Saturday, July 3, 2010

घोडाघोडीमा पौडी

सानो सिर्कनो लिएर ज्योतिले भाइलाई लखेट्दै थिइन । डिलमा यताउती छेलिदै प्रकाश भाग्दै थिए । केहीबेर पछि कुरो मिल्यो । ज्योतिले भाइलाई पौडी खेल्न दिने भइन । उनले भनिन् 'यो भागेर आएछ । अनि खेदेकी ।' उनीहरु कैलाली जिल्लामा पर्ने दरख गाविसको सुखड भन्ने ठाउँमा बस्छन् । ज्योति पौडेल ६ कक्षामा पढ्छिन् । प्रकाश १ कक्षामा पढ्छन् । स्कुलदेखि चार/पाँच मिनेटकै दूरिमा ठूलो ताल छ । यहाँको पानी सफा र चिसो छ ।
                    यसलाई घोडाघोडी ताल भनिन्छ । अहिले चर्को गर्मी छ । घाम चर्केका बेला पौडी खेल्दा आनन्द आउने प्रकाश बताउँछन् । उनी भन्छन् 'म त टाढा पर-पर जान्न, तालको डील छेउछाउमै पौडी खेल्छु ।' उनीसँगै पौडी खेल्दै रमाएका संजय मल्ल पनि सधैंजसो यहाँ आउन मन पराउछन् । 
३ कक्षामा पढ्दै रहेका उनलाई आफ्नो विद्यालयको नाम कसैले सोध्यो भने झट्ट भन्न गाह्रो पर्छ । मल्ल भन्छन् 'लामो नाम छ , विराट संस्कृति अनि, माध्यमिक... । खै पुरा झट्ट भन्न आएन ।' यसरी सानो कक्षाबाट पौडी खेल्न आउनेहरुलाई गुरुहरुले हपार्ने गरेको उनी सुनाउँछन् । 'पौडी खेल्दा खेल्दै डुब्लान भनेर हो, कराउनु भएको , उनले भने 'कहिलेकाही त सरहरु पनि पौडी खेल्न आउनुहुन्छ ।' त्यो बेलामा भने गुरुहरुले साना नानीहरुलाई हेरविचार गर्ने गरेका छन् । 
                          ज्योति र संजय पढ्ने स्कुलको नाम विराट सनातन धर्मसंस्कृति माध्यमिक विद्यालय हो । हाफ छुट्टी हुने शुक्रवारका दिन धेरै केटाकेटी पौडी खेल्न तालमा आउँछन् । ज्योति भन्छिन् 'हामी पनि पौडी खेल्छौ । मज्जा आउछ ।' तालमा गोही छ । त्यो गोही बाटोनजिकको डिलदेखि टाढा अर्कोको छेउ बस्ने गरेको उनले बताइन । 'कतिजना त गोही छ भनेर डराउँछन्, उनले सुनाइन् 'तर, पर नगइ छेउ-छेउ पौडी खेल्दा केही हुन्न ।' यसरी खेल्न आएपछि समूहमा आउने र एकअर्कालाई हेरविचार गर्ने बानी आफुहरुको भएको उनले बताइन । तालको डिलमा मन्दिर छ । मन्दिरमा पुजा ,विवाह र व्रतबन्धका लागि मानिसहरु आइरहन्छन् । मन्दिर व्यवस्थापन समितिले यहा घुम्न आउनेका लागि काठको एउटा डुङ्गा राखिदिएको छ । भाडा तिरेर मानिसहरु यहा डुङ्गा सयर गरिरहेको देख्न सकिन्छ ।
                            यो ताल र आसपासको क्षेत्रमा ४ सय ५० प्रजातिका बोटविरुवा, २९ थरि स्थानीय जातका माछा,  १ सय ४० प्रकारका चराचुरुङ्गी र ३२ थरिका पुतली पाइएको विभिन्न समय भएका अध्ययनले देखाएको छ । दुर्लभ प्राकृतिक ठाउँ भएकाले यो ताल सात वर्ष अघि नै विश्व सम्पदा सूचीमा दर्ता भइसकेको छ । यो एकनासले चारकुना मिलेको पोखरी जस्तो आकारको छैन ।
 एक ठाउँबाट सुरु भएर घोडाजस्तो देखिन्छ । आसपासको चुरे जंगलमा पसेको तालको सतहले यसलाई धेरै ठाउँ हाँगा फाटेको जस्तो लाग्छ । यहाँ छुट्याएर गन्ने हो भने १४ वटा तालको एउटा समूह जस्तो देखिन्छ । तालको पूर्व,उत्तर र दक्षिण सतीसाल, साज र खयरको जंगल छ । पूर्व-पश्चिम राजमार्गनजिकै रहेको यो ताल हेर्न टाढाबाट पनि मानिसहरु आउने गरेका छन् ।  

No comments: