Wednesday, July 1, 2026

आउँछन् मान्छे उडेका सपना !

 

मध्यरातको समय। ओछ्यानमा मस्त निद्रामा थिए सुमन। अचानक उनले महसुस गरे – उनका गोडा भुइँबाट बिस्तारै माथि उठ्दै छन्। केही बेरमै उनी आफ्नो कोठाको छत छुने गरी हावामा तैरिए। बिस्तारै उनी झ्यालबाट बाहिर निस्किए र रात्रिकालीन सहरको आकाशमा चराझैँ पखेटा फिँजाएर उड्न थाले। तल ससाना घरहरू, बलिरहेका सडक बत्तीहरू र नागबेली परेको नदी देखिन्थ्यो। उनीसँग कुनै पखेटा थिएन, न त कुनै विमान नै थियो, तर उनी स्वतन्त्र थिए, डररहित थिए। 

हावाको प्रवेगलाई चिर्दै उनी बादलको छातीमा पौडी खेलिरहेका थिए। बिहानीपख जब आँखा खुले, सुदन ओछ्यानमै थिए। तर, त्यो उडानको अनुभूति यति जीवन्त र वास्तविक थियो कि उनलाई निकै बेर लाग्यो विपनाको धरातलमा फर्कन।

हामीमध्ये धेरैले जीवनको कुनै न कुनै मोडमा सुमनले जस्तै 'उडेको सपना' पक्कै देखेका छौँ। भौतिक शरीर ओछ्यानमा लम्पसार हुँदा पनि मनले कसरी यो अनौठो उडान भर्न सक्छ? के हो त यसको मनोवैज्ञानिक यथार्थ?

मनोविज्ञानको क्षेत्रमा सपनालाई मस्तिष्कको एक अनौठो र जटिल प्रक्रिया मानिन्छ। जब हामी निद्राको गहिरो चरण, अर्थात् REM (Rapid Eye Movement) अवस्थामा पुग्छौँ, तब मस्तिष्कको 'प्रिफ्रन्टल कर्टेक्स' (तार्किक सोच्ने भाग) सुत्छ, तर भावना र स्मृति नियन्त्रण गर्ने 'लिम्बिक सिस्टम' निकै सक्रिय हुन्छ।

मनोवैज्ञानिक दृष्टिकोणबाट सपना हाम्रा अतृप्त चाहना, दिनभरिका अनुभूति र अवचेतन मन (Unconscious Mind) को समिश्रण हो। अस्ट्रियन मनोविश्लेषक सिगमन्ड फ्रायडका अनुसार, सपना हाम्रा ती दमित इच्छाहरूको प्रतिविम्ब हो, जुन हामी विपनामा पूरा गर्न सक्दैनौँ वा व्यक्त गर्न डराउँछौँ।

जब हामी सपनामा उड्छौँ, वैज्ञानिक भाषामा यसलाई 'लुसिड ड्रिमिङ' वा मस्तिष्कको मोटर कर्टेक्सको सक्रियतासँग जोडेर हेरिन्छ। निद्रामा शरीर शिथिल (Paralyzed) हुन्छ, तर मस्तिष्कले उड्ने वा तैरिने गतिशीलताको कल्पना गरिरहेको हुन्छ।

उडेका सपनाका अर्थ र विविध गतिविधि

गाउँघरमा भनेको सुनिन्छ - 'उडेको सपना देखिछ? यो बढ्ने लक्षण हो।' तर, मनिविज्ञानले त्यसो भन्दैन। सपनामा उड्नुको अर्थ व्यक्तिपिच्छे र उडानको प्रकृतिअनुसार फरक-फरक हुन सक्छ। मनोविश्लेषण र स्वप्न–विज्ञानका अनुसार यसका केही मुख्य व्याख्याहरू यस प्रकार छन्।

  • नियन्त्रण र स्वतन्त्रताको भावना : यदि तपाईं सपनामा निकै सजिलै र खुसी हुँदै आकाशमा उडिरहनुभएको छ भने, यसले तपाईं विपनाको जीवनमा कुनै ठुलो बन्धन वा तनावबाट मुक्त हुनुभएको संकेत गर्छ। यो आत्म-नियन्त्रण र उच्च आत्मविश्वासको प्रतीक हो।

  • अवसर र महत्त्वाकांक्षा : आकाशतर्फ सिधै उड्नुले तपाईंको जीवनको लक्ष्य, महत्त्वाकांक्षा र केही ठूलो हासिल गर्ने चाहनालाई दर्शाउँछ।

  • अवरोधसहितको उडान : यदि तपाईं उड्न खोज्दै हुनुहुन्छ तर अगाडि बिजुलीका तार, रुख वा बादलले छेकिएको छ भने, यसको अर्थ विपनामा तपाईंले आफ्नो लक्ष्य पछ्याउँदा मानसिक वा सामाजिक अवरोधहरूको सामना गरिरहनुभएको छ।

  • तल खस्ने डर : उड्दाउड्दै अचानक भुइँमा खस्नु वा नियन्त्रण गुमाउनुले आत्मविश्वासको कमी, असफलताको डर वा जीवनमा कुनै कुराको नियन्त्रण गुम्दै गएको संकेत गर्छ।

व्याख्या र पुस्तक सन्दर्भ

सपनाको संसारलाई बुझ्न मनोविज्ञान जगतमा इतिहासका दुई जनाको योगदान अतुलनीय छ, ती हुन् सिग्मन्ड फ्रायडकार्ल जुङ। फ्रायडले सपनालाई 'अवचेतन मनमा पुग्ने राजमार्ग' (Royal road to the unconscious) भनेका छन्। उडेको सपनाको व्याख्या गर्दै उनले यसलाई शारीरिक स्वतन्त्रता, शक्ति प्रदर्शन र कतिपय अवस्थामा बाल्यकालीन खेलको चाहना वा यौनिक ऊर्जाको रूपान्तरण (Sublimation) सँग जोडेका छन्। फ्रायडको यो कालजयी व्याख्या उनको प्रसिद्ध पुस्तक 'The Interpretation of Dreams' (सन् १८९९) मा सविस्तार उल्लेख छ।

फ्रायडले यसरी अर्थ्याएका छन् - 'सपना भनेको हाम्रा दमित इच्छाहरूको छद्म भेषमा हुने तृप्ति हो।' उनका अनुसार हाम्रो चेतन मनले जिनिसहरूलाई जुन रूपमा स्विकार्न सक्दैन, ती सामाजिक, नैतिक वा व्यक्तिगत रूपमा निषेधित चाहनाहरू अवचेतन मनमा गहिरिएर बस्छन्। निद्राको अवस्थामा हाम्रो मानसिक पहरेदार (Sensorship) अलि खुकुलो हुँदा तिनै दमित इच्छाहरू प्रतीक, संकेत र भ्रमको आवरण लगाएर सपनाका रूपमा प्रकट हुन्छन्। त्यसैले, फ्रायडका लागि सपना कुनै निरर्थक कल्पनाविलास वा ईश्वरीय संकेत नभई, मनभित्र लुकेका जटिल ग्रन्थी र रहस्यहरू खोल्ने एक अकाट्य साँचो हो।

फ्रायडका समकालीन र पूर्वसहकर्मी कार्ल जुङले सपनालाई अझ व्यापक रूपमा हेरे। जुङका अनुसार सपनामा उड्नु भनेको केवल दमित इच्छा मात्र होइन, यो 'सामूहिक अवचेतन' (Collective Unconscious) को हिस्सा हो। जुङले उड्ने सपनालाई मानिसको 'आर्कटाइप' (Archetype) अर्थात् सनातन प्रवृत्तिसँग जोडे, जसले मानिसको आध्यात्मिक खोज, सिर्जनात्मकता र सांसारिक सीमाहरूभन्दा माथि उठ्ने चाहनालाई बुझाउँछ। जुङको यो दृष्टिकोण उनको प्रसिद्ध पुस्तक 'Man and His Symbols' (सन् १९६४) मा पढ्न पाइन्छ।

जुङले सपनाका विषयमा भनेका छन् - 'सपना अवचेतन मनको आत्मगत, प्राकृतिक र निष्पक्ष आत्म-चित्रण हो, जसले चेतनाको एकांकी दृष्टिकोणलाई सन्तुलनमा ल्याउँछ।' फ्रायडका विपरीत, जुङले सपनालाई केवल दमित चाहना लुकाउने 'छद्म भेष' मानेनन्, बल्कि यो मनको वास्तविक र प्राकृतिक भाषा हो भन्ने तर्क गरे। उनका अनुसार सपनाले प्रतीकात्मक माध्यमबाट व्यक्तिको आन्तरिक द्वन्द्व उजागर मात्र गर्दैन, उसलाई मानसिक रूपमा परिपक्व र पूर्ण बन्न (Individuation) मार्गदर्शन समेत गर्छ। त्यसैले, जुङका लागि सपनाहरू अतीतका अवशेष मात्र नभएर मानिसको भविष्यको सम्भावना र आध्यात्मिक रूपान्तरणका संवाहक पनि हुन्।

फ्रायड र जुङभन्दा पछि स्वप्न-विज्ञान र मनोविज्ञान निकै अगाडि बढ्यो। यसै सिलसिलामा उडेका सपना र तिनका गतिविधिलाई नयाँ उचाइबाट अन्य मनोवैज्ञानिकले प्रभावशाली तवरले व्याख्या गरेका छन्। फ्रायडका समकालीन भए पनि पछि मनोविज्ञानमा आफ्नै फरक सैद्धान्तिक व्याख्यालाई स्थापित गरेका एल्फ्रेड एडलरले सपनालाई मानिसको भविष्यको तयारी र 'पावर' (शक्ति) सँग जोडेका छन्। 

