनेभन्दा पोषक र प्राकृतिक भेटियो। त्यहाँका व्यापारीले नेपालबाट मह आयात गर्ने भए। मौकैमा नेपाली अधिकारीलाई भेटे। ती नेपाली अधिकारीले हामीकहाँ निर्यात हुनसक्नेगरी उत्पादन हुने-नहुने कुरा आफैंले बुझ्न समय मागे। कारण उनलाई त्यसबेलासम्म नेपालबाट बेच्न सकिनेगरी मह उत्पादन हुने नहुने जानकारी रहेनछ।
उनले कृषि मन्त्रालयलाई फोन गरे। कृषिले आफूमातहतको निकायलाई। चरण र तह-तहमा भएको फोन मौरीपालकको सहकारीसम्म आयो। किसानले जवाफ दिए, 'हामीसँग निर्यात गर्ने क्षमता छ। लौ न व्यवस्था मिलाइदिनुस्।' युरोपियन मापदण्डको प्रयोगशाला व्यवस्था नभइ निर्यात गर्न नसकिनेमा पुगेर हलो अड्कियो। आयात गर्न चाहनेको जमातले प्रयोगशाला बनाउन सहयोग दिनमा पनि रुचि देखायो। तर, सरकारका तर्फबाट कुनै पहल भएन। ढकाल भन्छन्, 'हाम्रो सरकारलाई चासो भए पो यस्तो व्यवस्था गरिदिन्थ्यो। चाहिने कुराका लागि हाम्रो सरकार सुतेर बसेको छ।' रेशम खेती र जुटखेतीजस्ता पार नलाग्ने कुरामा सरकारी प्राथमिकता दुःखलाग्दो भएको उनलाई लाग्छ। भन्छन्, 'ल मौरीका लागि सरकारले गरोस् त। डलर यसले जति अरु कृषि उत्पादनले भित्र्याउँदैन।'
०००
इटहरीका ढकाल अहिले फेरि केही घारहरु गाडीमा राखेर घर फिरेका छन्। चरनका लागि नयाँ ठाउँको खोजी फेरि सुरु भएको छ। 'गर्मिमा शीतल अनि जाडेमा घाम लाग्ने ठाउँ चाहिन्छ,' उनी सुनाउँछन्, 'यसलाई पनि रोग लाग्छ, परजीवि लाग्छन्। उपचार गर्नुपर्छ।' परजीविले लार्भा र प्युपामा पसेर रगत चुस्न थालेको थाहा हुनेबितिकै उपचार नचलाए घार नै सखाप हुने उनी बताउछन्। त्यस्ता परजीविको संक्रमणबाट बाँचेका मौरीको सुँड-जिब्रो अपांग हुन्छ।
कहिलेकाही युरोपियन फाउलबोट भनिने बच्चा मर्ने रोगले पनि भेट्छ। 'ओखती पाइन्छ,' उनी बताउँछन्, 'सहकारी र मौरी विकास शाखाबाट परामर्श पनि लिन सकिन्छ।' कसैलाई बाधा नगरी गर्न सकिने यो व्यवसाय आफैंमा मौरीको महजस्तै रहेको उनलाई लाग्छ। 'कारखानाले महबाहेक पनि अरु धेरै कुरा प्रशोधन गरेर निकाल्छन्, बाध्यता यसरी पोख्छन्, 'हामी त मह मात्र बेच्छौँ।'
गाउँहरु सहरमा परिवर्तन हुँदैगर्दा मौरी चराउने ठाउँ घट्दो क्रममा छ। तर, विषादि उपयोगमा किसानले मित्र किरो बाँच्ने र शत्रु किरा नियन्त्रण हुने विधि जान्न थाल्नुलाई सकारात्मक रुपमा लिन्छन्। मह दिने किरोको दैनिकीलाई सघाउँदा उनको जीवन फेरिएको छ। भन्छन्, 'मान्छेको मन पनि महजस्तै भइदिए कति जाती हुन्थ्यो। कहिल्यै मित्र जीव नमर्ने विषादी छान्न सबै किसानले जाने भइहाल्थ्यो नि।' ढकालजस्तो दैनिकीमा तल्लीन हुनेहरु नजानिदो पाराले बढ्ने क्रममा छन्। सहरमा गुलियोको खपत बढेको पनि छ। तर, मान्छेका लागि गुलियो जुटाउने किराका लागि चरनहरु अब टाढा-टाढा खोज्दै हिड्नुपर्ने भएको छ।
***
(०६७/०३/१९ को कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करणमा )
(०६७/०३/१९ को कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करणमा )

No comments:
Post a Comment