काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले
अब सिङ्गै नेपालको
अर्थ लाउन सक्दैन
काठमाण्डू भित्रभित्रै गुम्सिसकेको छ
मञ्जुश्रीको अर्को तरबारको
विकास खोजिरहेछ ऊ
युगका गह्रौं पाइलाहरू अब
धेरै बोक्न सक्दैन

खोजिरहेछ ऊ...
झन्डै चार दशकअघि कामको सिलसिलामा काठमाडौं खाल्डो पुग्दा संघीयताको आवश्यकता संकेत गर्ने यस्तो कविता फुराएका दूरदर्शी स्रष्टा कृष्णभूषण बल संसारबाट बिदा भएका छन् । गत शुक्रबार मर्निङवाकबाट फिरेपछि नुहाउन बाथरुम पसेका बेला ६५ वषीय कविलाई ब्रेन हयामरेज (मस्तिष्कघात) भएको थियो । उनकी श्रीमती शोभा लामाका अनुसार, त्यो बिहान उनलाई तत्काल विराटनगरको न्युरो अस्पताल पुर्याइएको थियो । त्यसयता कोमामा रहेका बललाई चिकित्सकले सोमबार साँझ साढे सात बजे मृत घोषणा गरेका हुन् । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । जीवनसंगिनी नर्स भएकाले उनको खानपान सन्तुलित थियो, औषधि नियमित थियो ।
कवि सुमन पोखरेलका अनुसार, बलको पार्थिव शरीर सोमबार बेलुका नै विराटनगर-१३ स्थित उनको निवास लगिएको छ । मंगलबार अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर दुई घन्टा हाटखोलास्थित आरोहण गुरुकुल परिसरमा राखिने छ । त्यसपछि पोखरियास्थित परोपकारघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । बलका श्रीमती, एक छोरा र छोरी छन् । इलाममा जन्मेका बलले लामो समय नेपाल राष्ट्र बैंकमा जागिरे जीवन बिताएका थिए । अवकाश भएपछि एक दशकयता उनी वाणी प्रकाशनका अध्यक्ष थिए । नेपाली लेखक संघका सहअध्यक्ष उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् पनि थिए । जागिरे दिनचर्यालाई उनले कुनै समय कवितामा यसरी लेखेका छन् :
कार्यालय आउँछन् थचक्क बस्छन्
ऊभित्रको कविलाई निकालेर टेबलमा राख्छन्
पेपरवेटले थिच्छन् र जतन गर्छन्
स्वाभिमानलाई झोलामा राख्छन्,
जति जानेका हुन् बिर्सन्छन्
अप्ठेरो हाकिमलाई सबैभन्दा विद्वान् मान्छन्
कार्यालयको परिचयपत्र घाँटीमा
डोरीले बाँधेर झुन्ड्याउँछन्
मानौं, त्यही डोरीले भैंसी बाँधेझैं
उनी बाँधिएका छन्
र कार्यालय अवधिभर भूषणजी यसरी नै बाँच्छन्
बेलुकी पाँच बज्नासाथ भूषणजी घरतिर लाग्छन्
टेबलमा थिचेर राखेको कविलाई आफूभित्र हाल्छन्
दिनभरि थला परेको कविलाई
सुरापान गराउँछन्
कहिले त्यति बेलै लेख्छन् र च्यात्छन्
नभए बिहान लेख्छन् र हेर्छन्...
पञ्चायतकालमा 'सुनाखरी लामा' नामबाट 'देशान्तर' साप्ताहिकका स्तम्भ लेख्ने बल नरम भाषामा विद्रोह बोल्ने कविका रूपमा चिनिँदै आएका थिए । यही विशेषताका कारण उनी तत्कालीन प्रशासनको कोपभाजनमा पर्ने गरेका थिए । उनलाई पछिल्लो समय नजिकबाट संगत गरिरहेका रंगकर्मी खेम नेपाली भन्छन्, 'नेपाली कवितामा भूपि शेरचनपछि उहाँको स्थान छ । उहाँका कविताको ओज कहिल्यै हराउनेछैन ।'

सरल व्यक्तित्वका धनी कवि बलको गत साउनमा हाटखोलाको गुरुकुलमा एकल कविता वाचन कार्यक्रम भएको थियो । उनी युवा सर्जकहरूलाई पनि सिर्जनामा लागिरहन प्रेरणा दिन्थे, हौस्याउँथे । साहित्य लेखनमा धेरै पुरस्कार पाएका उनी कृतिको चाङ बढाउनुभन्दा थोरै तर, गुणस्तरीय सिर्जनामा रुचि राख्थे । प्रकाशित कृतिको सूची लामो नभए पनि उनका काव्यचेतलाई नेपाली साहित्यमा विशिष्ट मानिन्छ । 'दाज्यु तिम्रो हात चाहिन्छ' (खण्डकाव्य), 'भोलि बास्ने बिहान' र 'द फुल मुन एट द रिभरब्यांक' आदि उनका प्रकाशित कृति हुन् ।
गत वर्ष कवि बलका विषयमा प्रकाशित गुरुकुलको लेखोटमा स्रष्टा कृष्ण धरावासीले लेखेका छन्, 'तीसको दशकका समकालीन कविहरूभन्दा अलग्गै रूपमा बललाई उनका कविताले उभ्याउँछन् । निरंकुशताप्रतिको विद्रोह र स्वतन्त्रताको चेतना उनका कविताको मुल स्वर हो ।'
(कान्तिपुर दैनिकको कला र शैली पृष्ठमा प्रकाशित मिति: २०६९ असार १२)
कवि बलको बिदाइ

विराटनगर, असार १२ -
नाटकघरको आँगनमा बिहानैदेखि बाटो कुर्नेहरूले समयको भेउ पाएका थिएनन् । मंगलबार १० बज्दा पनि नआइपुग्दा अधैर्यहरूको भीडले 'बलको बलेसी' घेरा हाल्यो । लामाहरूले विधि पुर्याए । कफिन आइपुग्यो । कविको पार्थिव शरीर त्यसमा राखिएपछि सेतो धजामुन्तिर उभिएर श्रद्धाञ्जली दिनेको र कफिन बाकस उचाल्न हात उठाउनेको लस्कर बाटासम्मै आइपुग्यो ।
मस्तिष्काघातले सोमबार साँझ दिवंगत कवि कृष्णभूषण बलको शवयात्रा घरबाट संसारी माईस्थान हुँदै वाणी प्रकाशन पुग्यो । मिनी टि्रपरमा राखिएका उनलाई अन्तिम बिदाइ गर्नेले बाटाभरि नै भीड बनाइरहे ।
मध्याह्नको चर्को घाम छिचोलेर शवयात्राको लर्को हाटाखोलास्थित आरोहण गुरुकुलको नाटकघरको प्रांगणमा पुग्यो । बाटा ढाकेर सवारीसाधनको भीडले थाहा नपाएकाहरूलाई पनि बलको बिदाइबारे अवगत गरायो । भाषाशास्त्री बालकृष्ण पोखरेलले राष्ट्रिय झन्डा ओढाए । उपमहानगरभित्रका अधिकांश साहित्यिक कार्यक्रममा दुई जना अतिथि अनिवार्य जस्तै हुन्थे । पोखरेल र बल । वयोवृद्ध पोखरेल गफिन रमाउने, बल सुनिदिन मन पराउने । थोरै बोल्ने, अनि अरूलाई ध्यान दिएर सुनिदिनेहरू स्रष्टाले मन पराउने मान्छे हुँदै हुन् । उमेरमा कान्छा भए पनि पोखरेललाई सम्मान गर्दै साहित्यमा पछयाउन मन पराउने भएकै कारण बल उनका प्रिय थिए ।
झन्डा र फूलमाला अर्पण गरेर भाषाशास्त्री ट्रिपरबाट ओर्लिए । भीडलाई हेरे । केहीबेर बोलेनन् । अनि श्रद्धासुमन अर्पण गर्नेलाई बाटो देखाउन थाले । फोटो खिच्न खोजिरहेकाहरूलाई बोलाएर भने, 'उ त्यो माथि गए सबै प्रष्ट देखिन्छ । तलबाट सबै आउँदैन ।'
गुरूकुलमा मोरङ, सुनसरी, झापा र काठमाडौंबाट पनि बलको अन्तिम विदाइका लागि आएका धेरै साहित्यप्रेमीका आँखा रसिला थिए । मान्छेलाई कालले लैजानु अकाट्य छ । तर, असामयिक निधनको शोकमा सबैसबै आँसु पुछिरहेका देखिन्थे ।
गुरूकुलबाट शवयात्रा चार किमी उत्तर परोपकारघाट पुगुुञ्जेल कवि बललाई श्रद्धार्पण गर्नेहरूको संख्या घटेन । साहित्य बाहेकका क्षेत्रका व्यक्तिहरूको पनि बाक्लो उपस्थिति रह्यो । घाटमा लामा संस्कार अनुसार अन्त्येष्टि गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्ना प्राज्ञको शोकमा पठाएको सन्देश दाहसंस्कारअघि साहित्यकार दधिराज सुवेदीले पढेर सुनाए । कवि केशव आचार्य, उपेन्द्र पागल र कलाकर्मी माया पौडेलले शब्दमा बललाई श्रद्धासुमन अर्पण गरे ।
राष्ट्र बैंकको जागिरे जीवनबाट अवकाश पाएका बल एक दशकयता साहित्यमा फरक प्रकारले सक्रिय थिए । नयाँ पुस्तालाई हौस्याउने गरिरहेका कारण युवा कलमकर्मी बीच उनको लोकप्रियता चुलिएको थियो । साहित्यका स-साना आयोजनाको निम्तो पनि सहर्ष मानिदिने बानीले उनलाई सबैको प्रिय बनाएको थियो ।
मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठानकी अध्यक्ष युवा गजलकार ज्योति जंगल भनिन्, 'हामीले अभिभावक गुमायौं ।' ज्योतिले राष्ट्र बैंकमा जागिर थाल्दा बल अधिकृत तहमा कार्यरत थिए । साहित्यिक कार्यक्रमको निम्तोमा उनी र राधिका गुरागाइलाई उपस्थित हुन बल हौस्याउँथे । 'हामी भर्खर लेख्न थालेका भए पनि उहाँको हौसलाले ठूलो बल मिलेको थियो,' उनले सम्झिँन, 'भूषण दाइले सिर्जनाको निरन्तरतामा नसघाउनुभएको भए लेख्ने बानी बस्तैनथ्यो होला ।'
अर्की युवा कवि सविता गौतमले भनिन्, 'उहाँले कवितामा विम्ब चिनाउनुभयो ।' उनले आफ्नो 'रिसलाई छिचोल्दा' कविताको प्रसंग स्मरण गरिन् । त्यति बेला उनलाई बलले भनेका रहेछन्, 'पहिले रिसलाई ऐनामा फाल, त्यसको परावर्तन हेर अनि के आउँछ त्यही लेख ।' धराने स्रष्टा बद्री पलिखेले बलको थोरै बोल्ने र सबैलाई सम्मान गर्ने बानी सम्झिए । भने, 'थोरै बोले पनि लागेका कुरा फयाट्ट भन्ने बानी थियो ।'
साताअघि राजधानीका एक सञ्चारकर्मीसँग मृत्यु संवादका विषयमा फोनमा कुरा गरिरहेका बेला बलको प्रतिक्रिया कवि मनु मञ्जिलको स्मृतिमा ताजै रहेछ । 'मृत्यु के हो, कहिले, कसरी, किन भन्नेमा दार्शनिक तवरको प्रसंग सुनेपछि भूषण दाइले भन्नुभएको थियो,' उनले भने, 'मृत्यु संवाद पनि सुन्दर हुँदो रहेछ ।' बलले कुन अर्थमा त्यस्तो प्रतिक्रिया दिएका थिए भन्ने अहिले सोचिरहेको मञ्जिलले सुनाए ।
गजलकार मधु पोखरेलको ठम्याइमा बल कवितामा राष्ट्रिय विम्ब प्रयोगकर्ता थिए । 'उहाँका कवितामा विम्ब नेपाली भाषाभित्रैबाट आएका छन्,' उनको परख रह्यो, 'धेरै कविले आगन्तुक, जटिल र अन्य भाषाका विम्ब प्रयोग गरेको देख्छु । उहाँमा त्यस्तो थिएन ।'
(कान्तिपुर दैनिकको कला र शैली पृष्ठमा प्रकाशित मिति: २०६९ असार १३)
No comments:
Post a Comment