Friday, November 30, 2018

रैथाने प्रजाति जोगाउने रहर

कुखुराका रैथाने प्रजातिको बजारमा सधैं माग उच्च , पाल्ने तरिका अझै निर्वाहमुखी  ।  

गानी र श्रम खन्याएर दुनियाँलाई छिटो फाइदा हात पार्न उत्साहित पार्नुपर्ने जमाना छ । व्यवसायिक कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ- विकासे जातका बल गर्नुस् । अन्नबाली, तरकारी र माछा होस् वा पशुपंछीपालन । जे गर्नुस् सिफारिसकर्ता छिटो फाइदा दिने विकासे जात नै सुझाउँछन् । 
पोखरामा डाँडानाक नजिकै भित्री बाटोका राजेन्द्र अधिकारीको सल्लाह भने अलि फरक छ । उनी भन्छन् 'विकासे होइन लोकल पाल्नुपर्छ । तरिका पुर्‍याए लोकलबाट पनि मनग्गे फाइदा लिन सकिन्छ ।' उनको कुखुरा फार्म गएर हेर्नेले विकासे कुखुरापालनको सोच बनाएको छ भने पनि थालिहाल्नुअघि अवश्य सोच्छ । 'बोइलर जतासुकै पाइन्छ तर, लोकलको स्वाद जिब्रोमा बसेकाहरूले सकेसम्म गाउँघरमा पालेकै कुखुरा खोज्छन्,' उनी भन्छन्, 'लोकल धेरैले व्यवसायिक तरिकाले पाल्दैनन् । पाले घाटा लाग्ने कुरै छैन ।' अध्ययनका हिसाबले अधिकारी स्वास्थ्यकर्मी हुन् । तर, उनले आफूले पढेको विषयको पेशा रोजेनन् । लामो समयदेखि विकासे कार्यकर्ताका रूपमा गैरसरकारी संस्थामार्फ खानेपानी र सिंचाइका परियोजनाहरूमा काम गरिरहेका उनले देशका विभिन्न जिल्ला पुगेर भूगोलपिच्छे कुखुराका फरक फरक रैथाने प्रजाति देखेका छन् । 'मेरो अध्ययनको विषय कुखुरा होइन तर, यो बारे बुझ्न रहर लागेदेखि तरिका पुर्‍याए फाइदा हुने नै देखेको छु,' उनी भन्छन्, 'हामीले अहिले गाउँघरमा पाल्ने गिरिराजजस्ता केही जात इण्डियाले विकसित गरेपछि भित्रिएको छ । खोज्दै गए हाम्रा आफ्नै रैथाने प्रजाति पनि कमका छैनन् ।' 
थोरै पाल्ने, आफ्ना लागि खान मात्रै पाल्ने निर्वाहमुखी चलन छाडेर कुखुराका रैथाने प्रजाति पनि संतुलित आहारा र लाग्न सक्ने रोगव्याधिलाई ध्यान पुर्‍याएर पाल्नसक्दा राम्रो फाइदा लिन सकिने उनको भनाइ छ । 'लोकल कुखुरा पाल्नेको न संगठन छ, न त जोगाउनुपर्छ भन्ने प्रभावकारी सरकारी कार्यक्रम,' उनले भने, 'बोइलर र लेयर्स पाल्नेको लगानी ठूलो, दाना कारखानाको लविङ । जमात ठूलो भएकाले विकासे जातका कुरा जसले पनि गर्न सजिलो छ । तर, म लोकल पालेर पनि फाइदा लिनसक्ने कुरा भन्छु ।' 
त्यसो त अधिकारीले पनि विकासे जातका कुखुरा पाल्दै नपालेका भने होइनन् । २०७२ बैशाख १२ को भूकम्पको घटना अघिसम्म उनले पनि विकासे कुखुरा पालेका थिए । 'त्योबेला घाटा लागेको थियो । अनि यातायातको हडताल भो की दाना चाहिने बेलामा नआइदिने समस्या भयो,' उनले भने, 'मैले पहिलेदेखि पनि लोकल जातमाथि प्रयोग गरिरहेकै थिए“ । भूकम्पपछि अब मसँग लोकल जातमात्रै छन् ।' डाँडानाकको भित्री गल्लीमा रहेको उनको लेखनाथ पशुपंछी ब्रिडिङ र्फममा अहिले पनि हजारवटा हाराहारी रैथाने प्रजातिका कुखुरा छन् । भालेमात्रै डेढ सय वटाको हाराहारी संख्यामा छन् । श्रीमती र छोरीले अधिकारीलाई फर्मको काममा सघाएका छन् । फरक प्रजातिका भाले लगाएर प्रयोग गरिरहेका उनले तनहुँ, स्याङ्जा र लमजुङ आदि जिल्लामा पनि १८ वटा फर्मसँग साझेदारीमा कुखुरापालन गरेका छन् । रैथाने प्रजाति पाल्न रहर गर्नेहरू चल्ला खोज्न उनको लेखनाथस्थित फर्ममा पुग्छन् । वरपर गाउँमा पालेकाहरूले अण्डा र कुखुरा बेच्न पनि उनैकहाँ ल्याउने गरेका छन् ।
'साखिनी, प्वाँख उल्टे र घाँटी खुइले गरेर तीन प्रजाति र यिनका क्रससहित अहिले मसँग आठ प्रकारका कुखुरा छन्,' उनले भने, 'हुन त सबै पशुपंछी र मान्छेमा पनि हाडनाता ख्याल राख्नुपर्छ । कुखुरामा मैले भाले लगाउँदा हाडनातामा पार्दिन, त्यसले गर्दा प्रयोग सफल छ ।' जहाँ बोइलर कुखुरा खानयोग्य तौलको डेढ महिनामै हुन्छ, त्यहीँ लोकललाई भने तयउर हुन तीनदेखि चार महिना लाग्ने उनले बताए । 'दाना संतुलित तरिकाले दिने, चिसो-तातो र रोगव्याधि ख्याल गरे लोकल प्रजाति पनि एउटै कुखुरो आठ-नौ किलो तौलको बनाउन सकिन्छ,' उनी भन्छन्, 'अहिले मेरोमा आएर, हेरेर, चल्ला लगेर पाल्नेहरूले पनि मनग्गे फाइदा लिन थालेका छन् ।' कास्की, स्याङ्जा, पर्वत, बागलुङ, लमजुङ, म्याग्दी, मनाङ र मुस्ताङ लगायतका ट्रेकिङ रुट र होमस्टे सञ्चालित जिल्लाका व्यवसायीसँगै गाउँलेलाई रैथाने प्रजाति पाल्न सल्लाह दिइरहेको उनले बताए । 'हिजोआज लोकल पाल्नुस् भनेर चित्तबुझ्नेगरि सल्लाह दिने नै कोही भएनन्,' उनी भन्छन्, 'गाउँघरमा जति जोगिएका छन् त्यो गाउँलेले जानीनजानी पालेर जोगिएका हुन् ।' जंगलमा हुने कुखुरालाई मानवीय सभ्यताको विकास क्रमसँगै घरपालुवा बनाइएको हो । जंगलमा हुर्केका भाले आफ्नो समुह छाडेर अर्को समुहमा जाने, त्यो समुहका भालेलाई लडाइँ गरेर अन्तै धपाएपछि प्रजननमा हाडनाता नपर्ने विकास भइआएको उनी बताउँछन् । 'हामीले गाइभैंसी पालौं, भेडाबाख्रा वा कुखुरा,' उनी भन्छन्, 'हाडनातामा प्रजनन् हुन नदिने हो भने पशुपंछी स्वस्थ हुन्छन् । छिटो रोगले भेट्दैन ।' पोल्ट्री फर्महरूले आवश्यकताअनुसार चिसो-तातो राखेजस्तै रैथाने प्रजाति पाल्दा पनि तापक्रम, आहारा र हाडनाता ध्यानमा राख्न नसक्दा गाउँघरमा पाल्नेले फाइदा लिन नसकेको अवस्था भएको उनी बताउँछन् । 'हाम्रो फरक फरक भूगोलमा घरपालुवा पशुहरू फरक फरक प्रजातिका भएजस्तै कुखुरा पनि छ,' उनी भन्छन्, 'यसो हेर्दा यो अनुसन्धानका लागि राम्रो विषय हो । तर, यसमा काम गर्नेहरू मैले भेटेको छैन । बरु जसलाई भेट्यो विकासे जात पाल्नेबारे खरर बताइदिन्छन् ।' मुलुकको जुनसुकै कुनामा स्वाद र धार्मिक संस्कार प्रयोजनका लागि रैथाने प्रजातिका कुखुराको माग सधैं हुने भएपनि धेरै पालेर व्यवसायिक काम गर्नेहरू औंलामा गन्न सकिने संख्यामा रहेको उनले बताए । 
