
मोटरसाइकलमा हिँडेका एक दर्जनको जमात जब बरगाछीबाट पूर्व लाग्छ, केही पसले झटपट सटरहरू बन्द गर्छन् । हातहातमा चम्किला तरबार छन् त निधारमा रुमाल बाँधेका छन् । भन्छन्, 'हेर न, फेरि कता झगडा गरेर आएछन् गुन्डाहरू । यता आए के गर्लान् डाँकाहरूले ।' उनीहरूका पछिपछि आएको बसको छतमा हेरेपछि मात्रै सत्यता खुल्छ ।
तरबार बोकेर हिँडेकाको जमातलाई बसको छतबाट क्यामेराले पछ्याइरहेको छ । केहीअघि लागेपछि मोटर साइकलको अगाडि एउटा मारुती भ्यान देखिन्छ । भ्यानको अगाडि सिटमा बायाँपट्टी 'बाबा' बसेका छन् । कुर्ता-पाइजामा र इस्टकोट लगाएका, लामोलामो कपाल भएका । हावाले अनुहारमा ल्याएको कपाल घरिघरि अनुहार छेल्छ । उनी पन्छाउँछन् । घिनाघाटस्थित जनता क्याम्पसको हातामा पुगेपछि दुई निर्देशकमध्येका इन्द्र परियार चिच्याउँछन्, 'कट कट, यो अगाडि भ्यान रोकेर हिँडेको सिन छ । यो सिन रिटेक गरौं ।'
सहरका गुन्डा नाइके बाबाका भाइलाई कसैले कुटेर पठाएको छ । त्यो कुट्नेलाई तह लगाउन बाबा आफ्ना भाइलाई लिएर कलेज आएका छन् । क्यामेराम्यान अबुद्ध खनाल संकेत गर्छन्, 'कलेज ग्राउन्डमा बाबाको डिस्टेन्स र क्लोज दुई सट लिनुपर्छ ।' यो फिचर फिल्म 'स्नेह' को छायांकनका क्रम हो । आधा दर्जन रिफ्लेक्टर ठड्याइन्छ । बाबाको अनुहार उज्यालो जो देखाउनुछ । गाडीबाट ओर्लिएपछि बाबा दलबलका अगाडि आउँछन् । कलेजलाई राम्ररी हेरेपछि चिच्याउँछन्, 'सुनसान । बाबा आएपछि कलेज सुनसान ।'
दृश्य फेरि क्लोज सटमा छायांकन गरिन्छ । 'बाबाको भाइलाई हात लगाउने को हो ? त्यसलाई ज्यानको माया छैन ? म तीन गन्छु, बाहिर निस्की,' चिच्याएका बाबाको अनुहारका भाव फेरिन्छन्, 'लेडिज ? बाबाको भाइलाई पिट्ने लेडिज ? आखिर
किन ?' बाबा बनेका राजकुमार साहले थाहा पाउँछन्— उनका भाइ कलेजमा लागूऔषध बेच्छन् । भेद खुल्छ । त्यसैले पिटाइ खाएका हुन् । उनलाई फोन आउँछ- 'जिविसमा टेन्डरको टाइम भएको छ ।' महिलालाई दुव्र्यवहार नगर्ने र दुव्र्यसनीलाई मन नपराउने अचम्मका यी गुन्डानाइके कलेजबाट त्यतिकै बाहिरिन्छन् ।

'सुटिङ थालेको बल्ल चारपाँच दिन भयो,' परियारले भने, 'युनिट र मौसम दुवैले साथ दिएको छ । अहिलेसम्म करिब १५ प्रतिशत सुटिङ भयो ।'
आफैंले लेखेको कथाबारे उनले भने, 'प्रेमकथा भए पनि अहिलेका सामाजिक विसंगतिलाई यो फिल्मको कथाले समेट्छ ।'
(कान्तिपुर दैनिक, कला र शैली पृष्ठ, प्रकाशित मिति: २०६८ मंसिर २० )
1 comment:
suru ma ta ke ke na hola bhaneko. suspence ma rakhnu bhayeko? film ko kura filmi style ma.............
Post a Comment