Sunday, August 24, 2008

कोशी व्यस्तता



गत सोमबार दिउँसो सप्तकोशीले पूर्वी तटबन्ध भत्कायो । पानीको भेल पश्चिम कुसाहा-४ भएर टप्पु जाने बाटो हुँदै बग्न थाल्यो । घटनाको एक साता भयो । करीव १० हजार विस्थापितहरु इनरुवा र आसपासका विद्यालयमा शरण लिएर बसेका छन् । श्रीपुर, हरिपुर र पश्चिम कुसाहा गाविस अझै जलमग्न छन् । राजमार्ग खुल्ने छाँट छैन । अप्टिकल फाइवर बगाएकाले टेलिकमको मोवाइल पनि प्रभावित भएको छ ।
मेरो दैनिकी त्यतै व्यस्त रह्यो । मलाइ अझै फुर्सदले बसेर ब्लगमा लेख्ने समय जुटिरहेको छैन ।

Wednesday, August 13, 2008

क्रुरताको पराकाष्ठा






माओवादी जनयुद्धसँगै जनता परिचित भएको दुर्घटनामध्येको सबैभन्दा नमिठो 'हत्या' भन्ने मलाइ लाग्छ । त्योताका नौलो थिएन । संविधानसभापछि आस गरेजस्तो शान्ति छँदै छैन । हिजो विहान युवा दिवसका अवसरमा जुलुस निकाल्ने तयारीमा रहेका भाइहरुले जुट मिल गेटमा आउन फोन गरे ।
त्यहाँ उनीहरुले सहभागिता जुटाउन सकेनन् । ९/१० जनाले ठूलो ब्यानर बोकेर निस्किए । युवा मंत्रालय गठन लगायतका मागमा हस्ताक्षर पनि संकलन गरे । फिर्ने बेलामा रानी भंसार जाँदै गरेका दुइजना ट्राफिक प्रहरी भेटिए । उनीहरुले एकै स्वरमा भने 'पत्रकारजी त्यो शुक्रवारे हाटनेरको नहरमा जानुस, लास छ , धेरै मान्छे भीड छन् ।
ढिलो नगरी विराटनगर-१६ मा पर्ने तेलिया पोखरीबाट केही पश्चिम , त्यहाँ पुग्दा धेरैले नाक थुनेर कुनै कुरा हेरिरहेका थिए । लास रहेछ । जीउ बोरामा , कम्मर मुनिको भाग पैनीको डिलमा । असामयिक मृत्यु भएकाहरुको अस्पतालले पोष्टमार्टमपछि बुझाउने शवजस्तै कम्मरमाथिको भाग बोरामा थियो । सशस्त्र प्रहरीका एक जना सइले भने 'हामीले यो जीउचाहि पानीबाट झिक्न लगाएको हो ।' उनका अनुसार सड्न थालेको दुर्गन्धले थाहा पाउनेबाट प्रहरीमा सूचना पुगेको थियो । त्यहाँ खटिएका इप्रका रानीका सइ बमबहादुर कोइरालाका अनुसार प्रहरीमा कुनै पप्पु यादव भन्ने मान्छेले फोन गरेर यहाँ गन्हाएको खबर दिएको थियो ।
मेलाजस्तै हेर्न भेला भएकाहरु नाकमा रुमाल राखेर नियाल्दै थिए । कान्छी लेखिएको चामल प्याकिङमा प्रयोग हुने प्लाष्टिकको बोराको पुछारबाट आन्द्राभुँडी निस्किरहेको थियो । मुचुल्का तयार गर्दै रहेका प्रहरीले अनुहार हेर्न सजिलो हुनेगरि लठ्ठीले हटाए । अनुहार सुन्निएको थियो । एउटा हात बाहिर देखिएकाले त्यो पानीभित्र रहेछ भन्ने सेतो चाउरिएको देखेर भन्न सकिन्थ्यो । एउटा आँखिभौंमा चोट थियो । १० मिनेट बित्यो । म त्यहाँबाट निस्किए ।
पछि डिएस्पी विद्यानन्द माझीलाई फोन गर्दा पहिचान खुलेको थाहा भयो ।
उनी १५ न. वडाको पिचरा घर भएका १५ वर्षका शम्भु सहनी रहेछन् । बजारस्थित सरस्वती माविमा ८ कक्षामा पढ्ने बिद्यार्थी रहेछन । उनी गत आइतवारदेखि वेपत्ता थिए । प्रहरीको प्रारम्भिक अनुमानमा उनको हत्यापछि छ्याक छ्याक पारेर कम्मरमा काटेर जीउ दुइ टुक्रा बनाइएको थियो ।

Friday, August 8, 2008

घरभित्र अजिंगर भेटिदा



आज चार जनाको टोली थियो, स्नातकोतर क्याम्पसका सरहरु डा. भरतराज सुब्वा, केपी लिम्बू , फोटोपत्रकार मित्र यात्रा थुलुङ र म । हामी सुनसरीको भासि गाविसमा पर्ने झुम्काबाट उतर सिंगियाको लालपुर, मानपुर र रामधुनी हुदै प्रकाशपुर पुग्यौ । त्यहाँ हामी भुँडीफोर गरुड भनिने लेसर एडजुटेन्ट स्टोर्कको गुँडको खोजीमा पुगेका थियौ । बाटो देखेकालाइ सोध्दै जाने सल्लाहमा हामी स्थानीय रविन घिमिरेको घर पुग्यौ ।
रविन दाइ भेटिनुभएन । भाउनुले सुनाउनुभयो त्यहाँ दाहाल थरमा गाउँलेको घरमा अजिंगर निस्किएछ अनि दाइ त्यतै । हामी पनि खोज्दै गयौं । मेला लागेजस्तो बाटैबाट ठूलो भीड थियो । भर्खरै त्यहाँ स्थापना भएको सशस्त्र प्रहरीको बसे क्यापका एक जना जवान भीड नियन्त्रण गर्दै थिए । भित्र छिरियो । कोशीटप्पु मध्यवर्ती क्षेत्रमा पर्ने सो गाउँको ६ न. वडाका मदन दाहालको घरमा तौलिया बोकेर कोठाभित्र खेदाखेद थियो ।
एकैछिनमा खेदाखेद सकियो । आरक्षका कर्मचारीले बाहिर ल्याए अजिंगर । सात फिट लम्बाइको इण्डियन रक पाइथन भनिने सो अजिंगर करीव एक वर्षको हुनुपर्ने अडकल काटियो । उनीहरुले बोरामा हाले र लगे । सिनेमा सकियो ।
टप्पु क्षेत्रमा अजिंगर भेटिनु नौलो थिएन । तर, दाहाल परिवारले काठे घरको चोटामा विहान देखेको अजिंगर दिउँसो भुँइमा झरेपछिमात्र पकडमा आएको थियो । रबिन दाइने सोधे समाचार के गर्ने । मैले हाम्रा जिल्ला संवाददातालाइ भनिदिनोस , फोटो चाहि म पुगेर मेल गरौला भने । अजिंगरको प्रसंग सकिएपछि हामी आएको उदेशयमा लाग्यौ । त्यस क्षेत्रमा कोशी वारी गुँड रहेनछन् ।

बाटो बाटो फुच्चे पम्प


आज विराटनगरबाट सुनसरीको कोशीब्यारेजसम्म पुग्दा रमाइला दृश्य देख्न पाइयो । पशुपंछीका कुरा पछि गरौला । अहिले कुरा गरौ पेट्रोलियम पदार्थको । बाटोमा पम्पहरु बन्द थिए । सबैजसोले डिजल र पेट्रोल हाल्ने उपकरणलाइ लुगा लगाइदिएर 'छैन' को संकेत गरेका थिए ।
आयल निगमले बक्यौता तिर्न नसक्दा भारतीय आयल निगमले तेल दिएको छैन रे । घाटा १६ अर्बमाथिको भन्ने सुन्न पाइएको छ । बाटोमा गुडने गाडीको संख्या घटेको छ । सरकार बनेको छैन । भएको सरकारलाई तेल ल्याउने चासो भएको देखिएको होइन ।
राजमार्गको भण्टावारीमा एउटा साइकल मर्मत गर्ने पसलले मिनरल वाटरको बोटलमा पेट्रोल राखेको थियो । त्यहामात्र होइन पश्चिम कुसाहाको गाविस कार्यालयछेउ दुइ ठाउ र लौकहीमा पनि यस्तो देखियो । कसैले पेट्रोल प्रतिलिटर १२० भने कसैले ११० र कसैले १०० । दरभाउ मनमानी भएपनि ट्रक बसहरुले डिज भने भरिरहेको देखियो ।
हिजो विराटनगरका केही अखवारले एउटा विज्ञापन छापेका थिए । मोटरसाइकल विक्रेताहरुको सञ्जालले सार्वजनिक हितमा जारी गरेको भनिएको सो विज्ञापनमा जथाभावी कम गुणस्तरका तेल हालेमा गाडीमो आयु घटने मात्र होइन इन्जिन नै ब्रि्रने उल्लेख थियो ।
बाटाछेउ टेबुल टेबुलमा कारखानाको रक्सी वा खानेतेलजस्तो रंगमा राखिएका पेट्रोलका बोतलहरुभित्र कस्तो थियो गुणस्तर थाहा भएन । बाटामा ती फुच्चे पम्पहरुले भारतबाट लुकाइछपाइ ल्याएको हाकाहाकी बताए । अनि सुनाए । सारै राम्रो छ रे । ठूला पम्प बन्द भएपनि सानाले थालेको पसलमा आवश्यक परेकाले नहाली धर छैन । पन्पहरुमा कहिलेकाही गुणस्तर जाच गरिएको भन्दै समाचार नआउने होइनन । तर बाटामा सरकारी गाडी पनि तिनै फुच्चेको भरमा इन्धन लिइरहेका थिए । जय होस ।

Thursday, August 7, 2008

सताउने जोकर - द डार्क नाइट (चलचित्र समीक्षा)



पश्चिमेली मुलुकका ठुला सिनेमाघरमा सबैभन्दा राम्रो व्यापार गर्नेमा हलिवुड चलचित्र 'द डार्क नाइट' अहिले अघि छ । यसको कलेक्सनले 'स्पाइडरम्यान-३' को आम्दानीको रेकर्डलाई पनि पछि पारिदिएको छ । अनलाइनहरुका अनुसार 'ब्याटम्यान बिगिन्स' को दोस्रो भागको रुपमा आएको 'द र्डार्क नाइट' हलिवुडको इतिहासमै सबैभन्दा बढि व्यापार गर्ने चलचित्र हो ।
पेरिज हिल्टन डटकम नामक वेवसाइटका अनुसार यसले 'स्टार वार्स एपीसोड थ्री-रीभेन्ज अफ द सीथ' को १ करोड ८४ लाख डलर व्यवसायको रेकर्डलाई पनि पछि पारेको छ । क्रिश्चियन बेल र दिवंगत हीथ लेजरको प्रमुख भुमिका रहेको यो चलचित्रले यो सातासम्ममा ६ करोड ६४ लाख डलर कमाइसकेको छ । क्रिष्टोफर नोलनको निर्देशन रहेको यो चलचित्र कुनै कमिक्स पढेजस्तो रहस्य र रोमाञ्चले भरपुर छ ।
यसमा कमिक्समा हुनेजस्तो चमेरे पात्र ब्याटम्यान गथम सहरको सुरक्षा गर्दै अपराधको विपक्षमा लडेको देखाइएको छ । स्व. अभिनेता हीथ लेजरको यो अन्तिम चलचित्र हो । उनलाई यसमा जोकर बनेर खलपत्रको रुपमा अभिनय गरेको देख्न सकिन्छ ।
जोकर तर, खतरनाक अपराधी । जो आतंक फैलाएर त्यसमा आफ्नो सर्वोच्च स्थान बनाउन चाहन्छ । उसको निशाना बन्छन् ब्याटम्यान(क्रिश्चियन बेल) र उनका सहयोगी लेफ्टिनेन्ट जिम गर्डन (गैरी आल्डम्यान) र अटार्नी हार्वे डेंट । यो जोकर मान्छेलाइ हसाउदैन, आतंकित पार्छ र आफै खुशी हुन्छ । ब्याटम्यानलाई खराब चरित्रका भएको बताएर सहरवासीमाझ जोकर आफ्नो स्थान मजबुत पार्ने हतकण्डा अपनाउन तल्लिन हुन्छ ।
जोकर सानैमा बुबाबाट शोषणको सिकार भएको हो । यही कारण उ निर्दोष मानिसहरुबाट प्रतिशोध लिन खोज्छ । जोकरको षडयन्त्र भयानक हुन्छ । सहर बचाउन ब्याटम्यान, जिम र अटार्नीका लागि असम्भव हुने निर्णय लिनुपर्ने बाध्यता आर्इपर्छ । यसले उनको अस्तित्वमै खतरा आर्इपर्छ । यो लडाइमा ब्याटम्यानका साथी छन् , उनलाई सबैभन्दा बढि बुझने बटलर अल्फेड (काइकल केन) , उ भुमिगत चमेरे गुफाको रक्षक पनि हो ।
स्पेशल इफेक्ट्सको भरपुर उपयोग गरिएको यो चलचित्रमा नायक ब्याटम्यान, उनका सहयोगी र खलपत्र जोकरबीचको लडाइका दृश्यहरु रोमाञ्चपुर्ण छन् । स्पेशल इफेक्ट्सको उपयोग, लडाइ र रहस्यको प्रस्तुतीमा रमाइलो मान्ने किसोर र युवा दर्शकका लागि यो चलचित्रले आकषिर्त गरिरहेको छ ।

मृगौला झिकिएको दावी



विराटनगरमा बुधवार साँझ एउटा पत्रकार सम्मेलन गरि आफ्ना कुरा राख्दै तेह्रथुमको जिरीखिम्ती-६ का दुर्गा भट्टराइ । साथमा उनी छोरी अनिता ।
दुर्गाप्रसादका अनुसार महिनावारी रोकिने समस्या रहेकी अनितालाइ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जँचाउदा डाक्टरहरुले आन्द्रा बटारिएकाले तुरुन्त अपरेशन गर्न सल्लाह दिए । अपरेशन भयो । डाक्टरले बताए आन्द्रा ठीकै रहेछ , समस्या पाठेघरको थियो । सो फालियो । अब नानी हुँदैन ।
भर्खर विवाह भएकी २२ वर्षीया अनिताका श्रीमानले लगतै दोस्रो विहे गरे । सौता हालिएपछि छोरीलाइ विराटनगर ल्याएर दुर्गाप्रसादले पुनः जँचाए । पाठेघर ठीकै रहेको र दाँया मृगौला अल्ट्रासाउण्डले नदेखाएको रिपोर्ट दियो । अब उनीहरु त्यो अप्रेशन अघिको पुर्जी देखाउँदै भनिरहेछन् 'पहिलेको रिपोर्टले मृगौला देखाउँछ, पछिकोले देखाउँदैन । कसको दोष ?' भनिरहेका छन् ।
वीपी प्रतिष्ठान गल्ति मान्न तयार छैन । पीडित नियाउरो मुख लाएर अब कहाँ जाने भन्नेमा छन् ।

Wednesday, August 6, 2008

एउटा भेला


विराटनगरमा हिजो दिउँसो एउटा भेला सकियो । सात गाविसका बाल समूहसम्बद्ध भनिएका ७६ वालवालिकाहरुका लागि बाल भेला थियो । बाल समाज नामको ठूला मान्छेको संस्थाले वर्ल्ड भिजन इन्टरनेशनल नामको दातृको सहयोगमा गरेको कार्यक्रम थियो त्यो ।
भेला बालबालिकाको भनिएपनि ठूलाले बोलाए , ठूलाले आफ्ना कुरा सुनाए अनि ठूलाले नै घोषणापत्र बनाइदिइ पढन लगाए । एउटा यो कार्यक्रममात्र यस्तो होइन । दातृ संस्थाको रुची अनुसार चल्ने बानी साना ठूला समूह संस्था मात्र होइन , देश कै छ । लैङ्गकि विभेद, वन वातावरण, सामाजिक चेतना, स्वास्थ्य शिक्षा र जातीय चेतना । जे सम्झयो तिनै विषयमा दाताले बजेट दिएका छन् । कार्यक्रम भएको छ । के सधै अरुले नै उनीहरुकै रुचीमा दिने कार्यक्रममा चलिरहने । कहिलेसम्म ।
साना नानीहरुसँग उतर थिएन । कारण उनीहरु गाउँबाट आएका थिए । तीन दिनसम्म होटलमा बसेर अरु अरु ठाउँका साथी भेट्दा दिनहुँको रुटीनबाट केही फरक महसुस उनीहरुलाइ थियो । आयोजक मख्ख थिए । दाताले भने जस्तो भयो भनेर ।

विराटनगरको आत्मकथा


पाल्नुस् पाल्नुस् देशको दोस्रो ठूलो शहर विराटनगर
नेपालको औद्योगिक राजधानी भनाइएको शहर
केशलिया र सिंघिया खोला यसको पूर्व पश्चिम सीमा छ
उत्तरमा टंकिसिनुवारी, भारतको जोगबनी दक्षिणमा छ
यो छ रानी भेटिएको कुनै रानी
सीमा क्षेत्र छ तस्करीको छ तानातानी
यो मिल्सएरिया
प्रजातन्त्रको प्रथम बिगुल फुकिएको ठाउँ
तर अहिले बन्द मिलहरु रहेको बूढो गाउँ
यो जतुवा आंगनभरि कुनै कुवा
अचेल मधेस आन्दोलनको अगुवा
यो मधुमारा नेता बस्छन् सारा
तैपनि लिनुपर्छ सिफारिसको सहारा
यो चा"दी चौक बरगाछीको छिमेकी
हिंडदैछ खोज्दै चाँदनी लहुरो टेकी टेकी
यो बरगाछी गाछी छैन नाउँ राखे के हुन्छ
क्या थियो छहारी सडको वारिपारी सम्झदै रुन्छ
यो कञ्चनवारी जहाँ थियो केराघारी आँपको बाडी
अब छ त्यहाँ बाडीको सट्टा सडकभरि गाडी नै गाडी
यो पोखरिया कार्यालय जंगलको छ
पोखर त छैन कुनै राजनीतिको दंगल छ
यो तीनपैनीमा तीन होइन तेरह पैनी छ
चिया पसल छ बिंडी जर्दा खैनी छ
यो शंकरपुर छ यहा सोमबारे हाट छ
हाटका दिन पसलेहरु को ढाट छ
यो रंगेली रोडमा डाक्टर छन् असल असल
सिनेमा थियो जलजला बन्द भयो, औषधि फर्निचरका पसल
नगरको पूर्वी भागमा यो छ हाटखोला
हरियाली पार्क छ, कारागार छ, धान पाटाका गोला
यो तीनटोलियामा तीन होइन तेरह टोल छ
यो धर्मबाँध सबै जातजातिको फूलबारी छ
सीमासँग छ जोडिएको खुलेआम वरिपरी छ
यो सरौंचिया टोलमा श्रमिकहरुको निवास छ
मुस्लिमहरुको पूजाथलो मस्जिद खास छ
शान्ति चोकमा शान्तिको न देखिने घर छ
रात पर्दा अलिक चकचके चोरको डर छ
पुरानो खदराटोलमा खदरा पूरै मासिएको
गायत्री पाठशाला छ सुनौलो मन्दिर छ सरस्वतीको

शब्दका कालोबजारियालाई
विचारका अवैध कारोबारियालाई
पेशाको मर्यादा जलाउनेलाई
चाकरीको मादल बजाउनेलाई
भ्रमको खेती कमाउनेलाई
अरुको काँध समाउनेलाई
आत्मरतिमा रमाउनेलाई
गन्ध पाउदै गन्हाउनेलाई
कति राम्रो हुन्थ्यो
कोइली स्वयंले आफूबीच पसेको
कागलाई धपाउन पाए
तर लेख्नु पर्छछ यो क्षोभले
गर्दैन आँट गर्नु पर्नेले
भोटको लोभले

लक्ष्मण नेवटिया, विराटनगर-१२

गरिबको जिन्दगी
महँगीले डाडा काट्यो, काल भो जिन्दगी
जताततै लथालिङ्ग, बेहाल भो जिन्दगी
गाँस, बास, कपासको समस्याले सताउदा
पार पाउनै नसकिने, जाल भो जिन्दगी
उन्नति र प्रगतिका बाटाहरु नभेटिंदा
जुवा खेल्ने जुवाडेको खाल भो जिन्दगी
आईए, बीए, एमए पढ्यो जागिर केही पाइदैन
बामे र्सर्ने कछुवाको चाल भो जिन्दगी
सपना त धेरै थिए, हुरी आइ उडाइदिदा
प्वालैप्वालमा च्यातिएको पाल भो जिन्दगी ।।
माधव दाहाल 'मणि'

सालतमामी (लघुकथा)
-कृष्ण बजगाइँ
आर्थिक वर्षवित्ने तरखरमा थियो । सालतमामीले कर्मचारीहरु भ्याइनभ्याई थिए । नया" आर्थिक वर्षो स्वागत र पुरानोको विदाइका गफहरुले कार्यालयमा चर्चा पाइरहन्थ्यो । अब त नया आर्थिक वर्षसुरु हुन मात्र हप्तादिन बाकी हुदो हो । अचानक कार्यालय सहयोगीले नया र्टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भइहाल्यो- 'उसले र्टाई त्यो पनि नया †' त्यो कुरो सेलाउन नपाउदै खरदारले उसको र्टाईसग मिल्ने नया र्सट लगाएको देख्दा कुरो उनीतिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नया कोटमा देख्दा बाकी कर्मचारीहरु आर्श्चर्यचकित भए ।
झन् कोटसग ठ्याक्कै मिल्ने कपडाको पेन्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।
यो कुरो अब कर्मचारीहरुमा मात्र सीमित रहेन । चचाचुमा (चम्चागिरी, चाकडी र चुक्ली) चालू एक कर्मचारीले कार्यालय सहयोगीको र्टाईदेखि लेखापालको नयाँ पेन्टसम्मको कुरा फुलबुट्टा भनेर हाकिमलाई बेलीबिस्तार लगाए । यस्तो कुरा थाहा पाउदा हाकिमलाई उठ्नसम्मको रिस उठ्यो । हाकिमले मनमनै विचार गरे अब त केही गर्नैपर्छ । त्यसपछि उनले कर्मचारीहरुलाई एकैपटक आफ्नो कार्यकक्षमा बोलाए ।
लहरै लाम लागेर उभिएका ती कर्मचारहिरुको पहिरनमा हाकिमले एक नजर लगाए । आफनो नापको कपडा ती कर्मचारीहरुलाई कति पनि नसुहाए जस्तो लाग्यो हाकिमलाई । आफ्नो छवि यसरी ती कर्मचारीहरुमा र्सलक्क बा"डिएको देखेर उनी छक्क परे । सालतमामीले आफूलाई मात्र छोएको ठान्ने हाकिमलाई यो यथार्थले नछुने कुरै भएन । आफूलाई आउने उपहार, कोसेली तथा नगद बाडिदै आउँदा यति धेरै चुहावट हुदो रहेछ भन्ने कुरा थाहा पाउँदा हाकिम बडो दुःखी भए ।
साभार : शब्दाङ्कुर, काठमाडौं

Tuesday, August 5, 2008

बमलाई कुचो



उठ्न ढिलो भएछ । विहान करीव ६ :२० बजेको थियो । विमला (श्रीमाति)ले आतिदै उठाइन । भनिन् 'त्यहाँ कता बम पडक्यो रे, हामीले गहुँ पिसाउने मिलनेर ।' हतारिदै उठें । अनि विराटनगर-२१ को सुँडीबस्ती भनिने गल्लि पुगें । ठूलो भीड जम्मा थियो । घाइतेलाई भर्खरै अस्पताल पठाइसकेपछि प्रहरी मुचुल्का उठाउँदै थिए । त्यहाँ इप्रका रानीका इन्सपेक्टर रोशन आचार्यले बताए । चिया पसल्नीले कुचो लगाउँदा बम भेटिछन् । पड्क्यो , आमाछोरा घाइते । उनले डिब्बा देखाए । हरियो रंगको टिनको सानो डिब्बाका टुक्रा । निकै दिन भएको थियो फेरि बमबारे सुन्न पर्‍यो । डिब्बामा बेरिङमा हुने फलामे गेडा, काँचका टुक्रा आदि रहेछ ।
कुचो लगाउँदा कसले यहाँ डिब्बा राखेछ भनेर पसलवाली आशादेवीले उठाउँदा हातैमा विस्फोट भएको रहेछ । आमालाई दाया हातमा गम्भिर चोट र नजिकै रहेका १४ वर्षका छोराको जीउमा र्छरा लागेछ । बम कसले किन राख्यो खुलेन । विस्फोट भएको छाप्रोमा अन्य केही क्षति थिएन । शायद क्षति हुने केही नभएर पनि होला । ठूलो भीड विभिन्न अडकलका कुरा गरिरहेको थियो ।
घटनास्थलमा भेटिएका अहिलेका माओवादी वडा नेता आइतबहादुर तामाङले भने'अस्ति नै मेरो घरमा पनि यस्तै बम पड्केको हो, जसले यहाँ छोड्यो , त्यही होला ।' भीडको अडकल अनौठा अनौठा र सम्भावनाका कुरा थिए । जहाँ विस्फोट भएको र जो घाइते भएका छन , उनीहरुबाट कसैको स्वार्थसिद्धि हुने केही थिएन । अनि मलाइ लाग्यो , राती यहाँबाट कुनै समूह कतै लागेको हुनुपर्छ । तिनीहरुले यहाँ बसेर झोला सम्याए । एउटा यहाँ खसेको होला । प्रहरीले सम्भावनाका कुरा केही गरेन ।
सीमाबाट करीव एककिलोमिटर वरको गाउँ । पारिबाट आउनेको जमात यस गल्लीमा पसे कसैले खोज्दैन । सम्भावनाका कुरा धेरै हुनसक्लान । घाइते नभेटेपछि म त्यहाँ १० मिनेटभन्दा बढि बसिन । फिर्दा फिर्दै मैले रेडियोको न्युजरुममा फोन गरें । विहान ६:३० को समाचार जारी रहेछ । मोवाइलबाट टिपाएर घर पुग्दा पुग्दै सुन्न पाइयो । आएर टेलिभिजनलाई पनि फोन गरें । उताबाट उतर आयो 'ए के टिपाउनु हुन्छ, मेल हालिदनुस् ।' म शायद त्यसै गर्थे तर, घरको पीटू कम्प्युटर बिग्रिएर थन्किएको छ महिना भएको छ । टेबुलमा मोनिटरमात्र मलाइ जिस्क्याउन बसेको छ । अर्को सीपीयु ल्याउन सुकोले साइत जुराएको छैन । जे होस कराएरै भएपनि टेलिभिजनका साथीलाई रिडर हाल्नोस् भन्दै टिपाए । सात बजेको बुलेटिन हेरें । त्यो समाचार परेजस्तो लागेन । नित्यकर्म लगतै म अस्पताल हान्निएँ । कोशीअञ्चल अस्पतालले धरानको वीपी लानु भनेकाले घाइते गइसकेको जानकारी त्यहाँको प्रहरी बिटका जवानहरुले दिए । घाइते भेटिएन ।

Sunday, August 3, 2008

पटना परिक्रमा



गएका शुक्रवार र शनिवार भारतको पटना सहर घुम्ने मौका मिल्यो । विराटनगरबाट करीव ६ सय किलोमिटर दक्षिणमा पर्ने यो सहर विहारको राजधानी हो । जोगबनी हुदै बसबाट जाँदा करीव ११ घण्टा लाग्ने रहेछ । २५ किलोमिटरमा फैलिएको यो सहर गंगा नदीको तटमा रहेछ ।
हाम्रा लागि भाषा, बानी र खान्की फरक पर्ने यहा अहिले निकै गर्मी रहेछ । र, यो गर्मीले गर्दा बजार दिउसो २ बजेबाट सुरु भएर राती ११ बजेसम्म चल्ने रहेछ । सवारी चाप, ध्वनी प्रदुषण काठमाडौं भन्दा फरक लागेन । भारतमा निजी दुरसञ्चार कम्पनीहरुको जगजगी यहाँका बासिन्दाको हात हातमा हेरे पुग्ने रहेछ । जसको हातमा पनि मोवाइल । अनि टेम्पोको भीड ।
यहाँ एशियाकै लामोमध्येको दोस्रो महात्मा गाँधी सेतु भनिने पुल रहेछ । १९८२ देखि उपयोग सुरु भएको गंगा नदि माथिको यो पुल करीव सात किलोमिटर लामो रहेछ । स्थानीयले सडक पुल भन्ने यहाँ पुलको ५ किलोमिटर भाग गंगा नदिमाथि रहेछ । आमसभा र खेलकूद आयोजनाका लागि गाँधी मैदान रहेछ । अनि कारगिलमा मारिएका सैनिकको सम्झनामा पार्क बनाइएको रहेछ । १० वटा युनिट भएको रेलवे प्लेटफार्म । त्यहाँ नजिकको हनुमान मन्दिर । गंगा तटको काली मन्दिर । घुमेर हेर्ने ठाँउ धेरै थिए ।
हामी घुम्न पुगेकाले घुम्यौं । त्यहाँको एउटा ननभेज फास्टफुड खोज्दै पस्दा नेपाली युवा भेटिएपछि अति आनन्द लाग्यो । त्यसो त हिन्दी, मैथिली र भोजपुरीमा कुरा गर्न हामीलाई समस्या परेको होइन । उनीहरुसँग नेपालीमै कुरा गर्न पाउँदाको हर्ष बेग्लै हुने रहेछ । सिन्धुलीको भिमान नजिकैबाट कामको खोजीमा आएका सात जना एउटै होटलमा काम गर्ने रहेछन् । पहिलो दिन खानेकुरा मँगाएर सबै सिध्याउन गाह्रो परेको हामीलाई उनीहरुले तरिका बताएपछि दोस्रो छाक सादा भात र चिकन करीमै टारियो ।
नेपालमा जस्तो जतासुकै मदिरा खान पाइने अवस्था यहाँ रहेनछ । निश्चित पसलबाट खरिद गर्ने अनि कोठामा लगेर खाने ।
अहिले काम आइलाग्यो । म फेरि लेख्छु । अहिले यति नै ।