Tuesday, June 1, 2010

बगैंचामा चिरबिर

गुलेली बोकेका बालकहरु देखिए भने कमलबहादुर बानिया उनीहरुलाई सम्झाउँछन् । भन्छन् 'चरा मार्नु हुदैन । हेर त , कति मजाले चिरबिर गर्छन् । हाम्रो केही बिगार्ने होइनन् ।' विराटनगर-१९ घर भएका उनलाई कसैले पनि चरा नमारे हुन्थ्यो जस्तो लाग्छ । भन्छन् 'प्रकृतिले कति राम्रा स्वर र रुपरंग दिएका पंछी छन् । उनीहरुलाई हेरिरहे मान्छेको मन नै फुरुङ्ग हुन्छ ।' उनले भनेजस्तै छन् हाम्रा वरपर देखिने चराहरु ।  उनीहरुको चिरिबिर आवाजले हामी बिहान भएछ भन्ने थाहा पाउछौ । अझ घरछेउमा बगैचा छ भने त्यहाँका बोटबिरुवामा विहान निकै चरा भेला हुन्छन् । र, तिनीहरुको चिरबिरले बिहान भयो है भन्ने जनाउ दिन्छन् । उनीहरु बोटबिरुवाका पात , डाठ र जमिन चहार्दै उड्दै खानाको खोजी गरिरहेका हुन्छन् । 
कोइली 'को हो को हो' भन्छ । उसको प्रश्नको जवाफ अरु चराले दिएजस्तो देखिदैन । अरु चरा चिरबिर गर्छन् । चराका आकारप्रकार र प्रजाति अनुसार रुपरंगसगै आवाज भिन्न-भिन्न हुन्छ । कुनै चरा एक्लै, कुनै जोडी र कतिलाई समूहमा देख्न सकिन्छ । धेरै चराका आवाज मोहक हुन्छन् । तर, कागले 'काग काग' भन्दा उसको स्वर हामीलाई कर्कस लाग्छ । 
हाम्रा छेउछाउका बगैचा तथा रुखहरुमा धेरैले सजिलै देख्न सक्ने चरामा भगेरा, रुप्पी, फिस्टा, जुरेली, धोबिनी, ढोडे कोइलीलगायत धेरै छन् । यिनमा सबैभन्दा सानो चरो फिस्टो यताउता गरिरहन्छ  । सानो भैकन मिठो आवाज निकालेर बोटविरुवा वा झाडीमा उसले कीराफट्याङ्ग्रा खोजी रहेको हुन्छ । फिस्टालाई धेरैपल्ट जोडी-जोडी डुल्दै गरेको देख्न सकिन्छ । 
चरा धेरै खालका हुन्छन् । धेरैले कीरा-फट्याङ्ग्रा खान्छन् । कतिले फुलको रसमात्र चुस्छन् । कतिले फल खान्छन् । चराले आफ्नै प्रकारले बगैचाको रेखदेख गरिरहेका हुन्छन् । उनीहरुले बगैचामा पात , फुल र फल खाने कीरालाई आफ्नो आहारा बनाएर हामीलाई थाहै नपाइने गरि सघाउँछन् । फुलको रस चुस्ने चराले फल फल्नका लागि फुलबाट हुने परागसेचन प्रक्रियामा विरुवालाई सहयोग गरिरहेका हुन्छन् । रस चुस्नेमा बुंगे चरा अघि-अघि रहन्छ । यसको साधारण अंग्रेजी नाम सनबर्ड हो । नेपालमा सात खालका बुंगे चरा पाइन्छन् । देख्ता फिस्टा जस्तै लाग्ने यो चरा अलि लामो, रंगबिरंगी, लामो वा छोटा पुच्छर भएको देखिन्छ । यसको चुचो फिस्टाको भन्दा थोरै लामो र हँसिया आकारमा केही घुम्रिएको र तीखो हुन्छ । 
फल खाने चराले विरुवाको सख्या बढाउन मद्दत गर्छन् । उनीहरुको दिसामा हुने बीउ सजिलै विरुवा भएर उम्रिएको देख्न सकिन्छ । फल खाने चरामा जुरेली, कुत्रुके, कोकले,काग र रुपीलगायत एक दर्जनभन्दा धेरै छन् । काग र रुपीले सडेगलेका फोहर पनि खाएर वातावरण सफा राख्न मद्दत गर्छन् । 
फल, फूल र पानी भएका बगैचा भए चराले मन पराउछन् । धेरैलाई वर्षभरि नै जहिले हेरेपनि देख्न सकिन्छ भने कतिपय घुमन्ते पनि हुन्छन् । घुमन्ते पनि रैथाने र फिरन्ते गरि दुइ प्रकारका हुन्छन् । फिरन्तेलाई कहिलेकाही मात्र देख्न सकिन्छ । फिरन्तेमा सुनचरी, पिट्ठा, जुरे कोइली, कुक्कु कोइली, सुगा, सुसेली चरी, राजचरी,चाँचर,झयाप्सी र फ्लाइ-क्याचरलगायत धेरै छन् । यिनीहरु नया नया ठाउ घुम्न मन पराउछन् ।
बगैचामा डुल्ने चराहरुको संख्या मौसम अनुसार घटबढ हुने गर्छ । आहाराको खोजीमा रहने उनीहरु जहा खानेकुरा पाइन्छ त्यतै खोज्दै उडिरहने भएकाले यस्तो भएको हो । बचरा हुर्काएर उड्न सिकाउदै गर्दा धेरै चराले आफुभन्दा सानालाई खानेकुरा चुचोले खुवाएको बेला-बेला हामीले देख्न पाउछौ । सबैजसो चराले आफ्ना बचरालाई आमाबुवाले हामीलाई स्याहार गरेजसरी नै खाना खुवाउने र उड्न सिकाउने गर्छन् ।   
बगैचा ठूलो र फलफुलका बोटविरुवा प्रशस्त भएको छ भने त्यस्तो ठाउ खोज्दै आउने चराको संख्या साना बगैचामा भन्दा धेरै हुने गर्छ । पानी भएको ठाउ छ भने चरा नुहाउन पनि मन पराउछन् । पानीमा हुने कीरा पनि खान्छन् । आहाराको खोजीमा राती मात्र उड्ने चरो लाटोकोसेरो हो । बत्तीको उज्यालो छ, कीरा छन् भने चिबेलगायतका चरा खुसी हुन्छन् । बत्तीमा झयाम्मिने कीरा-फट्याङ्ग्रा उनीहरुले खान्छन् ।  
(१६ जेठ ०६७ कान्तिपुर कोपिलामा प्रकाशित ) 

No comments: