Monday, September 29, 2008

दसैं फेरि आयो


तीन/चार वर्षदेखि एफएम रेडियोहरुमा एउटा मौसमी गीत बज्छ। गायक योगेश्वर अमात्यले गाएको 'दसैं नै हो कि यो मेरो दसा फर्किआएको...' 

दसैं-दसैंका अवसरमा मात्र बढी सुन्न पाइने यो गीत अघिपछि बिरलै बज्छ होला। यसले नेपालीको ठूलो पर्व आएको जानकारी दिने मात्र होइन, किन छिटो आयो। र, किन विरह चलाएको भनेर सोच्न बाध्य पार्छ।
 
अन्तराका बीच-बीचमा संवाद पनि छ। घर टार्ने जिम्मेवारी बोकेका पुरुष पात्रको आवाजमा अमात्य पद्यबाहेक संवादमा जे बोल्छन्, त्यसमा निम्नमध्यमवर्गीय नेपाली परिवारमा पर्व टार्न कति असजिला छन् भन्ने व्यथा छ।

नयाँ लुगा, गहना, मासूका लागि खसी। आकासिंदो महँगीबीच नेपालीको खस्कदो क्रय क्षमतामा प्रहार गर्ने अमात्यको गीतले विरह चलाउँछ। थोरै आम्दानी भएका सबै नेपालीलाइ पर्व र साँकृतिक समारोह बोझ हुनु अस्वाभाविक छैन।

जुनसुकै धर्मका किन नहुन्, सबैलाई चाडबाड र साँस्कृतिक उत्सवहरुमा आफ्नो गच्छे बिर्सिएर पनि रमाउन मन हुन्छ। तर मन भएर मात्र कहाँ हुन्छ र !

राजनीतिक व्यवस्था परिवर्तन भयो। सत्ता हाँक्नेहरु फेरिए। नेताका जिम्मेवारी र कित्ता फेरिए। एक दशक यता खस्किएका उद्योगको स्तर उठेन। सुनसरी-मोरङका सन्दर्भमा १० वर्ष भयो कारखाना नयाँ थपिएका छैनन्। भएका उद्योगहरु पनि रुग्ण भए। बन्द भए। चलिरहेकाहरु पनि कतिपय व्यवस्थापन फेरिए। नेपाली उत्पादनले विश्व बजारमा टिकिरहने गरी आफूलाइ परिमार्जित गर्न सकेको होइन।

कारखानाले मजदुरका लागि उपलब्ध गराउँदै आएका सुविधा बर्सेनि घटेका छन्। कुनै बेला कामदार नपाएर आवास, खाद्यान्न र औषधोपचारसम्मका सुविधा दिंदै बोलाउने चलन अहिले कथा भएको छ। कारखाना सञ्चालकहरु कसरी कर जोगाउने, नाफा बचाउने, मजदुरका आन्दोलन रोक्ने, सुविधाका मागमा उनीहरुलाई कसरी विचलित पार्ने, अनि आफैं कसरी बाँच्ने भन्नेमा भेटिन्छन्। र, कतिपय उद्योगी, जो समयसँग चलेका छन्, ती पनि खुशी भेटिने अवस्था छैनन्।

मजदुर पनि आफ्ना सीप बढाएर आफूलाई कसरी नभई नहुने बनाउन सकिन्छ भन्नेमा ध्यान दिन चुकेका भेटिन्छन्। कटौती गरिएका सुविधाका कारण सरकारले तोकेको न्यूनतम ज्याला पाउँदा पनि बजारको अवस्थाले हाँस्न बिर्सेका छन्। कतिपय न्यूनतम ज्यालामा पनि खट्न तयार छन्। तर, भनेजस्तो रोजगारी छैन।

मजदुरका लागि मजदुरबाटै खोलिएका संघसंगठनहरु पनि स्तर उकास्नका लागि गम्भीर छैनन्। कारखाना हुन् वा सवारीसाधन, होटल होस् वा अन्य कतै। कहीँ मजदुरको चित बुझेको छैन। बढ्दो महँगीले ढाड सेकेका बेला जताततै असन्तुष्टि छ।

किसानले बेलामा बिउबिजन र मल पाउँदैनन्। पाइ हालेपनि सिंचाइका लागि पानी पाउदैनन्। दुःख झेलेर गरेका उत्पादनले सजिलै बजार र मूल्य पाउदैन। व्यवस्था परिवर्तन र सुशासनको मागका लागि दल, संगठन, समूह वा व्यक्तिले गरेका बन्द, हड्ताल र आन्दोलनले नेपालीको क्रय क्षमता बढाएको छैन। कोसी कटानपछि नेपालबाट नेपालका लागि भारतको बाटो नहिंडी नहुने भएको छ। टाउकोभित्र समयसँग चल्न सक्ने क्षमतावान गिदी भएकाहरु युरोप र अमेरिकाको बसाइ छाड्ने मनस्थितिमा छैनन्। उनीहरु फोन र मेलबाट गाउँघरको खबर सोध्न पनि समय निकाल्न असजिलो छ भन्ने गुनासो गर्छन्।

रोजगारीको अवसर र जीवन सुखमय हुने ज्यालाको खोजीमा युवाको विदेशिने क्रम बढेकोबढेकै छ। विदेशमा पैसा फलेको हुन्छ, टिपेर झोला हाल्दै ल्याउन सकिन्छ झैँ मुलुकको कूटनीतिक सम्बन्ध नै नभएको र जान रोक लगाइएका मुलुकमा समेत नेपाली पुगेका छन्। उनीहरुमध्ये धेरैले त्यहाँबाट परिवारका लागि दसैंमा हाँस्न मिल्ने खबर पठाउन सकेका छैनन्।

तैपनि यसपटक सदा झै दसैं यसपटक पनि संघारमा छ। पर्वलाई मितव्ययी बनेर गच्छेअनुसार निर्वाह गर्न जरुरी छ। हामी जति छौं, जस्ता छौं, नानीहरुका लागि दसैं आएकै हो। हामी किन ढाटिरहेका छौँ?

जनताका लागि सस्तो, सुलभ र गुणस्तरीय वस्तुको बजारका लागि सम्बन्धित निकायले विज्ञप्ति निकाल्ने मात्र होइन काम गरेर देखाउनुपर्छ। मञ्चमा मच्चिने उपभोक्ता अधिकारवादीहरु सुतेर बस्न पाइँदैन। हामीले नून, तेल, मसला र उपभोग्य सामग्रीको बजार महँगो भयो, किन भयो ? भनेर खोजी गरेका उपभोक्ता अधिकारवादी देखेका छैनौं। अनि जनताका लागि बजार लगाइयो। पर्वमा यी कुराहरु सस्ता बनाइएका छन्। छुट दिइएका छन् भन्ने देखेका छैनौ।

आवरणमा देखिने छुटका कुरामा सटर भाडा जोडिएर आएका छन्। विक्रेताले आफ्ना पसल फिँजाउने ठाउँको दाम पनि जोडिएर आएका छन्। त्यसका आफ्नै बाध्यता होलान्। तर, अत्यधिक मुनाफा कमाउने बेला बितेको छ। व्यवसायीले न्यूनतम अंकमा मात्र नाफा राखेर जनतालाई सुविधाको अनूभूति गराउन सक्नुपर्छ। नेपालीलाई थाहा छ नूनदेखि सुनसम्म बाहिरबाट ल्याइएका छन्। 

जनता , बाहिरबाट आउने र हामीकहाँ हुने वस्तुको गुणस्तर पहिचान गर्न सक्छन्। सस्तो, सुलभ र गुणस्तरीय वस्तु खरिदबिक्रीको वातावरण बन्नुपर्छ। जीवन आशाले डोर्‍याउने हो। त्यसैले आश नमारौं। मितव्ययी बनौँ। गच्छेअनुसारको पर्व मान्न तयार बनौँ। किनभने दसैं संघारमा छ। आस मारियो भने योगेश्वरको गीतमा बीच-बीचमा संवाद पनि छ र, खर्चको कुराको जवाफमा उनी भन्छन् - 'पैसा न सैसा टिकी ट्याँस् ट्याँस् !'

No comments: