Friday, August 8, 2008

घरभित्र अजिंगर भेटिँदा

































आज चार जनाको टोली थियो, स्नातकोतर क्याम्पसका सरहरु डा. भरतराज सुब्वा, केपी लिम्बू , फोटोपत्रकार मित्र यात्रा थुलुङ र म । हामी सुनसरीको भादगाउँ सिनवारी गाविसमा पर्ने झुम्का बजारबाट उतर सिंगियाको लालपुर, मानपुर र रामधुनी हुँदै प्रकाशपुर पुग्यौँ । 

त्यहाँ हामी भुँडीफोर गरुड (लेसर एडजुटेन्ट स्टोर्क)को गुँडको खोजीमा पुगेका थियौ । बाटो देखेकालाई सोध्दै जाने सल्लाहमा हामी स्थानीय रविन घिमिरेको घर पुग्यौ ।

रविन दाइ भेटिनुभएन । भाउजुले सुनाउनुभयो - त्यहाँ दाहाल थरमा गाउँलेको घरमा अजिंगर निस्किएछ, अनि दाइ त्यतै । 

हामी पनि खोज्दै गयौं । मेला लागेजस्तो बाटैबाट ठूलो भीड थियो । भर्खरै त्यहाँ स्थापना भएको सशस्त्र प्रहरीको बेस क्यापका एक जना जवान भीड नियन्त्रण गर्दै थिए । भित्र छिरियो । कोशीटप्पु मध्यवर्ती क्षेत्रमा पर्ने सो गाउँको ६ न. वडाका मदन दाहालको घरमा तौलिया बोकेर कोठाभित्र खेदाखेद थियो ।

एकैछिनमा खेदाखेद सकियो । आरक्षका कर्मचारीले बाहिर ल्याए अजिंगर । सात फिट लम्बाइको इण्डियन रक पाइथन भनिने सो अजिंगर करिब एक वर्षको हुनुपर्ने अडकल काटियो । उनीहरुले बोरामा हाले र लगे । सिनेमा सकियो ।

टप्पु क्षेत्रमा अजिंगर भेटिनु नौलो थिएन । तर, दाहाल परिवारले काठे घरको चोटामा विहान देखेको अजिंगर दिउँसो भुँइमा झरेपछिमात्र पकडमा आएको थियो । 

रबिन दाईले सोधे - 'समाचार के गर्ने ?' मैले 'हाम्रा जिल्ला संवाददातालाई भनिदिनोस, फोटो चाहिँ म पुगेर मेल गरौँला' भने । 

अजिंगरको प्रसंग सकिएपछि हामी आएको उदेश्यमा लाग्यौँ । त्यस क्षेत्रमा कोशी वारि लेसरका गुँड रहेनछन् ।

No comments: