धेरैपटक सजिला विषयहरु मञ्चन हुन्छन् । ती हेर्दा पनि रमाइला लाग्छन् । गत मंगलवार विराटनगरमा यस्तै एउटा नाटक हेर्न मिल्यो । जनकपुरको मिथिला नाटय परिषद् (मिनाप) को प्रस्तुति 'बुधियार छौडा आ राक्षस' अर्थात बुद्धिमान केटो र राक्षस । लोककथाको सामान्य लाग्ने विषय ।
मञ्चको सज्जा पनि सरल। भूमि प्रशासन चोकछेउको खुला मैदानमा भएको नाटक बालबालिकाका लागि थियो। त्यसैले दर्शकमा उनीहरुकै बाहुल्य थियो। डेनिस परियोजना डानिडाको सहयोगमा दुइटा टोलीले नाटक प्रदर्शनको काम पाएका रहेछन्। मिनापले जनकपुर, नारयणी, कोसी र मेचीका विभिन्न जिल्लाका १५ स्थानमा देखाउन यो नाटक र मण्डला थिएटरले पश्चिम नेपालका जिल्लामा देखाउन 'घुम्रिएको कपाल'। त्यसैले मिनाप इटहरीपछि विराटनगर आइपुगेको रहेछ।
नाटक हेरेपछि मिनापका सूनील मल्लिकसँग केहीबेर कुरा गरियो । धेरैपटक कुनै खास प्रकारको दवाव रहने प्रदर्शनमा यसपटक लोकथा , अनि बालबालिकाका लागि गर्दा त्यस्तो केही छैन । रमाइ-रमाइ गरिरहेका छौ भन्ने उनको भनाइ रमाइलो लाग्यो । हामीकहा अवस्था यस्तो आएको छ, कोही दाता निस्केन भने केही पनि नहुने । नाटक पनि दाताले सघाएमात्रै देखाउने चलन आएछ । यो सोच्दा मन अमीलो हुन्छ । तैपनि विराटनगर गुरुकुल सुस्ताएका बेला मिनापको नाटक हेर्न पाउनु रमाइलै मान्नु पर्यो ।
खुला ठाउमा नाटक देखाउ“दा मञ्च मिलाइरहेका कलाकार परैबाट चिन्न सकिन्छ । उनीहरु पालो मिलाएर आफ्नो भागको काम गर्छन् र साथीका लागि मञ्च व्यवस्थापन सघाउँछन् । मैथिली भाषा बुझन असजिलो छैन । हेरियो, अनि केही लेखियो, जसले यो टोलीलाई नाटक प्रदर्शनमा हौसला मिलोस् । हेरियो, लेखियो । जो यस्तो थियो-
चौरमा कौडाको खेल
विराटनगर - धेरैपटक कुनै खास विषय देखाउने तनावले काम गराउँछ । भाषा, अधिकार र सचेतनाका मुद्दा बोकेर हिँड्ने मिथिला नाटय परिषद् (मिनाप) मंगलबार केही फरक देखियो । फरक यस अर्थमा कि कलाकर्मी विराटनगरको खुला चौरमा थिए । दर्शकदीर्घामा स्कुले बालबालिका । भुइँमा एउटा ल्यापटप, साउन्ड मिक्सचर र डिभिडी प्लेयर ।
मञ्च भनेर छुट्याइएको ठाउँमा मिथिला संस्कृति झल्काउने चित्र अंकित एक मान्छे अग्ला छ-सात वटा साना पर्दा छन् । केहीमा रूखको नक्सा पनि कोरिएका छन् । ग्रामीण क्षेत्रको एउटा घरबाट दृश्य सुरु हुन्छ । घरको एक्लो लाठे छोरो कम्मरको रातो थैली फुकाउँछ । आँगनमा कौडा फाल्छ, अनि गन्ती गर्छ- 'एक, दुई, तीन, चार ।'
आमा आउँछिन् र कान निमोठछन् । गाई बाँध्न, दुहुन र परालको कुटी काटेर हाल्न लगाउँछिन् । आमा यताउता लागेको देख्यो कि ऊ घरि कौडा खेल्छ घरि दलिनमा झुन्ड्याइएको धनुबाण खेलाउँछ । नेपथ्यबाट चर्को आवाज सुनिन्छ, मानौं कुनै ठूलो संकटको संकेत हो । एउटा बलिष्ठ राक्षस आउँछ । केटो भाग्छ । राक्षस गाईलाई जुरुक्क बोक्छ र स्वादिलो हुने संकेत गर्दै काँधमा बोकेर लैजान्छ । केही बेरपछि मञ्चमा देखिएकी आमालाई अक्क न बक्क भएको छोरो राक्षसले गाई लगेको बताउँछ । आमा बिलौना गर्छिन् ।
अब छोरो गाईको खोजीमा निस्कन्छ । उसले जंगलमा राक्षसकी एउटी सुन्दरी भान्जी भेट्छ । राक्षसले उसलाई बन्धक बनाउँछ । कौडा खेल्ने राक्षसलाई ऊ आफूसँग खेल्न चुनौती दिन्छ । कौडा उसले इनारमा मिल्काउँछ र भन्छ 'मैले जितें ।' राक्षस इनारमा खसेको कौडा हेर्न थाल्दा केटाले उसैलाई त्यसमा लडाइदिन्छ । मिनापको 'बुधियार छौडा आ राक्षस' कथा मञ्चन देखेर बालबालिका ताली पिट्छन् ।
४५ मिनेटको नाटकलाई नारायणी, कोसी र मेचीका १५ स्थानमा मञ्चनको अभियान लिएर निस्केको टोलीका लागि विराटनगर १३ औंमा परेको उल्लेख गर्दै मिनाप अध्यक्ष सुनील मल्लिकले भने, 'यसपटक हाम्रो अभियान लोककथालाई बालबालिकाका लागि देखाउने मात्रै हो । अहिले हामी कुनै विशेष प्रयोजनका अभियानले हुने दबाबमा छैनौं ।' नाटक रमेशरञ्जन झाले लेखेका हुन् । यसमा प्रमेश झा, रवीन्द्र झा, पि्रयंका झा र रीना रिमालले अभिनय गरेका छन् ।
आफैं संगीत संयोजन गरेका सुनीलले भने, 'हामीले सडक नाटक र मञ्चमा गरिने नाटकमा धेरै अन्तर हुँदोरहेछ । खुलामा गर्दा प्रकाशको खेल गर्न नपाइने, सबै खुला खुला हुने ।' राजधानीको रसियन कल्चर सेन्टरबाट थालेर महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सुनसरी र मोरङसम्म आइपुग्दा मैथिली भाषाको यो नाटकलाई राम्रो प्रतिक्रिया आएको उनले बताए । झापाको भद्रपुरमा मञ्चनपछि जनकपुर पुगेर यसपटकको अभियानले विश्राम लिनेछ । 'दन्त्यकथालाई कसरी नाटय रूपान्तर गर्न सकिन्छ भन्ने यो अभ्यास पनि हो,' सुनीलले भने ।
***
प्रकाशित मिति: २०६८ पुस १३

No comments:
Post a Comment