Tuesday, February 2, 2010

आहारा खोज्दै गिद्ध


सुनसरीको दुहबी गाविस-१ प्रस्टोकीमा २५ दिनदेखि आउन थालेका गिद्धको संख्या दिनहुँ बढेको छ। चौपायाको दुखाइ निवारकका रुपमा उपयोग गरिने डाइक्लोफेनेक भन्ने औषधि हानिकारक छ। पहिले ठूला सिमलका रुख नासिए, यसले गिद्धको वासस्थान विनास भयो। अनि त्यो ओखती उपयोग गरिए पनि मरेका चौपायाको सिनो खाएर गिद्ध मासिए भन्ने समाचार चार वर्षदेखि नेपाली छापामा बारम्बार आएका छन्।

मान्छेले नै सजिलोसँग खान पाएको बेला छैन। बर्सेनि बढेका श्रम शक्तिका लागि रोजगारीको प्रबन्ध छैन। साना ठुला सबै गुटलाई नेता तयार गर्दै फुर्सद छैन। सबैलाई नेता हुनु परेको छ। देश बनाउने कुरा गरेर आफू बनिने बाटो खोज्नेहरु बग्रेल्ती बढेका बेला चरो जोगाउने कुरा धेरैका लागि असान्दर्भिक लाग्ला। तर, गिद्धका विषयमा धेरै समाचार आए। अन्तत: गिद्ध जोगाउने अयिभान सुरु भयो। दातृ खोजिए। गिद्ध रेस्टुरेन्टका परियोजना ल्याइएका छन्।

यसरी परियोजना ल्याउनु नराम्रो होइन। तर, दुहबीमा देखिएका गिद्ध उनीहरुको संरक्षणका लागि सहयोगीको भरमा चलाउन थालिएको कुनै यस्तो रेस्टुराले ममचा खान बोलाएर आएको होइन रहेछ। यहाँ मासू प्रशोधन कारखाना खुलेको रहेछ। त्यसले भैसीको मासू प्रशोधन गरि चीन पठाउन थालेको रहेछ। भैंसीको हाड मिल्काउँदा त्यसमा छुट्टयाउन नसकेका मासू सुरु सुरुमा कागको आहारा भयो। एउटा भैंसीको हाडमा कारखानाले नचाहेपनि करिब चार किलो मासू बाहिर मिल्किने रहेछ। पछि गिद्ध आउन थालेछन्।

कारखानाले उत्पादन सुरुआतमा पठाउन नपाएर डीप फ्रीजमा राखेको मासू झिक्दै दिन दिनै गिद्धका लागि पस्किदिन थालेछ। देख्ता राम्रो नलाग्ने र गन्ध पनि नमिठो आउने यो ठूलो चरोको जमात यहा खुसी छ। उसले फ्रिजबाट झिक्नेबितिकैको मासु भने खाँदैन। त्यसलाई केहीबेर बाहिर राखेपछि चिसो हटछ। गन्ध आउन थाल्छ। अनि खाने रहेछ। 

कारखानाका सञ्चालकसँग कुरा भयो। उनले त्यो कारखानामा चार दर्जनलाई रोजगारी दिएका रहेछन्। उनले नेपालबाट मासू निर्यातका सम्भावना बताए। अनि गिद्धको संरक्षण चाहनेहरुका लागि कुनै परियोजना ल्याइए कारखानाले सघाउने बताए। उनको भनाइमा कारखानाले संरक्षण गरेर सक्दैन। कुरा जायज पनि हो। तर, नजानिँदो पाराले संरक्षणमा सघाउ पुर्‍याउन सक्ने रहेछ।

वातावरणीय सन्तुलनका लागि भूमिका खेल्ने गिद्धलाई जोगाउने अभियान मैले नजिकबाट देख्न पाएको छैन। दुहबीमा आएका गिद्ध युराशियन ग्रिफन रहेछन्। यिनीहरु समुद्र सतहको ९१५ मिटर आसपास बस्न मन पराउँछन्। यद्यपि यिनलाई ३०५० मिटरसम्मको उचाइमा भेटन सकिन्छ। मानिस त बसाइ सरेर यत्रतत्र पुग्छन भने यिनलाई पनि अतिक्रमणले बास सार्न बाध्य नपार्ने होइन।

युराशियन ग्रिफनलाइ नेपालीमा खैरो गिद्ध भनिन्छ। नेपालमा हालसम्म आठ प्रजातिका गिद्ध देखिएको हेल्म फिल्ड्स गाइड्सको नेपालका चराहरु भन्ने पुस्तकमा छ। लाम्बर गायर भनिने हाडफोर, इजिप्सियन भल्चर भनिने सेतो, ह्वाइट रम्प्ट भनिने डंगर, स्लेन्डरबिल्ड भनिने सानो खैरो, हिमालय ग्रिफन भनिने हिमाली, युराशियन भनिने खैरो, सिनेरस भनिने राजगिद्ध र रेड हेडेड भनिने सुन गिद्ध। 

अहिले कोसी टप्पुको सिमल टापुमा गिद्धका ३२ वटा गुँड छन्। केही महिनाअघि त्यसको गणना भएको थियो। तर दुहबीमा देखिएका गिद्धको बथानले निकै लामो यात्रा गरि यहाँ आएको हुनुपर्छ। कारण, यहाँ आएकाको संख्या ६० भन्दा बढी छ। र, यिनमा धेरै वयस्क छन्।

1 comment:

Rajesh Ghimire said...

good one Bhim, keep it up