यस्तो कहिल्यै भएको थिएन। कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन्। बरु मलाई सबैले बौलाहा भन्लान्। तर, समाधान त चाहिएकै हो। धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें। हेरें, बन्द गरे। टेम्पररी फोल्डरमा पनि त्यही नामका स्क्रयाप फाइल खोली हेरेँ। अहँ छैन। कता गयो गयो !
मैले जानाजान डिलिट वा सम्पादन गरेको सम्झना छैन। तर, कथाबाट एउटा पात्र वेपत्ता हुनु कसरी सम्भव हुन सक्छ ? म आफैंलाई चित्तबुझ्दो उत्तर दिन सक्दिन। रिक्शाचालक वृद्ध पिता, बुढी आमा। सातजना भान्टाङ-भुन्टुङ भाइबैनीको उ भरपर्दो दाजु थियो। दुई कक्षापछि स्कुल गएन। स्कुले शिक्षा पुरा नगरे पनि महान भएका मान्छेका जीवनी उसलाई कण्ठ थियो।
मजदुरीबाटै उ राजमिस्त्रीमा बढुवा भएको थियो। इँटा-बालुवा र ढुंगासँग खेलेर उसका ज्यान बलिष्ठ थिए। काम नभएका बेला पहिरनले उसलाई कसैले मिस्त्री मान्दैनथे। ऊ कुनै बडिबिल्डर वा मोडलभन्दा कम देखिदैनथ्यो। ज्यालादारीभन्दा ठेक्दारी मन पराउने। ठेक्का लिएको काम छिटै फत्ते गर्ने।
राम्रो ठाउँमा जमिन लिएर घर बनाउने। मातापिता पाल्ने। भाइबैनीलाई सकेजति पढाउने। सपनाले उसका विपनालाई साथ दिएका थिए। तर, बाबु ज्यानले सकेसम्म काम छाड्न मानेका थिएनन्। माहिला र साहिला भाइ पढ्न मान्दैनथे। बैनीहरुका पहिरनले सम्पन्न परिवारको झल्को दिन्थ्यो। कथामा मैले एउटा क्लाइमेक्स कल्पना गरें।
अनि उसको भेट बजारमा एउटा चलेको पसलेकी रुपवती छोरीसँग भेट गराइदिएँ। जात मिल्थ्यो। बात पनि मिल्थ्यो। पसलेले घरको एउटा तला थप्दा उसलाई त्यहाँ पुर्याइयो। हिमचिम देखेर रुपवतीका पिताले प्रस्ताव गरे - 'मेरी छोरी बिहे गर्ने भए तिमीले मैकहाँ आएर बस्नुपर्छ।'
मैले लेखें - 'तर, उ दुःखमा हुर्केको छोरो थियो। आफ्ना आमाबा र भाइबैना छाडेर कसरी बस्थ्यो ? उसले मानेन।' त्यो दिनदेखि ऊ पसलेको घरमै गएन। उसले सोच्यो- '..... के सोच्यो, कथा यहाँबाटै अपुरो छ।
मैले लेखेकै हो। एउटा असल इमान्दार छोराका बारेमा।
कम्प्युटर अफ गरेर बाहिर निस्केँ। नजिकै मन्दिरबाट एउटा जोडी बाहिर निस्कँदै थिए। बेहुलो सरासर मैंतिर आयो। नियालेर हेरें - चिनेको मान्छे होइन।
ठिङ्ग उभियो, कुटिल हाँसो हाँस्यो। भन्यो, 'हेर्नुस महाशय, यो कलियुग हो। म श्रवण कुमार होइन।' (लघुकथा)

No comments:
Post a Comment