Monday, October 14, 2019

Swallow birds - गौथलीको घर

सिकारी जिवजन्तुबाट ज्यान सुरक्षार्थ नजिक बस्न मन पराउँछन् 
तर, न हाम्रो नियन्त्रण रुचाउँछन्, न त दिएको खान्छन् । 

चन्द्रागिरी नगरको मच्छेगाउँमा एकजनाले बाँसमा धेरैवटा प्वाल पारेर भँगेरालाई आश्रय दिन एक प्रकारको बास बनाउन सकिने जुक्ति लगाए । आफ्नो जुक्ति उनलाई यति मन पर्‍यो की त्यसको नमुना गाउँमा आयोजित कार्यक्रमका प्रमुख अतिथिलाई ल्याएर देखाए । अपेक्षाविपरीत ती बयोबृद्ध अतिथिले भने 'योभन्दा पनि अर्को उत्तम उपाय छ । तपाइँ पाटन आएका बेला मेरो घर पस्नुस् ।'  
उनी बकुम्बहाल आए । देखे- भीत्तामा दुइ खण्ड छन् । एउटामा १८ र अर्कोमा १४ वटा प्वाल । भँगेरामात्रै ठिक्क पस्न-निस्कन मिल्ने बनाइएको छ । मान्छे र विरालोको पहुँचभन्दा निकै माथि । तल चारो टिप्ने र पानी खाने-खेल्ने सुविधा पनि छ । चरा आवास क्षेत्र रहेको घर हो संस्कृतिविद् सत्यमोहन जोशीको । भँगेरा चिन्तक छक्क परे, यस्तै केही गर्छु भन्दै प्रभावित भएर फिरे । 'मैले यो बनाउन लगाएको १०/१२ वर्षमात्रै भयो । थुप्रै भँगेरा बस्छन्,' जोशी भन्छन्, 'पुण्यकर्मको फल राम्रै प्राप्त हुन्छ भन्ने धर्म मान्ने समाज भएसम्म मान्छेले आफ्ना लागि मात्रै होइन, वरपरका सबै प्रणालीका लागि सोच्थ्यो । अब त्यो जमाना गयो, चराले बास पाउन गाह्रो हुँदै गएको मान्छे स्वार्थी भएर हो ।' सभ्यताको विकासक्रमअघि जब मान्छे ओडारमा बस्थे, लुगा लगाउन सिकेका थिएनन् । त्यो बेला चराहरूले गुँड लगाउने, जोडी भएर समाज मिलेर बस्ने र चल्ला हुर्काउने गरेको देखेर मान्छेले सिकेको हुनुपर्ने जोशीको तर्क छ । 'गौंथलीले घाँसपरालका त्यान्द्रा हिलामा चोबेर बनाउने गुँड, माकुराले बुन्ने जाल उसका लागि बास र आहारको व्यस्थापन आफैंमा बैज्ञानिक विधि हो,' उनी भन्छन्, 'त्यो देखेका पाषाण युगका मान्छेले प्रयोगका तरिकामात्रै सिकेनन्, आफ्ना लागि चाहिनेभन्दा धेरै विकास गरे । चराचुरुंगी र जनावर जस्ता थिए, उस्तै छन् ।' प्रकृतिप्रदत्त आफ्नो अवस्थाबाट नफेरिएका जिवजन्तु संरक्षणको दायित्व मान्छेकै भएको उनी बताउँछन् । अरु छाडौं, यो कथामा हामी गौंथलीका कुरा केलाउँछौं । मात्र गौंथली ।
  
००० 
बागलुङ बजारको आवा रोडका थुप्रै पसलहरूमध्ये एउटाको सटरमाथि प्वाल अलि अनौठो  छ । टिन उधारेर बनाइएको छ । किन त्यसो गरिएको भन्ने स्थानीयलाई थाहा छ । किराना पसले गणेश लम्साल आगन्तुकलाई कारण बताउन धक मान्दैनन् । 
'चरा सेवाका लागि हो यो तारतम्य,' उनी भन्छन्, 'यति गरेपछि गौथलीले भित्र-बाहिर गर्न सटर कतिबेला खोल्छन् भनेर पर्खनु परेन । कतै जान परेर दिउ“सो पसल बन्द गर्नुपर्दा हामीलाई पनि चिन्ता भएन ।' लम्सालले पसल थालेको २० वर्ष भयो, अहिलेको ठाउँमा सरेको सात वर्ष। 'पहिले बसेको घर ढुंगामाटोको थियो, त्यहाँ चारवटा गुँड थिए,' उनी भन्छन्, 'अहिलेको ठाउँमा एउटा गुँड छ । जोडीले वर्सेनी चल्ला हुर्काउँछन् ।'
बेच्न के राखिन्छ, त्यसैले तय गर्छ पसल कतिबेला खोल्ने । पोखरा-२५ हेम्जाकी चन्द्रा दाहालको लामाचौतारामा सटरमा औषधि पसल छ । 'एकाबिहानै खोल्छु, बेलुकी यिनीहरू बास बसेपछि ल अब बन्द गरेपनि हुने भयो भन्ठान्छु,' उनी भन्छिन्, 'पसल थालेको ११ वर्ष भयो । सुरु गरेदेखि नै गौंथलीले गुँड लगाएको छ ।' गौथलीका चिरबिर मन परेपनि आफू सफा रहने तर, भीत्ता र आफ्ना गुँड मुन्तिर फोहोर पानी बानी मन नपर्ने उनले बताइन । 'यसले गुँड लगाएकाले गर्दा पसल बन्द गरेर २/४ दिन कतै सञ्चोले जाउँ-बसौं भनेपनि पाइँदैन,' उनले भनिन् । किन र ? गौथलीले पसल बन्द नगर्नु भन्छन् ? भन्ने प्रश्नमा उनले एउटा घटना सुनाइन । एकपटक काम परेर बाहिर जाँदा पसल ३/४ दिन बन्द भयो । त्यो बेला गुँडमा गौथलीका चार बचरा थिए । 'फर्केर पसल खोल्न आउँदा सबै बचरा मरेका रहेछन्,' उनले भनिन्, 'सटर बन्द भएकाले माउ छिर्न नपाएपछि खानै नपाएर बचरा मरेछन् । त्यो देख्ता कति ठूलो अपराध गरिएछ भनेर धेरै दिनसम्म नरमाइलो लागिरह्यो । त्यो दिनदेखि मैले यिनीहरूलाई बाधा पर्नेगरि पसल बन्द गरेकी छैन ।' वर्सेनी गौंथलीले गुँडमा चल्ला हुर्काएर उडाउने गरेको उनले बताइन । 
ताप्लेजुङको फुङलिङ-४ पुरानो बैंक रोडका योगेन्द्रबहादुर गुरूङको घरमा गौंथलीको पनि बास छ । जोडी आउँछन्, फुल पार्छन् । चल्ला हुर्काउँछन् र, उडाएर लैजान्छन् । वर्सेनी आउजाउको क्रम चलिरहँदा उनलाई लाग्छ- 'यिनीहरूले मेरो घरलाई प्रसूतिगृह नै ठान्छन् । केही महिना हराउँदा चाहिं यिनीहरू कहाँ जान्छन् होला ? 

०००
'गौंथली परापूर्वकालदेखि मान्छेका साथ छन्, यिनीहरू बीच बीचमा कहाँ जान्छन् भन्नेमा अनेक तर्क छन्,' लण्डन जूलोजिकल सोसाइटीका नेपाल प्रमुख डा. हेमसागर बराल भन्छन्, 'यसबारे थुप्रै अनुसन्धान पनि भएका छन् । हामीले साझा नाम गौंथलीमात्रै भनेर चिन्ने गरेपनि यो वर्गमा दुइथरि चरा छन् -स्वालो र मार्टिन ।' 
नेपालमा गौंथली ११ र मार्टिनका १० प्रजाति पाइन्छन् । नेपालमा पाइएकामध्ये ५ प्रजातिले गुँड लगाउन मान्छेका घर, गोठ, भवन र मठमन्दिरजस्ता संरचनाको आश्रय लिने उनले बताए । 'हामीले धेरैजसो देख्ने र काठमाडौं उपत्यकामा घरमा गुँड लगाएको पाउने चरो घरगौंथली नै छ,' उनी भन्छन्, 'अहिले काठमाडौंभित्र खोज्दै गए गौंथली घरमा छन्, मार्टिन केही बाहिर छेउछाउमा पुगेका छन् ।' गौंथलीका केही प्रजातिले रूखको हाँगा र टोड्कामा पनि गुँड बनाउने उनी बताउँछन् । 
गौंथली तराइदेखि पहाडसम्मै पाइन्छन् । सुरक्षित बास क्षेत्र चिन्ने यी चरा असुरक्षित भएमात्रै प्रजनन् याममा गुँड बनाउन नयाँ ठाउँमा जान्छन् । मान्छेका छेउछाउ बस्दा यिनीहरू विरालो, मुसा, स्याल र र्सपबाट आफू सुरक्षित हुने बुझछन् । छेउछाउ बसेपनि मान्छेको नियन्त्रण भने यिनले रुचाउँदैनन् । त्यसैले कसैले गौंथलीलाई घरपालुवा बनाएर पाल्ने गरेको पाइँदैन । खान दिनु पनि पर्दैन ।  

०००
हामीले गौंथलीमात्रै भन्दै आएका चराहरू स्वालो, मार्टिन र स-वीङ्स वा हिरण्डनेडी जेसुकै हुन्, सबै पासेरिन परिवारअन्तर्गत पर्दछन् । भँगेरा पनि यही वर्गमा पर्छ । तर, भँगेराभन्दा आनीबानी र रुपरंगमा गौंथली धेरै फरक हुन्छन् ।
हिरण्डनेडीमा मात्रै पर्ने चरा ९० प्रजाति छन् । यिनलाई १९ वटा बायोलोजिकल जिनसमा वर्गिकरण गरिएको छ । यूरोप र उत्तरी अमेरिकामा पाइने प्रजाति फिरन्ते छन् । धेरै लामो दूरी यात्रा गर्छन् । पश्चिम र उत्तरी अफ्रिकामा पाइने रैथाने प्रजाति छन् । दुइ उपप्रजातिमा स्युडोसेलेडोनोनी (रिभर मार्टिन) र हिरण्डनेडी (सबै गौंथली, मार्टिन र स-वीङ्स) पर्छन् । चरा बारेका विभिन्न जर्नलहरूका अनुसार मार्टिन गोलो र स्वालो काँडाजस्ता पुच्छर भएका हुन्छन् । यी दुइ प्रजातिमा बैज्ञानिकले फरक भेटेका छन् । मार्टिनमा पछिल्लोपटक प्रोग्यु जेनस पाइएका छन् । सेण्ड मार्टिनलाई बैंक स्वालो पनि भनिन्छ । यो चरो लामो दूरि यात्रा गर्न सक्षम छ ।  
  
०००
५५ किमि प्रति घण्टाको गतिमा उडान भर्न सक्ने गौंथलीका विभिन्न प्रजातिमा संसारभर पाइएको संख्याबारे चराविदका मत फरक फरक छन् । अधिकांशले यसका प्रजाति ९० वटा हाराहारी भएको जनाएका छन् । साधारणतः कालो, खैरो, हरियो, नीलो र सेता रंगको मिश्रण भएका हुने यी चराका फिरन्ते प्रजाति दक्षिण एशियाली मुलुकमा सेप्टेम्बरबाट आउ“छन्, मेमा र्फकन्छन् । समुहमा उड्छन् । प्याला जस्ता गुँड बनाउँछन् । पुच्छर बाहिरिने भएकाले गुँड बाहिर बिष्ट्याउँछन् । 
बेलायतबाट दक्षिण अफ्रिकासम्म ६ हजार माइलको यात्रा गर्ने यो चरोलाई मौसमको राम्रो जानकारी रहन्छ । गौंथली आकाशमा तल तल उडेका छन् भने पानी पर्ने अवस्था र निकै माथि उडे मौसम सफा रहन्छ भन्ने बुझे हुन्छ । आँखा खैरो, ठोंड र खुट्टा कालो, चुचो मोटो र सानो हुने गौंथलीहरू उड्दा उड्दै किरा-फ्टयांग्रा सिकार गर्छन् । 
शरद ऋतुको समाप्तिसँगै बेलायतमा फाट्टफुट्टमात्रै रहने गौंथली आफू आएका क्षेत्रमा फिर्छन् । जुलाइको अन्तिमबाट बेलायत छाड्न सुरु गर्छन् । अगस्ट मध्यसम्म गौंथलीका बथान इथोपिया पुग्छन् । अक्टुवर दोस्रो सातासम्म रोडेशिया र दक्षिण अफ्रिका पुग्छन् । 
गुँड एकैपटक छाड्दैनन् । उत्तरी यूरोपबाट दक्षिण अफ्रिकाको ११ हजार किमिको दूरी यो सानो चरोका लागि साहसिक यात्रा हो । तर, जसरी जान्छन्, त्यसरी नै फिर्छन् । अप्रिलमा दक्षिण अफ्रिका छाडेर बेलायत आइपुग्छन् । 
पूर्व क्षेत्रका गौथली हिउँदका श्रीलंकाको दक्षिणी भाग, लक्ष्यद्धीप र भारतको अण्डमान द्धीपमा आइपुग्छन् । सेप्टेम्वर र अक्टुवरमा कर्नाटक र निलगिलर पर्वतसम्म पुग्छन् । सेप्टेम्बरको तेस्रो, चौथो साता उत्तर र दक्षिण कोरिया, ताइवान, मलय, थाइल्याण्ड आदि देशमा पुग्छन् । अप्रिलमा पुनः अण्डमान आइपुग्छन् । सधैं बस्ने र प्रजननका लागि आउनेगरि नेपालमा पाइएका गौंथली दुइथरिका छन् ।  
यो मात्रै यस्तो चरो हो, जसले प्रवास यात्रा निश्चित दिन र तारिखमा गर्छन् । समयप्रति अनुशासित हुन्छन् । दिनको उज्यालोमा मात्रै उड्छन् । ठण्डी मुलुकमा गर्मीयाममा मात्रै पाइने यो चराका प्रजाति नेपालमा भने तराइदेखि पहाडसम्मै पाइन्छन् ।
अधिकांश गौंथली माथि फलामे रंगको झलक, नीला, तल हलुका पँहेला हुन्छन् । पुच्छर विरालाले चिथोरेको जस्तो देखिन्छ । कुनै कुनै प्रजाति असाधारण रूपमा लामो पुच्छर भएका हुन्छन् । लामपुछ्रेलाई वायर टेल्ड स्वालो भनिन्छ । यो प्रजाति घरगौथलीका तुलनामा जिउ सानो भएपनि सुन्दर देखिन्छ । त्यसलाई छेउछाउ सिमसार वा पानी भएको क्षेत्र मन परेपनि गुँड मान्छेकै घरमा बनाउछ । अप्रिलबाट अगस्टसम्म यसको प्रजनन् समय हो ।
गौथलीका सबै प्रजाति घरमै बस्ने होइनन् । एउटा प्रजातिले नरिवल र ताडीजस्ता रूखमा गुँड लगाउँछ । स्वतन्त्रता मन पराउने चरो मान्छेका समीप बस्छ तर, नियन्त्रण रुचाउँदैन । गुँड आफैं बनाउँछ, आहारा खोज्ने र चल्ला हुर्काउने आफैं गर्छ । अरुको हस्तक्षेप सहदैन । प्रतिकार गर्दैन तर, हस्तक्षेप भए गुँड छाडेर जान्छ । यिनीहरू भाले पोथी संसर्ग जंगलमा गर्छन् । यिनीहरू खेतबारीका कीरा खान्छन्, किसानलाई सघाउँछन् ।
प्रवास यात्राका दौरान उडानको गति प्रतिदिन तीन सय किमि हुन्छ । आकार साधारणतया १९ सेमीसम्म र यिनको वजन बढिमा २५ ग्रामसम्म हुन्छ । हावामा उडानकै बेला किरा, फट्यांग्रा र पुतली खान्छन् । भालेको पुच्छर पोथीभन्दा केही लामो हुन्छ । झट्ट हेरेर कुन भाले र पोथी भनेर छुट्याउन सजिलो छैन ।
लामो र सोझो पुच्छर भएका भालेमा पोथी आकर्षित हुन्छन् । पोथीले एकपटकमा ३ देखि ५ वटा फुल पार्छे, यो अवधि करीब १५ दिनको हुन्छ । फुल सेता र खैरा रंगका हुन्छन् । भाले पोथी दुवैले फुल र चल्लाको हेरचाह गर्छन् । चल्ला हुर्केर उड्न थालेको दुइ सातापछि गुँड छाड्छन् । भाले पोथी मिलेर गुँड हिलो माटो र घाँस ल्याएर बनाउँछन् । भीत्तामा टाँसिएको कचौरा आकारको गुँड बलियो हुन्छ । हावाहुण्डरी नलाग्ने मान्छेको कदभन्दा केही अग्ला ठाउँमा बनाएका हुन्छन् । 
बनाउन थालेका गुँड कुनै कारणले खसेर क्षति भए यिनीहरू निरास हुँदैनन् । फेरि बनाउन जुटिहाल्छन् । हावाहुरी आइहालेपनि अरु चराको जस्तो गुँड नखस्ने हुन्छ । गौथलीका जोडी एकपटक बनाएका गुँड पटक-पटक प्रयोग गर्छन् । प्रजननको याममा घुमेर फिरेपछि आवश्यकताअनुसार गुँड मर्मत पनि गर्छन् । विरालो, लाटोकोसेरो र मुसाबाट यो चरालाई जोखिम रहन्छ । यिनीहरूको उमेर औसत ३ वर्ष हुन्छ ।

०००
घर, भवन र मठमन्दिर लगायत पुराना मौलिक शैलीमै रहनुपर्छ भन्ने अभियान चलाइरहेका भक्तपुरका रवीन्द्र पुरीले जर्मनीबाट पढेर फर्किएपछि भक्तपुरमा एउटा पुरानो घर जिम्मा लिए । पुनर्निमाणपछि नाम दिए- नमुना घर ।
भक्तपुरमा पुगेर पुरातल शैलीका घर हेर्नुपर्दा आगन्तुक नमुना घर पुग्न छुटाउँदैनन् । पुरानो ढाचालाई शैली नबिग्रिनेगरि उक्त घर उभ्याइएको हो । यसका लागि काठमाडौं उपत्यकाका पुराना कालिगढ नै खटिएका थिए । 'पुनर्निर्माण गर्दा थाहा भएको एउटा कुरा मेरा लागि नौलो भयो,' पुरी भन्छन्, 'उपत्यकाका पुराना कालीगढले एउटा खापो राखेर चरालाई बस्न मिल्ने ठाउँ राखिदिने रहेछन् । तिनमा भँगेरा बस्दा रहेछन् ।' घर, भवन बनाउ“दा चराका लागि पनि बास निश्चित गरिदिए बनाइदिए परलोकमा आफूले सजिलो बास पाउने विश्वास रहेको उनले बताए । 'मान्छेले घर बनाउँदा आफ्नो सजिलो बासका लागि मात्रै सोच्छ,' उनी भन्छन्, 'त्यसरी चराले पनि बस्न पाउनुपर्छ भनेर बनाउँदै सोचिनु अनौठो पनि लाग्यो ।' आधुनिक शैलीका घर बनाउनेहरू कसैले पनि चरा बसोस् भन्ने चाहना राख्ने पाउनु दुर्लभ भएको उनले बताए । 
थुप्रै मठ मन्दिर रहेको काठमाडौं उपत्यकामा परेवा र लाटोकोसेरोले वास पाउन गाह्रो छैन । तर, साना चराका लागि भने बास र आहारा दुवै दुर्लभ हुँदै आएका छन् ।  

००० 
भैंसेपाटीबाट लाजिम्पाटस्थित अफिस आइपुग्ने बाटोमा अधिकांश दिन उनको ध्यान  कुपोण्डोलले खिच्छ । जहाँको एउटा पुरानो घरमा उनी अध्ययन क्रममा बेला बेला पुगेकी थिइन । नेपाल पंछी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापाले सन् २००१ मा एमएस्सी सिध्याउने बेला थेसिसको विषय थियो - गौंथली घर । 
गौथलीको बग्रेल्ती बास एउटै घरमा देखेर छक्क परेका ताइवानी पर्यटकको एउटा समुहले त्यहाँ आएर लेखिदिएका थिए - स्वालो हाउस । १८ वर्ष बित्यो । अब त्यहाँ न त्यो पुरानो घर छ, न त त्यस्तो ठूलो गौथलीका बथानको बास । 'त्यहाँ किराना पसल थियो, बेलुकी त्यो पसलको चालामाला अरुभन्दा अलि अनौठो थियो,' उनी भन्छिन्, 'उनीहरू पसल बन्द गर्नुअघि सामान ठूलो प्लाष्टिकले छोपछाप पार्थे, गौंथलीको विष्टाले फोहोर नहोस् भनेर ।' करीब ४०/४२ जोडी गौंथली तछाडमछाड गर्दै बसेको सधैं देख्न पाइने त्यो घर अन्त देखेभन्दा अनौठो लागेको उनले बताइन । 'मलाई हेर्दाहेर्दै चाख लागेर थेसिसका लागि त्यही विषय छनोट गरेकी थिएँ,' उनले सुनाइन, 'अहिले पुरानो घर भत्काएर त्यहाँ नयाँ पक्की घर छ । गौंथलीका हुलले शायद अर्को ठाउँमा बास सारे ।' 
संघले वर्सेनी सहरी चरा गणना गर्न थालेको छ । उल्लेख्य संख्या र बासका आधारमा सहरमा गौंथली १० औ नम्बरमा पर्छ । सन् २०१७ मा काठमाडौंका २१ स्थानमा पुगेका गणकले ३४० र जाडोमा १७ ठाउँमा २९८ जोडीले गुँड लगाएका गौंथली भेटे । चालु वर्ष २०१९ मा २२ ठाउँमा ३४३ जोडीले गुँड लगाएको पाइएका छन् ।  
मान्छेले पुरानो घर किन्दा बस्नयोग्य बनाउन सकिन्छ भने मर्मत गर्छ । खाली जमिन किने त्यसमा थातबास उभ्याउँछ र, त्यसमा परिवार सार्छ । 'गौंथली पनि अत्यावश्यक नभए, नयाँ ठाउँ नरोजेसम्म नयाँ गुँड बनाउँदैनन्, पुरानैमा बस्छन् । खाँचोअनुसार मर्मत गर्छन्,' उनी भन्छिन्, 'यो बानी अरु चरामा देख्न गाह्रो छ ।' मान्छेसँग नजिक भएकैले गौंथलीका गतिविधि र बिम्ब साहित्यमा बारम्बार प्रयोग भएका छन् । आजभन्दा ८४ वर्षघि कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छन् -
म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।

(२५ असोज २०७६ को कान्तिपुर कोसेलीमा प्रकाशित)

No comments: