Saturday, May 14, 2011

देवकुमारी थापा - सम्झनामा देउकी दिदी


छात्रावस्थामा 'भविष्य निर्माण' भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ। र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ। देउकी दी मैले काटेको लखभन्दा पनि धेर स्निग्ध एवं स्वच्छ हुनुहुन्छ भन्ने छनक 'देव निवास' मा खुट्टा टेक्नासाथ पाइहालिन्छ - चारैतिर पर्खालिएको कम्पाउण्ड, तुलफूल र फूलपातले सिङारिएको परिवेश, मूल ढोकाको नजीकै दलान अनि खुडकिलामा थप-थप राखिएका फूलका गमलाहरू। तर कोठाभित्र पस्नासाथ भित्तामा अति नै भव्य पाराले झुण्डयाइएको तरबार देख्नासाथ तपाइँ हामी झसङ्गनि सक्छौँ - यो के उदेक !
 
फूलको बीचमा तरवार कसरी देखिदै छ। हाम्रो यो प्राश्निकताले दीर्घजीवि बन्ने मौका पाउँदैन। जवाफ यस्तो पाउनेछ - त्यो त भिनाजुको पो, मेरो कहाँ हो र। उहाँले दोस्रो विश्वयुद्धमा जापानसँग लडदा ट्रफी पाएको । यस्तै अरू दुइटा पनि थिए। तर ती चोरिए।

माथिका  १३८ शब्द देवकुमारी थापाका कथा संग्रह 'टपरी' का लागि भाषाशास्त्री बालकृष्ण पोखरेलले लेखेको भूमिकाका मध्यबाट लिइएका हुन्। २०२७ सालमा प्रकाशित टपरीमा २५ वटा कथा छन्। हिमाली प्रकाशन विराटनगरले भारत, वाराणसीको श्री हरि प्रेसमा मुद्रण गरेको यो कृति त्यसबेला ५ हजार १ सय प्रति छापिएको र मूल्य २ रूपैयाँ ७५ पैसा उल्लेख छ।
 
भाषाशास्त्री पोखरेलले पुस्तकको भूमिकामा कृति खंगाल्ने मात्र गरेका छैनन्, देवकुमारीको सरल जीवन आरोह-अवरोहको चर्चा गरेका छन्। साहित्यिक मनकी धनी एक सैनिककी पत्नी थिइन्। उनका श्रीमान बबरसिंह थापा भारतीय सेनामा थिए। भारत-चीन युद्धका क्रममा सम्बत २०१९ मा नेफा फ्र्न्टबाट पक्राउ परे। अन्य गोर्खाली जवानसँगै ७ महिना चीनको थुनामा परे। पेकिङ, ल्हासा र सांघाइको यात्रापछि मुक्त उनले २०२१ मा सेवाबाट अवकाश पाए। त्यसपछि देवकुमारी र बबरको जीवन यात्रा थालनी भयो। देवकुमारीको साहित्यक सक्रियता २००३ सालमा 'गोर्खा' नामक पत्रिकामा 'पतन' कथा प्रकाशनपछि सुरू भएको थियो।
०००
'मेरी श्रीमती र देवकुमारी दिदीको माइती खर्साङ एकै गाउँ थियो। त्यसैले पनि दिदी यहाँ आएपछि हाम्रो नजिकको सम्बन्ध भयो। दिदीको घर यस्तो ठाउँ थियो, जहाँ म दसैंको टीका लगाउँथे। गोडामा ढोग्थें। एकपटक मैले नचिताएको समस्या भएको थियो। जसमा दिदीले मलाइ गर्नु भएको सहयोगले अझै अनुगृहीत छु। दसैंमा अब मेरो जाने ठाउँ पनि रहेन,' विराटनगर-१७ स्थित देव निवासमा गत सोमबार भेटिएका कवि कृष्णभूषण बलले यसरी बताए। 

उनी राष्ट्र बैंकमा जागिरे थिए। २०३९ सालतिर आकाशवाणीमा एउटा सन्देश आयो। 'बल नक्शलवादी हो। उसको बैंक लुटने योजना छ,' उनले भने, 'म सामान्य जागिरे। रहर र रूचिले कवि। मलाइ तत्काल काठमाडौं बोलाइयो। किन, कसरी, कहिले मैले केही बुझन समय नै मिलेन।' पञ्चायती शासनको बेला थियो। विराटनगरस्थित राष्ट्र बैंकको क्षेत्रीय कार्यालयबाट केन्द्र बोलाइएका बलका विषयमा निराधार आरोपको छानबिनमा देवकुमारीले पहल गरिन। आरोप पुष्टि भएन, न त त्यस्तो आरोप लगाउनेको पहिचान हुन सक्यो। 

दुई वर्षपछि पुनः विराटनगर फिरेको सम्झँदै उनले भने, 'त्यसबेला अञ्चलाधीश र सीडीओ अनि अनुसन्धानको बोलवाला थियो। उनीहरूबाट त्यस्तो आरोप आएको होइन रहेछ। दिदीले सबै निकायमा सोध्न र खोजबिनमा सघाउनुभयो। म नखाएको विष लागेकाले केही निराश अनि हतास हुँदा हिम्मत दिनुभयो।' देवकुमारीका लेखाइ मनोविज्ञानमा आधारित प्रेरक र फरक भएजस्तै जीवनशैली पनि रहेको उनी बताउँछन्। 
०००
विस. १९८५ खर्साङका जन्मिएकी देवकुमारी हस्तबहादुर कटुवाल र रमादेवीकी सन्तान थिइन। ३७ वर्षको उमेरमा २०२२ मा नेपाल आएकी उनले साहित्यमा आफ्नो नाउँका पछि थर 'सिंह' लेख्दै आएकी थिइन। मेजर  थापासँग विवाहपछि उनले थर श्रीमानकै लेख्न थालिन्। २००९ देखि ०५१ सम्मका ४२ वर्षमा १५ कृति प्रकाशित छन्। अधिकांश मनोविज्ञानमा आधारित कथा छन्। धेरै बाल र प्रौढ कथा संग्रह छन्।
 
समालोचक दधिराज सुवेदीले भने, 'महाकवि देवकोटा, सूर्यविक्रम ज्ञवाली, बालकृष्ण सम, लेखनाथ पौडयाल लगायतको संगत पाएकी देवकुमारीलाई विराटनगर बसेकोमा चुक-चुक थियो।' साहित्यिक पत्रिकाका लागि दुई दसकअघि गरेको अन्तर्वार्ताको समय सम्झँदै उनले भने, 'धेरै साहित्यकारले दार्जिलिङबाट आएर सोझै काठमाडौंलाई थलो बनाए। उचाइ पाए। उनी विराटनगरमा बसिन। यहाँ बसेको मान्छे छायामा परेजस्तो हुँदो रहेछ भन्ने उनलाई लागेको रहेछ।' 
 
सानो जमात भएर पनि विराटनगरलाई उर्वर बनाउन उनले योगदान गरिन भन्दा सुवेदी थाक्दैनन्। भन्छन्, 'राष्ट्रियताको भावना उनमा थियो। त्यही भावनाले उनलाई नेपाल बसाइ सहज बनायो।' 
०००
'साह्रै नियममा चल्ने, टाइमटेबल पुरा मेन्टेन गर्नैपर्ने,' देवकुमारीलाई सम्झदै उनकी छोरीजस्ती सहयोगी मालती राई भन्छिन्, 'मलाई बुवासँग त्यति डर लाग्दैनथ्यो, मुमासँग लाग्थ्यो।' देवकुमारी र बबरसिंहका सन्तान भएनन्। उनीहरूले काठमाडौंबाट ५ वर्षकी पूजालाई ल्याएर धर्मपुत्री बनाए। ०४१ सालदेखि मालती पनि सहयोगीहुँदै छोरीजस्तै भइन्। 

सफा चिटिक्क घर, फूलवारी, कुकुर पाल्नुपर्ने, खाजा-खाना र गीता पाठको एकनाशको समय बिताउनुपर्ने दिनचर्या देवकुमारीको थियो। पूजा थापा श्रेष्ठ भन्छिन्, 'खाँदाखाँदै निकैबेर चुप लाग्नुभयो, केही बोल्नुभएन भने सम्झनुपर्थ्यो मुमाको मनमा केही खेलिरहेको छ। उहाँ त्यसपछि माथिल्लो तला उक्लेर लेख्न बस्नुहुन्थ्यो।' 

भेटनेहरू आउँदा जस्तो पायो त्यस्तै लुगामा देखा नपर्ने, सुकिला सफा र सालिन पोसाक लगाएर मात्र भेटने बानी थियो। नेपालीसँगै अंग्रेजी र बंगाली साहित्य मन रमाउँथिन्। 'एक जना श्रेष्ठ थरकी दुःख पाएकी दिदीलाई टेलरिङको काम लगाइदिनु भएको थियो। उहाँ एक दिन फर्सीको गट्टो बोकेर आउनु भएछ,' मालती भन्छिन् 'मलाइ गट्टा मिठो लाग्थ्यो। नसोधी राख्न पनि भएन। तर, राखियो। पछि मुमालाई भनेँ रिसाएर फर्काइदेउ भन्नुभयो।' आफू खाली खुट्टा कुददै एक किलोमिटर टाढा बाटामा फर्काउन गएको उनले बताइन। भनिन्, 'त्यसबेला मुमाले भन्नुभएको थियो - यो आइमाइहरूको यस्तो बानी मलाइ मन पर्दैन। बारीमा फलेको कुरा घरपरिवारलाई तरकारी खुवाउनु नि। किन कतै लगेर बाँडनु ?' देवकुमारी कसैको केही पनि सितैँ लिन हुँदैन भन्ने बानी भएकी हुनाले परिवारमा सबैले उनलाई कडा स्वभावको मान्थे।
 
२०२८ सालसम्म कक्षा ९ को नेपाली पुस्तकमा राखिएको 'भविष्य निर्माण' कथाबाट प्रभावित मीरा क्षेत्री भन्छिन्, 'फुपुले लेख्नुभएको त्यो कथाबाट म धेरै प्रभावित थिएँ। लाग्थ्यो, यो साँचो हुनुपर्छ। यसका पात्र कतै हुनैपर्छ। शायद कथाकारको यही प्रतिभा हो।' भेटेपछि अझ धेरै प्रभावित भएको उनी सुनाउँछिन्। 
०००
०४७ मा बबरसिंहको निधन भयो। श्रीमानको निधनपछि उनका दुई कृति प्रकाशित छन्। उनलाई ०५५ कात्तिक ११ गते विराटनगरमा नागरिक अभिनन्दन गरिएको थियो। बाल मन्दिर विराटनगरमा अध्यक्ष भएर ३० वर्ष बिताएकी उनी ४/५ वर्षयता कमैमात्र सार्वजनिक समारोहमा देखा पर्न थालेकी थिइन। उनलाई पछिल्ला केही वर्षयता घाटीका हाड खिइने रोगले पनि च्यापेको थियो। दिवंगत पतिको नाउँमा उनले स्थापना गरेको  बबरसिंह सेवा गुठीले साहित्यकर्मीलाई पुरस्कृत गर्दै लेखन निरन्तरताका लागि हौसला बढाउँदै आएको छ। ८४ वर्षको उमेरमा २२ वैशाख बिहीबार साँझ विराटनगर-१७ स्थित निवासमा दिवंगत देवकुमारीलाई कसरी सम्झने भन्ने बारे अहिले साहित्यकर्मी छलफलमा छन्। 

'हामी स्मृत्तिग्रन्थ निकाल्नुपर्छ भन्ने निष्कर्षमा छौँ,' सेवा गुठीका अध्यक्ष कविराज न्यौपानेले भने, 'उहाँलाई सम्झिरहने यो दरिलो माध्यम हुनसक्छ।' 

०४९ मा प्रकाशित भएको प्रमोद प्रधानद्वारा सम्पादित आफ्नो लेख, निबन्ध र संस्मरणहरूको संग्रह 'क्षण, विचार र स्मृतिहरू' को भित्री पानामा समर्पण भनेर देवकुमारीले लेखेकी छन् - 
मृत्युले छुट्याए पनि  सम्झना बाँचिरहन्छ
तिमीलाई बिदा दिए पनि फेरि भेट्ने छौं, विश्वास छ ।।
***
(२०६८/०१/३१ कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करण पृष्ठमा प्रकाशित)

1 comment:

Aakar said...

यता धुलिखेल मा त, काठमाडौँ संस्करण मात्र पढ्न पाइयो । लौ, ब्लगमा पढ्न पाइयो, उता को कुरो । :)