उनी भन्छन्, 'सपनामा उड्नु भनेको विपनाको हीनताबोध (Inferiority Complex) माथि विजय प्राप्त गर्ने अवचेतन प्रयास हो।' उनको पुस्तक 'What Life Should Mean to You' (१९३१) मा उल्लेख भएअनुसार उडेको सपनाले मानिसमा रहेको श्रेष्ठता हासिल गर्ने तीव्र इच्छा (Striving for Superiority) र जीवनका अवरोधहरूलाई जितेर अघि बढ्ने साहसलाई प्रतिबिम्बित गर्छ। जो मानिस विपनामा आफूलाई कमजोर महसुस गर्छ, उसले सपनामा उडेर मानसिक सन्तुलन कायम गर्छ।

हार्वर्ड विश्वविद्यालयका न्यूरोवैज्ञानिक तथा मनोवैज्ञानिक जे. एलन हब्सनले सपनाको 'एक्टिभेसन-सिन्थेसिस थ्योरी' (Activation-Synthesis Hypothesis) प्रतिपादन गरे, जसले सपनाको रहस्यमय व्याख्यालाई वैज्ञानिक धरातल दियो। उनको चर्चित पुस्तक 'The Dreaming Brain' (१९८८)मा उडेको सपनाको विशुद्ध शारीरिक र न्यूरोवैज्ञानिक कारण खुलाइएको छ। 

हब्सनका अनुसार निद्राको REM अवस्थामा मस्तिष्कको तल्लो भाग (Brainstem) बाट उठ्ने विद्युतीय तरंगहरूले सन्तुलन र गति नियन्त्रण गर्ने 'वेस्टिबुलर सिस्टम' (Vestibular System) लाई उत्तेजित पार्छन्। विपनामा यो प्रणालीले हामी हिँडेको वा बढेको थाहा पाउँछ, तर निद्रामा शरीर हलचल नहुँदा मस्तिष्कले सोही संकेतलाई 'हावामा तैरिरहेको' वा 'उडेको' रूपमा व्याख्या (Synthesize) गरिदिन्छ।

सबल र दुर्बल पक्ष

मनोविज्ञानका अनुसार उडेको सपना देख्नुका आफ्नै सबल र दुर्बल पक्षहरू छन्:

असल पक्ष (सकारात्मक ऊर्जा):

  • सिर्जनात्मकताको विकास: यस्ता सपनाले मस्तिष्कको दायाँ भागलाई उत्प्रेरित गर्छन्, जसले गर्दा मानिसमा नवीन सोच र सिर्जनात्मक क्षमता बढ्छ ।

  • तनाव मुक्ति: विपनाको कठिन परिस्थितिबाट थकित मनले सपनामा उडान भरेर एक किसिमको मानसिक शान्ति र आनन्द प्राप्त गर्छ ।

  • सकारात्मक दृष्टिकोण: उड्ने सपना देख्ने मानिसहरू प्रायः आशावादी र आत्मविश्वासी हुने गर्छन् ।

खराब पक्ष (नकारात्मक पक्ष):

  • पलायनवादी मानसिकता (Escapism): कहिलेकाहीँ विपनाको वास्तविकता र जिम्मेवारीबाट भाग्न खोज्ने मानिसहरू सपनाकै उडानमा हराउन चाहन्छन्, जसले गर्दा उनीहरू व्यावहारिक जीवनमा कमजोर बन्न सक्छन् ।

  • भ्रम र अतथ्य: सपनाको अत्यधिक रोमान्चकताले गर्दा विपनाको सामान्य जीवन निरस लाग्न सक्छ, जसलाई 'मलानाकोलिया' वा वास्तविक जीवनप्रतिको उदासीनता भन्न सकिन्छ।

***

जहाँ लाग्दैन गुरुत्वाकर्षण

उडेको सपना (Flying Dreams) को सन्दर्भ आउनासाथ आधुनिक स्वप्न-विज्ञानमा एउटा पुस्तक निकै चर्चित र प्रमाणिक मानिन्छ, त्यो 'Exploring the World of Lucid Dreaming' हो। यसका लेखक प्रख्यात अमेरिकी साइकोफिजियोलोजिस्ट (मनो-शारीरिक वैज्ञानिक) डा. स्टिफन लाबर्ज हुन्। पुस्तक सन् १९९१ मा अमेरिकाको 'ब्यालेन्टाइन बुक्स' मार्फत प्रकाशित भएको थियो।

स्टानफोर्ड विश्वविद्यालयमा लामो समय अनुसन्धान गरेका डा. लाबर्जले यसमा उडेको सपनालाई परम्परागत अन्धविश्वास वा अमूर्त दर्शनभन्दा माथि उठाएर विज्ञानसँग जोडेका छन्। पुस्तकमा उनले 'लुसिड ड्रिमिङ' (सपना देखिरहेकै बेला 'म सपना देख्दै छु' भन्ने होस आउने अवस्था) को व्याख्या गर्दै 'उड्नु' लाई यसको सबैभन्दा बलियो र साझा माध्यम मानेका छन्।

डा. लाबर्जका अनुसार जब मानिस सपनामा सचेत हुन्छ, तब उसको अवचेतन मनमा असम्भव कुराहरूलाई सम्भव बनाउने तीव्र इच्छा जागृत हुन्छ। पुस्तकमा उनी भन्छन् - 'सपनाको संसार पूर्ण रूपमा तपाईंको आफ्नै सिर्जना हो, जहाँ भौतिक विज्ञानका नियमहरू (जस्तै गुरुत्वाकर्षण) लागु हुँदैनन् । त्यसैले लुसिड ड्रिमरहरूका लागि हावामा उड्नु सबैभन्दा पहिलो, रोमाञ्चक र स्वतन्त्रताको अनुभूति गराउने गतिविधि बन्छ।'

लाबर्जले स्टानफोर्डको प्रयोगशालामा मस्तिष्कको तरंग र आँखाको हलचल (REM) मापन गरेर प्रमाणित गरे कि सपनामा उडिरहेको बेला मानिसको मस्तिष्कले विपनामा उडेजस्तै वास्तविक आनन्द र स्वतन्त्रताको संवेग (Emotion) महसुस गरिरहेको हुन्छ। उनका अनुसार सपनाको उडान केवल कल्पनाविलास होइन, यसले मानिसको आत्मविश्वास बढाउन, विपनाको डर र फोबिया (Phobia) लाई जित्न र मस्तिष्कको सिर्जनात्मकतालाई चरम उचाइमा पुर्‍याउन 'औजार' को काम गर्छ। यदि कसैले सपनामा उडानलाई नियन्त्रण गर्न सिक्यो भने, उसले विपनाको जीवनका कठिन परिस्थितिलाई पनि सहजै नियन्त्रण गर्ने मानसिक शक्ति प्राप्त गर्छ भन्ने उनको ठम्याइ छ।

डा. लाबर्जले पुस्तकमा उडेको सपनाको गहिराइलाई प्रस्ट्याउँदै अगाडि लेखेका छन् - "सपनामा उड्नु भनेको मानव चेतनाले आफ्नै सीमितताको पिँजडा तोडेर अनन्त सम्भावनाको आकाशमा पखेटा फिँजाउनु हो।' उनका अनुसार जब तपाईं सपनाको उडानमा हुनुहुन्छ, त्यतिबेला तपाईं भौतिक रूपमा ओछ्यानमै हुनुभए पनि मानसिक रूपमा पूर्णतः भयमुक्त र शक्तिशाली बन्नुहुन्छ। यो उडानले हाम्रो मस्तिष्कमा विपनाको 'तनाव र हीनताबोध' लाई पखाल्ने काम गर्छ। 

लाबर्ज जोड दिएर भन्छन्, सपनाको यो अनौठो र रोमाञ्चक उचाइलाई बुझ्न र यसलाई नियन्त्रण गर्न सकेमा मानिसले आफ्नो जागृत जीवनका वास्तविक मानसिक अवरोध, डर र डिप्रेसनलाई समेत सहजै परास्त गर्न सक्छ।

डा. स्टिफन लाबर्जको अवधारणालाई समर्थन गर्दै अर्का प्रख्यात अमेरिकी मनोवैज्ञानिक र स्वप्न अनुसन्धानकर्ता डा. रोबर्ट वागनर (Dr. Robert Waggoner) ले आफ्नो व्याख्या प्रस्तुत गरेका छन्। उनले सन् २००८ मा अमेरिकाबाट प्रकाशित आफ्नो चर्चित पुस्तक 'Lucid Dreaming: Gateway to the Inner Self' मा उडेको सपनाको गहिरो मनोवैज्ञानिक पक्ष उजागर गरेका छन्।

डा. वागनरले लाबर्जको 'मस्तिष्कको स्वतन्त्रता' सम्बन्धी मतलाई समर्थन गर्दै भनेका छन् - 'सपनामा उड्नु केवल एउटा रोमाञ्चक खेल वा कल्पनाविलास मात्र होइन, यो मानव चेतनाले विपनाको मानसिक र शारीरिक बन्धनबाट मुक्ति खोज्ने एउटा शक्तिशाली माध्यम हो।'

उनले आफ्नो अनुसन्धानका आधारमा स्पष्ट पारेका छन् कि जब मानिस सपनाको उडानमा सचेत हुन्छ, तब उसले आफ्नो अवचेतन मनको असीमित क्षमतालाई अनुभव गर्छ। वागनरका अनुसार, सपनामा सजिलै उड्न सक्ने व्यक्तिहरू विपनाको जीवनमा पनि बढी लचिला, सकारात्मक र समस्याहरूलाई फरक दृष्टिकोणबाट हेर्न सक्ने क्षमताका हुन्छन्। उनी भन्छन् कि यो उडानले हाम्रो 'इगो' (अहम्) लाई अस्थायी रूपमा भत्काएर आत्म-साक्षात्कार र आन्तरिक उपचार (Inner Healing) मा मद्दत पुर्‍याउँछ, जसले मानिसलाई विपनाका वास्तविक चुनौतीहरूसँग लड्ने अदृश्य साहस दिन्छ।

डा. वागनरले यसलाई अझ प्रष्ट पार्दै अगाडि भनेका छन् - 'जब तपाईं सपनामा उड्नुहुन्छ, तपाईंले वास्तवमा आफ्नो अवचेतन मनको भित्री वास्तुकलालाई पुनःआकार दिइरहनुभएको हुन्छ, जहाँ विपनाका नियमहरू निष्क्रिय बन्छन्।'

उनका अनुसार यो उडानले मानिसलाई आफ्नो 'परिमार्जित आत्म' (Higher Self) सँग जोड्ने काम गर्छ। सपनाको आकाशमा गरिने सहज उडानले व्यक्तिको भित्री आत्मविश्वासलाई यसरी बलियो बनाउँछ कि विपनामा भोग्नुपरेका असफलता र मानसिक चोटहरू बिस्तारै निको हुन थाल्छन्। उनी जोड दिँदै भन्छन्, 'यो उडान कुनै भ्रम होइन, बल्कि यो त मनको त्यो गहिरो अवस्था हो जहाँ मानिसले आफ्नो अन्तर्निहित शक्ति पहिचान गरी जीवनका वास्तविक अवरोधहरूलाई सहजै नाघ्न सक्ने आन्तरिक ऊर्जा प्राप्त गर्दछ।'

***

सपना सबैले देख्छन् ?

हो, विज्ञान र आधुनिक न्यूरोलोजीका अनुसार सबै मानिसले सपना देख्छन्। यदि कसैलाई 'म सपना देख्दिनँ' भन्ने लाग्छ भने, त्यसको अर्थ उनीहरूले सपना नदेखेका होइनन्, बल्कि ब्युँझिएपछि ती सपनाहरू बिर्सिएका मात्र हुन्।सपना देख्नु मानव जीवन र मस्तिष्कको स्वस्थ सञ्चालनका लागि अनिवार्य मानिन्छ। यसका मुख्य वैज्ञानिक र मनोवैज्ञानिक कारणहरू यस प्रकार छन् -

मस्तिष्कको मर्मत

जब हामी सुत्छौँ, हाम्रो मस्तिष्क पूर्ण रूपमा बन्द हुँदैन। निद्राको REM (Rapid Eye Movement) चरणमा मस्तिष्क निकै सक्रिय हुन्छ। यस अवस्थामा मस्तिष्कले दिनभरिका अनुभव, स्मृति (Memories) र जानकारीहरूलाई व्यवस्थित गरिरहेको हुन्छ। कम्प्युटरको भाषामा भन्नुपर्दा, यो मस्तिष्कले 'डाटा सर्टिङ' वा 'फाइल अर्गनाइज' गरेको समय हो। यही प्रक्रिया चल्दा मस्तिष्कमा जुन दृश्य र भावनाहरू उत्पन्न हुन्छन्, तिनै सपना हुन्। त्यसैले, स्वस्थ मस्तिष्कका लागि यो प्रक्रिया अनिवार्य छ।

भावनात्मक सन्तुलन (Mental Reset)

सपनालाई हाम्रो मनको 'सुरक्षा भल्भ' (Safety Valve) मानिन्छ। दिनभरिको तनाव, डर, चिन्ता र अतृप्त भावनाहरूलाई अवचेतन मनले सपनाको माध्यमबाट बाहिर फाल्ने (Vent आउट गर्ने) काम गर्छ। यदि मानिसले सपना देख्न पाएन भने उसको मानसिक सन्तुलन बिग्रिन सक्छ, चिन्ता बढ्छ र एकाग्रतामा ह्रास आउँछ।

'ड्रिम डिप्रिभेसन' को जोखिम

वैज्ञानिकहरूले प्रयोगशालामा मानिसहरूलाई सुत्न त दिए, तर जब-जब उनीहरू REM चरण (सपना देख्ने अवस्था) मा पुग्थे, उनीहरूलाई ब्युँझाइदिए। यसरी 'सपना देख्नबाट बञ्चित' गराउँदा ती मानिसहरूमा केही दिनमै तीव्र छटपटी, डर, भ्रम देखिने र विपनामै ऐंठन हुने जस्ता गम्भीर मानसिक समस्याहरू देखा परे। यसबाट के देखियो भने मान्छेको ज्यानका लागि निद्रा जति आवश्यक छ, मस्तिष्कका लागि सपना त्यत्तिकै अनिवार्य छ।

एउटा रोचक तथ्य 

हामी रातभरमा औसतमा ४ देखि ६ वटासम्म सपना देख्छौँ। तर, ब्युँझिएको ५ मिनेटभित्रै हामी ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सिसक्छौँ। त्यसैले हामीलाई लाग्छ कि हामीले सपना नै देखेनौँ। संक्षेपमा भन्नुपर्दा, जसरी जीवित रहन श्वासप्रश्वास अनिवार्य छ, त्यसरी नै मानसिक स्वास्थ्य, स्मृति भण्डारण र भावनात्मक सन्तुलनका लागि सपना देख्नु एक प्राकृतिक र अनिवार्य प्रक्रिया हो।

***

श्यामश्वेत कि रंगिन ?

विपनाको संसार जस्तै सपना पनि रंगिन (Colorful) र श्यामश्वेत (Black and White) दुवै हुन्छ। यो स्वप्न-विज्ञान र न्यूरोलोजीको एउटा निकै रोचक र अचम्मको पाटो हो। हामी कस्तो सपना देख्छौँ र किन देख्छौँ भन्ने कुरामा विज्ञानले केही चाखलाग्दा तथ्यहरू पत्ता लगाएको छ।

सन् १९५० को दशकभन्दा अगाडि गरिएका अनुसन्धानहरूमा अधिकांश मानिसले आफूले 'ब्ल्याक एन्ड ह्वाइट' सपना देख्ने गरेको बताएका थिए। सन् २००८ मा बेलायतको डन्डी विश्वविद्यालय (University of Dundee) मा भएको एक अध्ययनले यसको सम्बन्ध हामीले हेर्ने टेलिभिजन र मिडियाको रङसँग जोडिएको देखायो।

जुन मानिसहरू बाल्यकालमा ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन र चलचित्र हेरेर हुर्किए, उनीहरूमध्ये धेरैले आज पनि श्यामश्वेत सपना देख्ने गर्छन्। यसको विपरीत रंगिन प्रविधिको युगमा जन्मे-हुर्केका आधुनिक पुस्ताका ९१ प्रतिशतभन्दा बढी मानिसहरू रंगिन सपना देख्छन्। यसले के देखाउँछ भने हाम्रो चेतना र स्मृतिले विपनामा जस्तो माध्यमबाट संसारलाई ग्रहण गर्छ, अवचेतन मनले सपनामा त्यही रङ प्रस्तुत गर्छ।

रंगिन सपना र भावनाको सम्बन्ध

आधुनिक विज्ञानका अनुसार आजका बहुसंख्यक मानिसले रंगिन सपना नै देख्छन्, तर ब्युँझिएपछि रङको स्मृति बिस्तारै हराउने हुनाले धेरैलाई आफ्नो सपना कस्तो थियो भन्ने याद हुँदैन। 

सपना निकै भावुक, डरलाग्दो वा रोमाञ्चक छ भने त्यसमा रङहरू निकै प्रष्ट र गाढा देखिन्छन्। जस्तै, उडेको सपनामा नीलो आकाश वा हरियो जंगल निकै उज्यालो देखिन सक्छ। कला, साहित्य, पत्रकारिता वा फोटोग्राफी जस्ता रचनात्मक क्षेत्रमा लागेका मानिसहरू, जसको मस्तिष्क विपनामा पनि रङ र दृश्यहरूसँग बढी खेल्छ, उनीहरूले अरूको तुलनामा निकै जीवन्त र रंगिन सपना देख्ने गर्छन्।

रङको मनोवैज्ञानिक अर्थ

सपनामा देखिने विशिष्ट रङहरूको आफ्नै मनोवैज्ञानिक अर्थ हुन्छ। जस्तै, रातो रङले खतरा, तीव्र इच्छा, रिस वा उत्तेजना संकेत गर्छ। नीलोले शान्ति, स्थिरता, वा आध्यात्मिक चेतना (जस्तै उडानको बेला) बुझाउँछ। यस्तै कालो वा खैरो (श्यामश्वेत) रङले कहिलेकाहीँ जीवनको कठिन समय, डिप्रेसन, अलमल वा पुराना स्मृतिहरूको प्रतिविम्ब गराउँछ ।

संक्षेपमा भन्नुपर्दा, सपना रंगिन वा श्यामश्वेत हुनुमा हाम्रो उमेर, हामी हुर्केको वातावरणको प्रविधि (टेलिभिजन/सिनेमा) र हाम्रो आन्तरिक भावनाको तीव्रताले ठूलो भूमिका खेल्छ।

***

निद्रामा रुनु-हाँस्नु, बोल्नु-कराउनु !

निद्रामा बोल्नु (Sleep Talking), हाँस्नु (Sleep Laughing), वा रुनु-कराउनु जस्ता गतिविधिहरू सुन्दा सामान्य लागे पनि यिनको सपना र हाम्रो मस्तिष्कको कार्यप्रणालीसँग निकै गहिरो र रोचक सम्बन्ध छ। स्वप्न-विज्ञान (Oneirology) र स्लिप मेडिसिन (Sleep Medicine) का अनुसार, यस्ता गतिविधिलाई चिकित्सा विज्ञानको भाषामा 'प्यारासोम्निया' (Parasomnia) भनिन्छ। यस्ता गतिविधिको सपनासँगको सम्बन्धलाई निम्न तीनवटा मुख्य पाटोबाट बुझ्न सकिन्छ -

सपना संसार र पक्षाघातको सम्बन्ध

सामान्य अवस्थामा, जब हामी निद्राको गहिरो चरण अर्थात् REM (Rapid Eye Movement) अवस्थामा पुग्छौँ (जहाँ सबैभन्दा जीवन्त र उडेका सपनाहरू देखिन्छन्), तब हाम्रो मस्तिष्कले शरीरका मांसपेशीहरूलाई निष्क्रिय वा शिथिल (Paralyze) बनाइदिन्छ । यसलाई मसल एटोनिया भनिन्छ । मस्तिष्कले यसो गर्नुको कारण हो - सपनामा हामी जे गरिरहेका छौँ, विपनामा हाम्रो शरीरले त्यो 'एक्ट आउट' (Act out) अर्थात् दुरुस्तै उतार्न नसकोस्।

तर, कहिलेकाहीँ यो शारीरिक पक्षाघातको प्रणाली पूर्ण रूपमा लागु हुन सक्दैन। मस्तिष्कको मोटर कर्टेक्स र चेतनाबीचको समन्वय खुकुलो हुँदा सपनाको आवेग शरीरसम्म आइपुग्छ र मानिस निद्रामै बोल्न, हाँस्न वा रुन थाल्छ।

हाम्रा गतिविधि र सपनाका प्रकृतिको नाता 

  • निद्रामा बोल्नु (Somniloquy): यो REM र Non-REM दुवै अवस्थामा हुन सक्छ । जब यो गैर-REM अवस्थामा हुन्छ, मानिसले असम्बन्धित वा अस्पष्ट शब्दहरू बर्बराउँछ, जसको सपनासँग सीधा सम्बन्ध नहुन सक्छ । तर, REM अवस्थामा बोल्दा मानिसले निकै स्पष्ट संवाद गरिरहेको हुन्छ । यसको अर्थ विपनामा वा सपनाभित्र कसैसँग गरिरहेको बहस वा कुराकानी उसको मुखबाट शब्दका रूपमा बाहिर निस्किएको हो ।

  • निद्रामा हाँस्नु (Hypnogely): यो प्रायः REM निद्रा र सुखद वा रोमान्चक सपनासँग जोडिएको हुन्छ । सपनामा कुनै निकै ठुलो सफलता मिल्दा, उडेको बेला परम आनन्द महसुस हुँदा, वा कुनै हास्यास्पद दृश्य देख्दा मस्तिष्कले 'डोपामाइन' नामक रसायन छोड्छ, जसले विपनाकै शैलीमा ओठ र आवाजमार्फत हाँसो बाहिर निकाल्छ ।

  • रुनु वा कराउनु (Sleep Terrors / Nightmares): यसको सम्बन्ध डरलाग्दा सपना (Nightmares) र तीव्र मानसिक तनावसँग हुन्छ । जब मानिसले सपनामा आफू कतै अड्किएको, अग्लो ठाउँबाट खस्न लागेको, कसैले लखेटेको, वा दुर्घटनामा परेको देख्छ, तब उसको अवचेतन मनमा तीव्र 'भय' (Fear) उत्पन्न हुन्छ । यो डर यति शक्तिशाली हुन्छ कि मस्तिष्कको सुरक्षा पर्खाल तोडेर व्यक्ति चिच्याउन, रुन वा कराउन थाल्छ।

मनोवैज्ञानिक र व्यावहारिक कारणहरू

सपनामा देखिने यी शारीरिक प्रतिक्रियाहरूका पछाडि मुख्य गरी तीनवटा कुराहरू जिम्मेवार हुन्छन् -

  • अत्यधिक मानसिक तनाव (Stress and Anxiety): दिनभरिको कामको चाप, तनाव वा अनौठो कार्यतालिका (जस्तै रात्रिकालीन सिफ्टमा काम गर्नेहरूको असन्तुलित निद्रा) ले अवचेतन मनलाई शान्त हुन दिँदैन । फलतः, मस्तिष्कले सपनाको माध्यमबाट भावनाहरूलाई बाहिर फाल्न खोज्दा रुने-कराउने वा बोल्ने समस्या बढ्छ ।

  • भावनाको दमन (Suppressed Emotions): विपनामा जुन रिस, दुःख, वा भावनाहरू व्यक्तिले कसैलाई भन्न सक्दैन वा दबाएर राख्छ, ती भावनाहरू सपनामा प्रष्फुटन हुँदा आवाज र आँसुका रूपमा बाहिर आउँछन् ।

  • थकान र अनिद्रा: शरीर अत्यधिक थाकेको बेला वा निद्रा पूरा नहुँदा मस्तिष्कको 'स्लिप साइकल' गडबड हुन्छ, जसले प्यारासोम्नियाका यी लक्षणहरूलाई बढावा दिन्छ ।

निद्रामै कहिलेकाहीँ बोल्नु वा हाँस्नु सामान्य प्राकृतिक प्रक्रिया हो। तर, यदि कोही व्यक्ति निरन्तर रूपमा डरलाग्दो गरी कराउने, रुने वा हिंस्रक रूपमा हातगोडा चलाउने गर्छ भने, यसले उसमा गहिरो मानसिक तनाव, नैराश्यता वा 'REM Sleep Behavior Disorder' रहेको संकेत गर्न सक्छ। यस्तो अवस्थामा निद्राको तालिका (Sleep Hygiene) मिलाउने, सुत्नुअघि ध्यान गर्ने र आवश्यक परे मनोपरामर्श लिनु बुद्धिमानी हुन्छ।

***

सतर्कता र सन्तुलन सूत्र

सपना अवचेतन मनको ऐना हो, तर यसैमा बहकिनु बुद्धिमानी होइन । सपना र विपनाको सन्तुलन मिलाउन निम्न सतर्कताका सूत्रहरू अपनाउन सकिन्छ।

  • सपनाको डायरी (Dream Journal): बिहान उठ्नेबित्तिकै आफूले देखेको उडेको सपनालाई डायरीमा टिप्ने गर्नुस्। यसले तपाईंको अवचेतन मन कुन कुरामा केन्द्रित छ र तपाईंको वास्तविक जीवनको तनाव कुन स्तरमा छ भन्ने बुझ्न मद्दत गर्छ।
  • धरातलको पहिचान (Grounding Exercises): सपनामा जतिसुकै उचाइ लिए पनि विपनामा आफ्ना गोडाहरू भुइँमै हुनुपर्छ भन्ने यथार्थ भुल्नु हुँदैन। यदि यस्ता सपना धेरै आएर विपनाको एकाग्रता भंग हुन्छ भने ध्यान (Meditation) र योगमार्फत मनलाई वर्तमानमा फर्काउने प्रयास गर्नुस्।
  • भावनाको व्यवस्थापन: यदि सपनामा अवरोधसहितको वा त्रसित उडान देख्नुहुन्छ भने, विपनामा कुन कुराले तपाईंलाई रोकिरहेको छ - डर, ईर्ष्या, वा कार्यथलोको तनाव ? त्यसलाई चिन्नुस् र समाधान गर्नुस्।

आफूलाई उडेको अनुभूति गराउने सपनाहरू हाम्रो मस्तिष्कले रच्ने एक सुन्दर र अर्थपूर्ण महाकाव्य हुन्। यसले हामीलाई सीमाभन्दा माथि उठ्ने साहस दिन्छ र सम्झाउँछ कि हाम्रो मन भौतिक शरीरको परिधिभन्दा निकै विशाल छ। फ्रायड र जुङका सिद्धान्तहरूले भनेझैँ, यी सपनाहरूलाई बुझ्न सके हामीले आफ्नै आन्तरिक शक्ति र कमजोरीलाई चिन्न सक्छौँ। सपना केवल रातको कल्पनाविलास मात्र होइन, यो त हाम्रो मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्ने एउटा प्राकृतिक वरदान हो। सपनाको यो खुला आकाशमा उडान भरिरहनुहोस्, तर आफ्ना गोडाहरूलाई विपनाको धरातलमा दह्रो गरी टेकेर कर्म गरिरहनुहोस्। सपनामा उड्नुस्, आकाश छुनुस्, तर बिहानीको झुल्के घामसँगै विपनाको धरातलमा ओर्लेर आफ्ना सपनाहरूलाई यथार्थमा बदल्न कर्मको पखेटा फिँजाउनुस्।