Monday, September 29, 2008

दसैं फेरि आयो




तीन/चार वर्षदेखि एफएम रेडियोहरुमा एउटा मौसमी गीत बज्छ । पपगायक योगेश्वर अमात्यले गाएको 'दसैं नै हो कि यो मेरो दसा फर्किआएको...' बोलको । दसैं-दसैंका अवसरमा मात्र बढी सुन्न पाइने यो गीत अघिपछि बिरलै बज्छ होला । यसले नेपालीको ठूलो पर्व आएको जानकारी दिने मात्र होइन, किन छिटो आयो । र, किन विरह चलाएको भनेर सोच्न बाध्य पार्छ । 
अन्तराका बीच बीचमा संवाद पनि छ । घर टार्ने जिम्मेवारी बोकेका पुरुष पात्रको आवाजमा अमात्य पद्यबाहेक संवादमा जे बोल्छन् , त्यसमा निम्नमध्यमवर्गीय नेपाली परिवारमा पर्व टार्न कति असजिला छन् भन्ने व्यथा छ ।

नयाँ लुगा, गहना, मासूका लागि खसी । आकासिंदो महँगीबीच नेपालीको खस्कदो क्रय क्षमतामा प्रहार गर्ने अमात्यको गीतले विरह चलाउँछ । थोरै आम्दानी भएका सबै नेपालीलाइ पर्व र सांकृतिक समारोह बोझ हुनु अस्वभाविक छैन ।
जुनसुकै धर्मका किन नहुन् । सबैलाइ चाडबाड र सांस्कृतिक उत्सवहरुमा आफ्नो गच्छे बिर्सिएर पनि रमाउन मन हुन्छ । तर मन भएर मात्र कहाँ हुन्छ र ।
राजनीतिक व्यवस्था परिवर्तन भयो । सत्ता हाँक्नेहरु फेरिए । नेताका जिम्मेवारी र कित्ता फेरिए । एक दशक यता खस्किएका उद्योगको स्तर उठेन । सुनसरी-मोरङका सन्दर्भमा १० वर्ष भयो कारखाना नया थपिएका छैनन् । भएका उद्योगहरु पनि रुग्ण भए । बन्द भए । चलिरहेकाहरु पनि कतिपय व्यवस्थापन फेरिए । नेपाली उत्पादनले विश्व बजारमा टिकिरहने गरी आफूलाइ परिमार्जित गर्न सकेको होइन ।
कारखानाले मजदुरका लागि उपलब्ध गराउदै आएको सुविधा वर्षेनी घटेका छन् । कुनै बेला कामदार नपाएर आवास, खाद्यान्न र औषधोपचारसम्मका सुविधा दिंदै बोलाउने चलन अहिले कथा भएको छ । कारखाना सञ्चालकहरु कसरी कर जोगाउने, नाफा बचाउने, मजदुरका आन्दोलन रोक्ने, सुविधाका मागमा उनीहरुलाई कसरी विचलित पार्ने, अनि आफैं कसरी बाँच्ने भन्नेमा भेटिन्छन् । र, कतिपय उद्योगी जो समयसँग चलेका छन्, ती पनि खुशी भेटिने अवस्था छैनन् ।
मजदुर पनि आफ्ना सीप बढाएर आफूलाई कसरी नभई नहुने बनाउन सकिन्छ भन्नेमा ध्यान दिन चुकेका भेटिन्छन् । कटौती गरिएका सुविधाका कारण सरकारले तोकेको न्युनतम ज्याला पाउदा पनि बजारको अवस्थाले हास्न बिर्सेका छन् । कतिपय न्युनतम ज्यालामा पनि खट्न तयार छन् । तर, भनेजस्तो रोजगारी छैन ।
मजदुरका लागि मजदुरबाटै खोलिएका संघसंगठनहरु पनि स्तर उकास्नका लागि गम्भीर छैनन् । कारखाना हुन् वा सवारी साधन, होटल होस् वा अन्य कतै । कही" मजदुरको चित बुझेको छैन । बढ्दो महगीले ढाड सेकेका बेला जताततै असन्तुष्टी छ ।
किसानले बेलामा बीउबिजन र मल पाउदैनन् । पाइ हालेपनि सिंचाइका लागि पानी पाउदैनन् । दुःख झेलेर गरेका उत्पादनले सजिलै बजार र मूल्य पाउदैन । ब्यवस्था परिवर्तन र सुशासनको मागका लागि दल, संगठन, समूह वा ब्यक्तिले गरेका बन्द , हड्ताल र आन्दोलनले नेपालीको क्रय क्षमता बढाएको छैन । कोसी कटानपछि नेपालबाट नेपालका लागि भारतको बाटो नहिंडी नहुने भएको छ । टाउको भित्र समयसग चल्न सक्ने क्षमतावान गिदी भएकाहरु युरोप र अमेरिकाको बसाइ छाड्ने मनस्थितिमा छैनन । उनीहरु फोन र मेलबाट गाउघरको खबर सोध्न पनि समय निकाल्न असजिलो छ भन्ने गुनासो गर्छन ।
रोजगारीको अवसर र जीवन सुखमय हुने ज्यालाको खोजीमा युवाको विदेशिने क्रम बढेको बढेकै छ । विदेशमा पैसा फलेको हुन्छ । टिपेर झोला हाल्दै ल्याउन सकिन्छ झै मुलुकको कुटनीतिक सम्बन्ध नै नभएको र जान रोक लगाइएका मुलुकमा समेत नेपाली पुगेका छन् । उनीहरुमध्ये धेरैले त्यहाँबाट परिवारका लागि दसैंमा हाँस्न मिल्ने खबर पठाउन सकेका छैनन् ।
तैपनि यसपटक सदा झै दसैं यसपटक पनि संघारमा छ । पर्वलाई मितव्ययी बनेर गच्छेअनुसार निर्वाह गर्न जरुरी छ । हामी जति छौं । जस्ता छौं । नानीहरुका लागि छ दसैं आएकै हो । हामी किन ढाटिरहेका छौ ।

