Thursday, July 24, 2014

फट्याङ्ग्राले उखु खान थाले

मनसुन ढिलाइले फस्टाएको फट्याङ्ग्रो (Grasshopper) का कारण सुनसरी-मोरङका उखु किसान हैरान छन् । फस्टाएका विरुवाका छानी छानी पात खाइदिन थालेपछि यस्तो भएको हो । विराटनगर-१६ र सुनसरीको अमडुवामा गरि करिब १७ विघामा उखु खेती गरेका तीर्थेन्द्र न्यौपानेले भने 'आफ्नो खेतमा कीटनाशक चलाएर मात्रै फट्याङ्ग्राबाट मुक्ति नमिल्ने रहेछ । अर्काको खेतबाट सलह जसरी आइहाल्दा रहेछन् ।'
सुनसरी-मोरङका करीव ४ सय बिघा उखुमा फट्याङ्ग्रा लागेको इर्स्र्टन सुगर मिलका उखु प्रबन्धक सुरेशप्रसाद मेहताले बताए । 'धेरैजसो खुटियामा लागेको छ', उनले भने, 'हामीले सिफारिस गरेको कीटनाशक किसानले चलाउन सुरु गरेपनि जनमजदुर नपाएर नियन्त्रणमा गाह्रो परेको अवस्था छ ।' उनका अनुसार फट्याङ्ग्राले राम्रा उखु छानेर पात खान्छ । पात खाएपछि उखुका विरुवाको बृद्धिदर रोकिने भएकाले सुक्ने र चाउरिने हुन्छ ।
सुनसरीको अमडुवा, अमाही बेल्हाको ५ नम्बर वडा र विराटनगर १६ का उखु खेतमा यो समस्या बढेको छ । बुधबार मिलको आग्रहमा कृषि विकासका अधिकृतहरूले कीरा प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । 'यो मनसुनका कारण हो । बलौटे सुख्खा माटोमा फुल पार्न सजिलो भएकाले फट्याङ्ग्रा बढ्न सकेका हुन्' मोरङका कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले भने, 'बेलैमा पानी परेको भए त्यसका फुल नष्ट हुन्थे । यसरी बढ्न पाउँदैनथ्यो ।' प्रभावित क्षेत्रमा सबैतिर एकसाथ कीटनाशक चलाइहाल्नुको विकल्प नभएको उनले बताए । 


'रुप्पी र अरू चराले फट्याङ्ग्रा खाने रहेछन्' उनले भने, 'तर, व्याधाले जाल हानेर उखु खेतमा आउने चरा मारेको मारेकै गरेपछि फट्याङ्ग्राको प्रकोप बढेको गाउँलेले मलाई बताए ।' केही क्षेत्रमा डांग्रे रुप्पीको बथानले फट्याङ्ग्रा खाइरहेको भिडियो खिचेर फिरेका उनले भने 'कीटनाशक चलाउँदा पनि त्यसको असर चरालाई हुन्छ । पे भएपनि अहिले उखु जोगाउनु जरुरी देखियो ।'
फस्टाएका बेला सामान्यतया एक विघामा करीव ४ सय क्वीन्टल उखु उत्पादन हुन्छ । तर, कीराको प्रकोप नियन्त्रण हुन नसके ५० प्रतिशतसम्म उत्पादन घट्ने प्रबन्धक मेहताले बताए । 'बालीमा रोगकीरा लाग्नु सामान्य हो तर, गोडमेल गर्न, कीटनाशक छिट्न मजदुर नै नपाएर किसानले फट्याङ्ग्रा नियन्त्रण गर्न नसकेका हुन्', उनले भने, 'जति मनसुन ढिला हुन्छ त्यति बढ्ने फट्याङ्ग्राको रोकथाम अब पनि ढिला भयो भने ऋण लिएर उखु लगाएका किसानका घरमा रुवाबासी हुन्छ ।'
उखु एकपटक रोपे सामान्यतः तीन वर्षम्म उत्पादन लिन सकिन्छ । पहिलो रोपाइ काटेपछि दोस्रो र तेस्रो वर्षपुरानो ठूटोबाटै उम्रनेलाई खुटिया भनिन्छ । मिलले सिफारिस गरेको 'कोसे ९५४२२' जातको उखुको खुटियामा कीराको प्रकोप देखिएको हो । 
सुनसरी-मोरङको यसपटक १० हजार बिघामा उखु खेती छ । मंसिरबाट कटाइ सुरु गरि फागुनसम्म सिध्याउनु पर्नेमा यसपटक मिल गत जेठसम्म सञ्चालनमा थियो । ढिलो कटाइ पूर्जी पाएका कारण धेरै किसानले गोडमेल र किटनाशक र्छर्ने समयमा पनि आफ्नो बचेको उखु काट्नैमा समय बितेको न्यौपानेले बताए । उनले भने 'धेरैलाई यसपाला पूर्जीको ढिलाइले उखुको हेरचाहमा ध्यान दिन समय अपुग भयो ।' अमडुवाका ठूलो क्षेत्रमा उखु लगाएका मानिकलाल चौधरी र शिवलाल चौधरी पनि हैरान छन् । उनीहरूका अनुसार चार वर्षअघिसम्म केशलिया पारिका केही क्षेत्रमा फाटफुटमात्रै यस्ता फट्याङ्ग्रा लागेको देखिन्थे । यसपटक फट्याङ्ग्रा खोला पार गरि ठूलो क्षेत्रमा वंश बृद्धि गर्दै फैलिएका छन् । फुलबाट निस्केको एक महिनासम्म पात खाइदिने गरेपछि उखुको बृद्धिदरमा असर परेको छ । 

(८ साउनको कान्तिपुरमा प्रकाशित)

तस्बिर सौजन्य : राजेन्द्र उप्रेती  

No comments: