- अबधेशकुमार झा (तस्बिर : लेखक)
सात नदिको संगम अर्थात सप्तकोसी । नामजस्तै विशाल आकारको नदि । घुम्न आउनेहरुले अब नारायणीका घडियाल गोही देख्न पाउने भएका छन् । पहिले पटक-पटक छाडिएका थिए । ती हराए । अब फेरि यी जन्तुलाई कसराबाट ल्याएर यहा छाडिएपछि आगन्तुकका लागि नौलो जन्तु देख्न पाउने सम्भावनाले आकार लिएको छ ।
सप्तकोसीमा मगर र घडियाल गोही पहिले पनि देखिन्थे । तर, पछिल्ला केही वर्ष यिनलाई हेर्न पाउनु आगन्तुकका लागि सौभाग्यशाली चिठ्ठा पाउनु बराबर दुर्लभ भएपछि कोसी टप्पु वन्यजन्तु आरक्षले १० वटा घडियाल कसरास्थित प्रजनन् केन्द्रबाटै भिकाएर यहा छाडिएको हो ।

'फस्टाउने सम्भावना नभएको होइन तर, अतिक्रमण कम गरेर यसपटक जोगाउने उपाय लगाइएको छ, अधिकृत मिश्रले सुनाए 'जलचर सुरक्षित भए वातावरणीय सन्तुलनमा मद्दत मिल्छ ।' यसपटक घडियाल जोगाउन आरक्षले नदिको विभिन्न भुभागमा खुला रुपमा माछा मार्ने चलनलाई साघुरो बनाउने रणनीति लिएको छ । सिमसार संरक्षण तथा सदुपयोग आयोजनाका प्रबन्धक दीपनारायण साह भन्छन् 'जन्तु जागाउने नाउमा माझीलाई पेशाबाटै विस्थापित पार्ने योजना छैन । बरु उनीहरुलाई वैकल्पिक पेशाका लागि प्रोत्साहित गर्दैछौं ।' सुनसरी, उदयुपर र सप्तरीका विभिन्न भुभागमा फैलिएको आरक्ष र यसका बीच भएर बग्ने सप्तकोसीमा आश्रति मलाहाको संख्या ९ सयको हाराहारीमा छ । उनीहरुको दिनचर्या माछाबाटै सुरु हुन्छ । तर, यिनीहरुलाई ठूलो जाल र डुङ्गा लिएर संरक्षित क्षेत्रमा पस्न बन्देज गरिएको छ । ठूला जाल माछामात्र होइन अन्य ठूला जलचरका लागि बाधा भएपछि आरक्षले यस्तो गरेको हो ।
एक अध्ययनअनुसार कोसीको पानीमा १ सय १७ प्रजातिका माछालगायत विभिन्न जलचर पाइन्छन् । पछिल्ला केही वर्ष रोकटोक नहुदा निर्वाध माछा मार्ने चलन बढेको थियो । सप्तरीको हनुमाननगरदेखि चतरासम्म क्षेत्रका माझीको दैनिकीसग जोडिएको कोसी नदिमा अब माछा मार्नेले इजाजत लिनुपर्ने भएको छ । इजाजत पाउनेले पनि संरक्षित जलचरलाई बाधा गर्न पाउने छैनन् ।

आरक्षका अनुसार घडियालको संख्या कोसीमा बढाउने अभियान अढाइ दसकअघि नै थालिएको थियो । पहिलेपटक विस २०४० मा ४२ वटा घडियाल कोसीमा छडिएका थिए । त्यसको दुइ वर्षपछि ०४२ मा ४३ वटा गोही कोसी नदीमा छाडिएको थियो । चितवनबाट ल्याएर नदिएमा छाडिएपनि आगन्तुकले कमैमात्र यसको दर्शन पाए ।
त्यसो त मान्छे देख्नेबितिकै पानीमा पसेर लुक्ने यो जन्तु बाधा मन पराउदैन । परबाट मान्छेको पदचाप थाहा पाउनेबित्तिकै लुक्छ । कोसीको प्रकृति नै विवधिताले भरिएको बुझेका जीवविज्ञानका प्राध्यापक डा. भरतराज सुब्वा भन्छन् 'जोगाउने अभियान राम्रो हो ।' उनका अनुसार जलचरहरुको संक्षणका लागि नदिमा वर्षका केही निश्चित महिना क्षेत्र तोकेर माछा मार्न बन्देज गरिनुपर्छ । 'त्यसो गरियो भने माछाले फुल पार्न पाउछ, उनले भने 'फुल पार्न पायो भने नै माछा पनि बढ्छ । बर्षभरि जथाभावी माछा मारे प्रजाति नै नाशिने खतरा बढ्छ ।' कोसीमा घडियालसगै मगर गोही पनि बेलाबखत देखिएका छन् । तर, बहावमा परेभने ब्यारेज पुगेर पुनः उत्तरतर्फ उक्लन नसक्नु यी जन्तुका लागि संकटका रुपमा रहेको छ ।
हुन त घडियाल प्राकृतिक वासस्थानमा बाच्ने दर एकदमै न्युन छ । त्यसमा पनि आहाराको अभावका कारण गोही लोप हुने क्रम बढेको आरक्षले जनाएको छ । नेपालमै अति संकटापनमा पर्ने घडियाल हाल चितवनको कसरास्थित घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा चार सय ३० वटा छन् । उक्त केन्द्रले समय-समयमा नेपालका विभिन्न नदीहरुमा गोही छाड्ने गरेको छ । घडियाल छाड्नुको मूख्य उद्देश्य प्राकृतिक बासस्थानमा लोप हुनबाट बचाउनु भएपनि ती गोही आफै संरक्षित हुन नसक्नुले समस्या भएको बिज्ञहरुको भनाइ छ ।
(कान्तिपुर कोसेली पूर्वाञ्चल अंकबाट साभार)
No comments:
Post a Comment