जनताका लागि सस्तो, सुलभ र गुणस्तरीय वस्तुको बजारका लागि सम्बन्धित निकायले विज्ञप्ति निकाल्ने मात्र होइन काम गरेर देखाउनुपर्छ । मञ्चमा मच्चिने उपभोक्ता अधिकारवादीहरु सुतेर बस्न पाइदैन । हामीले नून, तेल, मसला र उपभोग्य सामग्रीको बजार महँगो भयो । किन भयो भनेर खोजी गरेका उपभोक्ता अधिकारवादी देखेका छैनौं । अनि जनताका लागि बजार लगाइयो । पर्वमा यी कुराहरु सस्ता बनाइएका छन् । छुट दिइएका छन् भन्ने देखेका छैनौ ।

आवरणमा देखिने छुटका कुरामा सटर भाडा जोडिएर आएका छन् । विक्रेताले आफ्ना पसल फिजाउने ठाउको दाम पनि जोडिएर आएका छन् । त्यसका आफ्नै बाध्यता होलान् । तर, अत्यधिक मुनाफा कमाउने बेला बितेको छ । व्यवसायीले न्युनतम अंकमा मात्र नाफा राखेर जनतालाई सुविधाको अनूभूति गराउन सक्नुपर्छ । नेपालीलाई थाहा छ नूनदेखि सुनसम्म बाहिरबाट ल्याइएका छन् । जनता , बाहिरबाट आउने र हामीकहा हुने वस्तुको गुणस्तर पहिचान गर्न सक्छन् । सस्तो, सुलभ र गुणस्तरीय वस्तु खरिदबिक्रीको वातावरण बन्नुपर्छ । जीवन आशाले डोर्‍याउने हो । त्यसैले आश नमारौं । मितव्ययी बनौ । गच्छेअनुसारको पर्व मान्न तयार बनौं । किनभने दसैं संघारमा छ । आश मारियो भने योगेश्वरको गीतमा बीच बीचमा संवाद पनि छ र, खर्चको कुराको जवाफमा उनी भन्छन् - पैसा न सैसा टिकी ट्याँस् ट्याँस् ।

No comments: