Sunday, May 23, 2010

घोडाघोडी

घोडाघोडी तालको नाम हो। सन् २००३ मा विश्व सम्पदाको रामसार अभिसन्धिमा सूचीकृत। कैलाली जिल्लाको दरख गाविसको सुखडमा पर्ने यो तालमा गत साता जाने मौका मिल्यो। यदाकदा सिरूवामा फूलघोडा चढाएको देखेको अनुभव बोकेर कैलाली पुगेको मेरा लागि यहाँ पुग्नु रमाइलो रह्यो। कैलालीको दरख पुग्दा मोरङबाट सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, बाँके लगायतका जिल्ला पार गरिँदो रहेछ।

यो ताल पूर्वपश्चिम राजमार्गसँगै रहेछ। महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने महेन्द्रनगर पुगेर फर्कदा रोकेर हेरियो। कैलालीको अत्तरियाबाट ३५ किलोमिटर दक्षिणको दुरीमा पर्ने घोडाघोडीलाई कमलका पातले ढाकेको थियो। थोरै ठाउँमात्र पानी देखिन्थ्यो। पटक-पटक गरिएका अध्ययनहरूबाट यो तालमा १४० भन्दा बढी प्रजातिका चरा पाइने पुस्तक र साइटहरुमा पढ्न मिल्छ।
 
यसले चुरे क्षेत्रलाई तराईसँग पश्चिमबाट जोड्ने रहेछ। हाँगा फाटेर फैलिएको ताल। बीच-बीचमा जंगल। पूर्वपश्चिम राजमार्गमा बसबाट उत्रेर सजिलै पुग्न सकिने भएपनि घोडाघोडी पोखराको फेवाताल जति चर्चामा छैन। फेवाजस्तो अतिक्रमण पनि छैन। नाम चर्चामा नभएकै होला यहा व्यसायिक गतिविधि शून्य रहेछ। तालमा पानी छ। तर, आसपासका गाउँहरू सुक्खा छन्। त्यसैले यो क्षेत्रको  नाउँ सुखड भएको होला।
 
एक सय बिघाभन्दा बढी क्षेत्रफल ओगटेको ताल आफैंमा मनोरम छ। पुग्नेहरूलाई आनन्द अनुभव हुने रहेछ। तालको किनारमा मन्दिर रहेछ। मन्दिरमा व्रतबन्ध र विवाह समारोह थियो। आउने-जानेको भीड। मन्दिरको समितिले एउटा डुंगा चलाएको रहेछ, प्रति व्यक्ति २० रुपैयाँ तिरे ताल घुम्न पाइने।
 
स्कुले भुरा लगालग फाल हाले। उनीहरु नजिक गाउँको स्कुलबाट आएका रहेछन्। उनीहरुसँगको कुराकानी रमाइलो लाग्यो। स्कुले यसरी नै आउँछन् रे। केटाकेटीलाई तालमा पस्न रोक्न आएका सरहरु पनि कहिलेकाही पौडन्छन् अनि गाली गर्दैनन् भन्ने बालकहरुले बताउँदा अर्कै रमाइलो लाग्यो। 

ढपक्क ढाकेको हरिया गोलाकार पातबीच कतै कतै फुलेका कमल। क्यामेरा, ट्राइपोर्ट अनि बाइनाकुलर बोकेको हाम्रो टोलीका चारसँग ८ वटा झोला थिए। हेर्नेहरुका लागि विदेशी टुरिस्ट आएजस्तो। महेन्द्रनगरबाट बिहान ८ बजे चढेको बसले हामीलाई यहाँ साढे ३ घण्टाको यात्रापछि उतारेको थियो। आइपुगेको धेरैबेर किनारबाटै ताल हेरियो।
 
प्रचण्ड घाम। गर्मी थियो। तर, तालमा चिसो पानी। स्कुलेहरूसँगै पौडन मन लागे पनि त्यसो गरिएन। महेन्द्र राजमागर्गले छुने क्षेत्रका दाङ र कैलाली पूर्वाञ्चल  जस्तो उर्वरा र मनसुनयुक्त लागेन। लामो बाटोका वरपर रातो माटो, ढुंगा, अनि सुकेका खहरे देखिन्थे। कञ्चनपुरको महेन्द्रनगरबाट बाके जिल्लासम्म आइपुग्दा पूर्वको जस्तै समथर भूमि देखिए पनि यहाँ कोशी टप्पुजस्तो चराको चहलपहल कमैमात्र लेन्सले भेटथ्यो। बरू महेन्द्रनगरको शुक्लाफाँटा र बर्दियाको निकुञ्ज अनि गुलरिया-३ खैरापुरको कृष्णसार संरक्षण क्षेत्रमा वन्यजन्तु देख्न पाइने रहेछ। बस रोकिएका ठाउँमा पूर्वमा नभेटिने काफल बेच्न हिडेकाहरू प्रशस्त भेटिन्थे।
 
राजमार्गले छुने क्षेत्रमा पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरी जस्तो उर्वरा क्षेत्र पश्चिममा चितवनबाहेक अन्य जिल्लामा विरलैमात्र देख्न पाइने रहेछ। वर्षमा एक बाली मात्र हुने धेरै क्षेत्रहरू बाझो र खेतमा सुक्खा लागेर धाजा फाटेको देख्न सकिन्थ्यो। यस्ता दृश्य कैलाली र दाङका क्षेत्रमा बढी थिए। 

पक्षीसम्बन्धी पुस्तकमा बाज र चिलका विषयमा गरिएको वर्णन पढ्ने हो भने जैविक विविधिताको क्रमलाई राम्ररी बुझ्न गाह्रो छैन। यदि यी चरा देखिन्छन् भने त्यहाको जैविक विविधता र वातावरणको अवस्था सन्तुलित छ भन्ने बुझ्नुपर्छ। किनभने यी चरा मांशाहारी हुन्। यिनले अरूको सिकार गरेर जीवन चलाउँछन्। यिनका लागि सर्प, मुसा, खरायो लगायतका सरिसृप र वन्यजन्तु आहार हुन्। यिनको आहारा हुनका लागि बालीको उत्पादन राम्रो हुनुपर्छ। उत्पादन राम्रो हुन पानी चाहिन्छ। पानी भए चिस्यानमा रमाउने धेरै जीवको भेला बढ्छ। अन्न फले मुसो आउँछ। मुसो खोज्दै सर्प आउँछ। 

यदि यी सिकारी चरा देखिँदैनन् भने जैविक विविधताको अवस्था नाजुक छ भन्ने बुझ्नुपर्छ भन्ने पढ्न पाएको मैले ती दुई जिल्लाका राजमार्ग क्षेत्र उराठ लाग्दो अनुभव गरेको थिएँ। मेरो अनुभवलाई सुखडको घोडाघोडी तालले अर्को बनायो। यहाँ मन रमायो।

कञ्चनपुर र बर्दियामा वन्यजन्तु आरक्षले ओगटेका क्षेत्रका पुराना बसोबास हटाइएको रहेछ। स्रोतका लागि जंगलमा निर्भर स्थानीय र संरक्षणका जिम्मा पाएकाहरुको सम्बन्धमा हुने चिसोपन सहज प्रक्रिया हो। तर, त्यहाँ कोशी टप्पुजस्तो अतिक्रमण देखिने रहेनछ। सेनाले सुरक्षाको काम कडा रूपमा गरेको पाइयो। राजमार्गमा ठाउँ-ठाउँ हुने जाँच र सवारी गति नियन्त्रण गर्न राखिएका नागबेली अवरोधहरु देख्ता सशस्त्र द्वन्द्वको समय बितिसिकेको रहेनछ जस्तो भान पर्ने रहेछ। 

मुलुकका अन्य तालका तुलनामा कैलालीको घोडाघोडी पुग्न त्यहीँका लागि कार्यक्रम बनाएर पुग्नुपर्ने रहेछ। यहाँ आसपास यही तालका कारण सिमसार संरक्षणका गतिविधि, सामुदायिक वन र आयआर्जनका कार्यक्रम चरिरहेको स्थानीय दयाराम चौधरीले बताए। उनी त्यहाँको घोडाघोडी संरक्षण मञ्चका अध्यक्ष रहेछन्। 

मुलुक बनाउने नारा दिनेहरूले ताल र संरक्षित क्षेत्रको सुरक्षा र वन्यजन्तुको प्रबर्द्धनका लागि काम गरे प्रशस्त ठाउँ छन्। तर, सत्तालिप्साले आशक्त दलहरूमा जल, जमिन र जंगलका लागि सकारात्मक सोच लिने बानी नै बसेन। जैविक विविधतालाई संरक्षण गरे यसबाट आयआर्जन बढाउन सकिने सम्भावनाहरू अझै टरिसकेका छैनन् जस्तो लागेको छ।

1 comment:

Aakar said...

Thank you for this interesting, nice and informative info.