
उनले बोलेजस्तै छ बुढासुब्बा मन्दिर परिसरको बासझयाङको फेदी । तीन वर्ष अघिसम्म यहाँ तारजाली थिएन । बासैपिच्छे युवाहरुले आफ्नो नाम वा नामको पहिलो अक्षरसग प्लसको संकेत दिएर प्रेमिकाका नाम कोरेर जान्थे । त्यसबेला बाँस कुनै पनि खाली थिएनन् । जुनमा हेर्यो फलानो प्लस फलानी लेखिएका थिए । फेदीमा जाली लगाइयो । कसैले माला बाँधेर भनिदिएछ 'यसो गरे मनोरथ पुरा हुन्छ ।' अनि अहिले यहा सबै उमेर समूहकाहरु तारजालीमा माला बाध्न तल्लिन भेटिन्छन् । बुढासुब्बा र सुब्बिनीको मन्दिर पस्ने, पुजा गर्ने अनि रंगीन डोरो तारजालीमा बाँधेर मनोकांक्षा पुरा होस भन्दै फिर्ने ।
००००
गेरुवा वस्त्र लगाएर झापाको बुधवारे ९ बाट आएको जमात बुढासुब्बाकै मन्दिर ताकी आएका होइनन् । बोलबम भन्दै निस्केको जमातको पहिलो लक्ष्य पिण्डेश्वर शिव मन्दिर । दोस्रो दन्तकाली र तेस्रोमा यो मन्दिर परेको हो । धरानको भानुचोकबाट केही पूर्व उकालो लागेपछि लहरै एकपछि अर्का यी मन्दिर बाटाबाटै छन् । यी धरानको विजयपुर डाडाका सदाबहार तीर्थस्थल हुन् । आदिवासी जनजातिको बाहुल्य भएको यो लाहुरे सहरका तीर्थस्थलले हिन्दु र किरात धर्मावलम्बीलाई यिनैका माध्यमले जोडेको पनि छ ।
झापा, मोरङ, सुनसरीका समथर क्षेत्रमात्र होइन, सीमावर्ती भारतको विहार र वंगालबाट आउने तीर्थयात्रीलाई थोरै पहाडी हिडाइको कसरत दिने विजयपुर डाडाले धार्मिक शीतलतामात्र होइन मोहक हरियालीको आनन्द दिने क्षमता पनि राखेको छ । यहाको तापक्रम पनि धरानको बजार, विराटनगर र इटहरीजस्ता सहरी क्षेत्रभन्दा कम छ । गर्मीको तापले असजिलो मान्दै बसेकाहरु यहा फरक प्रकारको शीतल अनुभव गर्न सक्छन् । एकपटक आएकाहरुलाइ यहाको वातावरणले तानिरहेको दिनहुको घुइचोबाट थाहा हुन्छ । वराहक्षेत्र पुगेर कोसीको जल ल्याइ १५ किलोमिटरको यात्रापछि थाक्दै आफैलाई जगाउदै लाम लागेर पुजाको पालो कुरी बसेकाहरुको जमातमा एक प्रकारको उत्साह देखिन्छ ।
०००

मन सधै धर्मकर्ममा लागिरहँदैन । तर, वर्षमा एकपल्ट यसरी गाउँलेका साथ घरबाट टाढाको तीर्थ आउदा थकाइ मर्ने र फेरि काममा जाँदा नयाँ प्रकारको अनुभव हुने उनलाई लाग्छ । उनीसँगै रहेका २६ वर्षीय रन्जीत राजवंशीलाई पनि त्यस्तै लाग्छ । भन्छन् 'उमेरमा धर्मकर्म गर्ने नगर्ने आफ्ना कुरा हुन् तर, यसरी बोलबम आएपछि रमाइलो हुन्छ ।' पेशाले सिकर्मीको काम गर्दै आएका राजवंशीलाई तीर्थको माहोलमा गाउँले टोली मिसिन पाउँदा निकै रमाइलो लागेको छ । तीर्थालुका भीडमा धेरै संख्या राजवंशी र थापाको जस्तै हाराहारी उमेर समूहको छ । धेरैको चाहना शिवजीले दिउन नदिउँन माया, शान्ति र जागिर रहेको पाइन्छ । जनविश्वासमा तीर्थ यात्राको अनुभव आफैमा शरीरलाई स्फुर्ती दिने प्रकारको अनुभव उनीहरुको छ । १२ कक्षाको परीक्षा दिइ बसेका झापाली तन्नेरी रोजीत कोइरालाको यो वर्ष बोलबम तीर्थको जीवनमै पहिलो अनुभव हो । 'ग्रुपमा आउँदा मजा आउने रहेछ, उनले भने 'अरु खासै लागेन ।' झापाली टोलीले घरदेखि चतरा र धरानसम्मको यात्राका प्रतिव्यक्ति आठ सय खर्च भएको बतायो । तुलनात्मक रुपमा उनीहरुका लागि पिण्डेश्वर तीर्थयात्रा सस्तोमा रमाइलो अनुभव गराउने प्रकारको भएको छ ।
०००
पूर्वी तराइमा अहिले बोलबम टाढाको तीर्थ छैन । जहाँ जहाँ शिवालय छन् तिनमा पुजा गर्नेको आफ्नै प्रकारको घुइचो छ । वर्षेनी शिवालय थपिने क्रममा पनि छन् । तर, धरानका कुरा बेग्लै भएको झापाकी शशि कार्की बताउँछिन् । भन्छिन् 'वर्ष वर्ष लगातार ६ पल्ट आएँ । चार वर्ष ग्याप भो । अहिले फेरि यसपाली आएकी छु ।' यातायातका दृष्टिले सुगम । शान्ति-सुरक्षा र एउटा तीर्थको यात्रामा तीनवटा मन्दिरको घुमाइ हुने भएकाले धेरैलाई धरानले तान्ने गरेको हो भन्ने उनलाई लाग्छ । 'रोगकष्ट हुँदैन , शान्ति हुन्छ भन्ने विश्वास छ, उनी भन्छिन् 'विश्वासले नै हो पहिलो तान्ने कुरा ।'
इनरुवा-९ बलाहाबाट आएका दिदी-भाइ रीता र विष्णु पुरीको बुझाइमा समाजले धर्म मान्नुपर्छ भन्ने सिकाएकाले यही युवा पुस्तामा परेको असरले तीर्थ गराउँछ । 'मान्नेले मानेका छन् , पुगेको जस्तो लाग्छ, रीता भन्छिन् 'त्यसैले मान्छे तीर्थमा कष्ट भएपनि धाउँदा रमाएका होलान् ।' आठ कक्षाका विद्यार्थी विष्णुलाई भने यात्रा आफैमा नौलो अनुभव भएको छ । बेग्लै रंगका लुगा लगाएर । लाम लागेर बोलबमको नारा दिदै पुजामा सरिक हुनु आफैमा फरक अनुभव हो भन्ने उनलाइ लाग्छ । 'यसरी आएकाले मात्र रमाइलो नरमाइलो अनि नौलो अनुभव गर्न सक्नेरहेछन् ।' धरान आउनु टाढाको तीर्थ होइन । तर, उनीहरु दिदीभाइ चतरा भने पुगेनन् ।
०००
धरानको पिण्डेश्वर शिवमन्दिरका बोलबम यात्री अधिकांश चतरा पुगेर त्यहाँको पानी लिइ मन्दिर आइपुग्छन् । १५ किलोमिटरको यात्रा सहज छैन । कारण, बाटामा दुइवटा साना खहरे तरेर माटो, ढुंगा, ग्राभेल र कालोपत्रे सडक छिचोल्दै अघि बढ्ने पैदल यात्रा खाली खुट्टा हिड्नेका लागि सजिलो अवश्य होइन । 'धर्मकर्म भनेजस्तो सजिलो कहा हुन्छ, तीर्थालुका लागि सरबत वितरणको संयोजन हेदै गरेकी धरान-१५ की मीना पुलामी भन्छिन् 'तर, अप्ठ्यारो बाटोबाट यात्रा गरेर, कष्ट खपेर गरेको तीर्थले मान्छेलाई शान्ति अनुभव हुन्छ । मान्छे त्यसैले ओइरिएका हुन् ।' लायन्स क्लव अफ दन्तकालीसम्बद्ध यी महिलाको बुझाइमा धरानको तीर्थमा कष्टजतिकै आनन्दले पनि यात्रुलाई तानेको छ । तीर्थालुका लागि पिण्डेश्वर बोलबम व्यवस्थापन समितिलाई लायन्स, सत्यर्साई सेवा केन्द्र, प्रहरी र स्थानीय युवा समूहले सघाएका छन् ।

(०६७ साउन १५ शनिवार कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करणमा प्रकाशित)
No comments:
Post a Comment