Thursday, July 30, 2026

हाइपोमेनिया

मनको एउटा यस्तो अवस्था, जहाँ हामीलाई लाग्छ - 'म जे पनि गर्न सक्छु, मलाई न थकाइ लाग्छ, न त निद्रा नै चाहिन्छ।' एकाबिहानै उत्साहको सानो बाढी आउँछ, दिमागमा विचारहरू पखेटा फेरेर उड्न थाल्छन् र शरीरमा असीमित ऊर्जाको सञ्चार हुन्छ। बाहिरबाट हेर्दा यो मानिस असाध्यै ऊर्जावान्, रचनात्मक र सफल जस्तो देखिन्छ। तर, के यो ऊर्जा सामान्य नै हो ?

मनोविज्ञानको भाषामा मनको यो उद्वेलित र अस्वाभाविक रूपमा उच्च अवस्थालाई हाइपोमेनिया (Hypomania) भनिन्छ। आउनुस्, यसलाई बुझ्न दुई व्यावहारिक जीवनका कथाजस्ता प्रसंगहरूबाट सुरु गरौँ।

'अभूतपूर्व' सप्ताहान्त

काठमाडौंकी ३२ वर्षीया सरिता एक बैंकमा कार्यरत छिन्। गत शुक्रबारसम्म उनी सामान्य दिनचर्यामै थिइन्। तर शनिबार बिहानैदेखि उनमा एकाएक अद्भुत परिवर्तन आयो। उनी लगातार तीन दिनसम्म राति १-२ घण्टा मात्र सुतिन्, तर पनि बिहान उठ्दा थकानको कुनै अनुभव थिएन।

यी तीन दिनमा उनले आफ्नो सिंगो घर एक्लै सरसफाइ गरिन्। तीन वर्षदेखि लेख्दालेख्दै अधुरो छाडेको एउटा उपन्यासको ड्राफ्टमा थप ५० पाना लेखेर भ्याइन् र सोसल मिडियामा एकै दिन ३० वटा पोस्ट गरिन्। साथीहरूसँग फोनमा कुरा गर्दा उनी यति छिटो-छिटो बोल्थिन् कि अघिल्लो वाक्य नसकिँदै अर्को विषयमा पुगिसक्थिन्। उनलाई लागिरहेको थियो - 'मभित्र कुनै अलौकिक शक्ति आएको छ, म संसारकै सबैभन्दा रचनात्मक व्यक्ति हुँ।' तर चौथो दिनपछि उनको यो ऊर्जा बिस्तारै घट्न थाल्यो र उनी अचम्मको सुस्तीमा फर्किइन्।

'व्यापारिक क्रान्ति'

विराटनगरका रमेश एक कपडा व्यापारी हुन्। केही साताअघि उनी एकाएक मध्यराति ३ बजे उठे। उनलाई लाग्यो - 'मलाई देशकै व्यापारिक क्षेत्रमा गज्जबको फड्को मार्ने आइडिया आयो।' उनले परिवारका सदस्यलाई नसोधीकन आफ्नो बचतको आधा रकम करिब १५ लाख रुपैयाँ एउटा नयाँ र जोखिमपूर्ण अनलाइन व्यवसायमा लगानी गर्ने सम्झौता गरिहाले।

उनी २४ घण्टै फोनमा बोलिरहन्थे, मानिसहरूसँग भेट्दा निकै ठूलो-ठूलो कुरा गर्थे र कसैले उनलाई 'अलि विचार गरेर निर्णय लिनुस्' भन्दा असाध्यै रिसाउँथे। उनीभित्र अत्यधिक उत्साह थियो, तर उनका योजनाहरूमा कुनै व्यावहारिक आधार थिएन। केही दिनपछि उनको उत्साह त्यस्तै रहेन। उनले जे ठानेका थिए, त्यो गलत थियो। नोक्सानमा परे। 

सरिता र रमेशलाई हाइपोमेनिया भएको हो ? कसरी ?

हो, सरिता र रमेश दुवै हाइपोमेनियाको अवस्थाबाट गुज्रिरहेका थिए। सरिताको सन्दर्भमा निद्राको आवश्यकता एकाएक कम हुनु (दिनमा १-२ घण्टा मात्र सुत्दा पनि ऊर्जाशील हुनु), विचार र कामको गति अत्यधिक तीव्र हुनु (रचनात्मकताको अस्वाभाविक उभार), र छिटो-छिटो बोल्नु हाइपोमेनियाका स्पष्ट लक्षणहरू हुन्।

त्यहीँ रमेशको केसमा अस्वाभाविक आत्मविश्वास (Grandiosity), अत्यधिक ऊर्जा, जोखिमपूर्ण र अपरिपक्व वित्तीय निर्णय लिनु, र कसैले रोक्न खोज्दा अत्यधिक चुलिने रीस (Irritability) हाइपोमेनियाका सूचक हुन्।

के हो हाइपोमेनिया?

सरल भाषामा भन्नुपर्दा, हाइपोमेनिया भन्नाले मनस्थिति (Mood), ऊर्जाको स्तर र शारीरिक/मानसिक गतिविधि सामान्यभन्दा अस्वाभाविक रूपमा उच्च, उत्साहित वा चिडचिडा हुने मानसिक अवस्थालाई बुझाउँछ।

'Hypo' को अर्थ 'कम' वा 'हल्का' हुन्छ र 'Mania' को अर्थ 'उन्माद' हुन्छ। अर्थात्, यो मेनिया (Mania) भन्दा अलि हल्का वा कम तीव्र रूप हो। हाइपोमेनिया भएको व्यक्तिले आफूलाई अति नै खुसी, ऊर्जावान् वा प्रभावकारी महसुस गर्छ। बाहिरबाट हेर्दा व्यक्ति निकै गतिशील र सफल जस्तो देखिए पनि भित्रभित्रै उसको मस्तिष्क नियन्त्रणबाहिर गइरहेको हुन्छ।

यस अवस्थामा व्यक्तिले कम निद्रामै पर्याप्त ऊर्जा महसुस गर्ने, अति नै छिटो-छिटो बोल्ने, र सोचको गति अस्वाभाविक रूपमा तीव्र हुने अनुभव गर्छ। सुरुमा यो रचनात्मकता र क्षमता बढेजस्तो लागे पनि, समयमै नियन्त्रण नभए व्यक्तिले बिनाविचार जोखिमपूर्ण वित्तीय वा व्यक्तिगत निर्णयहरू लिन पुग्छ। अन्ततः यसले गम्भीर डिप्रेसन वा मेनियाको रूप लिन सक्छ।

पछिल्लो पुस्ताका अत्यन्तै प्रभावशाली अमेरिकी क्लिनिकल मनोवैज्ञानिक तथा बाइपोलर डिसअर्डर अध्ययनकी विशेषज्ञ डा. के रेडफिल्ड जेमिसन (Dr. Kay Redfield Jamison) ले हाइपोमेनियाको यो भ्रामक अवस्थालाई सूक्ष्म रूपमा व्याख्या गरेकी छन्। उनले भनेकी छन् - 'हाइपोमेनिया एउटा यस्तो भ्रामक र मोहक अवस्था हो, जहाँ मानिसलाई आफू पूर्ण रूपमा जीवन्त, अद्वितीय र क्षमतावान् भएको भान हुन्छ। तर यो ऊर्जा वास्तवमा एउटा मानसिक तुफानको सुरुवात मात्र हो, जसले मानिसलाई बिस्तारै विनाशकारी निर्णयहरूतर्फ धकेल्छ।'

जोन होपकिन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनमा मनोरोग विज्ञानकी प्राध्यापक समेत रहेकी डा. जेमिसन स्वयंले पनि बाइपोलर-२ र हाइपोमेनियाको सामना गरेकी छन्। उनले आफ्ना विभिन्न सार्वजनिक व्याख्यान तथा शैक्षिक लेखहरूमा हाइपोमेनियालाई 'सुरुवातमा उपहारजस्तो देखिने तर अन्ततः भारी मूल्य चुकाउनुपर्ने एउटा मानसिक अवस्था' का रूपमा विश्लेषण गरेकी छन्। उनका अनुसार हाइपोमेनिक अवस्थामा मस्तिष्कमा उत्पन्न हुने रचनात्मकताको उभार र उच्च आत्मविश्वासले व्यक्तिलाई यथार्थभन्दा धेरै टाढा पुर्‍याउँछ।

डा. जेमिसनको यो चर्चित व्याख्या र हाइपोमेनियाको गहिरो विश्लेषण उनको विश्वप्रसिद्ध संस्मरण (Memoir) 'An Unquiet Mind: A Memoir of Moods and Madness' (१९९५) मा विस्तारमा पढ्न पाइन्छ। यसका साथै हाइपोमेनिया र रचनात्मकताको सम्बन्धबारे उनले लेखेको अर्को पुस्तक 'Touched with Fire: Manic-Depressive Illness and the Artistic Temperament' तथा The American Journal of Psychiatry मा प्रकाशित उनका अनुसन्धान पत्रहरूमा यस विषयमा जानकारीहरु उपलब्ध छन्।

मनोवैज्ञानिकका व्याख्या

हाइपोमेनिया र मेनिया सम्बन्धी अवधारणाको विकासमा दुई प्रसिद्ध मनोवैज्ञानिक/मनोचिकित्सकको योगदान उल्लेखनीय छ। ती हुन् जर्मन मनोचिकित्सक एमिल क्रेपेलिन र स्वीस मनोविश्लेषक कार्ल जुङ।

मनोचिकित्सक क्रेपेलिनले पहिलोपटक डिप्रेसन (Depression) र मेनिया/हाइपोमेनियाबीचको सम्बन्धलाई वर्गीकरण गरे। उनले भने - 'मेनिया र डिप्रेसन दुई अलग रोग होइनन्, बरु एउटै मानसिक अवस्थाका दुई विपरीत ध्रुव हुन्।' उनले यसलाई 'म्यानिक-डिप्रेसिभ उन्माद' (Manic-Depressive Insanity) को नाम दिए, जसलाई आज हामी बाइपोलर डिसअर्डर (Bipolar Disorder) भन्छौँ।

उनले आफ्नो चर्चित पुस्तक 'Psychiatrie: Ein Lehrbuch für Studirende und Aertze' (मनोविज्ञान : विद्यार्थी र चिकित्सकहरूका लागि एक पाठ्यपुस्तक) को छैटौँ संस्करण (सन् १८९९) मा यो सिद्धान्त प्रस्तुत गरेका थिए।आधुनिक मनोचिकित्साको आधार मानिने उनको यो शोध अहिले American Psychiatric Association (APA) का ऐतिहासिक ग्रन्थहरू, Britannica Academic, तथा Google Books वा विभिन्न मेडिकल लाइब्रेरीमा डिजिटलाइज्ड रूपमा उपलब्ध 'Compendium of Psychiatry' मा पढ्न पाइन्छ।

उनले भनेका छन्, 'म्यानिक-डिप्रेसिभ उन्मादका विभिन्न रूपहरू छुट्टाछुट्टै रोग होइनन्, बरु एउटै रोग प्रक्रियाका विविध अभिव्यक्ति हुन्।' उनले स्पष्ट पारेका थिए कि यो अवस्थामा देखिने तीव्र उत्साह (मेनिया/हाइपोमेनिया) र गम्भीर उदासी (डिप्रेसन) समयको अन्तरालमा एउटै व्यक्तिमा पालैपालो दोहोरिन सक्छन्। यी दुवै अवस्थाका बिचमा व्यक्ति सामान्य अवस्थामा फर्कन सक्छ। यस रोगको मूल कारण मस्तिष्कको आन्तरिक जैविक प्रणाली हो, जसले व्यक्तिको भावनात्मक सन्तुलन, विचार र ऊर्जालाई पूर्ण रूपमा नियन्त्रण गर्छ।

मनोविश्लेषक कार्ल जुङले हाइपोमेनियालाई मानिसको भित्री मनको ऊर्जा (Libido) र व्यक्तित्वको संरचनासँग जोडेर व्याख्या गरे। उनले हाइपोमेनिया भएको अवस्थालाई 'चेतना र अवचेतन मनबीचको सन्तुलन बिग्रिएर भित्री ऊर्जा बाहिर अस्वाभाविक रूपमा पोखिएको अवस्था' भनेका छन्। 

जुङले भनेका छन्, 'हाइपोमेनिक व्यवहार वास्तवमा चेतन मनले अवचेतनको गहिरो निराशा र पीडाबाट बच्न रचेको एउटा रक्षात्मक ढाल (Psychological Defense) हो।' उनले स्पष्ट पारेका छन् कि जब मानिसले भित्री अवचेतनमा रहेका अशान्ति,हीनता वा डिप्रेसनलाई सामना गर्न सक्दैन, तब उसको आन्तरिक मानसिक ऊर्जा (Libido) बाहिरतिर अस्वाभाविक रूपमा पोखिन्छ। यसले व्यक्तिलाई बाहिरबाट अत्यधिक सक्रिय, उत्साहित र शक्तिशाली देखाए पनि भित्रभित्रै अवचेतन र चेतन मनबिचको सन्तुलन भने पूर्ण रूपमा बिग्रिएको हुन्छ।

उनका अनुसार जब व्यक्तिले आफ्नो अवचेतनका दबाएर राखिएका भावनाहरूलाई सामना गर्न सक्दैन, मस्तिष्कले त्यसको क्षतिपूर्ति स्वरूप 'हाइपोमेनिक रक्षा कवच' (Hypomanic Defense Mechanism) अपनाउँछ, जसले गर्दा व्यक्ति अत्यधिक सक्रिय र उत्साहित देखिन्छ। उनले सन् १९२१ मा प्रकाशित आफ्नो प्रसिद्ध ग्रन्थ 'Psychological Types' (साइकोलोजिकल टाइप्स) मा यसबारे चर्चा गरेका छन्। जुङको यो व्याख्या उनको संकलित ग्रन्थ 'The Collected Works of C.G. Jung (Volume 6)' तथा आधुनिक साइकोडायनामिक साइकोलोजीका पुस्तकहरू र JSTOR जस्ता शैक्षिक डेटाबेसमा सजिलै पढ्न सकिन्छ।

किन हुन्छ?

हाइपोमेनिया हुनुका पछाडि जैविक, आनुवंशिक र वातावरणीय कारणहरू जिम्मेवार हुन्छन्।

१. न्यूरोट्रान्समिटरको असन्तुलन : मस्तिष्कमा पाइने रासायनिक सन्देशवाहकहरू जस्तै - डोपामाइन (Dopamine)नोरेपिनेफ्रिन (Norepinephrine) को मात्रा अस्वाभाविक रूपमा बढ्दा हाइपोमेनिया उत्पन्न हुन्छ। विशेष गरी डोपामाइनले मस्तिष्कको पुरस्कार र प्रेरणा प्रणालीलाई बढावा दिन्छ, जसले व्यक्तिमा अस्वाभाविक उत्साह र आत्मविश्वास ल्याउँछ। त्यसैगरी नोरेपिनेफ्रिनको उच्च मात्राले शरीरमा 'फाइट अर फ्लाइट' प्रतिक्रिया सक्रिय गराई मुटुको धड्कन, ऊर्जा र सक्रियतालाई चरम सीमामा पुर्‍याउँछ। यी रसायनहरूको सन्तुलन बिग्रिनाले मस्तिष्कले भावना र आवेगलाई सही ढंगले नियन्त्रण गर्न सक्दैन।

२. वंशानुगत/आनुवंशिक कारण : यदि परिवारमा कसैलाई बाइपोलर डिसअर्डर वा कडा डिप्रेसनको इतिहास छ भने अरू सदस्यमा हाइपोमेनिया हुने जोखिम बढी हुन्छ। आनुवंशिक संरचनाले मानिसको मस्तिष्कमा भावना नियन्त्रण गर्ने क्षमतालाई प्रत्यक्ष प्रभाव पार्छ। अध्ययनहरूका अनुसार विशेष गरी फर्स्ट-डिग्री नातेदारहरू (माता-पिता, दाजुभाइ वा दिदीबहिनी) मा यो समस्या भएमा सन्तानमा हाइपोमेनिया वा बाइपोलर डिसअर्डर विकसित हुने सम्भावना पाँच देखि दस गुणासम्म बढी हुन्छ। डीएनएमा हुने सूक्ष्म जैविक परिवर्तनहरूले वंशानुगत रूपमै मस्तिष्कलाई तनाव र मुडको उतारचढावप्रति बढी संवेदनशील बनाउँछन्।

३. तनाव र जीवनशैली : अत्यधिक मानसिक तनाव, लगातार निद्राको कमी (Sleep Deprivation), वा जीवनमा आएका ठूला परिवर्तनहरू (जस्तै: एक्कासि कामको बोझ बढ्नु वा सफलता मिल्नु) ले पनि यसलाई बढावा दिन सक्छन्। विशेष गरी लगातार निद्रा नहुँदा मस्तिष्कको जैविक घडी (Circadian Rhythm) बिग्रिन्छ, जसले मुड नियन्त्रण गर्ने प्रणालीलाई अनियन्त्रित बनाउँछ। त्यस्तै, जीवनमा एक्कासि आउने ठूला सफलता वा खुसीले पनि मस्तिष्कमा उत्तेजना बढाउने रसायनहरू सक्रिय गराउँछन्। जब दैनिक कार्यतालिका र मानसिक तनावको सन्तुलन गुम्छ, तब सुषुप्त अवस्थामा रहेको हाइपोमेनियाको लक्षण तीव्र रूपमा बाहिर निस्कने जोखिम रहन्छ।

४. औषधि र पदार्थको प्रयोग : केही एन्टिडिप्रेसन्ट (Antidepressants) औषधिको गलत प्रयोग, स्टेरोइड वा लागूपदार्थ (गँजा, कोकेन आदि) को सेवनले हाइपोमेनिया निम्त्याउन सक्छ। विशेष गरी डिप्रेसनको उपचारमा प्रयोग हुने एन्टिडिप्रेसन्ट औषधिहरू मुड स्टेबिलाइजरविना एक्लै वा मनोचिकित्सकको सल्लाहविना मनपरी सेवन गर्दा मस्तिष्कको रसायनलाई एक्कासि उत्तेजित गराई 'म्यानिक स्विच' (Manic Switch) गराउन सक्छन्।

त्यसैगरी, कोकेन वा एम्फेटामिन जस्ता कडा नशालु पदार्थहरूले मस्तिष्कमा डोपामाइनको बाढी नै ल्याइदिन्छन्, जसले गर्दा व्यक्तिमा तुरुन्तै हाइपोमेनियाका लक्षणहरू देखिन्छन्। गाँजाको अत्यधिक सेवन र स्टेरोइड (Corticosteroids) औषधिको असरले पनि मस्तिष्कको प्राकृतिक सन्तुलन बिगारेर अस्वाभाविक उत्साह र चिडचिडापन बढाउँछ।

नकारात्मक नै हो ?

हाइपोमेनिया सधैं र पूर्ण रूपमा नकारात्मक मात्र हुँदैन, तर यो जोखिममुक्त भने पटक्कै होइन।

  • सकारात्मक पक्ष (अल्पकालीन) : हाइपोमेनियाको सुरुवाती चरणमा व्यक्ति अत्यधिक उत्पादक (Productive), रचनात्मक (Creative), र सामाजिक रूपमा सक्रिय हुन्छ। धेरै कलाकार, लेखक, र उद्यमीहरूले हाइपोमेनिक चरणमा ठूलो काम गरेको इतिहास छ। यस बेला मानिसलाई थकान लाग्दैन र आत्मविश्वास चरम सीमामा हुन्छ। अत्यधिक ऊर्जा र कम निद्राका कारण मानिसले सामान्य अवस्थाभन्दा दोब्बर गतिमा काम गर्न सक्छ। विचारहरूको तीव्र प्रवाहले गर्दा कला, लेखन वा व्यवसायमा नयाँ र मौलिक विचारहरू जन्मिन्छन्। सामाजिक घुलमिल र संवादमा अस्वाभाविक निपुणता देखिने भएकाले मानिसहरूलाई आकर्षित गर्न सजिलो हुन्छ। तर, यो अल्पकालीन रचनात्मकता र ऊर्जा एउटा 'भ्रामक उपहार' मात्र हो, जुन मस्तिष्कको प्राकृतिक क्षमताभन्दा बाहिर गएर तीव्र गतिमा खर्च भइरहेको हुन्छ।

  • नकारात्मक पक्ष (दीर्घकालीन) : यो ऊर्जा स्थायी हुँदैन। जब हाइपोमेनिया नियन्त्रणबाहिर जान्छ, मानिसले अव्याहारिक र जोखिमपूर्ण निर्णयहरू लिन्छ (जस्तै: आर्थिक नोक्सानी, सम्बन्धमा दरार)। सबैभन्दा खतरनाक कुरा त के भने, हाइपोमेनिक चरण सकिएपछि व्यक्ति प्रायः कडा डिप्रेसन (Depressive Crash) मा भासिन्छ। त्यसैले बाहिरबाट सकारात्मक देखिए पनि यो भित्री मानसिक असन्तुलनकै सङ्केत हो। दीर्घकालीन रूपमा, यो अस्वाभाविक ऊर्जाले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई थिलथिलो बनाउँछ। लगातारको कम निद्रा र अत्यधिक सक्रियताले गर्दा 'मस्तिष्क र शरीरको थकान' (Burnout) चरम सीमामा पुग्छ।

    यस अवस्थामा लिएका हतारिएका निर्णयहरूले आर्थिक टाटपल्टाई, वैवाहिक वा सामाजिक सम्बन्धमा विच्छेद, र कानुनी झन्झटहरू निम्त्याउँछन्। जब यो उद्वेलित चरण अचानक अन्त्य हुन्छ, व्यक्ति गम्भीर उदासी, निराशा र आत्महत्यासम्मको सोच (Suicidal Ideation) आउने कडा डिप्रेसनको खाडलमा खस्न पुग्छ।

मेनिया र हाइपोमेनियाको फरक

यी दुवै एउटै प्रजातिका दुई फरक तीव्रता हुन्। मेनिया र हाइपोमेनिया दुवै 'बाइपोलर डिसअर्डर'सँग सम्बन्धित यस्ता मानसिक अवस्था हुन्, जहाँ व्यक्तिको मुड, ऊर्जा र सक्रियताको स्तर सामान्यभन्दा अत्यधिक उच्च हुन्छ। यी दुवैमा व्यक्तिले कम सुत्ने, अस्वाभाविक रूपमा तीव्र गतिमा बोल्ने र ठूला-ठूला योजना बनाउने जस्ता लक्षण देखाउँछ।

तथापि, यी दुईबीच मुख्य फरक यिनको तीव्रता, अवधि र गम्भीरतामा हुन्छ। हाइपोमेनिया मेनियाको तुलनामा हल्का रूप हो। यसको असर कम्तीमा ४ दिनसम्म रहन्छ। यसमा व्यक्तिले काम गर्न सके पनि उसको व्यवहारमा भिन्नता देखिन्छ, तर यसले दैनिक जीवनमा पूर्ण रूपमा बाधा पुर्‍याउँदैन र यसमा अस्पताल भर्ना हुनुपर्दैन।

मेनिया अत्यन्तै कडा र गम्भीर अवस्था हो, जुन कम्तीमा एक साता वा सोभन्दा बढी रहन्छ। यसमा व्यक्तिको सोच र व्यवहार नियन्त्रणबाहिर जान्छ, जसले गर्दा उसलाई भ्रम वा काल्पनिक दृश्य देखिने हुन सक्छ। यस अवस्थामा व्यक्तिलाई आफ्नै वा अरूको सुरक्षाका लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउँछ। दुवैका अवस्थाहरूलाई यसरी तुलना गर्न सकिन्छ -

विशेषताहाइपोमेनियामेनिया
तीव्रतामध्यम वा हलुका हुन्छ।अत्यधिक कडा र गम्भीर हुन्छ।
अवधिकम्तीमा लगातार ४ दिन रहन्छ।कम्तीमा १ हप्ता वा सोभन्दा बढी रहन्छ।
दैनिक कार्यमा असरदैनिक काम गर्न सकिन्छ, तर व्यवहारमा परिवर्तन प्रस्ट देखिन्छ।दैनिक जीवन, काम र सम्बन्ध पूर्ण रूपमा अस्तव्यस्त हुन्छ।
वास्तविकतासँगको सम्बन्ध (Psychosis)भ्रम वा असत्य कुरा देख्ने/सुन्ने (Hallucinations/Delusions) हुँदैन।कडा भ्रम (Psychotic symptoms) हुन सक्छ।
अस्पताल भर्नासामान्यतया अस्पताल भर्ना गर्नुपर्दैन।व्यक्तिको सुरक्षाका लागि प्रायः अस्पताल भर्ना (Hospitalization) अनिवार्य हुन्छ।

कुनै खास उमेर समूहलाई मात्रै हुन्छ?

होइन, हाइपोमेनिया कुनै एउटा खास उमेर समूहमा मात्र सीमित हुँदैन, तर यसको सुरुवात हुने निश्चित उमेर भने हुन्छ।

  • किशोरावस्था र युवावस्था (१५ देखि २५ वर्ष) : हाइपोमेनियाको पहिलो लक्षण प्रायः किशोरावस्थाको अन्त्यतिर वा २०–२५ वर्षको उमेरमा देखिन थाल्छ। यस उमेरमा मस्तिष्कमा हुने तीव्र हर्मोनल परिवर्तन र जीवनका नयाँ चुनौतीहरूका कारण यो अवस्था विकसित हुन सक्छ। धेरैले यसलाई उमेरको चञ्चलता वा अत्यधिक महत्त्वाकांक्षा मात्र ठानेर सुरुमा बेवास्ता गर्ने गर्छन्।

  • प्रौढावस्था : ३० वा ४० वर्षको उमेरमा पनि जीवनको ठूलो तनाव वा शारीरिक परिवर्तनका कारण यो पहिलोपटक देखिन सक्छ। यस उमेरमा जीवनशैली, पारिवारिक जिम्मेवारी, जागिरको तनाव वा महिलाहरूमा हुने हर्मोनल फेरबदलका कारण मस्तिष्कको रसायन अनियन्त्रित हुन सक्छ। पहिले कुनै समस्या नदेखिएका व्यक्तिमा पनि अत्यधिक तनाव वा कडा औषधिको असरले हाइपोमेनियाको पहिलो एपिसोड निम्त्याउन सक्छ।

  • बालबालिका र वृद्धवृद्धा : बालबालिका र वृद्धवृद्धामा यो कमै देखिन्छ, र देखिएमा पनि लक्षणहरू अलि फरक (जस्तै: बालबालिकामा अत्यधिक चिडचिडापन) हुन सक्छन्। बालबालिकामा ऊर्जा भन्दा धेरै हठ र अत्यधिक चिडचिडापन देखिन सक्छ भने वृद्धवृद्धामा द्विविधा, बिर्सने बानी वा शारीरिक अस्वस्थतासँगै यो देखा पर्छ। उमेरअनुसार लक्षण फरक हुने भएकाले यी उमेर समूहमा यसको सही पहिचान गर्न विशेष सावधानी र विशेषज्ञको मार्गदर्शन आवश्यक हुन्छ।

आफैंमा मनोरोग वा अन्य समस्याको प्रारम्भिक लक्षण ?

हाइपोमेनिया आफैंमा एउटा स्वतन्त्र रोग (Diagnosis) मात्र होइन, यो मुख्यगरी अन्य ठूला मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख लक्षण वा सूचक हो।

१. बाइपोलर-२ डिसअर्डर (Bipolar II Disorder) : हाइपोमेनिया बाइपोलर-२ को मुख्य पहिचान हो, जहाँ व्यक्ति कहिले कडा डिप्रेसन र कहिले हाइपोमेनियाको चक्रबाट गुज्रिन्छ। यस रोगमा व्यक्तिले कम्तीमा एउटा कडा डिप्रेसन (Major Depressive Episode) र कम्तीमा एउटा हाइपोमेनिक चरणको सामना गर्नुपर्छ। बाइपोलर-१ को जस्तो यसमा पूर्ण मेनिया (Full Mania) हुँदैन, जसले गर्दा धेरैले हाइपोमेनियालाई आफ्नो 'उत्कृष्ट र सक्रिय समय' ठानेर उपचार खोज्दैनन्। तर डिप्रेसनको कडा चक्रले गर्दा बिरामीको दैनिक जीवन र मानसिक स्वास्थ्य गम्भीर रूपमा प्रभावित हुन्छ।

२. साइक्लोथाइमिया (Cyclothymia) : यो मुड स्विङ हुने एउटा यस्तो अवस्था हो, जहाँ व्यक्तिमा हलुका डिप्रेसन र हलुका हाइपोमेनियाका लक्षणहरू लगातार दुई वर्ष वा सोभन्दा बढी समयसम्म दोहोरिइरहन्छन्।साइक्लोथाइमियालाई बाइपोलर डिसअर्डरको तुलनात्मक रूपमा हल्का तर दीर्घकालीन (Chronic) रूप मानिन्छ। यसमा मुडको उतारचढाव लगातार भइरहने भए पनि लक्षणहरू कडा डिप्रेसन वा पूर्ण हाइपोमेनियाको स्तरसम्म पुग्दैनन्। यद्यपि, दुई वर्ष वा सोभन्दा बढी समयसम्म मुड कहिल्यै स्थिर नरहने हुनाले व्यक्तिको व्यक्तिगत जीवन, पेसागत उत्पादकत्व र सामाजिक सम्बन्धहरूमा निरन्तर अस्पष्टता र तनाव सिर्जना भइरहन्छ।

३. कडा डिप्रेसनको पूर्वसंकेत : कहिलेकाहीँ कडा डिप्रेसनमा पर्नुअघि मस्तिष्कले दिने प्रारम्भिक चेतावनीका रूपमा पनि हाइपोमेनिक चरण देखा पर्न सक्छ। मस्तिष्कले आफ्नो आन्तरिक ऊर्जा र रासायनिक असन्तुलनलाई सम्हाल्न खोज्दा कडा डिप्रेसनमा भासिनुअघि एक्कासि अस्वाभाविक सक्रियता देखाउन सक्छ। यसलाई 'डिप्रेसिभ क्र्यास' (Depressive Crash) अघिको अन्तिम मानसिक उभार मानिन्छ। जब यो अल्पकालीन अस्वाभाविक ऊर्जा र अत्यधिक उत्साह एक्कासि समाप्त हुन्छ, व्यक्ति सिधै गम्भीर उदासी, आशाहीनता र मानसिक शून्यताको कडा खाडलमा खस्न पुग्छ।

जोगिन के-के गर्ने ? 

यदि कसैमा हाइपोमेनियाको प्रवृत्तिको पहिचान भएको छ भने, यसलाई नियन्त्रणमा राख्न निम्न उपायहरू अपनाउनुपर्छ -

  • नियमित निद्रा (Sleep Hygiene) : हाइपोमेनियाको सबैभन्दा ठूलो 'ट्रिगर' निद्राको कमी हो। दैनिक ७ देखि ८ घण्टा तोकिएको समयमा सुत्ने बानी बसाल्नुपर्छ। निद्रा नपुग्दा मस्तिष्कको मुड नियन्त्रण गर्ने प्रिफ्रन्टल कर्टेक्स सुस्त हुन्छ र डोपामाइन प्रणाली अनियन्त्रित भई हाइपोमेनिया भड्किन्छ। त्यसैले हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने, सुत्नुअघि स्क्रिन (फोन/टिभी) नहेर्ने र कोठा अँध्यारो तथा शान्त राख्नाले मस्तिष्कको जैविक घडी (Circadian Rhythm) सन्तुलित भई यस जोखिमबाट जोगिन सकिन्छ।

  • दिनचर्याको नियमन (Routine) : खाने, सुत्ने, र काम गर्ने समय निश्चित बनाउनाले मस्तिष्कको जैविक घडी (Circadian Rhythm) सन्तुलित रहन्छ। नियमित दिनचर्याले मस्तिष्कको हर्मोनल र रासायनिक चक्रलाई स्थिर बनाउन मद्दत गर्छ। जब खाने, सुत्ने र काम गर्ने समय दैनिक रूपमा उस्तै हुन्छ, मस्तिष्कले समयमै मेलानोटोनिन (Melatonin)कोर्टिसोल (Cortisol) जस्ता हर्मोनहरू सही मात्रामा उत्सर्जन गर्छ। यसले अस्वाभाविक उत्तेजना र मुडको तीव्र उतारचढावलाई रोकेर मस्तिष्कलाई हाइपोमेनियाको जोखिमबाट जोगाउँछ।

  • तनाव व्यवस्थापन : ध्यान (Meditation), योग, र नियमित व्यायामले दिमागमा डोपामाइनको अस्वाभाविक प्रवाहलाई सन्तुलनमा राख्न मद्दत गर्छ। नियमित शारीरिक अभ्यासले तनाव गराउने कोर्टिसोल हर्मोनको स्तर घटाउनुका साथै मस्तिष्कमा शान्ति प्रदान गर्ने इन्डोर्फिनसेरोटोनिनजस्ता रसायनहरू सन्तुलित रूपमा उत्सर्जन गर्छ। यसले भावना र आवेग नियन्त्रण गर्ने मस्तिष्कको 'प्रिफ्रन्टल कर्टेक्स' (Prefrontal Cortex) भागलाई बलियो बनाउँछ। नतिजास्वरूप, अत्यधिक मानसिक उत्तेजना शान्त हुन्छ र दिमागमा डोपामाइनको अस्वाभाविक उतारचढाव रोकिई मुड स्थिर रहन मद्दत पुग्छ।

  • नशाबाट दूरी : रक्सी, गाँजा, वा अन्य कडा नशालु पदार्थको सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ, जसले मुडलाई अनियन्त्रित बनाउँछ। नशालु पदार्थहरूले मस्तिष्कको प्राकृतिक रसायन प्रणालीलाई सीधै प्रहार गर्छन्। रक्सी र गाँजाले मुड सन्तुलनमा राख्ने स्नायुप्रणालीलाई अनियन्त्रित बनाउँछन् भने कोकेन वा एम्फेटामिन जस्ता कडा नशाले डोपामाइनको स्तर एक्कासि बढाएर हाइपोमेनियालाई तत्काल भड्काउँछन्। यी पदार्थको सेवनले मस्तिष्कको आवेग नियन्त्रण गर्ने क्षमता कमजोर बनाउने हुनाले यसबाट पूर्ण रूपमा टाढा रहनु नै मुडलाई स्थिर राख्ने उत्तम उपाय हो।

  • मूड ट्र्याकिङ (Mood Charting) : आफ्नो मुड र ऊर्जाको स्तर दिनहुँ नोट गर्ने गर्दा हाइपोमेनिया सुरु हुन लागेको पूर्वसंकेत (Early Warning Signs) समयमै थाहा पाउन सकिन्छ। दैनिकी वा डिजिटल एपको प्रयोग गरी दैनिक रूपमा निद्राको घण्टा, ऊर्जाको स्तर, बोल्ने गति, र मुडमा आएको परिवर्तन रेकर्ड गर्नाले आफ्नो मानसिक अवस्थाको सूक्ष्म ढाँचा (Pattern) बुझ्न सकिन्छ। जब ऊर्जा एकाएक बढ्ने वा निद्रा घट्ने जस्ता पूर्वसंकेतहरू देखिन्छन्, तब प्रारम्भिक चरणमै सतर्क भई जीवनशैली सुधार गर्न वा मनोचिकित्सकको सल्लाह लिएर हाइपोमेनियालाई कडा रूप लिनबाट रोक्न सकिन्छ।

के छ उपचार ?

हाइपोमेनियाको उपचार सम्भव छ र यसका लागि मुख्यतया दुईवटा विधि अपनाइन्छ।

१. औषधीय उपचार (Pharmacotherapy)

मनोचिकित्सक (Psychiatrist) को परामर्शमा निम्न औषधिहरू प्रयोग गरिन्छ:

  • मुड स्टेबिलाइजर (Mood Stabilizers) : जस्तै लिथियम (Lithium) वा भ्याल्प्रोएट, जसले मनको अस्वाभाविक उतारचढावलाई शान्त पार्छन्। यी औषधिहरूले मस्तिष्कको स्नायु प्रणालीलाई सन्तुलित बनाएर अत्यधिक उत्तेजना र ऊर्जालाई नियन्त्रण गर्छन्। यसले मुडलाई अनियन्त्रित हुनबाट जोगाई मानिसलाई पुनः सामान्य र स्थिर अवस्थामा फर्काउन मद्दत पुर्‍याउँछ।

  • एन्टी-साइकोटिक्स (Atypical Antipsychotics) : जसले मस्तिष्कको रासायनिक असन्तुलनलाई नियन्त्रण गर्छन्। यी औषधिहरूले डोपामाइन र सेरोटोनिन जस्ता स्नायु-रसायनको प्रभावलाई नियमन गरी मनको अत्यधिक उत्तेजना, भ्रम र अनियन्त्रित व्यवहारलाई शान्त पार्छन्, जसले गर्दा व्यक्ति छिट्टै सामान्य जीवनमा फर्किन सक्छ।

२. मनोवैज्ञानिक उपचार (Psychotherapy)

  • कग्निटिभ बिहेभियरल थेरापी (CBT) : यसले व्यक्तिलाई आफ्ना अस्वाभाविक विचार र जोखिमपूर्ण व्यवहार पहिचान गरी नियन्त्रण गर्न सिकाउँछ। यस प्रक्रियामा अस्वाभाविक वा अत्यधिक उत्तेजित विचारहरूलाई पहिचान गरी व्यावहारिक रूपमा पुनःसंरचना गरिन्छ। CBT ले व्यक्तिलाई आफ्नो नियमित दिनचर्या कायम राख्न, वित्तीय वा व्यक्तिगत क्षेत्रमा लिइने आवेगपूर्ण निर्णयहरू रोक्न र तनाव व्यवस्थापन गर्ने नयाँ कौशलहरू सिकाउँछ। यसरी यस थेरापीले व्यक्तिलाई आफ्ना विचार, भावना र व्यवहारबीचको अन्तरसम्बन्ध बुझेर मुडलाई दीर्घकालीन रूपमा स्थिर र सन्तुलित राख्न सक्षम बनाउँछ।

  • इन्टरपर्सनल एन्ड सोसल रिदम थेरापी (IPSRT) : यसले व्यक्तिको दैनिक सामाजिक र जैविक दिनचर्यालाई सन्तुलित बनाउन मद्दत गर्छ। यस थेरापीले निद्रा, भोजन, व्यायाम र सामाजिक अन्तरक्रिया जस्ता दैनिक कार्यहरूलाई एउटा निश्चित समयतालिकामा बाँध्न सहयोग गर्छ। जैविक र सामाजिक जैविक घडी (Biological Clock) लाई नियमित राख्नाले मस्तिष्कको रासायनिक असन्तुलनलाई कम गर्छ। यसले गर्दा दिनचर्यामा आउने अप्रत्याशित फेरबदलका कारण हाइपोमेनिया वा डिप्रेसनको एपिसोड दोहोरिने जोखिमलाई उल्लेख्य रूपमा घटाउन सकिन्छ।

के यसबाट डराउनुपर्छ ?

बिल्कुलै डराउनुपर्दैन !

हाइपोमेनिया वा मुड डिसअर्डर हुनु कुनै अपराध वा व्यक्तिको कमजोरी होइन। यो मधुमेह (Diabetes) वा उच्च रक्तचाप जस्तै शरीर र मस्तिष्कको एउटा जैविक अवस्था हो। सही परामर्श, नियमित औषधि (यदि मनोचिकित्सकले सिफारिस गरेमा), सन्तुलित जीवनशैली र परिवारको मायालु सहयोगबाट यसलाई पूर्ण रूपमा नियन्त्रणमा राखेर सामान्य र सफल जीवन जिउन सकिन्छ। त्यसैले नलजाइ र नडराइ समयमै विशेषज्ञको परामर्श लिनु नै बुद्धिमानी हुन्छ।

नडराउने कारण र अब के गर्ने ?

  • ज्ञान नै शक्ति हो : जब तपाईंलाई हाइपोमेनिया के हो र यसले कसरी काम गर्छ भन्ने थाहा हुन्छ, तपाईं यसको नियन्त्रणमा हुनुहुन्छ, यो तपाईंको नियन्त्रणमा हुँदैन। आफ्ना लक्षणहरू, ट्रिगरहरू र शारीरिक-मानसिक परिवर्तनहरू बुझ्न सकेमा हाइपोमेनियाको पूर्वसंकेत पाउनेबित्तिकै सचेत हुन सकिन्छ। सही ज्ञानले आत्मबल बढाउँछ, जसले गर्दा हतारमा गलत निर्णय लिनबाट जोगिन र समयमै मनोचिकित्सक वा विशेषज्ञको सहयोग माग्न सजिलो हुन्छ। आत्म-जागरूकता नै यसलाई सफलतापूर्वक व्यवस्थापन गर्ने पहिलो र बलियो कदम हो।

  • सही समयमा परामर्श : यदि तपाईं वा तपाईंको परिवारको कसैमा लगातार ४-५ दिनसम्म अस्वाभाविक ऊर्जा, कम निद्रा र हतारिएका निर्णयहरू लिने लक्षण देखिन्छन् भने नधिचकिचाई मनोचिकित्सक वा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श लिनुहोस्। मानसिक स्वास्थ्य विशेषज्ञसँगको परामर्शले रोगको सही पहिचान गर्न र अवस्था अनुसार साइकोथेरापी (Psychotherapy) वा आवश्यक औषधि तय गर्न मद्दत गर्छ। प्रारम्भिक चरणमै उपचार सुरु गर्दा हाइपोमेनियालाई कडा मेनिया वा गम्भीर डिप्रेसनमा बदल्नबाट रोक्न सकिन्छ, जसले व्यक्ति र परिवारलाई ठूलो मानसिक तथा आर्थिक क्षतिबाट जोगाउँछ।

  • सहयोगको वातावरण : बिरामीलाई दोष दिनुको साटो उनीहरूको अवस्था बुझेर माया र सहयोगको वातावरण बनाइदिनु पर्छ। 'नाटक गरेको' वा 'सन्की' भनेर जिस्क्याउनुको साटो यो उनीहरूको नियन्त्रणबाहिरको स्नायुगत अवस्था हो भन्ने बुझ्नुपर्छ। परिवार र साथीभाइले शान्त वातावरण सिर्जना गरिदिँदा, उनीहरूका कुरा धैर्यपूर्वक सुनिदिँदा र जोखिमपूर्ण निर्णय लिनबाट मायालु ढङ्गले रोक्दा बिरामीले सुरक्षित महसुस गर्छन्। यस्तो भावनात्मक सहाराले बिरामीलाई समयमै उपचार खोज्न र मुडलाई स्थिर राख्न ठूलो मद्दत पुर्‍याउँछ।

हाइपोमेनियालाई सही समयमा चिन्न सकियो भने यसलाई सजिलै व्यवस्थापन गरेर मानिसले सामान्य, सफल र शान्त जीवन जिउन सक्छ। सचेत बनौँ, मानसिक स्वास्थ्यलाई खुला रूपमा स्वीकार गरौँ। मानसिक स्वास्थ्यमा आउने यस्ता उतारचढाव जीवनको पूर्णविराम होइनन्, केवल एउटा मोड मात्र हुन्। जसरी रातपछि घाम झुल्किन्छ, त्यसरी नै सही मार्गदर्शन, उपचार र जीवनशैलीमा साना परिवर्तन ल्याएर मस्तिष्कको यो अस्थिरतालाई पूर्ण रूपमा शान्त पार्न सकिन्छ। हाइपोमेनियालाई आफ्नो कमजोरी होइन, केवल एउटा जैविक भिन्नताका रूपमा स्वीकार्न सिक्नुपर्छ।

जब हामी यस अवस्थालाई लुकाउन छाडेर खुला रूपमा स्वीकार गर्छौँ, तब आधा उपचार त त्यहीँ पूरा हुन्छ। सही समयमा पहिचान र व्यवस्थापन गर्न सकेमा यो ऊर्जालाई विनाशकारी निर्णयहरूमा होइन, रचनात्मक र सकारात्मक दिशामा मोड्न सकिन्छ। संसारमा यस्ता अनगिन्ती व्यक्तिहरू छन्, जसले मुड डिसअर्डरलाई सफलतापूर्वक जित्दै कला, साहित्य, विज्ञान र समाजसेवाको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेका छन्।

त्यसैले, मनमा कुनै डर वा निराशा नराख्नुहोस्। मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, आफू पनि सचेत बनौँ र अरूलाई पनि ढाडस दिऔँ। सही सहयोग र आत्मबलको साथले समृद्ध, शान्त र पूर्ण रूपमा सफल जीवन जिउनु एकदमै सम्भव छ।

Sunday, July 26, 2026

त्यस्तो के सुनेर हुनुभो उग्र ?

काठमाडौंको एउटा व्यस्त क्याफेमा २० वर्षीया स्नेहा आफ्नो साथीसँग कफी पिउँदै थिइन्। वातावरण निकै रमाइलो थियो, तर एक्कासि उनको पछाडिको टेबलमा बसेका जोडीले खाएको आवाजले ध्यान तान्यो।  उनीहरुले चपाउँदा निस्किएको ‘चप्-चप्’ आवाज स्नेहाको कानमा सामान्य ध्वनि मात्र बनेर परेन, त्यो त उनको मस्तिष्कमा सीधै किला ठोकेसरह भयो। 

उनको मुटुको ढुकढुकी बढ्यो। पाखुराका रौं ठाडा भए र उनलाई ती जोडीका हातबाट प्लेट खोसेर हुर्‍याइदिऊँ जस्तै रिस उठ्यो। उनी एकाएक टेबलबाट उठिन् र शौचालयतिर भागिन्। बाहिरबाट हेर्दा स्नेहा ‘सन्की’ वा ‘उदासीन’ जस्ती देखिइन्, तर भित्रभित्रै उनी एउटा अनौठो मानसिक र स्नायुगत संघर्ष झेलिरहेकी थिइन्।

दोस्रो प्रसंग,

४५ वर्षका रमेश आफ्नो कार्यालयको मिटिङ रूममा बसिरहेका छन्। सहकर्मीले निरन्तर डटपेनको पछाडिको बटन एकसुरले थिच्दै ‘टिकटिक टिकटिक’ पारिरहेका छन्। रमेशको ध्यान मिटिङको मुख्य एजेन्डाबाट पूर्ण रूपमा हटेर केवल त्यो ‘टिकटिक’ आवाजमा अड्किन्छ। उनलाई आफ्नो टाउको फुट्ला जस्तै हुन्छ, जिउ  पसिनाले भिज्छ र उनी सहकर्मीमाथि चिच्याउन पुग्छन् - 'बन्द गर त्यो टिकटिक !' पछि उनलाई आफूले गरेको व्यवहारप्रति ग्लानि हुन्छ, तर अर्कोपटक त्यस्तै आवाज सुन्दा उनी पुनः आफूलाई रोक्न असमर्थ हुन्छन्।

स्नेहा र रमेश दुवैलाई बिगतमा मानसिक समस्या थिएन। दुवै हिजोआज एउटा विशेष तर प्रायः ओझेलमा परेको अवस्थाबाट गुज्रिरहेका छन्, जसलाई चिकित्सा विज्ञानमा ‘मिसोफोनिया’ (Misophonia) भनिन्छ।

यसलाई अझ सजिलोसँग बुझ्नका लागि सोचौँ, हामी एउटा यात्रामा छौँ। बस रोकियो खाना खाने होटलमा। सबै यात्रु ओर्लिए। हातमुख धुन र दिसापिसाब गर्न होटल कर्मचारीले बताएको दिशामा लागियो। अचानक एकजना जंगिदै बाहिर आए, बेसिनमा खकारीरहेका युवकलाई दुई-चार चड्कन लगाए। कराए, 'भित्र यत्राविधि मान्छेहरु खाना खाइरहेका छन् भन्ने थाहा हुँदाहुँदै यस्तरी खकार्ने? कमन सेन्स छैन?'

अचानकको घटनाको कारण स्वाभाविक थिएन। दुवैबीच हात हालाहाल भयो। झगडा बढ्ने अवस्था भएपछि अरु यात्रु आए, दुवैलाई सम्झाए, छुट्याए। ती जंगिने मान्छेले त्यसपछि खाना खाएन। उ त्यसै बसमा चढ्यो। अशान्त रहेको भाव अनुहारमा थियो। उनी जंगिनु स्वाभाविक थियो, हात हालाहालमै उत्रनु अस्वाभाविक। कतै कुनै सामान लिन वा शुल्क तिर्न आफू लागेको लाममा पालो मिच्दै छिरेकाको बोली सुनेर, गाडीको हर्न सुनेर अस्वाभाविक रूपमा जंगिनेमा तपाइँ-हामी परिरहेका हुन्छौँ। दैनिक जीवनमा कहिलेकाहीँ लाग्छ - 'ठूलो कुरै थिएन, यस्तरी रियाक्ट नगरेको भए पनि हुने थियो।' त्यो आक्रामक र अस्वाभाविक प्रतिक्रिया 'मिसोफोनिया' हो।

के हो यो समस्या ?

'मिसोफोनिया' शब्द ग्रीक भाषाका दुई शब्द 'Misos' (घृणा) र 'Phone' (आवाज) मिलेर बनेको हो। यसको शाब्दिक अर्थ हुन्छ, 'आवाजप्रतिको तीव्र घृणा।'

सामान्यतया मानिसहरूलाई ठूलो बाजा, हर्न वा कोलाहलले झर्को लाग्नु स्वाभाविक हो। तर मिसोफोनिया भएका मानिसहरूलाई कुनै ठूलो कोलाहलले होइन, बरु हाम्रै दैनिक जीवनका साना, सामान्य र नियमित आवाजहरूले असर गर्छन्। जस्तै: कसैले खाना चपाएको, घुट्क्याएको, नाक स्याँर्र स्याँर्र गरेको, आवाज आउनेगरी साँस फेरेको, किबोर्डमा टाइप गरेको वा घडीको ‘टिक-टिक’। यी आवाजहरू उनीहरूका लागि केवल झर्को लाग्ने विषय मात्र हुँदैनन्, यी आवाजले उनीहरूको मस्तिष्कमा 'Fight-or-Flight' (लड्ने वा भाग्ने) संकटकालीन प्रतिक्रिया (Survival Mechanism) सक्रिय गराइदिन्छन्।

सुरु हुन्छ कसरी, ल्याउँछ कस्ता समस्या ?

मिसोफोनिया प्रायः सुस्त गतिमा सुरु हुन्छ। सुरुका दिनहरूमा व्यक्तिलाई परिवारका कुनै एक सदस्यको खास आवाज (जस्तै: कसैले खाना चपाएको, खकारेको, नाकका आवाज) ले मात्रै बिथोल्न थाल्छ। तर समयसँगै यो बढ्दै जान्छ र अन्य व्यक्तिहरूका उस्तै आवाजहरू पनि 'ट्रिगर' बन्न थाल्छन्।

यसले व्यक्तिमा केवल मानसिक होइन, शारीरिक र सामाजिक समस्याहरूसमेत निम्त्याउँछ।

  • शारीरिक समस्या : ट्रिगर हुने आवाज सुन्ने बित्तिकै मुटुको धड्कन बढ्नु, पसिना आउनु, मांसपेशी तानिनु र मनिङ वाक वा व्यायाम गर्दा जस्तै शरीरमा एड्रेनालिन (Adrenaline) हर्मोनको बाढी आउनु। यसरी एड्रेनालिन हर्मोन एक्कासी अनियन्त्रित रूपमा बग्दा शरीर लगातार 'हाइ अलर्ट' (High Alert) को स्थितिमा रहन्छ। यसले गर्दा व्यक्तिमा दीर्घकालीन शारीरिक थकान, उच्च रक्तचाप, र टाउको दुख्ने जस्ता समस्याहरू देखिन थाल्छन्। निरन्तरको यो तनावले पाचन प्रणालीमा असर पार्नुका साथै राति निद्रा नलाग्ने (Insomnia) समस्या पनि निम्त्याउँछ। सामान्य आवाजलाई पनि मस्तिष्कले 'शारीरिक आक्रमण' ठानेर यसरी प्रतिक्रिया दिँदा व्यक्ति मानसिक र शारीरिक दुवै रूपमा छिट्टै गलिसक्छ।

  • भावनात्मक विस्फोट : अत्यधिक रिस, निराशा, छटपटी र कहिलेकाहीँ आक्रामक व्यवहार। यस्तो भावनात्मक विस्फोटले व्यक्तिको व्यक्तिगत र व्यावसायिक जीवनमा गम्भीर असर पुर्‍याउँछ। आवाज सुन्ने बित्तिकै आउने तीव्र आक्रोशका कारण साथीभाइ, परिवार र सहकर्मीहरूसँगको सम्बन्ध बिग्रिँदै जान्छ। पछि गएर आफूले देखाएको आक्रामक व्यवहारप्रति अपराधबोध र ग्लानि महसुस हुनाले मानिसलाई भित्रभित्रै कमजोर बनाउँछ। यसले गर्दा व्यक्तिमा हीनभाव जाग्ने, निरन्तर चिन्ता (Anxiety) बढ्ने र बिस्तारै समाज तथा मानिसहरूबाट पूर्ण रूपमा टाढिएर टोलाउने वा गम्भीर डिप्रेसनको अवस्थामा पुग्ने जोखिम उच्च रहन्छ।

  • सामाजिक पृथकीकरण (Social Isolation) : मानिसहरू आफ्ना प्रियजनसँग बसेर खाना खान डराउँछन्। फिल्म हल, क्याफे, वा शान्त पुस्तकालय जान छाड्छन्। यसले गर्दा उनीहरू एक्लोपन र डिप्रेसनको सिकार हुन पुग्छन्। यसरी सामाजिक जीवनबाट टाढा रहँदा व्यक्ति परिवार र समाजबाट पूर्ण रूपमा अलग थलग पर्न थाल्छ। उत्सव, भोजभतेर वा सामूहिक बैठकहरूमा जान छोड्नाले उनीहरूका घनिष्ठ सम्बन्धहरू बिस्तारै कमजोर हुँदै जान्छन्। निरन्तरको एक्लोपनले मानिसलाई "मलाई कसैले बुझ्दैन" भन्ने नकारात्मक सोचतिर धकेल्छ। बिस्तारै काम वा पढाइमा ध्यान नजाने, आत्मविश्वास घट्दै जाने र गम्भीर प्रकारको डिप्रेसनको जोखिम बढ्छ। अन्ततः, आवाजबाट बच्न खोज्दा व्यक्ति आफ्नै भावना र सोचहरूको बन्दी बन्न पुग्छ।

मिसोफोनिया कहिले पत्ता लाग्यो, कुन उमेरमा हुन्छ ट्रिगर ?

मिसोफोनिया मानव इतिहासमा पहिलेदेखि नै भए तापनि यसलाई वैज्ञानिक रूपमा ढिलो मात्र नामकरण गरियो। सन् २००१ मा अमेरिकी न्युरोवैज्ञानिक (Neuroscientists) पावेल जास्ट्रेबोफ (Pawel Jastreboff)मार्गरेट जास्ट्रेबोफ (Margaret Jastreboff) ले पहिलोपटक यो शब्दको प्रयोग गरेका हुन्। उनीहरूले कानको बज्ने समस्या (Tinnitus) र आवाज सहन नसक्ने अवस्था (Hyperacusis) भन्दा यो भिन्नै अवस्था हो भनी पहिचान गरे।

कुन उमेर समूहमा यो ट्रिगर हुन्छ?

अनुसन्धानहरूका अनुसार मिसोफोनिया ट्रिगर हुने मुख्य उमेर ९ देखि १३ वर्ष (किशोरावस्थाको सुरुवात) हो।

  • यो उमेरमा बालबालिकाको मस्तिष्कमा व्यापक परिवर्तन भइरहेको हुन्छ र उनीहरू ध्वनिसम्बन्धी संवेदनशीलताप्रति बढी प्रवण हुन्छन्।

  • यद्यपि, यो उमेरभन्दा पछि पनि देखा पर्न सक्छ, तर अधिकांश वयस्कहरूले आफ्नो बाल्यकाल वा किशोरावस्थाबाट नै यो समस्या सुरु भएको अनुभव सुनाउँछन्।

मनोविज्ञान तथा न्युरोवैज्ञानिक व्याख्या 

मिसोफोनिया केवल 'कानको समस्या' वा 'अतिसंवेदनशीलता' मात्र होइन भन्ने पुष्टि गर्न मनोवैज्ञानिक र वैज्ञानिकहरूले विभिन्न अध्ययन र प्रयोगहरू गरेका छन्।


न्यूकासल विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डा. सुखविन्दर कुमार र उनको टोलीले सन् २०१७ मा मिसोफोनियामा मस्तिष्कको भूमिकाबारे एउटा ऐतिहासिक प्रयोग गरे। उनीहरूले मिसोफोनिया भएका र नभएका दुवै समूहका मानिसहरूलाई एमआरआई (fMRI) मेसिनभित्र राखेर तीन प्रकारका आवाजहरू सुनाए। सामान्य आवाज (जस्तै: पानी परेको), अप्रिय आवाज (जस्तै: बच्चा रोएको) र ट्रिगर आवाज (जस्तै: चपाएको वा साँस फेरेको)।

एमआरआई स्क्यानले देखायो कि जब मिसोफोनिया भएका मानिसहरूले ट्रिगर आवाज सुने, उनीहरूको मस्तिष्कको Anterior Insular Cortex (AIC) भाग अत्यधिक सक्रिय भयो। यो भागले हाम्रा भावनाहरू र शारीरिक संवेदनाहरूलाई जोड्ने काम गर्छ। साथै, आवाज सुन्ने भाग र भावना नियन्त्रण गर्ने भागहरू बीचको न्युरोनल नेटवर्क असामान्य रूपमा जोडिएको पाइयो। डा. कुमारले भनेका छन् - 'मिसोफोनिया केवल आवाज मन नपर्नु होइन, यो मस्तिष्कको संरचनात्मक र कार्यात्मक भिन्नता हो। मिसोफोनिया भएका व्यक्तिहरूमा मस्तिष्कले सामान्य ध्वनिहरूलाई 'खतरा' वा 'आक्रमण'को रूपमा व्याख्या गर्छ।'

अहिल्यै खोजेर पढ्छु भन्नेका लागि उनको यो अध्ययन प्रसिद्ध वैज्ञानिक जर्नल ‘Current Biology’ (फेब्रुअरी २०१७) मा 'The Brain Basis for Misophonia' शीर्षक अन्तर्गत प्रकाशित छ।

यही विषयमा अर्को कोणबाट डा. जेनिफर जोडोफ (Dr. Jennifer Brout)ले अध्रययन गरेकी छन्। मनोवैज्ञानिक डा. जोडोफ (जसले मिसोफोनिया अनुसन्धान र शिक्षा सञ्जालको नेतृत्व पनि गर्छिन्) ले यसलाई 'Sensory Processing Regulation Disorder' (संवेदी प्रशोधन नियमन विकार) को रूपमा व्याख्या गरेकी छन्।

उनले क्लिनिकल अध्ययनहरू मार्फत मानिसहरूको संवेदी प्रतिक्रिया (Sensory Response) र व्यावहारिक मनोविज्ञानको अध्ययन गरिन्। उनका अनुसार मिसोफोनिया भएका मानिसहरूले कुनै ध्वनि सुन्दा त्यसलाई 'कन्डिसन्ड रेस्पोन्स' (Conditioned Response) का रूपमा लिन्छन्। अर्थात्, मस्तिष्कले त्यो आवाजलाई कुनै पुरानो असजिलोपन वा तनावसँग जोडेर तुरुन्तै प्रतिक्रिया दिन्छ। 

उनले भनेकी छन् - 'मिसोफोनिया भएका व्यक्तिहरू नाटक गरिरहेका हुँदैनन्। उनीहरूको स्नायु प्रणाली (Nervous System) ले ती आवाजहरूलाई शारीरिक सुरक्षाका लागि खतरा मान्छ, जसले गर्दा उनीहरू नियन्त्रण बाहिर पुग्छन्।' उनका लेख र अनुसन्धानहरू ‘Journal of Clinical Psychology’ तथा उनको पुस्तक 'Regulating Misophonia' मा विस्तृत रूपमा पढ्न पाइन्छ।

आफैंमा रोग हो वा कुनै अर्थोकको लक्षण

यो आधिकारिक रूपमा एउटा 'रोग' नभएर एउटा 'विकार' वा 'अवस्था' (Condition / Disorder) हो। चिकित्सा विज्ञानमा 'रोग' (Disease) र 'विकार/अवस्था' बीच अलिकति फरक हुन्छ। रोग भन्नाले कुनै भाइरस, जीवाणु (Bacteria), वा शरीरको कुनै अंग बिग्रिएर हुने निश्चित शारीरिक बिरामीलाई बुझाउँछ। मिसोफोनिया कुनै सङ्क्रमण वा शारीरिक खराबीले हुने होइन।

यो के हो त ? यो एउटा न्युरो-साइक्याट्रिक विकार (Neuropsychiatric Disorder) वा संवेदी प्रशोधन सम्बन्धी अवस्था (Sensory Processing Condition) हो। यसमा कान वा मस्तिष्क बिग्रिएको हुँदैन, तर मस्तिष्कले ध्वनि प्रशोधन गर्दा देखाउने प्रतिक्रिया सामान्यभन्दा फरक र अति संवेदनशील हुन्छ।

मिसोफोनियालाई अहिले अन्तर्राष्ट्रिय रूपमा मानसिक वा शारीरिक रोगहरूको मुख्य वर्गीकरण पुस्तिका (जस्तै: DSM-5 वा ICD-11) मा औपचारिक रूपमा एउटा अलग्गै रोग वा मानसिक बिरामीका रूपमा दर्ता गरिसकिएको छैन। तर विश्वभरका न्युरोलोजिस्ट र मनोरोग विशेषज्ञहरूले यसलाई अत्यन्तै वास्तविक र गम्भीर स्नायु सम्बन्धी अवस्थाका रूपमा स्वीकार गरिसकेका छन्। यसलाई छुट्टै विकारका रूपमा वर्गीकरण गर्न अहिले पनि व्यापक अनुसन्धानहरू भइरहेका छन्।

मिसोफोनिया कुनै भाइरस वा कीटाणुले लाग्ने ‘रोग’ होइन। यो मस्तिष्कको न्युरोनल नेटवर्क र भावनाबिचको सम्बन्ध अति-सक्रिय हुँदा देखिने एउटा ‘न्युरोलोजिकल अवस्था’ (Neurological Condition) हो। तर, चिकित्सा विज्ञान र मनोरोग विशेषज्ञहरूका अनुसार कतिपय अवस्थामा मिसोफोनिया अन्य केही मानसिक, स्नायु सम्बन्धी वा संवेदी विकारहरू (Psychiatric or Neurological Disorders) को प्रारम्भिक लक्षण वा त्यसैसँग जोडिएर आउने (Comorbid) सहयोगी अवस्था पनि हुन सक्छ।

मुख्यतया निम्न रोग वा मानसिक अवस्थाहरूको प्रारम्भिक वा विकासोन्मुख चरणमा मिसोफोनियाको लक्षण देखिन वा तीव्र हुन सक्छ -

१. अटोइम्युन वा अटोइम्युनिटी सम्बन्धी संवेदी विकार (Sensory Processing Disorder - SPD)

हाम्रो मस्तिष्कले वातावरणका दृश्य, गन्ध वा ध्वनिहरूलाई सही तरिकाले प्रशोधन (Process) गर्न नसक्दा संवेदी प्रशोधन विकार (SPD) हुन्छ। धेरैजसो मानिसमा SPD को पहिलो वा प्रमुख लक्षणका रूपमा कुनै खास आवाजप्रतिको तीव्र घृणा अर्थात् मिसोफोनिया देखा पर्छ। 

संवेदी प्रशोधन विकार (Sensory Processing Disorder - SPD) आफैंमा सोझै शरीरको प्रतिरक्षा प्रणाली बिग्रिएर हुने 'अटोइम्युन रोग' (Autoimmune disease) भने होइन। यो मुख्यतया स्नायु प्रणाली र मस्तिष्कले सूचनाहरू प्रशोधन गर्ने तरिकासँग जोडिएको 'न्युरोडेभलपमेन्टल' वा संवेदी अवस्था हो। यद्यपि, केही अटोइम्युन अवस्था वा स्नायु प्रणालीको सुन्निने/डाहा हुने (Neuroinflammation) समस्या भएका व्यक्तिहरूमा SPD का लक्षणहरू उच्च रूपमा देखा पर्न सक्छन्।

यसरी संवेदी सूचनाहरू (Sensory Inputs) अस्तव्यस्त हुँदा व्यक्तिको मस्तिष्कले दैनिक वातावरणलाई निरन्तर 'अति-उत्तेजक' (Overwhelming) मान्न थाल्छ। परिणामस्वरूप, मानिसहरू कपडाको ट्याग, चम्किलो बत्ती, वा मानिसको भीडभाडबाट पनि तर्सिने र मानसिक रूपमा थाक्ने हुन्छन्। मिसोफोनिया प्रायः यही SPD को एउटा विशिष्ट रूप वा प्रारम्भिक प्रकटीकरणका रूपमा देखा पर्छ, जहाँ अन्य संवेदी च्यानलहरूभन्दा ध्वनि (Auditory) सम्बन्धी संवेदनशीलता अत्यधिक हाबी हुन्छ। समयमै यसबारे सचेत भई अक्युपेशनल थेरापी (Occupational Therapy) वा संवेदी सन्तुलनका अभ्यासहरू नगरे यसले व्यक्तिको दैनिक कार्यक्षमता र भावनात्मक स्थिरतालाई पूर्ण रूपमा प्रभावित पार्न सक्छ।

२. अब्सेसिभ-कम्पल्सिभ डिसअर्डर (OCD)

मिसोफोनिया र OCD बिच निकै गहिरो सम्बन्ध छ। OCD को प्रारम्भिक चरणमा मानिसहरू कुनै विशेष आवाजप्रति 'अब्सेस्ड' (Obsessed) वा अति-केन्द्रित हुन थाल्छन्। त्यो आवाज सुन्ने बित्तिकै आत्तिने र त्यसबाट बच्नका लागि कान थुन्ने वा त्यहाँबाट भागिहाल्ने जस्ता बाध्यकारी व्यवहार (Compulsive Behavior) देखाउँछन्।

OCD मा मस्तिष्कको 'सुरक्षा र नियन्त्रण' प्रणाली अति-सक्रिय हुन्छ, जसले व्यक्तिलाई बारम्बार एउटै कुरा वा विचारमा अड्याइराख्छ। जब मिसोफोनिया OCD सँग जोडिन्छ, ट्रिगर आवाज सुन्ने बित्तिकै मानिसभित्र अनियन्त्रित डर र छटपटी पैदा हुन्छ। यसबाट बच्न उनीहरू कान थुन्ने, कोठाको ढोका थुनेर बस्ने, वा आवाज बन्द गर्न आदेश दिने जस्ता बाध्यकारी (Compulsive) व्यवहार दोहोर्याउन थाल्छन्। समयक्रममा यो चक्र यति बलियो बन्छ कि व्यक्ति आवाज आउनुअघि नै त्यसको काल्पनिक डरले चिन्तित (Anticipatory Anxiety) हुन थाल्छ, जसले उनीहरूको दैनिक जीवन, अध्ययन र कार्यक्षमतालाई ठूलो बाधा पुर्‍याउँछ।

३. अटिजम स्पेक्ट्रम डिसअर्डर (Autism Spectrum Disorder - ASD)

अटिजम भएका मानिसहरूको स्नायु प्रणाली वातावरणका ध्वनिहरूप्रति अतिसंवेदनशील हुन्छ। विशेषगरी बालबालिकामा अटिजमका अन्य स्पष्ट लक्षणहरू (जस्तै: कुराकानी गर्न गाह्रो हुनु वा आँखा नमिलाउनु) पूर्ण रूपमा नदेखिँदै, सुरुवाती चरणमा सामान्य आवाजले उनीहरूलाई असाध्यै असजिलो वा आक्रामक बनाउने (Misophonia/Hyperacusis) लक्षण देखिन सक्छ।

अटिजम भएका व्यक्तिहरूमा मस्तिष्कको संवेदी प्रशोधन गर्ने प्रणाली (Sensory Processing System) ले वातावरणबाट आउने ध्वनिहरूलाई व्यवस्थित तरिकाले फिल्टर गर्न सक्दैन। यसले गर्दा अरूका लागि सामान्य लाग्ने दैनिक आवाजहरू उनीहरूका लागि 'सहनै नसकिने काँडा' जस्तै बन्छन्। बालबालिकामा भाषा वा सामाजिक व्यवहारको विकास हुनुअघि नै यस्ता ट्रिगर आवाजहरूका कारण रोइकराई गर्ने, कान थुनेर भुइँमा पछारिने वा आफ्नो टाउको भित्तामा ठोक्ने जस्ता आक्रामक प्रतिक्रियाहरू (Meltdowns) देखिन सक्छन्। यसलाई सुरुमा केवल 'चकचके' वा 'उग्र स्वभाव' मानिए तापनि यो वास्तवमा ASD को प्रारम्भिक संवेदी अतिसंवेदनशीलताको लक्षण हुन सक्छ।

४. एन्जाइटी डिसअर्डर र पोस्ट-ट्रमाटिक स्ट्रेस (PTSD)

जब मानिसको शरीर निरन्तर मानसिक तनाव वा कुनै पुरानो आघात (Trauma) बाट गुज्रिरहेको हुन्छ, मस्तिष्कको 'Amygdala' (खतरा पहिचान गर्ने भाग) सधैँ हाइ-अलर्टमा रहन्छ। एन्जाइटी वा PTSD को प्रारम्भिक चरणमा मस्तिष्कले सामान्य आवाजलाई पनि 'खतरा' ठानेर तुरुन्तै प्रतिक्रिया दिन्छ।

मानसिक आघात वा निरन्तरको एन्जाइटीले गर्दा मस्तिष्कको ‘Fight-or-Flight’ (लड्ने वा भाग्ने) प्रणाली सधैं अति-सक्रिय (Hyper-vigilant) अवस्थामा पुग्छ। यस्तो बेला मस्तिष्कले वातावरणमा भएका सामान्य र साना ध्वनिहरूलाई पनि आफ्नो सुरक्षाका लागि 'ठूलो सम्भावित खतरा' वा 'आक्रमण'को रूपमा गलत व्याख्या गर्न थाल्छ।

परिणामस्वरूप, मानिसले सानो कुरामा पनि एक्कासि तर्सिने, मुटुको धड्कन तीव्र हुने, र अत्यधिक छटपटी महसुस गर्ने गर्छ। PTSD वा एन्जाइटी सुरु हुने यो प्रारम्भिक चरणमा व्यक्तिमा देखा पर्ने आवाजप्रतिको यस्तो तीव्र संवेदनशीलता र घृणा नै बिस्तारै मिसोफोनियाको रूपमा विकसित हुन्छ। यदि यस अवस्थालाई समयमै पहिचान गरेर ट्रमा थेरापी वा मानसिक परामर्श नदिने हो भने, यो केवल आवाजको समस्या मात्र नरहेर दीर्घकालीन र जटिल मानसिक समस्या बन्न पुग्छ।

५. टिनिटस (Tinnitus) र कान सम्बन्धी समस्या

कानभित्र निरन्तर ‘सिँटी बजेको’ वा ‘गुञ्जिएको’ आवाज आउने अवस्था (Tinnitus) सुरु हुनुअघि वा त्यसको प्रारम्भिक चरणमा अडिटोरी नर्भहरू (Auditory Nerves) को अतिसंवेदनशीलताका कारण मिसोफोनियाको लक्षण प्रखर भएर आउन सक्छ।

टिनिटस हुँदा कानभित्र निरन्तर आउने आन्तरिक आवाजका कारण मस्तिष्कको श्रवण प्रणाली (Auditory System) अत्यधिक थाक्छ र संवेदनशिल बन्छ। यसले गर्दा अडिटोरी नर्भहरूले बाहिरी वातावरणका साना ध्वनिहरूलाई पनि सहन सक्दैनन्। जब कानभित्रको त्यही निरन्तरको सिट्ठी बज्ने वा गुञ्जनले व्यक्तिलाई मानसिक रूपमा तनावग्रस्त बनाउँछ, बाहिरबाट आउने खाना चपाएको वा टिक-टिक परेको आवाजले उसलाई झनै उग्र र विचलित बनाउन थाल्छ। यसरी कान र मस्तिष्कको श्रवण नलीमा आउने यो प्रारम्भिक गडबडीले गर्दा टिनिटससँगै वा त्यसको सुरुआती संकेतका रूपमा मिसोफोनिया विकसित हुन पुग्छ।

निष्कर्षमा यदि मिसोफोनियाका लक्षणहरू एक्कासि देखा परेका छन् र त्यसका साथमा सोच, व्यवहार वा ध्यान केन्द्रित गर्ने क्षमतामा पनि परिवर्तन आइरहेको छ भने, यो केवल एउटा छुट्टै आवाजको समस्या मात्र नभई माथि उल्लेखित अन्य कुनै स्नायु वा मानसिक अवस्थाको प्रारम्भिक संकेत (Early Warning Sign) हुन सक्छ। त्यसैले समयमै विज्ञको सल्लाह लिनु बुद्धिमानी हुन्छ।

'सिभिक सेन्स छैन ?'

जो अरूले खाना चपाएको, सार्वजनिक यातायातमा ठूलो स्वरमा कुरा गरेको वा भिडियो बजाएको, खोकेको, वा कलम टिक-टिक गरेको जस्ता सामान्य कुराहरूमा पनि एक्कासि उग्र भएर 'सिभिक सेन्स छैन ?' भन्दै जंगिन्छन्, उनीहरूलाई मिसोफोनिया वा यस्तै संवेदी अतिसंवेदनशीलता (Sensory Overload) भएको हुन सक्छ।

यसका पछाडि मुख्य रूपमा निम्न मनोवैज्ञानिक र स्नायुगत कारणहरू जोडिएका हुन्छन् -

  • मस्तिष्कको 'Fight-or-Flight' प्रतिक्रिया : मिसोफोनिया भएका व्यक्तिहरूको मस्तिष्कले यस्ता सामान्य आवाजलाई 'खतरा' को रूपमा लिन्छ। त्यो आवाज सुन्ने बित्तिकै उनीहरूभित्र अनियन्त्रित रिस, घृणा र छटपटी पैदा हुन्छ। आफूलाई भइरहेको त्यो आन्तरिक पीडालाई रोक्न उनीहरू अरूमाथि आक्रामक रूपमा खनिन्छन् र आफ्नो असजिलोपनलाई 'सिभिक सेन्स' को आवरण दिन्छन्।

  • नियन्त्रण गुमाएको महसुस (Loss of Control) : उनीहरूलाई ती आवाजहरूले शारीरिक र मानसिक रूपमै यति धेरै तनाव दिन्छन् कि उनीहरू त्यो आवाज तत्काल बन्द गराउन चाहन्छन्। जब आवाज बन्द गराउन उनीहरूको नियन्त्रण चल्दैन, तब उनीहरूको रिस झनै विस्फोटक बन्छ र जंगिन पुग्छन्।

यद्यपि, फरक छुट्याउनु महत्त्वपूर्ण छ

सार्वजनिक स्थलमा साँच्चिकै असभ्य व्यवहार गर्नेहरूप्रति रिसाउनु वा सामाजिक मर्यादाको कुरा गर्नु सामान्य हो। तर, यदि कुनै व्यक्तिको रिस अस्वाभाविक रूपमा ठूलो छ, एक्कासि सुरु हुन्छ र विशेषगरी सास फेरेको, चपाएको, पानी निलेको वा औँला पड्काएको जस्ता साना र विशिष्ट आवाजहरूप्रति मात्र लक्षित छ भने, त्यो पक्कै पनि व्यवहारिक समस्या नभएर स्नायुगत अवस्था (Misophonia) कै लक्षण हो।

उनीहरू वास्तवमा जानीजानी रिसाएका वा 'जान्ने सुन्ने' हुन खोजेका होइनन्, उनीहरूको मस्तिष्कले त्यो आवाज सहन नसकेर 'आत्मारक्षा' को लागि त्यस्तो कडा प्रतिक्रिया मात्र जनाइरहेको हो।

गर्नुस् आफैंलाई परीक्षण (Self-Assessment)

यदि तपाईंलाई निम्न लक्षणहरू महसुस हुन्छन् भने तपाईंलाई मिसोफोनिया भएको हुन सक्छ:

प्रश्नउत्तर
(हो/होइन)
१. कसैले खाना चपाएको वा ढिलो सास फेरेको आवाजले झनक्क रिस उठाउँछ?[ ]
२. त्यो आवाज सुन्दा तुरुन्तै त्यहाँबाट भागौँ वा त्यो आवाज बन्द गराउँ जस्तो हुन्छ?[ ]
३. के यी आवाजहरूले गर्दा ढुकढुकी बढ्छ वा ज्यान एकातिर तानिएको जस्तो महसुस हुन्छ?[ ]
४. के परिवारसँग बसेर खाना खान वा मिटिङमा बस्न डराउन थाल्नुभएको छ?[ ]
५. अरूले 'केही भएकै छैन' भन्दा पनि तपाईंलाई त्यो आवाजले असह्य हुन्छ?[ ]

(यदि तपाईंले ३ वा सोभन्दा बढी प्रश्नको उत्तर 'हो' दिनुभयो भने, तपाईंमा मिसोफोनियाको लक्षण हुन सक्छ।)

यदि समस्या छ भने निदान र व्यवस्थापन कसरी गर्ने?

स्मरण रहोस्, मिसोफोनिया कुनै पागलपन होइन। यो जोकसैलाई हुन सक्छ। र, यसको पूर्ण उन्मूलन गर्ने निश्चित औषधि नभए तापनि यसलाई व्यवस्थित गर्न सकिन्छ।

आफूले अपनाउने उपायहरू:

  • नोइज-क्यान्सेलिङ हेडफोन (Noise-Canceling Headphones) : यात्रा गर्दा वा काम गर्दा यस्ता हेडफोन वा इयरप्लगको प्रयोग गर्नाले ट्रिगर आवाजहरू कानसम्म पुग्न पाउँदैनन्। यसले व्यक्तिलाई आफ्नो एकाग्रता कायम राख्न र अनावश्यक मानसिक तनावबाट बच्न मद्दत गर्दछ। विशेषगरी भीडभाड हुने ठाउँ, कार्यालय, वा सार्वजनिक यातायातमा यो प्रविधि एउटा सुरक्षा कवच जस्तै बन्न सक्छ। यसको नियमित प्रयोगले ट्रिगर आवाजहरूबाट तत्काल राहत मिल्ने हुनाले, मिसोफोनिया भएका व्यक्तिहरूलाई सामाजिक र व्यावसायिक जीवनमा सक्रिय रहन थप आत्मविश्वास र सहजता प्रदान गर्दछ।
  • वाइट नोइज (White Noise) को प्रयोग : पृष्ठभूमिमा पंखाको आवाज, पानी परेको आवाज वा शान्त संगीत बजाएर ट्रिगर गर्ने आवाजलाई दबाउन सकिन्छ। यसले वातावरणमा एउटा स्थिर र शान्त ध्वनिको तह (Sound Layer) निर्माण गर्छ, जसले खाना चपाएको वा डटपेन थिचेको जस्ता एक्कासि आउने तिखा ट्रिगर आवाजहरूलाई सहजै छोपिदिन्छ। घरमा अध्ययन गर्दा, सुत्ने समयमा, वा काममा ध्यान केन्द्रित गर्नुपर्दा वाइट नोइज मेसिन वा विभिन्न मोबाइल एपहरूको प्रयोग निकै प्रभावकारी हुन्छ। यसले मस्तिष्कलाई निरन्तर 'अलर्ट' हुनबाट रोक्दै स्नायु प्रणालीलाई शान्त राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
  • कग्निटिभ बिहेभियरल थेरापी (CBT) : मनोवैज्ञानिकहरूसँग परामर्श लिएर सीबीटी थेरापी गर्नाले मस्तिष्कलाई ट्रिगर आवाजहरूप्रति कम आक्रामक प्रतिक्रिया दिन अभ्यस्त बनाउन सकिन्छ। यस थेरापीले व्यक्तिलाई ट्रिगर आवाज सुन्दा आउने नकारात्मक विचार र स्वचालित प्रतिक्रियाहरूलाई पहिचान गरी तिनलाई पुनर्परिभाषित (Reframing) गर्न सिकाउँछ। नियमित CBT अभ्यासले मानिसलाई आफ्नो भावना र शारीरिक प्रतिक्रियामाथि नियन्त्रण कायम राख्न मद्दत गर्छ। यसले आवाजप्रतिको 'लड्ने वा भाग्ने' (Fight-or-Flight) उग्र आवेगलाई बिस्तारै कम गर्दै लैजान्छ, जसले गर्दा व्यक्ति तनावपूर्ण स्थितिमा पनि शान्त रहन सक्षम हुन्छ।
  • माइन्डफुलनेस र टेपिङ (Mindfulness) : आवाज सुन्ने बित्तिकै गहिरो सास फेर्ने र आफ्नो ध्यान अन्यत्र मोडने अभ्यास गर्ने। यस अभ्यासले व्यक्तिलाई तत्कालीन शारीरिक र भावनात्मक तनावबाट तत्काल बाहिर ल्याउन मद्दत गर्छ। ट्रिगर आवाज सुन्नेबित्तिकै गहिरो सास फेर्ने (Deep Breathing) र शरीरका निश्चित अकुप्रेसर बिन्दुहरूमा औँलाले सुस्तरी थिच्ने वा हान्ने गर्दा मस्तिष्कको संकटकालीन प्रणाली शान्त हुन्छ। यसले ध्यानलाई अप्रिय ध्वनिबाट हटाएर आफ्नै शरीरको गतिमा फर्काउँछ, जसले गर्दा एक्कासि आउने रिस र छटपटी नियन्त्रणमा आउँछ।

अरूलाई छ भने उपचार र जीवनमा कसरी सघाउने?

यदि तपाईंको साथी, जीवनसाथी वा सन्तानलाई मिसोफोनिया छ भने उनीहरूलाई सहयोग गर्न निम्न कुराहरूमा ध्यान दिनु बुद्धिमानी हुन्छ।

  • 'नाटक गरेको' वा 'सन्की' भनेर जिस्क्याउने नगर्नुस् : बुझ्नुस् यो उनीहरूको नियन्त्रणबाहिरको स्नायुगत अवस्था हो। मिसोफोनिया भएका मानिसलाई जिस्क्याउँदा वा आलोचना गर्दा उनीहरूको मानसिक तनाव झनै गुणात्मक रूपमा बढ्छ। जब परिवार वा साथीहरूले उनीहरूको असजिलोपनलाई 'नाटक' भनेर बेवास्ता गर्छन्, उनीहरू आफूलाई एक्लो र असहाय महसुस गर्न थाल्छन्। त्यसैले, यो उनीहरूको जानाजानी गरिएको व्यवहार नभई स्नायु प्रणालीको स्वचालित प्रतिक्रिया हो भन्ने बुझेर सहानुभूति र सहयोगको व्यवहार देखाउनु अति आवश्यक हुन्छ।

  • खुला कुराकानी गर्नुहोस् : उनीहरूलाई कस्ता आवाजले समस्या पार्छन् भनेर सोध्नुहोस् र ती आवाजहरू उनीहरूको अगाडि नगर्ने प्रयास गर्नुहोस् (उदा. मुख बन्द गरेर खाना चपाउने)। सहानुभूतिपूर्वक गरिएको खुला संवादले मिसोफोनिया भएका व्यक्तिलाई सुरक्षित र बुझिएको महसुस गराउँछ। उनीहरूसँग स्पष्ट रूपमा कुरा गरेर ट्रिगर आवाजहरू पहिचान गर्दा अनावश्यक द्वन्द्व र तनाव टर्छ। उनीहरूको अगाडि साना-साना व्यवहारिक सुधारहरू (जस्तै: बिस्तारै खाना चपाउनु वा डटपेन नबजाउनु) गरिदिनाले उनीहरूप्रतिको सम्मान र माया झल्किन्छ, जसले आपसी सम्बन्धलाई झनै प्रगाढ बनाउँछ।

  • सुरक्षित वातावरण बनाइदिनुहोस् : यदि उनीहरू पारिवारिक जमघट वा खाना खाने टेबलबाट उठेर जान चाहन्छन् भने दबाब नदिनुहोस्। उनीहरूलाई आफ्नो अनुकूल वातावरण छान्ने छुट दिनुहोस्। यस्तो छुट दिनाले उनीहरूमाझ 'मेरो असजिलोपनको कदर भइरहेको छ' भन्ने आत्मबल जाग्छ। जबरजस्ती जमघटमा राखिराख्दा उनीहरूमा भावनात्मक विस्फोट वा तीव्र छटपटी हुन सक्छ। उनीहरूलाई आफ्नो अनुकूलता अनुसार छुट्टै बस्ने वा ब्रेक लिने स्वतन्त्रता दिँदा उनीहरू मानसिक रूपमा सुरक्षित महसुस गर्छन् र पारिवारिक सम्बन्धमा अनावश्यक तिक्तता आउन पाउँदैन।

  • विशेषज्ञकहाँ लैजानुहोस् : यदि समस्याले दैनिक जीवन नै अस्तव्यस्त बनाएको छ भने न्युरोलोजिस्ट वा अडियोलोजिस्ट र मनोवैज्ञानिकको परामर्श लिन सघाउनुहोस्। प्रारम्भिक चरणमै विशेषज्ञको परामर्श लिनाले समस्याको सही पहिचान हुन मद्दत पुग्छ। न्युरोलोजिस्ट, अडियोलोजिस्ट र मनोवैज्ञानिकको संयुक्त टोलीले व्यक्तिलाई उपयुक्त थेरापी र परामर्श प्रदान गर्न सक्छन्। यसले व्यक्तिलाई आफ्नो भावना व्यवस्थापन गर्न र दैनिकीलाई पुनः सहज एवम् व्यवस्थित बनाउन ठूलो राहत पुर्‍याउँछ।

मिसोफोनिया देखिँदा सामान्य लाग्ने तर झेल्ने व्यक्तिलाई भित्रभित्रै पगाल्ने एउटा सूक्ष्म समस्या हो। स्नेहा वा रमेश जस्ता लाखौँ मानिसहरू हरेक दिन हाम्रै वरपर यस्ता आवाजहरूसँग अदृश्य युद्ध लडिरहेका छन्। मिसोफोनियालाई ‘स्वभावको खराबी’ नभई एउटा ‘न्युरोलोजिकल अवस्था’का रूपमा बुझिदिने र सहानुभूतिपूर्वक व्यवहार गरिदिने हो भने, यो समस्याबाट पीडित मानिसहरूको जीवन धेरै सहज र शान्त बन्न सक्छ।

Wednesday, July 22, 2026

निर्णय स्वविवेकले गर्न सक्नुहुन्न ?

काठमाडौंको एउटा बैंकमा कार्यरत ३२ वर्षीय रमेश (नाम परिवर्तन) प्राविधिक काममा निकै कुशल मानिन्छन्। तर, उनको दैनिक जीवनको एउटा पाटो भने निकै कष्टकर छ।

बिहान कुन रङको कमिज लगाउने भन्ने निर्णय गर्न पनि रमेशलाई श्रीमतीको सहमति चाहिन्छ। श्रीमतीले 'जुन लगाए पनि हुन्छ' भनिदिइन् भने उनी अत्तालिन्छन् र पटक-पटक सोधेर उहीबाट निर्णय गराउन खोज्छन्। कार्यालयमा काम गर्ने क्रममा पनि साधारण इमेलको उत्तर पठाउनुअघि उनी सहकर्मीलाई कम्तीमा तीन पटक हेर्न लगाउँछन्। साथीहरूले 'तिमी आफैं निर्णय गर न, तिमी सक्षम छौ' भन्दा उनी भित्रभित्रै डरले काँप्छन्। सोच्छन् - ‘कतै मैले गलत निर्णय गरेर सबैले मलाई छाडिदिने त होइनन् ?’

रमेशको जीवनको सबैभन्दा ठूलो भय नै एक्लो हुनु हो। श्रीमती वा नजिकका साथीहरू थोरै समयका लागि बाहिर जाँदा पनि उनलाई आफू पूर्ण रूपमा असहाय भएको महसुस हुन्छ। आफ्ना व्यक्तिगत रुचि, विचार वा इच्छालाई उनी पूर्ण रूपमा दबाउँछन्, ताकि अरू कोही उनीसँग बेखुसी नहोस्। अरूको मन राख्न उनी आफूलाई मन नपर्ने वा आफ्नो अहित हुने काम गर्न पनि तयार हुन्छन्।

अब अर्को कथा,

ललितपुरकी २९ वर्षीया सुनीता (काल्पनिक) एउटा बहुराष्ट्रिय कम्पनीमा मार्केटिङ अधिकृतका रूपमा काम गर्छिन्। हेर्दा उनी शान्त छिन्। मिहिनेती देखिन्छिन्। उनको भित्री मन भने सधैं एउटा अदृश्य डरले घेरिएको हुन्छ।

घरमा हुँदा उनलाई बिहान कुन बाटो भएर अफिस जाने वा दिउँसो खाजा के खाने भन्ने निर्णय गर्न पनि आमा वा दाइको स्वीकृति चाहिन्छ। यदि दाइले 'तँ आफैं छान न' भनिदिए भने उनी छटपटाउन थाल्छिन् र निर्णय लिन नसकेर घण्टौँ अलमलिन्छिन्। कार्यालयमा उनी नयाँ सोच र योजनाहरू बनाउन सक्षम छिन्, तर कुनै पनि प्रस्ताव अघि बढाउनुअघि सहकर्मीलाई 'यो ठीक छ त ? मैले गल्ती त गरिनँ ?' भन्दै पटक-पटक सोधिरहन्छिन्।

उनको सबैभन्दा ठूलो समस्या आफ्ना श्रीमानसँगको सम्बन्धमा देखिन्छ। श्रीमानले उनका साना-ठूला सबै निर्णय नियन्त्रण गर्छन्। कुन साथीसँग बोल्ने, कस्ता लुगा किन्ने र फुर्सदमा के गर्ने भन्ने सम्म। श्रीमान्‌का कतिपय व्यवहार र निर्णयहरू उनलाई मन पर्दैनन्, तर उनी कहिल्यै नाइँ भन्न सक्दिनन्। 'यदि मैले असहमति जनाए भने उहाँ रिसाउनुहुनेछ र मलाई छाडेर जानुहुनेछ' भन्ने गहिरो डरले उनलाई गाँजेको छ। आफू एक्लो भइने र कसैको सहारा नरहने भयका कारण उनी आफ्ना सबै इच्छा र आत्म-सम्मान दबाएर पूर्ण रूपमा श्रीमानमै निर्भर भएर बसेकी छन्।

श्रीमान् कामको सिलसिलामा केही दिनका लागि बाहिर जाँदा सुनीतालाई घरमा एक्लै बस्न असम्भव जस्तै हुन्छ। उनी साधारण काम गर्न वा निर्णय लिन पनि असमर्थ हुन्छिन् र तीव्र अत्तालिने समस्या (Panic) बाट ग्रसित हुन्छिन्।

रमेश र सुनीताको यो व्यवहार डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर (DPD) को उदाहरण हो, जहाँ व्यक्तिले एक्लोपनको डर र असहायताका कारण आफ्नो जीवनको सम्पूर्ण साँचो अरूकै हातमा सुम्पिन्छ। यो अवस्था प्राकृतिक स्वभाव होइन। यो लेख पढिरहँदा तपाईं आफैंलाई सोध्नुस् - 'के म कुनै पनि कामका लागि आफैं निर्णय लिन्छु? या अरुको भर पर्छु ?' कामका प्रकृतिअनुसार सहमति/स्वीकृति अनिवार्य हुने कुरा बेग्लै हुन्। तर, स्वतन्त्र निर्णय लिनुपर्ने ठाउँमा आफ्नो काम गराइलाई हेक्का राख्नुस्। तपाइँ के गर्नुहुन्छ ?

सबैलाई 'परनिर्भरता' रोगजस्तो भएको हुँदैन। तर, कसै कसैलाई देखिन्छ, आफूले निर्णय लिँदा जोखिम हुन्छ भन्छन्, डराउँछन्, अरुकै स्वीकृति खोज्छन्। निर्णय गर्न सधैंजसो अरुमै निर्भरता नै  डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर (DPD) हो।

वास्तवमा के हो डीपीडी ?

डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर (DPD) एक प्रकारको मानसिक स्वास्थ्य अवस्था हो, जसलाई मनोविज्ञानमा 'क्लस्टर सी' (Cluster C) पर्सनालिटी डिसअर्डर अन्तर्गत राखिन्छ। यस अवस्थामा व्यक्तिमा अत्यधिक चिन्ता, डर र अरूमाथि पूर्ण रूपमा निर्भर रहने व्यवहार देखिन्छ।

यसबाट पीडित व्यक्तिमा दैनिक जीवनका साना-तिना निर्णयहरू (जस्तै: के खाने, के लगाउने, फुर्सदमा के गर्ने) गर्नका लागि पनि अरूको अत्यधिक सल्लाह र ढाडसको आवश्यकता पर्छ। उनीहरूलाई आफू एक्लै कुनै काम गर्न सक्षम छु भन्ने आत्मविश्वास हुँदैन। अरूले छाडेर जाने वा एक्लो भइने डर (Fear of Abandonment) का कारण उनीहरू अरूको गलत कुरामा पनि नाइँ भन्न सक्दैनन् र आफ्नो जीवनको सम्पूर्ण बागडोर अरूकै हातमा सुम्पिन्छन्।

यो कसकसलाई हुन्छ ?

DPD कुनै खास वर्ग, पेसाका वा उमेरका मानिसलाई मात्र हुन्छ भन्ने छैन। तर, अनुसन्धानहरूका अनुसार यो समस्या पुरुषको तुलनामा महिलाहरूमा बढी भएको पाइन्छ। यसका पछाडि जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्।

  • बाल्यकालको हुर्काइ : अभिभावकहरू अत्यधिक सुरक्षात्मक (Overprotective) वा नियन्त्रणमुखी (Authoritarian) हुँदा बालबालिकामा आफैं निर्णय गर्ने क्षमताको विकास हुन पाउँदैन। अत्यधिक नियन्त्रण वा अति-सुरक्षाले बालबालिकालाई 'हेल्पलेसनेस' (असहायता) सिक्न बाध्य पार्छ। हरेक साना पाइलामा अभिभावकले नै निर्णय गरिदिँदा बालबालिकामा आफूप्रतिको विश्वास घट्छ। परिणामस्वरूप, हुर्किसकेपछि पनि उनीहरूमा आफ्नै क्षमतामाथि शंखा रहिरहन्छ र उनीहरू आफ्ना व्यक्तिगत, पेसागत वा सामाजिक निर्णयका लागि सधैं अरूकै सहारा खोज्ने DPD जस्तो मानसिक अवस्थातर्फ धकेलिन्छन्।
  • शारीरिक वा मानसिक आघात : बाल्यकालमा उपेक्षा (Neglect), शारीरिक/मानसिक शोषण वा गम्भीर शारीरिक रोग भोगेका व्यक्तिहरूमा यो डिसअर्डर विकसित हुने जोखिम बढी हुन्छ। बाल्यकालमा आघात वा उपेक्षा भोगेका बालबालिकाले संसारलाई असुरक्षित स्थानका रूपमा बुझ्छन्। उनीहरूमा 'म एक्लै सुरक्षित छैन' भन्ने गहिरो डर बस्छ। फलस्वरूप, ठूलो हुँदा उनीहरू सुरक्षा र स्वीकृतिको खोजीमा अरूमाथि अत्यधिक निर्भर हुन पुग्छन्। आघातले उनीहरूको आत्म-सम्मान कमजोर बनाउँछ, जसले गर्दा उनीहरू आफ्नै निर्णयमा भरोसा गर्न नसकी DPD को जोखिममा पर्छन्।
  • वंशानुगत कारण : परिवारमा पहिले कसैलाई चिन्ता वा अन्य पर्सनालिटी डिसअर्डर भएको इतिहास छ भने पनि यसको सम्भावना रहन्छ। आनुवंशिक गुणहरूले व्यक्तिको स्नायु प्रणाली र आवेग व्यवस्थापन गर्ने क्षमतामा प्रत्यक्ष असर पार्छन्। परिवारमा चिन्ता (Anxiety) वा पर्सनालिटी डिसअर्डरको इतिहास भएमा बालबालिकामा जन्मजात नै अत्यधिक संवेदनशील वा डराउने स्वभाव (Insecure Temperament) सर्न सक्छ। यसले गर्दा उनीहरू तनावपूर्ण अवस्थामा सजिलै अत्तालिन्छन् र आफूलाई सुरक्षित राख्नका लागि अरूमाथि पूर्ण रूपमा निर्भर हुने DPD को जोखिम बढाउँछ।

मनोवैज्ञानिकका व्याख्या र ऐतिहासिक सन्दर्भ

DPD र यससँग सम्बन्धित निर्भरताको सिद्धान्तलाई मनोविश्लेषण र आधुनिक मनोविज्ञानमा विभिन्न दृष्टिकोणबाट व्याख्या गरिएको छ। यसबारे उल्लेख गर्ने दुई प्रमुख मनोवैज्ञानिकमा पर्छन् सिग्मन्ड फ्रायड र  आरोन टी. बेक। 

ओरल स्टेज र निर्भरता ः मनोविश्लेषणका संस्थापक सिग्मन्ड फ्रायडले व्यक्तित्व विकासको क्रममा बालबालिकाको प्रारम्भिक अवस्थालाई व्याख्या गर्दै 'ओरल स्टेज' (Oral Stage) को अवधारणा अघि सारेका थिए।सन् १९०५ मा प्रकाशित आफ्नो प्रसिद्ध कृति 'Three Essays on the Theory of Sexuality' मा फ्रायडले यसको जग बसालेका थिए। पछि सन् १९१६/१७ मा भियना विश्वविद्यालयमा दिएका व्याख्यानहरूको सङ्ग्रह 'Introductory Lectures on Psycho-Analysis' मा उनले यसलाई थप स्पष्ट पारे।

उनका अनुसार बाल्यकालको पहिलो वर्ष (ओरल स्टेज) मा यदि शिशुको पोषण वा स्नेहतर्फको आवश्यकता अत्यधिक पूर्ति भयो वा एकदमै कम भयो भने व्यक्तिमा 'ओरल फिक्सेसन' (Oral Fixation) हुन्छ। यसले गर्दा वयस्क अवस्थामा पुग्दा व्यक्तिमा अरूमाथि निर्भर रहने, असहाय महसुस गर्ने र स्वीकृतिको खोजी गरिरहने प्रवृत्ति देखिन्छ। यो व्याख्या फ्रायडका उल्लिखित पुस्तकहरू तथा मनोविश्लेषणका आधारभूत ग्रन्थहरूमा विस्तृत रूपमा पढ्न पाइन्छ।

ओरल फिक्सेसनले व्यक्तिमा बाह्य स्रोतबाट निरन्तर सन्तुष्टि र सुरक्षा खोज्ने बानी बसाल्छ। बाल्यकालमा स्तनपान वा स्नेहको आवश्यकता अधुरो वा अत्यधिक हुँदा शिशुमा आत्म-निर्भरताको जग बस्न पाउँदैन। यही अतृप्त वा अत्यधिक निर्भरता वयस्क अवस्थामा पुग्दा अरूको स्वीकृति, निरन्तर ढाडस र निर्णयमा अरूकै वैशाखी खोज्ने DPD को व्यवहारमा रूपान्तरित हुन्छ।

संज्ञानात्मक दृष्टिकोण (Cognitive Perspective) ः आधुनिक संज्ञानात्मक थेरापी (Cognitive Therapy) का जनक मानिने आरोन टी. बेकले पर्सनालिटी डिसअर्डरलाई व्यक्तिको सोच्ने तरिका र आधारभूत विश्वास (Core Beliefs) सँग जोडेर व्याख्या गरेका छन्। बेक र उनका साथीहरूले सन् १९९० मा प्रकाशित गरेको ऐतिहासिक पुस्तक 'Cognitive Therapy of Personality Disorders' मा DPD को विस्तृत संज्ञानात्मक व्याख्या गरेका छन्।

बेकका अनुसार DPD भएका व्यक्तिहरूमा दुईवटा मुख्य गलत धारणा वा कोर बिलिफ हुन्छन्। पहिलो हो, 'म आफैंमा असहाय छु र एक्लै बाँच्न वा निर्णय गर्न सक्दिनँ।' दोस्रो, 'म तब मात्र सुरक्षित हुन सक्छु जब मलाई कसैको निरन्तर सहारा वा संरक्षण प्राप्त हुन्छ।'

बेकले आफ्नो अनुसन्धान र पुस्तकमा उल्लेख गरे अनुसार, यी गलत सोच्ने ढाँचाका कारण व्यक्तिले आफूलाई कमजोर र अरूलाई शक्तिशाली देख्छ, जसले गर्दा उसमा निर्भर रहने व्यवहार बलियो बन्दै जान्छ। यी त्रुटिपूर्ण कोर बिलिफहरूले व्यक्तिमा निरन्तर नकारात्मक 'स्वचालित सोच' (Automatic Thoughts) सिर्जना गर्छन्। उनीहरू आफ्नो वास्तविक क्षमतालाई सधैं कम आँक्छन् भने अरूको सामर्थ्यलाई अत्यधिक बढाएर हेर्छन्। यसले गर्दा सामान्य चुनौती आउँदा पनि उनीहरू अत्तालिन्छन् र आफैं हल खोज्नुको सट्टा पछि हट्छन्। बेकका अनुसार कग्निटिभ थेरापीमार्फत यी पुराना सोचका ढाँचालाई पहिचान गरी पुनःसंरचना (Cognitive Restructuring) नगरेसम्म व्यक्तिमा आत्म-मूल्यांकन, निर्णय क्षमता र वास्तविक आत्मनिर्भरताको विकास हुन सक्दैन। फलस्वरूप, व्यक्ति जीवनभर अरूकै निर्णय र वैशाखीमा टिकिरहने परिस्थितिमा बाँधिएर रहन्छ।

के यो कुनै खास उमेर वा उमेर समूहलाई हुन्छ ?

डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डरको लक्षण सामान्यतया प्रारम्भिक वयस्क अवस्था (Early Adulthood) अर्थात् १८ देखि २५ वर्षको उमेर आसपासबाट स्पष्ट रूपमा देखिन थाल्छ।

किशोरावस्थामा केही हदसम्म अरूमाथि निर्भर हुनु वा निर्णय गर्दा साथीभाइ र अभिभावकको सहयोग लिनु सामान्य मानिन्छ। त्यसैले १८ वर्षभन्दा कम उमेरका बालबालिका वा किशोरकिशोरीमा यसको औपचारिक निदान (Diagnosis) विरलै गरिन्छ। तर, जब व्यक्ति वयस्क भएर आफ्नै निर्णय आफैं गर्नुपर्ने, जिम्मेवारी लिनुपर्ने र स्वतन्त्र रूपमा जिउनुपर्ने उमेरमा पुग्छ, अनि मात्र यो समस्या डिसअर्डरको रूपमा बाहिर आउँछ। उमेर ढल्कँदै जाँदा उपचार नपाएमा यो समस्या झनै जटिल बन्दै जान सक्छ।

यसका साथै, वृद्धवस्था वा उमेर ढल्कँदै जाँदा जीवनमा आउने ठूला परिवर्तनहरू जस्तै, जीवनसाथीको निधन, शारीरिक अशक्तता, वा सेवानिवृत्ति (Retirement)का कारण पहिलेदेखि सुषुप्त रूपमा रहेको DPD को लक्षण झनै तीव्र भएर आउन सक्छ। यस्ता जीवनका जटिल मोडहरूमा साना-तिना कामका लागि पनि अरूमाथि निर्भर रहनुपर्ने बाध्यताले मानिसमा असहायताको भावनालाई थप बढावा दिन्छ।

अर्कोतर्फ, युवावस्थामा करिअर, विवाह, र सामाजिक उत्तरदायित्व जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू एकैपटक सम्हाल्नुपर्ने भएकाले यो उमेर समूहमा यसको मानसिक प्रभाव सबैभन्दा बढी देखिन्छ। तसर्थ, DPD को जग बाल्यावस्थाका अनुभवहरूसँग जोडिए पनि यसको वास्तविक असर र पहिचान भने मुख्य गरी १८ देखि २५ वर्षको उमेर समूहबाट सुरु भएर व्यक्तिले जीवनका नयाँ-नयाँ जिम्मेवारीहरू वहन गर्नुपर्ने प्रत्येक उमेर चरणमा फरक-फरक रूपमा प्रकट हुने गर्छ।

कसरी पाउने उन्मुक्ति ?

DPD बाट पूर्ण रूपमा बाहिर निस्कन समय र धैर्य चाहिन्छ, तर सही मनोवैज्ञानिक उपचार र अभ्यासबाट यसबाट उन्मुक्ति पाउन सम्भव छ। मनोवैज्ञानिकहरूले मुख्य रूपमा निम्न उपायहरू सुझाएका छन् -

१. कग्निटिभ बिहेभियरल थेरापी (CBT)

आरोन बेकद्वारा प्रतिपादित कग्निटिभ बिहेभियरल थेरापी (CBT) लाई डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर (DPD) को उपचारमा सर्वाधिक प्रभावकारी र वैज्ञानिक मानिन्छ। अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA) का उपचार निर्देशिकाहरूमा स्पष्ट पारिए अनुसार, CBT ले DPD को मुख्य जड—अर्थात् त्रुटिपूर्ण सोच र व्यवहारलाई एकसाथ रूपान्तरण गर्न मद्दत गर्छ। 

CBT ले बिरामीलाई आफ्ना नकारात्मक र असन्तुलित स्वचालित सोचहरूलाई तटस्थ भएर विश्लेषण गर्न सिकाउँछ। यस प्रक्रियामा थेरापिस्टले व्यक्तिलाई डर उत्पन्न गराउने काल्पनिक परिस्थितिहरूको सामना गर्न व्यावहारिक गृहकार्य (Homework Assignments) दिन्छन्।

उदाहरणका लागि, दैनिक जीवनका निर्णयहरूको सूची बनाएर साना कामहरू आफैं गर्ने र त्यसपछि उत्पन्न हुने अनुभूतिहरूलाई डायरीमा टिप्ने अभ्यास गराइन्छ। यसले बिरामीमा बिस्तारै "म आफैँ निर्णय लिन सक्छु" भन्ने नयाँ विश्वासको विकास गराउँछ। नियमित अभ्यासले अरूको स्वीकृतिको आवश्यकतालाई घटाउँदै लैजान्छ र व्यक्तिमा स्थायी रूपमा समस्या समाधान गर्ने क्षमता तथा आत्मनिर्भरता अभिवृद्धि गर्छ।

  • 'म असहाय छु' भन्ने सोचलाई चुनौती (Cognitive Restructuring): DPD भएका व्यक्तिहरूमा 'म एक्लै केही गर्न सक्दिनँ' भन्ने गहिरो विश्वास (Core Belief) हुन्छ। CBT थेरापिस्टले बिरामीलाई आफ्ना यस्ता नकारात्मक सोचहरू पहिचान गर्न र तिनीहरूको वैज्ञानिक परीक्षण गर्न सिकाउँछन्। 'यदि मैले यो निर्णय एक्लै गरेँ भने के साच्चै ठूलो विपत्ति आउँछ ?' जस्ता प्रश्नहरू मार्फत उनीहरूलाई आफ्नो क्षमताको यथार्थपरक मूल्याङ्कन गर्न सक्षम बनाइन्छ।
  • साना-तिना निर्णयहरूको व्यावहारिक अभ्यास (Behavioral Experiments): सोच परिवर्तनसँगै CBT ले व्यवहारमा परिवर्तन ल्याउन ससाना कदमहरू चाल्न लगाउँछ। सुरुमा कपडा छान्ने, खाना अर्डर गर्ने वा एक्लै पसल जाने जस्ता साना निर्णयहरू आफैं गर्न दिइन्छ। जब बिरामीले यी निर्णयहरू सफलतापूर्वक गर्छन्, उनीहरूमा 'म पनि सक्छु' भन्ने नयाँ आत्मविश्वास पलाउँछ।

यसरी CBT ले एकातिर व्यक्तिभित्र रहेको असहायताको काल्पनिक भयलाई हटाउँछ भने अर्कोतिर व्यावहारिक अभ्यासका माध्यमबाट आत्मनिर्भरताको जग बसाल्छ। नतिजास्वरूप, व्यक्ति अरूको वैशाखी बिना आफ्ना साना-ठूला निर्णयहरू आफैँ लिन सक्ने बन्छ।

२. असर्टिभनेस ट्रेनिङ (Assertiveness Training) ः 

यस तालिम मार्फत व्यक्तिलाई अरूको अगाडि आफ्ना विचार, इच्छा र असहमतहरू नडराइकन स्पष्ट रूपमा राख्न सिकाइन्छ। अरूलाई 'नाइँ' भन्न सिक्नु यस थेरापीको मुख्य भाग हो।

असर्टिभनेस ट्रेनिङले व्यक्तिलाई आफ्नो आत्म-सम्मान पुनः प्राप्त गर्न ठूलो मद्दत गर्छ। DPD भएका व्यक्तिहरू अरूलाई असन्तुष्ट बनाएर उनीहरूको साथ छुट्ने डरले सधैं 'हुन्छ' भन्न बाध्य हुन्छन्। यस तालिममा रोल-प्लेइङ (Role-playing) र व्यावहारिक अभ्यास मार्फत विनम्र तर दृढतापूर्वक आफ्ना आवश्यकताहरू व्यक्त गर्न सिकाइन्छ। यसले व्यक्तिमा अरूको मन राख्न आफ्ना इच्छा मार्नुपर्दैन भन्ने बोध गराउँछ। बिस्तारै सीमाहरू तोक्न (Boundary Setting) र नाइँ भन्न सक्ने क्षमताको विकास भएपछि अरूमाथिको निर्भरता घट्दै जान्छ र आत्म-विश्वास बलियो बन्छ।

३. एक्सपोजर थेरापी (Self-Reliance Practice)

बिरामीलाई बिस्तारै एक्लै काम गर्ने बानी पारिन्छ। सुरुमा साना कामहरू (जस्तै: एक्लै पसल जाने, एक्लै फिल्म हेर्ने) बाट सुरु गरेर पछि ठूला निर्णयहरू आफैँ गर्ने क्षमताको विकास गराइन्छ। 

एक्सपोजर थेरापी वा 'सेल्फ-रिलायन्स प्राक्टिस' ले व्यक्तिभित्र रहेको एक्लोपन र असहायताको डरलाई बिस्तारै निष्प्रभावी बनाउँछ। यस प्रक्रियामा थेरापिस्टको निर्देशनमा व्यक्तिलाई उसलाई डर लाग्ने परिस्थितिहरूसँग क्रमबद्ध रूपमा (Graded Exposure) सामना गराइन्छ।

सुरुमा एक्लै कफी पिउन जाने वा एक्लै किनमेल गर्ने जस्ता कम जोखिमयुक्त कामहरूबाट अभ्यास सुरु गरिन्छ। जब व्यक्तिले यस्ता परिस्थितिमा कुनै ठूलो विपत्ति पर्दैन र आफू सुरक्षित छु भन्ने प्रत्यक्ष अनुभव गर्छ, उसको मस्तिष्कमा रहेको 'एक्लोपनको भय' कम हुँदै जान्छ। यसले व्यक्तिमा बिस्तारै जटिल सामाजिक, व्यक्तिगत र पेसागत निर्णयहरू पनि अरूको सहायता बिना स्वतन्त्र रूपमा लिन सक्ने आँट र आत्मविश्वास भर्दछ।

४. ग्रुप थेरापी (Group Therapy)

समान समस्या भएका मानिसहरूको समूहमा बसेर अन्तरक्रिया गर्दा व्यक्तिलाई आफू मात्र यो अवस्थामा नभएको महसुस हुन्छ र अरूको प्रगति देखेर आत्मविश्वास बढ्छ।

यी सम्पूर्ण उपायहरू मानसिक स्वास्थ्य सम्बन्धी प्रमुख ग्रन्थहरू, जस्तै: अमेरिकन साइकियाट्रिक एसोसिएसनको DSM-5 (Diagnostic and Statistical Manual of Mental Disorders) र विभिन्न क्लिनिकल साइकोलोजीका पाठ्यपुस्तकहरूमा विस्तृत रूपमा उल्लेख गरिएका छन्।

समूह थेरापी (Group Therapy) ले DPD भएका व्यक्तिहरूलाई आफ्नो भावना बाँड्ने एउटा सुरक्षित र सहानुभूतिपूर्ण वातावरण प्रदान गर्छ। प्रायः यस्ता व्यक्तिहरू आफूलाई एकदमै कमजोर र फरक ठान्छन्, तर समान समस्या भोगिरहेका अन्य मानिसहरूसँग अन्तरक्रिया गर्दा उनीहरूको "म मात्र एक्लो छु" भन्ने हीनभाव मेटिन्छ।

यस प्रक्रियामा समूहका अन्य सदस्यहरूले कसरी आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन् र सफलता पाइरहेका छन् भन्ने देख्दा उनीहरूमा पनि नयाँ आशा र प्रेरणा जाग्छ। यसले उनीहरूलाई सामाजिक रूपमा घुलमिल हुन, अरूको रचनात्मक प्रतिक्रिया (Feedback) स्वीकार्न र पारस्परिक सहयोगका माध्यमबाट आफ्नो आत्मविश्वास र निर्णय क्षमता अभिवृद्धि गर्न ठूलो मद्दत पुर्‍याउँछ।

सहारा लिनै नहुने होइन

मानिस एक सामाजिक प्राणी हो। समाजमा एक-अर्कासँग मिलेर बस्नु, आपसमा सहकार्य गर्नु र परिआउँदा सहयोगको आदानप्रदान गर्नु मानव सभ्यताको सौन्दर्य मात्र होइन, यसको आधारभूत आवश्यकता पनि हो। जीवनका अनेकौँ मोडहरूमा हामीलाई अरूको सहारा चाहिन्छ र हामीले पनि परेका बेला अरूलाई आड-भरोसा दिनुपर्छ। दुख-सुख बाँड्नु, समस्यामा पर्दा सल्लाह-सुझाव लिनु र एक-अर्काको परिपूरक बनेर बाँच्नु स्वस्थ सामाजिक जीवनको लक्षण हो।

सहयोग लेनदेनसम्मको व्यवहार बिल्कुलै स्वाभाविक र स्वागतयोग्य छ। तर, जब यो सहयोगको अपेक्षा अत्यधिक निर्भरता (Over-dependence) मा परिणत हुन्छ, तब यसले समस्याको रूप लिन्छ। अरूको सहयोग लिनु र आफ्नो अस्तित्व नै अरूको हातमा सुम्पिनु बीच ठूलो भिन्नता छ।

यसै सन्दर्भमा प्रसिद्ध जर्मन-अमेरिकी समाजशास्त्री तथा मनोविद् एरिच फ्रोम (Erich Fromm) को विचार निकै सान्दर्भिक देखिन्छ। फ्रोमले आफ्नो चर्चित पस्तक 'Escape from Freedom'(१९४१) मा सामाजिक सम्बन्ध र मानव स्वतन्त्रताबारे गहन व्याख्या गरेका छन्।

उनका अनुसार समाजमा मानिसहरू बीच दुई प्रकारका सम्बन्ध हुन्छन् - 'सिम्बायोटिक युनियन' (Symbiotic Union)'मेच्योर लभ/कोअपरेसन' (Mature Love/Cooperation)

  • सिम्बायोटिक युनियन (अस्वस्थ निर्भरता) : यस अवस्थामा व्यक्ति एक्लै उभिन डराउँछ र आफ्नो स्वतन्त्रता तथा आत्म-निर्णयको अधिकार अरूलाई सुम्पिन्छ। फ्रोमका अनुसार यो अवस्थामा मानिसले एक्लोपन र असुरक्षाबाट बच्नका लागि अरूमाथि अत्यधिक निर्भर हुने बाटो रोज्छ, जसले उसको व्यक्तिगत विकास र आत्म-सम्मानलाई समाप्त पार्छ।
  • परस्पर सहयोग (स्वस्थ अन्तरनिर्भरता) : फ्रोमले 'मेच्योर लभ' वा स्वस्थ सहकार्यको व्याख्या गर्दै भनेका छन् कि वास्तविक सामाजिक सम्बन्ध तब मात्र सम्भव हुन्छ जब व्यक्तिहरू आफ्नै खुट्टामा उभिन सक्षम हुन्छन्। दुईवटा स्वतन्त्र व्यक्तिले एक-अर्काको व्यक्तित्वको सम्मान गर्दै गर्ने सहयोगले समाजलाई बलियो बनाउँछ।

तसर्थ, समाजमा अरूको सहारा लिनु वा दिनु आफैंमा नराम्रो होइन। तर आफ्नो निर्णय क्षमता र अस्तित्व नै गुमाउने गरी अरूमाथि अश्रित हुनु भनेको फ्रोमले भनेझैँ 'आफ्नो स्वतन्त्रताबाट भाग्नु' हो। सामाजिक अन्तरनिर्भरता (Interdependence) र अत्यधिक निर्भरता (Dependency) बीचको सीमा बुझ्न सक्नु नै स्वस्थ जीवनको आधार हो।

के गर्दैछु भन्ने जाँच्नुस् आफैंलाई

डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर (DPD) बाट मुक्त हुने वा आत्मनिर्भर बन्ने नाममा आफूखुसी र मनलाग्दी निर्णय गर्नु झन् अर्को जोखिमपूर्ण कदम हुन सक्छ। अरूमाथि पूर्ण रूपमा निर्भर हुनु जति गलत हो, आत्मनिर्भरताको गलत अर्थ लगाएर परामर्श बिना जथाभावी निर्णय लिनु पनि उत्तिकै घातक हुन्छ। DPD को त्रासबाट जोगिने धुनमा हतारिएर गरिएका अपरिपक्व निर्णयले व्यक्तिगत र पेसागत जीवनमा थप जटिलता ल्याउन सक्छन्।

वास्तविक आत्मनिर्भरता भनेको कसैको कुरा नसुनी एक्लै हिँड्नु होइन। कतिपय परिस्थितिमा सरोकारवाला सबैका विचार, सुझाव र दृष्टिकोण सुन्नु अनिवार्य हुन्छ। विचार-विमर्श अरूबाट विचार संकलन गर्ने माध्यम हो, तर अन्तिम निर्णय भने आफूले विवेकपूर्ण ढंगले गर्नुपर्छ।

जब हामी सरोकारवालाहरूसँग पर्याप्त सरसल्लाह र छलफल गरेर निर्णयमा पुग्छौँ, त्यसको अपनत्व र जिम्मेवारी बाँडिन्छ। यस्तो अवस्थामा कुनै निर्णय गलत नै साबित भए पनि व्यक्ति एक्लो पर्दैन। टोली वा सहकर्मीहरूको साथ रहिरहन्छ। परिणाम राम्रो आउँदा सामूहिक प्रशंसा त पाइन्छ नै, यदि सोचेजस्तो नभए पनि एक्लैले गर्ने हतारोको निर्णयमा जस्तो सबै आलोचना र गालीको सिकार हुनुपर्दैन।

यसरी अरूका विचारलाई सम्मान गर्दै अन्तिम निर्णय आफैं लिने क्षमता नै सफल नेतृत्व (Leadership) को मुख्य आधार हो। एउटा असल नेता वा सफल व्यक्तिले अरूको कुरा सुन्छ, विश्लेषण गर्छ र निर्णयको पूर्ण जिम्मेवारी आफूले लिन्छ। DPD बाट बाहिर निस्कने क्रममा 'म अरूको कठपुतली पनि बन्दैनँ र विना-परामर्श मनलाग्दी पनि गर्दिनँ' भन्ने सन्तुलन कायम राख्नु नै परिपक्व व्यक्तित्वको पहिचान हो। त्यसैले, कुनै पनि कदम चाल्नुअघि आफैंलाई सोध्नुहोस् - 'म केवल डराएर पछि हट्दै छु कि विवेकपूर्ण ढंगले अघि बढ्दै छु ?'

आफूमा डीपीडी भए/नभएको यसरी थाहा पाउनुस्

हामी सबैलाई कतिपय अवस्थामा अरूको सल्लाह वा सहयोगको खाँचो पर्छ, तर साधारण सहयोगको अपेक्षा र डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर (DPD) बीच स्पष्ट रेखा हुन्छ। आफू वा आफ्नो कुनै नजिकको व्यक्तिमा DPD को समस्या छ कि छैन भनेर पहिचान गर्न मुख्य रूपमा निम्न व्यवहार र सोचका ढाँचाहरूलाई नियाल्न सकिन्छ -

  • दैनिक निर्णयमा अरूकै भर : बिहान के लगाउने, के खाने वा फुर्सदमा के गर्ने जस्ता साना-तिना र साधारण निर्णय लिन पनि अरूको निरन्तर स्वीकृति वा ढाडस आवश्यक पर्नु।

  • असहमति जनाउन नसक्नु : अरूको विचार वा निर्णय गलत नै लागे पनि उनीहरू रिसाउने वा छाडेर जाने डरले 'नाइँ' भन्न नसक्नु र आफ्ना इच्छा दबाउनु।

  • आफ्नै क्षमतामा अविश्वास : आफूमा सीप र दक्षता भए तापनि 'म एक्लै केही गर्न सक्दिनँ' वा 'मैले गरे गल्ती हुन्छ' भन्ने गहिरो हीनभावना हुनु।

  • सम्बन्ध छुट्ने अत्यधिक भय (Fear of Abandonment) : कसैले छाडेर जाला वा एक्लो भइएला भन्ने डरका कारण अरूको शोषण, दुर्व्यवहार वा थिचोमिचो सहेर पनि सम्बन्धमा टिकिरहनु।

  • सम्बन्ध टुटेमा तुरुन्तै अर्को सहारा खोज्नु : एउटा नजिकको सम्बन्ध वा सहारा समाप्त हुनेबित्तिकै संरक्षण र सहयोगका लागि हतार-हतार अर्को व्यक्तिमा आश्रित हुनु।

  • जिम्मेवारी अरूलाई सुम्पिनु : आफ्नो जीवनका महत्त्वपूर्ण क्षेत्रहरू (जस्तै: करिअर, आर्थिक निर्णय, वा व्यक्तिगत जीवन) को पूर्ण जिम्मेवारी अरूकै हातमा छाडिदिनु।

यदि यी लक्षणहरूले तपाईंको दैनिक जीवन, कार्यक्षमता र व्यक्तिगत सम्बन्धमा लामो समयदेखि असर पारिरहेका छन् भने यो DPD को संकेत हुन सक्छ। यस्तो अवस्थामा आफैंले निष्कर्षमा पुग्नुभन्दा मानसिक स्वास्थ्य विशेषज्ञ वा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श गरी परीक्षण गराउनु उपयुक्त हुन्छ।

डीपीडीसँग डराउनुपर्छ ?

डराउनुपर्दैन।

DPD कुनै ज्यान लिने वा मानिसलाई पूर्ण रूपमा पागल बनाउने कडा खालको मनोरोग (Psychosis) होइन। यो त केवल व्यक्तिको विचार, भावना र व्यवहार गर्ने शैलीमा आएको एउटा असन्तुलन मात्र हो। सही जानकारी, आत्म-सचेतना र मनोवैज्ञानिक सहयोगको माध्यमबाट व्यक्तिले आफ्नो जीवनको नियन्त्रण पुनः आफ्नै हातमा लिन सक्छ। डराउनुको सट्टा यसलाई बुझ्नु र समयमै समाधानतर्फ लाग्नु बुद्धिमानी हुन्छ।

डीपीडीसँग अत्तालिनु वा डराउनु आवश्यक छैन, किनकि डरले समस्याको समाधान गर्दैन, बरु व्यक्तिलाई थप असहाय बनाउँछ। यो कुनै उपचार नै नहुने वा सुधार गर्न नसकिने जटिल अवस्था होइन। सही समयमा समस्याको पहिचान, मनोपरामर्श, र कग्निटिभ बिहेभियरल थेरापी (CBT) जस्ता मनोवैज्ञानिक उपचार पद्धतिको प्रयोगबाट व्यक्तिले आफ्ना सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

आफ्नो अवस्थालाई बुझेर साना-तिना निर्णयहरू आफैँ गर्ने अभ्यास गर्दा हराएको आत्मविश्वास बिस्तारै फर्कन्छ। परिवार र साथीभाइको सकारात्मक सहयोग एवं व्यावसायिक परामर्शले मानिसलाई पूर्ण रूपमा आत्मनिर्भर बन्न मद्दत गर्छ। त्यसैले, DPD सँग डराएर लुकाउनुको सट्टा सजग भई परामर्श र आत्म-सुधारको बाटो रोज्नु नै समझदारी हुन्छ।

के यो आफैं हट्छ/घट्छ?

धेरैलाई लाग्न सक्छ कि उमेर बढ्दै गएपछि वा वातावरण फेरिएपछि यो समस्या आफैं हराएर जान्छ। तर, यो आफैं हट्दैन, घट्दैन।

पर्सनालिटी डिसअर्डरहरू व्यक्तिको व्यक्तित्वको गहिरो भाग बनिसकेका हुन्छन्। यदि कुनै उपचार वा मनोवैज्ञानिक हस्तक्षेप भएन भने, समयसँगै यो झन् कडा हुँदै जान सक्छ। यसले गर्दा व्यक्ति थप डिप्रेसन, एन्जाइटी (चिन्ता) वा शोषणयुक्त सम्बन्ध (Abusive Relationships) को सिकार बन्न पुग्छ।

तथापि, उमेर ढल्कँदै जाँदा केही मानिसहरूमा बाह्य परिस्थिति (जस्तै: सहारा दिने व्यक्तिको निधन वा टाढा हुनु) का कारण बाध्य भएर केही काम आफैं गर्नुपर्ने अवस्था आउन सक्छ, तर भित्री डर र असहायताको भावना भने उपचार बिना मेटिँदैन। त्यसैले, यसका लागि विशेषज्ञ मनोवैज्ञानिक वा मनोचिकित्सकको परामर्श (Counseling/Therapy) लिनु नै उत्तम उपाय हो।

हामी सबैलाई जीवनमा अरूको साथ, सल्लाह र सहयोगको खाँचो पर्छ। तर जब त्यो सहयोग बिना हामी पाइला पनि चाल्न सक्दैनौँ र आफ्नो अस्तित्व नै अरूको भरमा छाडिदिन्छौँ, तब त्यो समस्या बन्छ। डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डरलाई समयमै पहिचान गरेर आत्म-विश्वास बढाउने अभ्यास र मनोपरामर्श लिने हो भने जोकोही पनि आफ्नो जीवनको मालिक आफैं बन्न सक्छ। आफूलाई चिनौँ, आफ्ना निर्णयहरूमा विश्वास गरौँ।