एशियन थाइ फुड्सका कामदार रामप्रसाद तिम्सिना तीन महिनादेखि ड्युटीमा फर्कन सकेका छैनन् । काम गर्दै रहँदा भएको दुर्घटनापछि उनी घरैमा आराम गरिरहेका हुन् । उनलाई टाउकोमा लागेको चोट निको हुने क्रममा छ ।
सुनसरीस्थित कारखानाका प्रशासन प्रमुख प्रकाश श्रेष्ठले भने 'चार सय करीब मजदुरमा दुर्घटना भन्ने कुरा यदाकदा हुने हो । अहिलेसम्म दुइजनालाई यस्तो भयो ।' रामप्रसाद अघि २०६९ बैशाखमा नरबहादुर गुरूङको दाँया हात च्यापिएको थियो । अंगभंग भएपछि उनी अहिले काम गर्ने अवस्थामा छैनन् । 'क्षतिपूर्तिसहित हिसाब देउ भनेको थिएँ । श्रम कार्यालयमार्फत आउ भन्यो', उनले भने, 'अहिले श्रमको निर्णय कारखानाले मान्छौ भनेको छ ।' निको भएपछि उनलाई काम दिइएन । क्षतिपूर्तिसहित हिसाबका लागि उनले पहल गरे । धेरै कुदेपछि उनलाई कारखानाले श्रम कार्यालयमार्फत प्रक्रिया अघि बढाउने बाटो देखायो । उनी भन्छन् 'शायद श्रममार्फत छिनोफानो भए लेबरले पछि केही दाबी गर्न मिल्दैन भनेर होला ।'
२०६२ मंसिरमा सुनसरीकै अर्को कारखाना पशुपति कन्टेनरमा मेशिनमा कामदार गणेश कोइरालाको देब्रे हात पर्यो । बुढी औंलाबाहेकका चारै औंला हातबाट छुट्टीए । काखानाले तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर उपचार चलायो । लामो उपचारपछि पुनः काममा फर्किएका उनी गत फागुनमा निकै विरामी परे । त्यसपछि कारखानालाई गुरूङकै जसरी आफ्नो हरहिसाब माग गरे । दुइ दर्जन कामदार रहेको उक्त कारखानाले पनि उनलाई श्रम कार्यालयकै बाटो देखायो । 'श्रमले कारखानालाई सोधेपछि ऐनअनुसार हिसाब दिन्छौ भन्ने जवाफ आएछ', विराटनगरस्थित श्रम कार्यालय आएका उनले भने, 'अब हिसाब पाइन्छ होला ।'
उद्योग संगठन मोरङका अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोरमा चालु अवस्थामा ५ सय ३० कारखाना छन् । संगठनका कार्यकारी सचिव सोमनाथ अधिकारीले भने 'एक हजारजनाभन्दा बढि मजदुर भएका कारखाना औंलामा गन्न सकिन्छ । एकदर्जनभन्दा बढि छैनन् ।' कारखानामा मजदुरको स्वास्थ्य सुविधा र दुर्घटनाका सवालमा सञ्चालकहरू सचेत रहेको दाबी गरे । 'सबैले केही भए झट्ट औषधि चलाउन प्राथमिक उपचारको व्यवस्था गरेका छन् । एम्बुलेन्समा राखेर पठाउन पनि अस्पताल टाढा छैन', उनले भने, 'बरु धेरै कारखानामा मजदुर आफै सफाइ र सावधानी चनाखो नभएको भेटिन्छ ।'
उद्योग वाणिज्य महासंघको पहलमा कारखानाभित्र सुरक्षा प्रबन्धको अनुगमन बेलाबखत हुने गरेको बताएका उनले भने 'मास्क कता झुण्ड्याएर धुलोले पुरिएको भेटिन्छ । सोध्यो भने सासै थुनेजस्तो हुन्छ अनि नलगाएको भनेर मजदुरले जवाफ दिन्छन्', उनले भने, 'शौचालयको प्रबन्ध राम्रो भएका ठाउँमा जथाभावी फोहर गर्ने, जाम बनाइदिने र तोडफोड गरेको देखेर उद्योग व्यवस्थापन हैरान भएको भेटिएको छ ।' तर, मजदुरको भनाइमा कारखाना व्यवस्थापनले नै नियमित सफाइको ध्यान दिने गरेका छैनन् ।
श्रम ऐनले दुर्घटनाका सम्बन्धमा क्षतिपूर्तिका लागि राखेका प्रावधान कारखानाले उलङ्घन नगर्ने दावी गोल्छा समूहद्वारा सञ्चालित रघुपति जुट मिलका प्रशासन प्रमुख डा. मोहनचन्द्र घिमिरेको छ । 'पहिले कारखानाभित्रै सहमति गर्ने । भएन भने श्रम कार्यालयको पहलमा ऐनबमोजिमको सुविधा र क्षतिपूर्ति दिने काम सबैले गरेका छन् । एकाध केस अपवाद हुन सक्ला', उनले भने, 'जसकोमा तीन सयभन्दा बढि मजदुर छन्, तिनले सुरक्षित काम लिन उपाय अपनाएकै हुन्छन् ।'
श्रम कार्यालयका कारखाना निरीक्षक मणिनाथ गोपका अनुसार व्यवस्थापनले भनेको मानिदिएन भनेर निवेदन निकै कम मात्र आउँछ । 'हामीलाई महिनाको मुश्किलले एउटा वा दुइटामात्रै त्यस्ता निवेदन प्राप्त हुन्छन्', उनले भने 'मजदुरले पाउनुपर्ने सुविधा र क्षतिपूर्तिको पहलका लागि ट्रेड युनियनको सक्रियता अलि बढि नै हुन्छ । यसकारण सञ्चालकले ऐनले तोकेको दिन्न भन्न पाउँदैनन् ।'
श्रम ऐनको दफा २७ मा कार्यस्थलमा नियमित सरसरफाइ र सुरक्षाको प्रबन्ध हुनुपर्ने र दुर्घटनाबाट जोगाउन अवलम्बन गरिनुपर्ने उपायका बारेमा प्रावधानहरू छन् । यसले कारखाना व्यवस्थापनको जिम्मेवारी सुरक्षित काम गराएर उत्पादन दिनुपर्ने भन्ने उल्लेख गरेको छ । यसैगरि श्रम ऐनको दफा ३८ र नियमावली १५, १६ र १७ ले चोट लागे उपचार र अंगभंग वा मृत्यु भए क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरेको छ । कारखाना सञ्चालकका लागि पालन गर्नुपर्ने प्रावधानलाई उद्योग वाणिज्य महासंघले रोजगारदाता पुस्तिका नै बनाएर वितरण पनि गरेको छ ।
७० वर्षघि विराटनगरमा कारखानाहरू खुल्ने क्रम सुरुहुँदा मजदुर आवास क्षेत्र बनाइएका थिए । त्यसबेला औलोको प्रकोप थियो । कारखानामा खानबस्न सुविधा पाएका कामदारका लागि विराटनगर जुट मिल, रघुपति, मोरङ सुगर मिल्सलगायतले भित्रै चिकित्सिकसहितको औषधोपचार सेवा दिने गरेका थिए । चार दशकअघिसम्म पनि मजदुरका परिवारले समेत पाउने औषधोपचारको सुविधा अहिले कारखानाहरूमा छैन । 'अहिले कामदारले मात्रै स्वास्थ्योपचारको सुविधा पाउँछन् । त्यो पनि ड्युटीका बेला उसलाई केही भएको हो भनेमात्रै', उद्योग वाणिज्य महासंघको श्रम ऐन परिमार्जन मस्यौदा समितिका सदस्यसमेत रहेका डा. घिमिरेले भने, 'समयअनुसार सबैथोक फेरिएको छ । सुविधाका सवालमा उद्योगीको मनमानी छैन । ट्रेड युनियनहरूले नै जे चाहिने हो त्यो प्रावधान परिमार्जन गरेका छन् ।'
विस १९९३ मा खुलेको मुलुकको जेठो कारखाना विराटनगर जुट मिल लामो समय बन्द भयो । मजदुरले हिसाब पाए । बहालवाला खोजेर सरकारले गत वर्षेखि पुनः सञ्चालनमा ल्याउन चासो दिएको परिणाम हाल पुनः चल्न थालेको छ । तर, यहाँ अब पहिलेको जस्तो संख्यामा कामदार छैनन् । पुरानो समय जसरी भित्रै सानो अस्पताल राखेर उपचारको सुविधा पनि छैन । चोटपटक लागे भित्रै सामान्य उपचारपछि मजदुरलाई अस्पताल लैजाने गरिएको छ ।
एमाओवादी सम्बद्ध मजदुर नेता तेजलाल कर्ण भन्छन् 'जसरी सबैलाई रोग लाग्छ । दुर्घटना हुन्छ । मजदुर त्योभन्दा फरक छैनन् ।' कारखाना सञ्चालक र मजदुरबीच स्वास्थ्योपचार र क्षतिपूर्तिका सवालमा हुने विवाद कमैमात्र ट्रेड युनियनले समाधन गर्नुपर्ने अवस्था छ । उनले भने 'दुबैबीच ऐनअनुसार लिने-दिने कुरा मिलेपछि विवाद गरिरहनु पर्दैन ।'