ग्रामीण कुखुरा तथा रैथाने पशुपंछीपालक कृषक संघका उपाध्यक्षसमेत रहेका अधिकारी भन्छन् 'जातीय चेत बढेका बेला आआफ्नो संस्कार संस्कृति जोगाउनुपर्छ भन्छौं भने हाम्रा रैथाने प्रजतिका पशुपंछी जोगाउन किन अघि नसर्ने ?' पाल्दा विकासेका तुलनामा केही ढिलोगरि बेच्नयोग्य हुने भएपनि रैथाने प्रजातिका कुखुराले किसानलाई घाटा नपर्ने उनको दाबी छ । 
कास्कीको पशु रोग अन्वेषण प्रयोगशालाले कुखरामा लाग्ने रोगबारे अनुसन्धान गरिरहेको हुन्छ । यहाँ रोग पहिचान र निदानको उपाय खोज्न पुग्ने विकासे कुखुरापालक नै अधिकांश हुन्छन् । 'लोकल कुखुरा झोक्रायो की के रोग लाग्यो भनेर सोधीखोजी गर्नुभन्दा काटेरै खाइहाल्ने चलन छ,' डा. केदार पाण्डे भन्छन्, 'हामीकहाँ पाइने रैथाने प्रजाति वातावरणअनुसार बाँच्न सक्ने प्रकारकै छन् । तर, बेलाबखत तिनमा लाग्ने रोग के हो भनेर चासो लिने किसान मैले निकै कम भेटेको छु ।' पछिल्ला केही वर्षता राम्रो दाम आउने बुझेकाहरूमा व्यवसायिक तरिकाले लोकल कुखुरा पाल्न चासो बढ्न थालेको उनले बताए । 'बन्द खोरमा नापेर दाना खुवाएर पालेर लोकल हुने होइन,' उनले भने, 'लोकल पाल्नेले छोडेर पाल्नुपर्छ, चरनको व्यवस्था गर्नुपर्छ र कुखुराले एक्सरसाइज गर्न पाएको हुनुपर्छ ।' साखिनी, प्वाँख उल्टे र घाँटी खुइले नेपालका पुराना र चलनमा रहेका कुखुराको रैथाने प्रजाति भएको उनले बताए । 'भाले पोथी हेर्दा सुन्दर, छिटो बढ्ने र मासु स्वादिलो हुने साखिनी हो,' उनले भने, 'लोकल प्रजाति अझैसम्म निर्वाहमुखी तरिकाले पाल्ने नै धेरै भएकाले न किसान संगठित छन्, न उनीहरूको निश्चित बजार छ ।' बजारमा लोकल कुखुराको माग सधैं हुने र तुलनात्मकरूपमा विकासे भन्दा राम्रो दाम पाइने बुझेकाहरूले बिस्तारै गाउँघरमा प्रजाति नै पाल्न रहर गरिरहेको उनले बताए । 

(२९ असोज २०७५ मा कान्तिपुर दैनिकमा प्रकाशित सामाग्री संग्रहका लागि ब्लगमा साभार) 

यसरी लेखियो 
पोखरामा काम गर्न आएको वर्षदेखि नै मैले समय मिलेसम्म ताल, खोला र डाँडा घुम्न रुचाएको छु । बेगनास ताल घुमेर फिर्दा साथीहरूले २०७२ को अन्त्यतिर पहिलोपटक अधिकारीको घर रहेको फर्ममा पुर्‍याएका थिए । त्यो दिन उनीकहाँ करिब १ घण्टा बसियो होला ।
घाम नडुब्दै थुप्रै भाले पालैपालो बसे । उनी बोलिरहे, काम गरिरहे । अन्डा लिन आउनेलाई अन्डा र चल्ला लिन आउनेलाई चल्ला बेचे । कुखुरा किन्न आउने केहीले राम्रा राम्रा भाले तौलेर लगे । अधिकारीले आफू काम गरे, सहयोगीलाई अह्राए । चुनाको घेरा टेकेर मात्रै हामीलाई कुखुराको खोर भएतिर फोटो लिन बोलाए । थरि थरिका कुखुरा देखाए । केही भाले झिकेर आफ्नो पाखुरामा चटकेले जसरी राखे । रंगरूपमा केही भाले त अघिपछि कहिल्यै नदेखेकाहरू पनि रहेछन् । लाग्यो, यस्ता व्यस्त मनुवासँग कुरा गरिदिएर समय नास पारियो । हामी नपुग्दा उनले धेरै काम भ्याउने रहेछन् । यिनलाई डिस्टर्ब गर्न हुँदैन भन्ने लागिरह्यो । तर, हामी ३/४ जना थियौं । केही साथीले उनका बारेमा पहिल्यै समाचार गरिसकेका रहेछन् । उनलाई पनि समाचारको महत्व थाहा रहेछ । 
हामीले कुरा टुंग्याएर निस्कन हतार गर्दा पनि उनले हतार मानेनन् । आफ्ना कुरा सुनाइरहे । अफिस फर्किएपछि अरू कामहरूको चाप पर्‍यो । उनका बारेमा लेख्न रहर थियो । तर, त्यो एउटा भेटमा प्राप्त जानकारी पर्याप्त थिएन त्यसैले फेरि भेट्नु आवश्यक लाग्यो । हामी 'गोलभेंडा फलाएर लाखौं, कखुरा पालेर करौडौं, तरकारी फलाएर मनग्ये' ढाँचाका समाचार दोहोर्‍याइ रहन्छौं । कहिलेकाही यस्ता समाचारबारे कृषि, अर्थ र फीचरमा ध्यान दिने अग्रजहरू सोध्नछन् - हामीले सही समाचार पस्केका छौं ? हरेक पेशाका दु:ख हुन्छन् । कृषि पेशामा सजिलै लाभ हुन्न । मनग्गे कमाउन पर्ने हैरानीका कुरा किन लेख्न छुटाउँछौं ? सफल हुनका लागि पर्ने लगनशीलता, परिश्रम र बेलाबेला पेशा ठीक चयन गरिएनछ भन्ने मान्छेका दुविधा खोइ केलाएको ?' तर, त्यस्ता अन्तरकुन्तर नकेलाएका समाचार लेख्न छाडिन्न । छापिन्छ पनि बारम्बार । तर, आफूले लेख्दा होस् वा अरूले, सुखदु:ख सबै लेखेमात्रै कुनै पनि पेसा सजिलो, असजिलो थाहा लाग्छ । तर, धेरैपटक अखबारको पेज भर्न 'फिलर न्युज' चाहिएका बेला कसले अन्तरकुन्तर समेटेको मापदण्डबारे हेक्का राखोस् । धेरैपटक छापिएपछि मात्रै मापदण्डअनुसार केके पुगेन भन्ने छनफल हुन्छ ।
डा. राजेन्द्र अधिकारीको विषय कुखुरा पालेर मनग्गे कमाइवाला होइन । उनको रैथाने पाल्दा पनि राम्रो हुन्छ भन्ने सन्देश समाचारको विषय ठीक हुन्छ भन्ठानेर मैले फेरि भैट्न खोजेँ । समय के कसो भो मिल्दै मिलेन । दोस्रो भेटमा उनी निकै व्यस्त थिए । मैले उनको मूल्यवान समय नष्ट गर्न चाहिँन र, थोरै कुरा गरेर फर्किएँ । त्यसले पनि मैले लेख्न चाहेको जस्तो जानकारी यथेष्ट भएन । 
तेस्रो भेटका लागि समय मागेँ । उनले '१ घण्टा फुर्सद हुन्छ, आउनुस् । म काम गर्दै कुरा पनि गर्दै गर्छु' भनेपछि गइयो । करिब ३ घण्टा बसिएछ । धेरै कुरा भयो । आएर चार भागको दुइमात्रै लेखियो । अधिकारीको मन परेको पक्ष रैथानेले पनि फाइदा दिन्छ, पाल्ने तरिका पुर्‍याउँ भन्ने भनाइमात्रै उत्तम हो । समाचारको मर्म पनि त्यतिमात्रै हो । 
उनले स्वास्थ्य विषय पढेको, कहाँ पढे, कसरी सर्टिफिकेट ल्याए । त्यो पढाइको पेशा किन गरेनन् भन्ने कुरा माथिको समाचारका लागि आवश्यक थिएन । त्यसैले लेखिएन । कुखुरा पाल्न थालेर थुप्रै हैरानी खेपेछन्, फाइदा पनि गरेछन् । तर, उनको फर्म हेर्दा उल्का फाइदा गरेको भान मिल्दैन । तीन वर्ष अघि जाँदा जस्ता संरचना थिए, पछि पनि त्यसमा खासै फरक थिएन । तर, तरिका पुर्‍याएर पालेका उनको तरिका लोकल जात व्यवस्थित तरिकाले पाल्छु भन्नेका लागि हेर्न योग्य छ । 
समाचार लेख्नुअघि उनले गरिरहेका कामका विषयमा कृषिका सम्बद्ध सरकारी अधिकारीहरूसँग कुरा गरेँ । उनीहरूले राम्रो कुरा गरेनन् । त्यो लेखिएन । जंगली कुखुरा घरमा पाल्न पाइँदैन । सरकारी कर्मचारीले 'राजेन्द्रजीले गर्न नहुने काम गर्नु भएको छ, जंगली जात ल्याएर त्यससँग क्रस ब्रिडिङ गर्नुभएको छ' भने । उनले राम्रो गरेको भन्नै चाहेनन् । अधिकारीले पनि सुरूमै भनेका थिए- 'म जे गर्न चाहन्छु त्यस्ता योजनाला लागि कृषि मन्त्रालय र सरकारले मेरो पनि सल्लाह लिए हुन्थ्यो जस्तो लाग्छ । तर, कर्मचारीको पारा अलि बेग्लै छ ।' त्यो 'बेग्लै' शायद कुनै समय खटपट परेको हुनुपर्छ भन्ने ठानियो । व्यक्तिगत कुरा जेसुके होस्, पहाडी गाउँहरूमा छाडा छाडेर पालिने कुखुरामा जंगली भाले लाग्छ । यो स्वभाविक र सहज छ । कोसी टप्पु वन्यजन्तु आरक्ष छेउछाउ सयौं भैंसीगोठ छन् । जसमा लाग्ने राँगो जंगली भैंसी(अर्ना) हुन्छ  । जमानादेखि आरक्षसँगै भैंसीगोठ राखेकाहरूले अर्नालाई मेरो भैंसी भनेर दाबी गर्ने नगरेका पनि होइनन् । जे भए पनि जंगलीसँगको क्रस ब्रिड रैथाने घरपालुवाका तुलनामा लाभदायक मानिन्छन् । जे होस्,  राजेन्द्र अधिकारीले ल्याएका केही भाले त्यस्ता क्रसका उपज छन् । उनले नै पनि मलाई प्रष्ट भने । केही भाले लामा लामा नङ्ग्रा भएका, बुढा छन् । जसलाई उनी यति उती लाख दिन आएका थिए, बेचिँन भन्न छुटाउँदैनन् । तर, छन् गाउँघरमा सजिलै देख्न नपाइने गतिला बिउ भाले ।
समाचार लेखियो । छापियो । चाडबाड सुरू भएपछि पत्रिकाका भित्री पृष्ठमा प्रकाशित समाचारको चर्चा गर्न कसैलाई ध्यान हुन्न । यो समाचार पनि त्यस्तै भयो । आफूलाई कुनैबेला हेर्न-पढ्न काम लाग्छ भनेर आज ब्लगमा संग्रह गरियो ।
समाचार प्रकाशित भएपछि उनको र मेरो प्रत्यक्ष भेट भएको छैन । फोनमा कुरा भयो । हुन्छ । उनले अझै धेरै कुरा लेख्नुपर्छ भन्थे । मैले 'हस हुन्छ' मा टार्छु । उनी चाहन्छन्- जंगली प्रजाति पनि गाउँलेले घरमा पाल्न पाउनुपर्छ । कारण- तिनलाई घरपालुवा जसरी छिटो रोगव्याधिले भेटदैन । यसका लागि इजाजत पाइने/नपाइने लफडा छँदैछन् । नियमकानुनले मार्न, सिकार गर्न वर्जित भनेपनि जंगल जंगल चारो छरेर, पासो थापेर, गुलेली र गोली हानेर कुखुराका जंगली प्रजाति सिकारको चलन नयाँ छैन । त्यसमा पनि जंगल छेउछाउ घर भएकाहरूलाई थाहा हुन्छ, कालिजको हालत के छ । जे होस्, पछि नयाँ केही भए अप्डेट गरम्ला भनुम् । 






No comments: