Saturday, December 17, 2011

उतरार्द्धको एउटा अभियानकर्मी


रातो झोला बोकेर लुखुर-लुखुर हिडदै गरेका भेटिन्छन् । अगाडि सानो टोक्रो भएको साइकलमा कहिलेकाही भेटिन्छन् । जगत सरका बारेमा बेलाबखत लेख्न थालेको सात वर्ष बितेछ । निकै अघि एउटा औपचारिक कार्यक्रममा निर्धारित समयमै पुगिएछ  या भनौ छिटो पुगिएछ । नेपाली चलन, तोकिएकै समयमा कार्यक्रम कहिले पो सुरु हुन्छ र । 
त्यहा केहीबेरको बसाइले मलाइ जसपाल भट्टीको 'फ्लप शो' धारावाहिकको एउटा एपिसोड सम्झाएको थियो । सुरु हुने भनिएको समयमा पुगेका प्रमुख अतिथि आयोजक र निम्त्याइएकामध्ये सबैभन्दा छिटो भएको । केही मान्छे आए । कुरा थालियो । 
रातो झोला बोकेका प्राविका त्यसबेलाका हेड सर जगतप्रसाद अर्यालसँग भेट भयो । उनले खातापत्र फुकाए । अनि आइपुगेका ३/४ जनालाई आग्रह गरे - '५ रुपैया दान दिनुस् । तपाइलाई बुढेसकालमा काम लाग्छ ।' उनको आग्रहले जिज्ञासा बढायो । थाहा भयो - बृद्धाश्रम बनाउनका लागि अभियान रहेछ । २०६२ सालको कुनै महिना थियो त्यो । विराटनगरको संसारीमाइस्थानमा भानुमोरङ प्रावि नामको एउटा स्कुल छ । उनी त्यसैका प्रधानाध्यापक रहेछन् । नगरभित्रको स्कुल, केटाकेटी बाहिर भुइमा पढन बसेको देखेर एक दिन त्यसको एउटा तस्बिर मैले पत्रिकामा पनि पठाएको थिए । 
जगत सरको अभियान राम्रो लाग्यो । उमेरछँदा यस्ता कुराको चिन्ता रहन्न । मरेपछि डुमै राजा । तर, असमायिक केही भइहालेन भने बृद्धावस्था सबैको आउँछ । उनको अभियान महत्वाकांक्षी लाग्दा लाग्दै पनि तरिका मन परेको थियो । मैले फिरेर त्यो दिन कार्यक्रमको समाचारको साटो उनकै बारेमा लेखे । पत्रिकाले पहिलो पानामामा एङ्कर समाचार बनाएको थियो । आज त्यो समाचारको कटिङ मसँग छैन । भएको भए ब्लगमा टाँसी राख्दा कहिलेकाही हेर्न मलाइ नै काम लाग्थ्यो । जे होस् त्यो कटिङ जगत सरसँग अझै सुरक्षित रहेछ । गत विहीवार बृद्धबृद्धाको टोली लिएर सर मेरो अफिसमा आउनु भएपछि मैले पत्रिकाको त्यो कटिङ देख्न पाए । समाचार छापिएका भोलीपल्ट सोही विषयमा सम्पादकीय पनि छापिएको रहेछ । त्यसपछि पनि बेलाबखत मैले बृद्धाश्रमलाई समाचारको विषय बनाएको छु ।  
जगत सरले २०६२ भदौमा स्कुलबाट अवकाश पाएका रहेछन् । त्यसपछि विराटेश्वर बृद्धाश्रम थाले । विराटनगरबाट जोगबनी जाने सडकछेउ ५ कठ्ठा जग्गामा भएको सानो घरमा अहिले बृद्धाश्रम सञ्चालनमा छ । विराटनगरका लागि यो नौलो छैन । कसैले दानपुण्य गर्न मन लागे वा दिवंगत अभिभावक सम्झनु परे बृद्धाश्रममा गएर खाना, फलफुल खुवाउने, दान दिने र लुगाफाटो वितरण गर्ने चलन नै बसेको छ । आश्रम बहालको जग्गामा सञ्चालनमा छ । यो नाफा कमाउने संस्था होइन । 
विहीवार जगत सर मेरो अफिसमा समाचार दिन आएका थिएनन् । उनले बताए- 'चार दिनदेखि घरदैलो अभियान छ ।' मासिक खर्च करीव डेढ लाख पुग्ने उनले बताए । विभिन्न परिस्थिति बृद्धबृद्धा अहिले आश्रममा ल्याइन्छन्, आइपुग्छन् । तर, न्युन मात्र आर्थिक सहयोग जुटेको छ । ५ रुपैया दानबाट र अन्य सहयोग गरि २५ लाख रुपैया जम्मा भएको रहेछ ।  अहिलेको अभियान आश्रमका लागि  आफ्नै जग्गा खरिद गरि भवन बनाउने रहेछ । उनले भने 'म अहिले तपाइजस्तासग सहयोग माग्न हिडेको ।' दुर्भाग्य, पर्समा ५ रुपैयाको नोट  मात्रै रहेछ । त्यही दिइयो । पठाइयो । तर, फेरि पनि समाचार लेख्न मन लाग्यो । र, पूर्वाञ्चल पानाका लागि समाचार लेखियो । 
जगत सरको अभियान महत्वाकांक्षी छ । उनी एक करोड रुपैया जम्मा होस् भन्ने चाहन्छन् । ६८ वर्षका यी बृद्धले महिनाभरिमा पाउने पेन्सनको रकम पनि आधा घरमा दिएर आधा बृद्धाश्रमकै लागि खर्च गर्ने गरेको थाहा पाउदा श्रद्धा लागेर आयो । जिविस र नगरपालिकाले बेलाबखत केही रकम सहयोग गरेपनि त्यो नियमित दिने योजना भित्र परेको छैन । ४० बृद्धबृद्धा पालिरहेको आश्रममा म बेलाबखत पुग्छु । सधै समाचारको मेला हुँदैन । तर, जीवनयात्रा टुंगिनअघि केही गरेरै जाने अर्याल सरको अभियान हेर्दा धेरैबेर कुरा गरिरहन मन लाग्छ । 

No comments: