काउन्सेलिङ साइकोलोजीको कक्षाका क्रममा हाम्रा एक जना गुरुले 'नोमोफोबिया' बारेमा बताउनुभएको थियो। त्यसबारे केही टिपोट तयार पारेको थिएँ। तर, अपुरो लागेकाले त्यसलाई कतै प्रकाशित गरिएन। अहिले त्यो लेखोट यसो हेर्दा ब्लगमा राख्न मन लाग्यो। यो उपयोगी पनि रछ। एकछिन मोबाइल नहुँदा आकाश खसेजस्तो लाग्ने हामी अधिकांश नोमोफोबियाबाट ग्रस्त भइरहेका त छैनौं ?
यो शब्द No-Mobile-Phone Phobia बाट बनेको हो। यो मोबाइलसँग कट्टर रूपमा जोडिएका व्यक्तिहरूमा देखिने मनोवैज्ञानिक स्थिति हो, जहाँ फोन नहुँदा उनीहरू असहज देखिन्छन्, चिन्तित हुन्छन्, छटपट गर्छन् वा डराउँछन्।
काम केही नहोस् तैपनि मोबाइल अन गरेर स्क्रिनमा स्क्रोल गरिरहनु बानी नै बनेको छ। स्मार्टफोन हाम्रा लागि यति अभिन्न साधन बनेको छ, कुनै पनि बेला साथ रहन्छ। एकछिन पनि भएन भने छटपटी हुन्छ।
हाम्रो दैनिकी चलाउन ठूलो मद्दत गरेको यो साधनको उपयोग सञ्चार सम्पर्कबाट विस्तार भएर मनोरन्जनदेखि सूचना आदानप्रदान, फोटो-भिडियो सुटिङ, सम्पादन, इन्टरनेट सर्फिङदेखि बैंकिङ कारोबारसम्म छ। क्यामरा, फोटो एडिटिङ टुल, सामाजिक सञ्जाल, लेखपढ, हिसाबकिताब, जोडघटाउ, घडी, टर्च, म्युजिक सिस्टम, रेडियो, टीभी, गेम, जीपीएस, म्याप, हेल्थ ट्रयाकर आदि जे खोज्यो त्यही छ। अनि बग्रेल्ती एपहरु विकास हुँदा यसको उपयोगिता हाम्रो आवश्यकता र अनुमानभन्दा कयौं गुणा फराकिलो हुँदै गएको छ।
आवश्यकताअनुसार वार्तालापका लागि मात्रै चलाउँछु, अन्यथा धेरै प्रयोग गर्दिन भन्नेका लागि पनि दिन सुखका छैनन्। हाम्रो बैंक ब्यालेन्सदेखि किनमेलसम्म मोबाइलबाटै हुन्छ। क्युआर कोड स्क्यान गरेर भुक्तानी कारोबार गर्न अघि बढेका हाम्रा लागि दैनिक जीवनमा धेरैथोक मोबाइलले ओगटिसकेको छ। कसैले कुनै नयाँ ठाउँमा बोलायो भने 'तेरो लोकेसन मलाई शेयर गर' भन्न साह्रै सजिलो छ। अनि त्यही नक्सा पछ्याएर सहिजै निश्चित गन्तव्यमा पुग्न सक्छौं।
आफूलाई आएका विचार, धारणा, कुन्ठा, खुसी, दुःख आदि सबै सामाजिक सञ्जालमा पोख्न पहिलो सजिलो माध्यम मोबाइल छ। कसैले 'मलाइ मोबाइल चाहिदैन' भनिहाले पनि जीवन यो बिना अधुरो-अपुरो छ। एकपटक हात परेर बानी परेपछि फेरि चलाउँदिन भनेर मनलाई जतिसुकै बाँधौं, यसका सुविधाले हामीलाई गर्ने आकर्षण बिछट्टको छ। यहाँसम्म त कुरा ठीकै पनि छ।
समस्या त्यसबेला सुरु हुन्छ, जब स्मार्टफोनको प्रयोग हाम्रो 'लत' बन्छ। एकछिन पनि फोनबिना बस्न नसक्नु, एकछिन साथमा भएन भने छटपटाउनु, असजिलो हुनु। बाहिर निस्कने बेला गोजीमै छ तर छुट्यो की भन्ने लागेर आत्तिनु । 'ब्याट्री लो' हुँदा चार्जमा जोडेरै पनि चलाउन नछाड्नु, साथीभाइ, आफन्तका साथ रहँदा पनि मोबाइलमै घोरिनु। यो असमान्य व्यवहारको लक्षण हो।
स्मार्टफोनको यो लतलाई मनोवैज्ञानिकहरुले नाम दिएका छन्- नोमोफोबिया। यो यस्तो डर(फोबिया) हो जसले तपाइँलाई लाग्छ, मोबाइल हराउँछ की, त्यो बिना कसरी बस्नु ? यस्ता बिरामीलाई 'नोमोफोब' भनिन्छ।
हिजोआज बालबालिका बाहिर खेल्नभन्दा मोबाइलमै रमाउँछन्। जन्मेर भर्खर आँखाको भावभंगिमाबाट प्रतिक्रिया दिन थालेका नानीहरुलाई हामी मोबाइल देखाउँछौं। फकाउँछौं। उनीहरु लती हुँदै गएको पत्तै चल्दैन। विस्तारै हिड्ने र बोल्ने हुँदाहुँदै बच्चाहरु मोबाइल भए अरु केही नचाहिने भइसक्छन्।
युवामा 'लत' बिछट्टको छ। मनोवैज्ञानिकहरुका अनुसार स्मार्टफोनको लत लागुपदार्थभन्दा घातक छ। किनकी यसले शरीरसँगै दिमागीरूपमा कमजोर बनाउँछ। त्यसैले यो 'लत' भएको अनुभव गर्नुभएको छ भने बाहिर निस्कने प्रयास गर्नुस्।
नोमोफोबियाका लक्षणबारे मनोवैज्ञानिकहरु एकमत छैनन्। कतिले यसलाई लागुपदार्थको नशा गरेभन्दा जोखिमपूर्ण भनेका छन्, कतिले एउटा सामान्य डर र मनोविकार मात्र हो भनेका छन्। तैपनि केही सामान्य लक्षण छन्, जसबाट तपाइँ नोमोफोबिया ग्रसितको पहिचान गर्न सक्नुहुन्छ।
तपाइँ कति चलाउनु हुन्छ स्मार्टफोन? नहेरी कतिबेरसम्म बस्न सक्नुहुन्छ? आफूलाई आफैंले मूल्यांकन गरेर नोमोफोबिया ग्रस्त हो/होइन भन्ने पत्ता लगाउन सकिन्छ।
लक्षण
* लगातार ५ मिनेट पनि फोन नहेरी बस्न नसक्नु
* ब्याट्री लो हुँदा छटपटी हुनु
* रिङट्युन/म्यासेज अलर्ट बज्नेबित्तिकै नोटिफिकेसन हेर्न अधैर्य हुनु
* इन्टरनेट/नेटवर्क कभरेज नहुँदा चिन्तित हुनु
* फोन हराउने वा घर, वा कतै छुट्ला की भन्ने डर
* चिन्ता, थकान र स्वभावमा चिडचिडापन
खोसियो निद्रा
अनुहारमा २ घन्टासम्म लगातार मोबाइलको प्रकाश पर्दा २२ प्रतिशतसम्म मेलाटोनिन घट्छ। यसले निन्द्रा सजिलै नआउने समस्या हुन्छ। जति धेरैबेर मोबाइल हेरिन्छ, त्यतिनै निन्द्रा पर्न कम हुन्छ। स्मार्टफोन धेरै चलाउँदा निजी सम्बन्धमा असर परेको हुन्छ।
घट्दो आत्मविश्वास
यस विषयमा विभिन्न सर्वेहरु गरिएको जर्नलहरु इन्टरनेटका सर्च इन्जिनले देखाउँछन्। एउटा सर्वेक्षणमा ४१ प्रतिशतले स्वीकार गरेका छन् उनीहरु अरुका अगाडि मुर्ख बन्नबाट जोगिन मोबाइलमा व्यस्त रहेको नाटक गर्छन्। यसो गर्दा उनीहरुको आत्मविश्वास घट्छ। समूहमा उभिएर अगाडि आएर बोल्ने बानी घट्छ।
एउटा सर्वेमा ४५ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताले आफूहरुलाई कतै मोबाइल फोन हराउला की भन्ने चिन्ताले सताउने गरेको बताएका छन्।
नोमोफोबिया हुँदा केके हुन्छ ?
सर्च इन्जिनहरुले नोमोफोबियाका विभिन्न लक्षणहरु यस्ता हुने उल्लेख गरेका छन्। मोबाइल फोन सबैले चलाउँछन् तर, कति समय र कसरी चलाउँछन् भन्नेमा पनि त्यसको लाभ/हानि मापन हुन सक्छ।
मानसिक तनाव, स्मरण शक्ति ह्रास, एकाग्रतामा कमी, मस्तिष्कको निष्क्रियता, चिडचिडापन, थकान, दृष्टिशक्तिमा समस्या, हेराइमा असर, अनिद्रा, आलस्य, कुनै काममा मन नलाग्नु, घाँटी र ढाड दुख्नु, आँखा दुख्ने, सुन्निने, पानी आउने र टाउको दुख्नु।
समस्या यतिमा मात्रै सीमित छैन, व्यक्तिले सामाजिक र पारिवारिक जीवनमा थुप्रै प्रकारका समस्या सामना गर्नुपर्छ। परिवारलाई पर्याप्त समय नदिनु, बिर्सनु, अगाडि बसेकाहरुसँग कुराकानी नगर्नु। परिवारमा झगडा, छिटै रिसाउनु आदि देखिने व्यवहार हुन्।
मोबाइल हाम्रो सुविधाका लागि आविष्कार भएको हो। यसलाई हाम्रा आवश्यकताअनुसार चलाउनु पर्छ, हामीले यसको दास बन्ने होइन। नोमोफोबिया शारीरिक समस्या होइन, मानसिक बिमारी हो । त्यसैले यसबाट छुटकारा पाउन औषधि होइन, दृढ इच्छाशक्ति चाहिन्छ।
उपाय के छ ?
* खराब बानी छाड्न सबैभन्दा सरल तरिका आफूलाई अनुशासनमा राख्नु हो। निर्धारित समयमा मात्रै मोबाइल फोन चलाउने।
* तपाइँले आफैंलाई प्रतिबन्ध लगाउन सक्नुहुन्छ। कति कतिबेला चलाउने, कतिबेर चलाउने? बाँकी समय मोबाइल फोनभन्दा दुरी बनाएर बस्नुस्। मोबाइलमा आउने अनावश्यक नोटिफिकेसन डिएक्भेट गर्नुस्।
* सातामा एक दिन सोसल मिडियाबाट दुरी बनाउनुस् । साथीहरुलाई सल्लाह दिनुस् ।
* घरपरिवारलाई समय दिनुस् । तपाइँ मोबाइल जति कम चलाउनु हुन्छ, त्यति नै बारम्बार ब्याट्री चार्ज गरिरहनुपर्ने झमेलाबाट मुक्त हुनुहुन्छ।
* राति कम प्रयोग गर्नुस् । बरु किताब पढ्नु उपयुक्त हुन्छ।
मोबाइल हाम्रा लागि एउटा साधन हो, जीवन होइन। त्यसैले यसको प्रयोगको बानीलाई हामीले नियन्त्रित गर्न नसकिने होइन। नोमोफोबिया आधुनिक डिजिटल युगको एक चुनौती हो। यसलाई म्यानेज गर्न टेक्नोलोजीको स्वस्थ प्रयोग र आत्मनियन्त्रण आवश्यक छ। यदि तपाईं वा तपाईंको परिवारको कसैलाई यस्तो समस्या छ भने, यसलाई गम्भीरतापूर्वक लिनुहोस् र आवश्यक कदम चाल्नुहोस्। यदि नोमोफोबियाले दैनिक जीवनमा बाधा पुर्याएको छ र आफूले निदानका विकल्पमा केही गर्न सकिएन भन्ने लाग्छ मनोवैज्ञानिक सल्लाह लिनुहोस्।
No comments:
Post a Comment