Sunday, May 23, 2010

घोडाघोडी

घोडाघोडी तालको नाम हो । सन् २००३ मा विश्व सम्पदाको रामसार अभिसन्धीमा सुचीकृत । कैलाली जिल्लाको दरख गाविसको सुखडमा पर्ने यो तालमा गत साता जाने मौका मिल्यो । यदाकदा सिरूवामा फूलघोडा चढाएको देखेको अनुभव बोकेर कैलाली पुगेको मेरा लागि यहाँ पुग्नु रमाइलो रह्यो । कैलालीको दरख पुग्न मोरङबाट सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही र बाके गरि १२ जिल्ला पार गर्नुपर्ने रहेछ ।
महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने महेन्द्रनगर पुगेर फर्कदा यो ताल राजमार्गसँगै रहेछ । कैलालीको अत्तरियाबाट ३५ किलोमिटर दक्षिणको दुरीमा । घोडाघोडीलाई कमलका पातले ढाकेको थियो । थोरै ठाउँमात्र पानी देखिन्थ्यो । पटक-पटक गरिएका अध्ययनहरूबाट यो तालमा १ सय ४० भन्दा बढी प्रजातिका चरा पाइने पुस्तक र साइटहरुमा पढन मिल्छ । 
यसले चुरे क्षेत्रलाई तर्राईसग पश्चिमबाट जोड्ने रहेछ । हाँगा फाटेर फैलिएको ताल । बीच बीचमा जंगल । पूर्व -पश्चिम राजमार्गमा बसबाट उत्रेर सजिलै पुग्न सकिने भएपनि घोडाघोडी पोखराको फेवाताल जति चर्चामा छैन । फेवाजस्तो अतिक्रमण पनि छैन । नाम चर्चामा नभएकै होला यहा व्यसायिक गतिविधि शुन्य रहेछ । तालमा पानी छ । तर, आसपासका गाउहरू सुख्खा छन् । त्यसैले यो क्षेत्रको  नाउँ सुखड भएको होला । 
१ सय बिघाभन्दा बढी क्षेत्रफल ओगटेको ताल आफैमा मनोरम छ । पुग्नेहरूलाई आनन्द अनुभव हुने रहेछ । तालको किनारमा मन्दिर रहेछ । मन्दिरमा ब्रतबन्ध र बिबाह समारोह थियो । आउने-जानेको भीड । मन्दिरको समितिले एउटा डुङ्गा चलाएको रहेछ । प्रति व्यक्ति २० रुपैया तिरे घुम्न पाइने । 
स्कुले भुरा लगालग फाल हाले । उनीहरु नजिक गाउको स्कुलबाट आएका रहेछन् । उनीहरुसगको कुराकानी रमाइलो लाग्यो । स्कुले यसरी नै आउछन रे । रोक्न आएका सरहरु पनि कहिलेकाही पौडन्छन् अनि गाली गर्दैनन् भन्ने बालकहरुले बताउदा अर्कै रमाइलो लाग्यो । ढपक्क ढाकेको हरिया गोलाकार पातबीच कतै कतै फुलेका कमल । लामो लेन्स भएका क्यामेरा , ट्राइपोर्ट अनि बाइनाकुलर बोकेको हाम्रो टोलीका चारसग ८ वटा झोला थिए । हेर्नेहरुका लागि पर्यटक आएजस्तो । महेन्द्रनगरबाट विहान ८ बजे चढेको बसले हामीलाइ यहा साढे ३ घण्टाको यात्रापछि उतारेको थियो । आइपुगेको धेरैबेर किनारबाटै ताल हेरियो । 
प्रचण्ड घाम । गर्मी थियो । तर, तालमा चिसो पानी । स्कुलेहरूसगै पौडन मन लागेपनि त्यसो गरिएन ।  
महेन्द्र राजमागर्गले छुने क्षेत्रका दाङ र कैलाली पूर्वाञ्चल  जस्तो उर्वरा र मनसुनयुक्त लागेन । लामो बाटका वरपर रातो माटो । ढुंगा अनि सुकेका खहरे देखिन्थे । कञ्चनपुरको महेन्द्रनगरबाट बाके जिल्लासम्म आइपुग्दा पूर्वको जस्तै समथर भूमि देखिए पनि यहा कोशी टप्पुजस्तो चराको चहलपहल कमैमात्र लेन्सले भेटथ्यो । बरू महेन्द्रनगरको शुक्लाफाटा र बर्दियाको निकुञ्ज अनि गुलरिया-३ खैरापुरको कृष्णसार संरक्षण क्षेत्रमा वन्यजन्तु देख्न पाइने रहेछ । बस रोकिएका ठाउमा पूर्वमा नभेटिने काफल बेच्न हिडेकाहरू प्रशस्त भेटिन्थे । 
राजमार्गले छुने क्षेत्रमा पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरी जस्तो उर्वरा क्षेत्र पश्चिममा चितवनबाहेक अन्य जिल्लामा विरलैमात्र देख्न पाइने रहेछ । 
वर्षो एक बाली मात्र हुने धेरै क्षेत्रहरू बाझो र खेतमा सुख्खा लागेर धाजा फाटेको देख्न सकिन्थ्यो । यस्ता दृश्य कैलाली र दाङका क्षेत्रमा बढि थिए । पंक्षीसम्बन्धी पुस्तकमा बाज र चिलका विषयमा गरिएको वर्णन पढ्ने हो भने जैविक विविधिताको क्रमलाई राम्ररी बुझन गाहारो छैन । यदि यी चरा देखिन्छन् भने त्यहाको जैविक विविधता र वातावरणको अवस्था सन्तुलित छ भन्ने बुझ्नुपर्छ । किनभने यी चरा मांशाहारी हुन् । यिनले अरूको शिकार गरेर जीवन चलाउछन् । यिनका लागि सर्प, मुसा, खरायोलगायतका सरिसृप र वन्यजन्तु आहार हुन् । यिनको आहारा हुनका लागि बालीको उत्पादन राम्रो हुनुपर्छ । उत्पादन राम्रो हुन पानी चाहिन्छ । पानी भए चिस्यानमा रमाउने धेरै जीवको भेला बढ्छ । अन्न फले मुसो आउछ । मुसो खोज्दै सर्प आउछ । यदि यी चरा देखिदैनन् भने जैविक विविधताको अवस्था नाजुक छ भन्ने बुझ्नुपर्छ भन्ने पढ्न पाएको मैले ती दुइ जिल्लाका राजमार्ग क्षेत्र उराठ लाग्दो अनुभव गरेको थिए । मेरो अनुभवलाई सुखडको घोडाघोडी तालले अर्को बनायो । यहा मन रमायो ।  
कञ्चनपुर र बर्दियामा वन्यजन्तु आरक्षले ओगटेका क्षेत्रका पुराना बसोबास हटाइएको रहेछ । स्रोतका लागि जंगलमा निर्भर स्थानीय र संरक्षणका जिम्मा पाएकाहरुको सम्बन्धमा हुने चिसोपन सहज प्रक्रिया हो । तर, त्यहा कोशी टप्पुजस्तो अतिक्रमण मैले देखिन । सेनाले सुरक्षाको काम कडा रूपमा गरेको रहेछ । राजमार्गमा ठाउ-ठाउ हुने जाच र सवारी गति नियन्त्रण गर्न राखिएका नागवेली अवरोधहरु देख्ता सशस्त्र द्वन्द्वको समय बितिसिकेको रहेनछ जस्तो भान पर्ने रहेछ । 
मुलुकका अन्य तालका तुलनामा कैलालीको घोडाघोडी पुग्न त्यहीका लागि कार्यक्रम बनाएर पुग्नुपर्ने रहेछ । यहा आसपास यही तालका कारण सिमसार संरक्षणका गतिविधि, सामुदायिक वन र आयआर्जनका कार्यक्रम चरिरहेको स्थानीय दयाराम चौधरीले बताए । उनी त्यहाको घोडाघोडी संरक्षण मञ्चका अध्यक्ष रहेछन् । 
मुलुक बनाउने नारा दिनेहरूले ताल र संरक्षित क्षेत्रको सुरक्षा र वन्यजन्तुको प्रबर्द्धनका लागि काम गरे प्रशस्त ठाउ छन् । तर, सत्तालिप्साले आशक्त दलहरूमा जल, जमीन र जंगलका लागि सकारात्मक सोच लिने बानी नै बसेन । जैविक विविधतालाई संरक्षण गरे यस्बाट आयआर्जन बढाउन सकिने सम्भावनाहरू अझै टरिसकेका छैनन् जस्तो लागेको छ । 

1 comment:

Aakar said...

Thank you for this interesting, nice and informative info.