यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । टेम्पररी फोल्डरमा पनि त्यही नामका स्क्रयाप फाइल खोली हेरें । अहं छैन । कता गयो गयो ।
मैले जानाजान डिलिट वा सम्पादन गरेको सम्झना छैन । तर, कथाबाट एउटा पात्र वेपत्ता हुनु कसरी सम्भव हुन सक्छ ? म आफैलाई चित्त बुझदो उत्तर दिन सक्दिन । रिक्शाचालक बृद्ध पिता, बुढी भएकी आमा । सातजना भान्टाङ-भुन्टुङ भाइबैनीको उ भरपर्दो दाजु थियो । दुइ कक्षापछि स्कुल गएन । स्कुले शिक्षा पुरा नगरेपनि महान भएका मान्छेका जीवनी उसलाई कण्ठ थियो ।
मजदुरीबाटै उ राजमिस्त्रीमा बढुवा भएको थियो र्।र् इटा-बालुवा र ढुंगासँग खेलेर उसका ज्यान बलिष्ठ थिए । काम नभएका बेला पहिरनले उसलाई कसैले मिस्त्री मान्दैनथे । ऊ कुनै बडिबिल्डर वा मोडलभन्दा कम देखिदैनथ्यो । ज्यालादारीभन्दा ठेक्दारी मन पराउने । ठेक्का लिएको काम छिटै फत्ते गर्ने ।
राम्रो ठाउँमा जमिन लिएर घर बनाउने । मातापिता पाल्ने । भाइबैनीलाई सकेजति पढाउने । सपनाले उसका विपनालाई साथ दिएका थिए । तर, बाबु ज्यानले सकेसम्म काम छाड्न मानेका थिएनन् । माहिला र साहिला भाइ पढ्न मान्दैनथे । बैनीहरुका पहिरनले सम्पन्न परिवारको झल्को दिन्थ्यो । कथामा मैले एउटा क्लाइमेक्स कल्पना गरें ।
अनि उसको भेट बजारमा एउटा चलेको पसलेकी रुपवती छोरीसँग भेट गराइदिए । जात मिल्थ्यो । बात पनि मिल्थ्यो । पसलेले घरको एउटा तला थप्दा उसलाई त्यहाँ पुर्याइयो । हिमचिम देखेर रुपवतीका पिताले प्रस्ताव गरे -'मेरी छोरी बिहे गर्ने भए तिमीले मैकहाँ आएर बस्नुपर्छ ।' मैले लेखें 'तर, उ दुःखमा हुर्केको छोरो थियो । आफ्ना आमाबा र भाइबैना छाडेर कसरी बस्थ्यो ? उसले मानेन ।' त्यो दिनदेखि ऊ पसलेको घरमै गएन । उसले सोच्यो '............... के सोच्यो, कथा यहाँबाटै अपुरो छ । मैले लेखेकै हो । एउटा असल इमान्दार छोराका बारेमा ।
कम्प्युटर अफ गरेर बाहिर निस्के । नजिकै मन्दिरबाट एउटा जोडी बाहिर निस्कदै थिए । बेहुलो सरासर मैंतिर आयो । नियालेर हेरें - चिनेको मान्छे होइन । ठिङ्ग उभियो, कुटील हाँसो हास्यो । भन्यो 'हेर्नुस महाशय, यो कलियुग हो । म श्रवण कुमार होइन ।'
No comments:
Post a Comment