Sunday, December 25, 2011

तिम्रो कवितामा के छ



एउटा समूह, जसका सबै सदस्य आफैं सर्जक छन्। उनीहरू स्कुल-स्कुल पुग्छन् र, छक्क पर्छन्। मोतिराम राष्ट्रिय साहित्य प्रतिष्ठानको नामबाट नेपाली भाषामा सिर्जनशीलताको खोजी गरिरहेकाहरू नवौं शृंखलासम्म आइपुग्दा विद्यार्थीलाई विषय टिप्न सक्ने वरिष्ठ कवि भन्न रुचाउने भएका छन्।
 
प्रतिष्ठान अध्यक्ष ज्योति जंगल भन्छिन्, 'विषय टिप्ने क्षमता अचम्मको भेटिएको छ। जति कार्यक्रम चलाउँदै आयौँ, त्यति नै हामीले पनि सिक्न पाएका छौँ।' फेरिएको समयसँगै स्कुलस्तरका बालबालिका अभिभावकका सोच र भोगाइलाई कवितामा उतार्न सक्ने भएको भान हुन्छ। उनी भन्छिन्, 'धेरैलाई हाम्रो राजनीतिले प्रभाव पारेको भेटिन्छ।' संविधानसभा, नयाँ संविधान, सभासद, उनीहरूका चरित्र, संघीयताका मुद्दा, महँगी, दलका रवैया, मागपिच्छे चक्काजामका प्रवृतिले बालमनोविज्ञानमा पारेका असर कवितामा भेटिने उनले बताइन्।

दलका सयौं नेता, एउटै कुर्सी तानातान
आफ्नो माग पुरा नभए ढुंगामुडा हानाहान ।। 
(अविष दाहाल, कक्षा १०) 

दुई साताको फरक पार्दै विद्यालयलाई जानकारी गराएर चलाइएको विद्यालय कविता कार्यक्रमलाई 'भाषाको ज्ञान बढाउने माध्यम' मान्छन् कवि तथा गजलकार मधु पोखरेल। उनले भने, 'हामीले स्थापितका रचनामात्रै सुन्नुपर्छ भन्ने होइन, यो अभियानले बालबालिकाका रुचि, क्षमता र उनीहरूलाई असर पारेका प्रवृत्तिबारे सूक्ष्म रुपमा बुझ्ने मौका जुटाएको छ।' उनको भनाइमा कविता र गजलमा रुचि राख्ने बाहेक पनि साहित्यबारे बुझन चाहनेलाई अभियानले समेटेको छ। भन्छन्, 'नानीहरूका कवितामा छलछाम छैन, एकप्रकारको सोझो प्रस्तुतिले हामी कता जाँदैछौँ र उनीहरू के सिक्दै रहेछन् भन्ने पनि देखाउँदो रहेछ।' 

धर्म ठान्छन् विद्यार्थीले परीक्षामा चोर्ने
नदिएमा शिक्षकलाई उल्टै दागा धर्ने
अभिभावकसमेत आइ विद्यालय घेर्ने
किन फेल पार्‍यो भनी गुरुलाई नै केर्ने ।। 
(अभिषेक काफ्ले, कक्षा ८) 

प्रतिष्ठानसम्बद्ध कवि गण्डकीपुत्र भन्छन्, 'बालबालिकाका कवितामा समय र प्रवृत्ति भेटिँदो रहेछ। हामीले धेरै यस्ता प्रतिभाशाली बालबालिका भेटेका छौँ, जसका प्रस्तुति कुनै मानेमा पोख्त सर्जकभन्दा कम छैनन्।' विद्यालय कवितायात्राका शृंखलापिच्छे विद्यालयहरूको सकारात्मक प्रतिक्रियाले नवोदित सर्जक जुटाउन सकिरहेको उनले सुनाए। 

गद्य, पद्य वा लेखनका नियमको जानकारीका कुरा बिर्सने हो भने उमेरमा जो पनि एकपटक कवि बन्छ। विषयको बन्धन छैन। उनी भन्छन्, 'तर, बालबालिकाका कुरा छुट्टै छन्। उनीहरू निष्कपट छन्।' अभियानले मंगलबार विराटनगरको अर्किड उच्च माविमा नवौं शृंखला पुरा गर्दा राजनीति, प्रवृत्ति र समसामयिकतामाथि व्यंग्य गरिएका कविता पुरस्कृत भए नै। देश, राष्ट्रियता, अनाथका रहर र विद्यालय कस्तो हुनुपर्छ भन्ने विषयमाथि गरिएका सिर्जनालाई पनि हौस्याइयो। गण्डकीपुत्रले कारण यसरी प्रष्ट्याए 'विषय लेखन क्षमता र प्रस्तुतिको शिल्पलाई हामीले हौसला दिने हो। बालबालिकाका कविताको स्तरमा भाषा र त्यसका प्रस्तुतिमा मिलेका सिलसिलालाई हौसला दिए पो नेपाली भाषामा उनीहरूको दख्खल बढ्छ।'

अभियान कसैद्वारा प्रयोजित छैन। अभियानकर्मी कोही पनि फुर्सदिला छैनन्। अभियानले आर्थिक फाइदा पनि दिएको छैन। तर, निरन्तरतामा बेलाबखत विराटनगरमा रहेका सिद्धहस्त सर्जकहरूलाई पनि जोडेको छ। साहित्यिक फाँटमा नाम चलेका स्रष्टाहरू अभियानको निम्तो मान्दै निर्धारित विद्यालयमा पुग्छन्। बालबालिकाका कविता सुन्छन्, अनि अतिथि कविका रुपमा आफ्ना सिर्जना उनीहरूलाई सुनाउँछन्। अभियानकी सदस्य शुभलक्ष्मी लम्साल भन्छिन्, 'हामी के लेख्छौँ, नानीहरूलाई के सुनाउनु पर्दो रहेछ भन्ने हामीले पनि थाहा पाउने अवसर भएको छ।' 

अभियानमा सकभर उपस्थिति नछुटाउने कवि खेम नेपाली भाषालाई बुझाउने र बुझने अवसर कार्यक्रमले जुटाएको ठान्छन्। उनले भने, 'हामी भाषिक अतिक्रमणको चपेटमा छौँ। न अंग्रेजी राम्रो छ न त नेपाली। कविता अभियानले कसेकम नेपाली भाषा जान्दा कोर्सकै लागि पनि राम्रो हुन्छ भन्ने स्कुलका सरहरूलाई पनि बुझाएको छ।' 

नवौं शृंखलामा निम्त्याइएका वरिष्ठ कवि कृष्णभूषण बलले पनि कविता सुनाए। उनले भने, 'मलाई नानीहरूका सिर्जना सुन्न मज्जा लाग्छ। यस्तो मौका मिलिरहे सकेसम्म छुटाउँदिन।' विद्यालय कविता यात्राको क्रमका लागि तालिका छैन। छोटो सूचनामा भेला हुने सर्जकहरू फेरि अर्को शृंखलाका लागि जुटिसकेका छन्।

***
(२०६८ पुस ९ कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करण पानामा प्रकाशित) 

No comments: