Sunday, August 3, 2008

पटना परिक्रमा



गएका शुक्रबार र शनिबार भारतको पटना सहर घुम्ने मौका मिल्यो। विराटनगरबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने यो सहर विहारको राजधानी हो। जोगबनी हुँदै बसबाट जाँदा लगभग ११ घण्टाको यात्रा। २५ किलोमिटरमा फैलिएको यो सहर गंगा नदीको तटमा रहेछ।

हाम्रा लागि भाषा, बानी र खान्की फरक पर्ने यहाँ अहिले निकै गर्मी रहेछ। र, यो गर्मीले गर्दा बजार दिउँसो २ बजेबाट सुरु भएर राती ११ बजेसम्म चल्ने रहेछ। सवारी चाप, ध्वनि प्रदूषण काठमाडौं भन्दा फरक लागेन। भारतमा निजी दुरसञ्चार कम्पनीहरुको जगजगी यहाँका बासिन्दाको हात हातमा हेरे पुग्ने रहेछ। जसको हातमा पनि मोबाइल। अनि टेम्पो-ट्याक्सीको भीड।

यहाँ एसियाकै लामोमध्येको दोस्रो महात्मा गाँधी सेतु भनिने पुल रहेछ। १९८२ देखि उपयोग सुरु भएको गंगा नदि माथिको यो पुल करिब सात किलोमिटर लामो रहेछ। स्थानीयले सडक पुल भन्ने यहाँ पुलको ५ किलोमिटर भाग गंगा नदिमाथि रहेछ। आमसभा र खेलकूद आयोजनाका लागि गाँधी मैदान रहेछ। अनि कारगिलमा मारिएका सैनिकको सम्झनामा पार्क बनाइएको रहेछ। १० वटा युनिट भएको रेलवे प्लेटफार्म। त्यहाँ नजिकको हनुमान मन्दिर। गंगा तटको काली मन्दिर। घुमेर हेर्ने ठाउँ धेरै थिए।

हामी घुम्न पुगेकाले घुम्यौं। त्यहाँको एउटा ननभेज फास्टफुड खोज्दै पस्दा नेपाली युवा भेटिएपछि अति आनन्द लाग्यो। त्यसो त हिन्दी, मैथिली र भोजपुरीमा कुरा गर्न हामीलाई समस्या परेको होइन। उनीहरुसँग नेपालीमै कुरा गर्न पाउँदाको हर्ष बेग्लै हुने रहेछ। सिन्धुलीको भिमान नजिकैबाट कामको खोजीमा आएका सात जना एउटै होटलमा काम गर्ने रहेछन्। पहिलो दिन खानेकुरा मगाएर सबै सिध्याउन गाह्रो परेको हामीलाई उनीहरुले तरिका बताएपछि दोस्रो छाक सादा भात र चिकन करीमै टारियो।

रातिको एउटा छाक होटलको खाना नखाने, बाटाबाट केही ल्याएर खाने सल्लाह भयो। खासमा बन्धु पोखरेल भाइले दुई जनाका लागि 'दुइटा एग रोल मात्रै लैजाउँ, हामीले त्यही पनि पुरा खाइसक्न गाह्रो पर्छ' भनेकै हुन्। मैले नमानेर चावटा बनाउन लगाएँ। खासमा पातलो पातलो, हाम्रो सानो सानो नाङ्लो जत्रो एड रोल एक जनाले दुइटा कसरी नसकम्ला भन्ने थियो मलाई। तर, चना-चपपटे, ड्राइ खान्कीहरुका साथ चारवटा एग रोल हाम्रा लागि धेरै भयो। दुइटा खेर नै गयो। यो रमाइलो सिकाइ पनि भएको थियो।

साँझ सडकमा निस्कँदा बाटाका खानेकुरा बडा रमाइला। भारतीय नमकिन परिकारहरुका कुरा बेग्लै छन्। त्यसमाथि छिटो छिटो हात चलाउँदै ठेलामा खानेकुरा बेच्नेका कुरा, काम गराए र पसक्ने स्वाद बडो गज्जब ! मिटो स्वाद, रमाइला संवाद। मदिरा सेवनकर्ताका लागि भने यहाँ नेपालमा जस्तो जतासुकै उपलब्ध रहेनछ। किनबेच र सेवन नियन्त्रित। नपाइने चाहिँ होइन रहेछ। सेवनकर्ताले निश्चित पसल र समयमा मात्रै खरिद गर्न पाइने, कतै सुरक्षित ठाउँमा लगेर खाने।

बिहार हाम्रा लागि नौलो नहुने। कारण, हामी तराईमा उस्तै भाषाभेषका बीचमा छौँ। बिहारका जनता परिश्रमी छन् भन्ने सहरका विभिन्न प्रकारका व्यवसाय हेर्दा थाहा लाग्ने। सरसफाइमा भने उति ध्यान पुगेको नदेखिने रैछ। सरकारी संरचनाहरुमा सुरक्षा र सफाइमा विशेष ध्यान दिएको देख्न पाइने रहेछ। 

अहिले एउटा काम आइलाग्यो। म फेरि लेख्छु। अहिले यति नै।

No comments: