स्तनधारी जलचर डल्फीन नेपालमा पाइने मुख्य दुइ नदि कर्णाली र कोशी हुन् । दुवै बगेर भारत पुग्छन् । नदिको धार छिचोल्दै नेपालतिर पनि आउँछन् । भारतमा अति संरक्षितको सूचीमा राखिएको गंगेटिक डल्फीन पाइने मुख्य नदि गंगा हो । गंगामा धेरै पाइएकाले नै यसलाई गंगेटिक भनिएको पनि हो ।
नदि उर्लेका बेला एकपटक मोरङको लोहन्द्रामा यो जलचर देखियो । लोहन्द्रा विराटनगरबाट ६/७ किलेमिटर पूर्वमा रंगेली जाने बाटोमा पर्छ । पहिलो दिन डल्फीन देखिएको खबर आएपनि पत्यार भएन । त्यसको करीब ५ दिनपछि मृत भेटेर प्रहरीले लिएर आयो । भारतको गंगा नदिहुँदै छालमा आइपुगेको त्यो जलचरलाई तीखो सूइरोजस्तो हतियारले हानेर घाइते बनाइएको रहेछ । त्यही तोडले मरेको हुनुपर्छ । मार्ने समातिएनन् । मरेकालाई कोशी टप्पु वन्यजन्तु आरक्षले छाला झिकेर भुस भरेर राख्छ भन्दै प्रहरीले सुनाए । कता लगियो , थाहा पत्तो भएन । मृत भएपनि एउटा भेटिएपछि लोहन्द्रामा पनि डल्फीन देखिनेमा दुइ मत रहेन ।
घटनाको दोस्रो दिन एकजना मित्रले फोनमा भने 'लोहन्द्रामा फेरि डल्फीन देखिएछ । एक जोडी आएका छन् रे ।' यसपटक छाड्ने कुरै थिएन । तस्बिर लिन झटपट कुदियो । कोशीमा देखिने डल्फीन खिच्न गरेको धेरै प्रयास सफल भएको थिएन । कारण, हामीकहाँ पाइने गंगेटिक प्रजाति कालो-सेतो रंगको, पानीमा कलाबाजी खाँदै पानी माथि उप|mने हुँदैन । यसलाई कसैले कृत्रिम जलाशयमा राखेर अभ्यासहरू सिकाएको प्रजाति पनि यो होइन । हामीकहाँ छन् भनिएका यी जलचर बढिमा दुइ/तीन सेकेण्ड पानीमाथि पुलुक्क गर्छ । भित्रै हराउँछ । बेला-बेला ढाड र पुच्छर देखाउँछ । सटर स्पीड हजारमा राखेर खिच्दा पनि सही समय क्लिक गर्न हम्मे पर्छ । कोशीमा एकपटक कसैगरि यो जलचरका कलाबाजी खिच्ने झवाँक चल्यो । ०५७ चैतको दोस्रो साता थियो त्यो । भीभीटारको एनालग क्यामेराबाट एउटा पुरा रोल सिध्याएपछि बल्ल थाहा भयो, यस्ता तस्बिर लिन ४०० आइएसओका फिल्म चयन गर्नुपर्छ । अनि ट्राइपोर्टको सहारा लिएर सजिलो ठाउँमा बसेपछि सटर स्पीड सकेजति बढि चलाउनुपर्छ । जे होस, त्यो बेला सफलता हात लागेन ।
तर, लोहन्द्राको चौडाइ कोशी र कर्णालीजस्तो छैन । यहाँ तस्बिर लिन असजिलो नहोला भनेर त्यसतर्फ लागियो । मोटरसाइकल एकजना गाउँलेको घरमा राखेर सिसवनीमा खोला किनारैकिनार डेढ घण्टा हिडदा पनि कतै संकेतसम्म देखिएन । निराशा हात लाग्यो । फिर्दै गर्दा गोठाला गएका केही भुरा खोलामा नुहाउदै गरेका भेटिए । उनीहरूले डल्फीन जोडी केही दिनअघि देखेको बताए । पछि फेरि यस क्षेत्रमा त्यो जलचरले चाल नगरेको दावीमात्र उनीहरूले गरेनन् । आफुहरूको तस्बिर पनि खिचिदिन आग्रह गरे । बालसुलभ आग्रह नकार्न पनि मिलेन । उनीहरूमध्ये केही माटो दलेर नुहाउदै थिए । केही फोटो खिच्ने पोजमा तयार भए । समान्यत गाउँहरू पसेर फोटो खिच्दा मान्छे भन्छन् 'हामीले पनि फोटो पाउनुपर्छ । यो फोटो बेच्ने हो ? कति डलरमा बिक्छ होला ? किन खिच्नुहुन्छ नखिच्नुस खिचेर के फाइदा' आदि आदि ।' उनीहरूले सोधेनन् 'फोटो कहाँ जान्छ ? के गर्ने ?' खिचाउन पाउँदा उनीहरूको बालसुलभ हर्ष बेग्लै प्रकारको थियो । समान्यत तस्बिर खिच्नेभन्दा पृथक पोजमा भेटिएका उनीहरूका ०६५ असार १० का यी तस्बिरले मलाइ जहिल्यै डल्फीन खोजीको त्यो दिन सम्झाउँछ ।
(कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करण पृष्ठमा ०६८ बैशाख २४ मा प्रकाशित)
No comments:
Post a Comment