मजदुरको स्वास्थ्य सुरक्षाका सवालमा धेरै लापरवाही रहेको दावी ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष गोपाल शर्माको छ । 'धेरै कारखानामा सुरक्षाका कुरामा लापरवाही छ । मजदुर आफै सावधान भएर काम गरेनन् भने अंगभंग नै हुने दुर्घटना हुन्छ', उनले भने, 'त्यस्ता कारखानामा मजदुरले युनियन गठन गर्नै सकेका छैनन् ।' इलेक्ट्रिक वायर, फलामे छड, जुट र साबुनका कारखाना बढि जोखिमपूर्ण रहेको उनले बताए । 'ट्रेड युनियनले कारखाना मालिकलाई एउटामात्रै सुविधाका लागि दबाब दिइरहन सक्दैन । कतिपयमा घटना भित्रभित्रै दबाइन्छ', उनले भने, 'सुरक्षाका सवालमा कारखानाको भित्रको हालत खतरा छ ।' सुनसरी-मोरङ औद्योगिक करिडोरमा करीव ५० हजार मजदुर कार्यरत छन् । युनियन गठन हुन नदिन सञ्चालकहरूले सुविधाका कुरा गर्ने मजदुरलाई कामबाटै हटाउने गरेको आरोप उनले लगाए ।
उनले भने 'ट्रेड युनियनहरू सबैलाई कारखानाभित्रको मजदुरको जोखिम थाहा छ । तर, एकजुट नहुनुको फाइदा उद्योगीले लिएका छन् । जागिर जाने डरले मजदुर पनि नबोली जोखिममा काम गर्छन् ।'
धूलो, ताप, गन्ध, चर्को ध्वनी र असजिलो वातावरणमा काम गरिरहने मजदुरका लागि शरीरमा पर्ने दीर्घकालीन असरका विषयमा भने न ऐनले बोल्छ न व्यवहारले । ऐनले कारखानाको वातावरणका कारण मजदुर रोगी भए क्षतिपूर्ति दिइनुपर्ने भने पनि यसको पुष्टि गर्ने आधार प्रष्ट छैनन् । डा. घिमिरे भन्छन् 'केमा काम गरिरहँदा कति समयपछि के रोग हुन्छ भन्ने प्रष्ट छैन । त्यसैले हामी त्यसबारे भन्न सक्दैनौ ।' रघुपति जुटमा ३ हजार ३ सय कामदार छन् । जुटको धूलो उडिरहन्छ । तर, कसैले आफूलाई त्यही धूलोका कारण कुनै रोग लागेको दावी गर्दै निवेदन दिएको रेकर्ड छैन । व्यवसायजन्य सुरक्षाका सवालमा प्रशिक्षण पनि दिने गरेका संगठनका कार्यकारी सचिव अधिकारीले भने 'ऐनले अंगभंग भए के के कसरी कति दिने भन्ने प्रष्ट बोल्छ । तर, यहाँ कस्तो वातावरणमा कति समय काम गर्दा के रोग हुन्छ अनि त्यसको समाधान कसरी दिने भन्ने प्रष्ट छैन ।'त्यसो त श्रम ऐनको दफा २७ ले स्वास्थ्यलाई खतरा पार्न सक्ने कारखानाले आफ्ना कामदारका लागि वर्षो एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने प्रावधान राखेको छ । तर, निकै कम मात्र कारखानाले यो प्रावधान मानेर मजदुरका लागि परीक्षण शिविर गराउने गरेका छन् । रानीस्थित रघुपति जुट मिलले गत विहीवार र शुक्रवार कामदारका लागि आँखा परीक्षण शिविरको आयोजना गर्यो । 'ठूला कारखानालाई मजदुरको अधिकारका विषयलाई लिएर झमेलामा पर्न मन र समय हु“दैन, त्यसैले ऐनले जे बोल्छ त्यो गरेकै हुन्छन्' उद्योग संगठनका सचिव अधिकारीले भने, 'विवाद धेरैजसो आपसी समझदारीमा टुंगो लगाइने भएकाले ठूलो घटना नभएसम्म हामीले साक्षी बस्नु पदैन । त्यसैले बाहिर आउँदैन ।'
(२०७१ असार २८ को कान्तिपुरमा प्रकाशित)
No comments:
Post a Comment